एमाले प्रदेश अधिवेशनमा देखिएको दोस्रो धारले के सङ्केत गर्छ

एमालेको कर्णाली अधिवेशनमा केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

केपी शर्मा ओलीपछि नेकपा एमालेको नेतृत्वमा पुग्ने सम्भावित नेताबारे पार्टीभित्र र बाहिर हुने चासोलाई पार्टीको जारी प्रदेशहरूका अधिवेशनले थप बढाइदिएको कतिपय राजनीतिशास्त्रीहरूको बुझाइ छ।

पार्टीको महासचिव भइसकेका उपाध्यक्ष विष्णु पौडेल र वर्तमान महासचिव शङ्कर पोखरेलले "आआफ्नो प्रतिष्ठाको विषय बनाएको" भनिएको लुम्बिनी प्रदेशबाट सुरु भएको मतदानबाट नेतृत्व चयन गर्ने अभ्यास अधिकांश प्रदेशहरूले पछ्याइरहेका छन्।

पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि गरेको आह्वानविपरीत बिहीवार बिहानसम्म अधिवेशन सम्पन्न गरेका नेकपा एमालेका चारवटा प्रदेश समितिहरूले निर्वाचनबाटै नेतृत्व चयन गरेका छन्।

नेतृत्व चयन गर्ने चरणमा रहेका प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षीण देखिनुको कारण पार्टी नेतृत्वमा पुग्ने आकाङ्क्षी नेताहरूले चाहेको आफ्नो “प्रभाव परीक्षण” रहेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन्।

“लामो समयपछि एमालेभित्र भएको प्रतिस्पर्धात्मक नेतृत्व चयनले भावी नेतृत्वमा जाने अभ्यासको झल्को दिन्छ। यसलाई प्रतिस्पर्धीहरूले आफ्नो प्रभाव कति छ भनेर परीक्षण गर्ने मौकाको रूपमा प्रयोग गरिरहेका छन्,” पोखरेलले बीबीसी न्यूज नेपालीसँग भने।

एमाले गण्डकी प्रदेशको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पार्टी महासचिव शङ्कर पोखरेल

तस्बिर स्रोत, ‍rss

तस्बिरको क्याप्शन, एमाले गण्डकी प्रदेशको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पार्टी महासचिव शङ्कर पोखरेल

नेपाल खुल्ला विश्वविद्यालयका डीन खगेन्द्र प्रसाईँ पनि एमाले प्रदेशको निर्वाचनमा नेतृत्वमा पुग्न दोस्रो तहका नेताहरूले थालेको अभ्यास झल्किएको बताउँछन्।

“अहिले देखिएको कुराले नेतृत्वको उत्तराधिकारीले आफ्नो अभ्यास गरेको हुन सक्छ र त्यो हुन पनि जरुरी हो। पार्टीको भविष्यको नेता को हुन्छ भन्ने कुराको पक्रियामा त प्रवेश गर्नुपर्छ,” उनले भने।

आफ्नो आग्रहविपरीत प्रतिस्पर्धाबाट नेतृत्व चयनको अभ्यास अघि बढेपछि प्रदेशको नेतृत्वमा आफूले चाहेका नेतालाई जिताउन ‘बालकोट आफैँ सक्रिय’ देखिएको एक कतिपय एमाले नेताहरूको भनाइ छ।

उनीहरू यसको उदाहरणका रूपमा बागमती प्रदेशको नेतृत्व चयनलाई देखाउँछन्। बागमतीमा आफू निकट मानिएका दुई नेता भिन्नाभिन्नै उम्मेदवारका पक्षमा विभाजित भएपछि ओली आफैँ सक्रिय भएर उनीहरूलाई मिलाउन लागेको विवरण आएको थियो।

फेरि पनि गुटगत राजनीतिको चिन्ता

एमालेका नेताहरू

तस्बिर स्रोत, RSS

दुई वर्षअघि एमाले विभाजन हुँदा माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही प्रभावशाली नेताहरू बाहिरिएपछि पार्टीभित्र ओलीलाई चुनौती कम भएको बताइन्छ।

विभाजनको केही महिनामै भएको महाधिवेशनमा एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि गरेको प्रयासलाई कतिपयले विभाजनपछि पार्टीमा आफू निर्विरोध नेता भएको देखाउने प्रयासको रूपमा टिप्पणी गरेका थिए।

विसं २०७८ को मङ्सिरको दशौँ अधिवेशनबाट अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध चयन गरेका ओलीले त्यसलगत्तै भएको जिल्ला अधिवेशनमा पनि अधिकांश जिल्लामा सर्वसम्मतिबाटै नेतृत्व चयन गरेका थिए।

तर प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयनको उनको प्रयासले सार्थकता पाएन।

प्राध्यापक पोखरेल उनका निकटस्थ भनिएका नेताहरूले नै सर्वसम्मतिको प्रयास असफल बनाइदिएको ठान्छन्। “सर्वसम्मत बन भन्ने कुरा नै अव्यावहारिक थियो। त्यसमाथि उनका दामलीहरू नै लाखापाखा लागिदिए,” उनले भने।

