तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यती एअरलाइन्स दुर्घटना: सरकारले अनुसन्धानमा सहयोग लिनसक्ने देशहरू कुन कुन छन्?
यती एअरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगका एक जना अधिकारीले हवाई दुर्घटना छानबिनका लागि नेपालले ब्रिटेन, फ्रान्स र सिङ्गापुरजस्ता देशबाट सहयोग लिनसक्ने बीबीसीलाई बताएका छन्।
नेपालको हवाई दुर्घटना अनुसन्धान क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने सम्झौता ती तीन देशसँग रहेको भन्दै दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले अन्य देशहरूले पनि सहयोगका लागि चासो देखाएको उल्लेख गरे।
यती एअरलाइन्सको एटीआर नाइनएन-एएनसी कल साइनको विमान गएको आइतबार पोखरामा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्य सहित त्यसमा सवार ७२ जनाको मृत्यु भएको ठानिएको छ।
७१ जनाको मृत्यु पुष्टि भएपनि बाँकी एकजनाको शव यो समाचार लेख्ने बेलासम्म फेला परेको भन्ने विवरण आएको छैन।
उक्त दुर्घटनापछि सरकारले नेपाल सरकारका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानविन आयोग गठन गरेको छ। मन्त्रिपरिषद्ले उक्त आयोगलाई ४५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्न भनेको छ।
दुर्घटनाबारे बुझ्न विदेशी विज्ञ नेपालमा
सरकारी अधिकारीहरूका अनुसार फ्रान्स सरकारको हवाई सुरक्षा सम्बन्धी निकाय बीईए, विमान निर्माता कम्पनी एटीआर र युरोपेली नागरिक उड्डयन सुरक्षा निकायका विज्ञहरू यतिबेला काठमाण्डूमा छन्।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा जाँचबुझ आयोगका सदस्यसचिव बुद्धिसागर लामिछाने भन्छन्, “जुनसुकै विमान दुर्घटनामा पनि जुन देशमा जहाज बनेको छ, त्यो देशको नियामक निकायका अनुसन्धानकर्ताहरू आउँछन्। फ्रान्सको नियामक निकाय र एटीआरका १०-११ जना अनुसन्धानकर्ताहरू आएका छन्।”
उनका