गुलावजङ्ग शाह र उनका प्रतिद्वन्द्वी मीनबहादुर शाही

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कर्णाली प्रदेश अधिवेशन निर्वाचनबाट सोमवार विजयी भएका अध्यक्ष पदका उम्मेदवार गुलावजङ्ग शाह र उनका प्रतिद्वन्द्वी मीनबहादुर शाहीले निर्वाचन घोषणा भएपछि अङ्कमाल गरेका थिए

एमालेमा ओलीपछि पार्टी नेतृत्वमा पुग्न आकाङ्क्षा राखिरहेका नेताहरूले विचारको बहसभन्दा गुटगत अभ्यासलाई नै प्राथमिकता दिएको खुल्ला विश्वविद्यालयका डीन प्रसाईँको बुझाइ छ।

“म पार्टीलाई यसरी चलाउँछु भन्ने कुराको बहस हुने हो भने चाहिँ सिङ्गो पार्टी पङ्क्ति छलफलमा सहभागी भएर त्यो भित्रबाट राम्रो नेता छान्छ। तर अहिले त्यो नभएर आआफ्ना गुट बनाउने गुटमा लागिरहने जस्तो देखिएका कारण त्यसले लोकतन्त्रलाई बलियो बन्दैन भन्ने देखियो,” प्रसाईँ भन्छन्।

“सिद्धान्तको प्रश्नलाई गौण बनाएर फेरि पनि गुटहरूको प्रतिस्पर्धा भयो भने त त्यसले व्यक्तिगत स्वार्थका वा आकाङ्क्षाका आधारमा गुटहरू बनाउने हुन्छ।”

को बन्ला ओलीको उत्तराधिकारी

एमालेले पार्टीको विधानबाट ७० वर्षे उमेर हद हटाएका कारण पार्टी नेतृत्वमा पुग्न सक्ने अवसर धेरै नेताहरूका लागि खुला नै रहेको विश्लेषकहरू बताउँछन्।

प्रदेश अधिवेशनमा दोस्रो तहका नेताहरूले आफ्नो पक्षका उम्मेदवार जिताउन सक्रियता देखाए पनि त्यसैका आधारमा एमालेको भावी नेतृत्वका प्रमुख दाबेदारहरूको पहिचान सहज नदेखिएको उनीहरूको ठम्याइ छ।

त्यसको आकलन गर्न अहिले हतार हुने विश्लेषक प्रसाईँ बताउँछन्।

“अहिले भन्नै सकिन्न। एमाले त्यस्तो सम्भावना भएको पार्टी हो कि त्यहाँ भोलि के हुन्छ भन्ने कुरा खुलै राख्नुपर्छ। आज जो पकडमा छ त्यो नै रहिरहन्छ भन्ने पनि छैन। नयाँ कसैको हस्तक्षेप भयो भने के हुन्छ?”

एमाले लोकतान्त्रिक प्रक्रियामा फर्किएको अवस्थामा जो पनि नेतृत्वमा आउन सक्ने सम्भावना अझै रहेको उनी ठान्छन्।

एमाले अध्यक्षले नै समर्थन गरेको जस्तो देखिएका उम्मेदवार समेत पराजित भएको उदाहरण दिँदै उनले थपे, "तपाईँले हिजो त्यस्तो अवस्था आउला भन्ने कल्पना गर्नुभएको थियो?”

ओली

तस्बिर स्रोत, RSS

एमाले वृत्तमा कर्णालीको नेतृत्वमा पराजित भएका मीनबहादुर शाहीलाई पार्टी अध्यक्ष ओलीले समर्थन गरेको चर्चा छ। तर उनी गुलावजङ्ग शाहसँग पराजित भए।

प्राध्यापक पोखरेल अब कार्यकर्ताको भावना प्रतिनिधित्व गर्ने व्यक्ति एमालेको नेतृत्वमा उदाउन सक्ने ठान्छन्।

“यो चुनावको नतिजामा नेतृत्वले चाहेको भन्दा पनि कार्यकर्ताहरूको भावना प्रतिनिधित्व गर्ने व्यक्ति नेतृत्वमा आउने देखिन्छ,” पोखरेल भन्छन्।

“आकाङ्क्षीहरूको व्यवस्थापन र समकालीनहरूको बीचमा राम्रो समूह बनाउन सक्ने व्यक्ति अब एमालेको नेता होला।”

पोखरामा एमाले नेताहरू

तस्बिर स्रोत, RSS

पोखरेल नेतृत्वको समर्थन पाएका भनिएका उम्मेदवारलाई चुनौती दिने अभ्यासले एमालेमा लोकतान्त्रिक रूपान्तरणको भने सङ्केत गरेको बताउँछन्।

दुई वर्षअघि भएको पार्टी महाधिवेशनमा ओलीको आग्रह अस्वीकार गर्दै चुनाव उठेका भीम रावललाई प्रतिनिधिसभामा समेत टिकट नदिइएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “नेतृत्वसँग टक्कर गर्दा भीम रावल बन्ने अवस्था देखेका नेताहरूले यसपालि आँट त देखाएकै छन्।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।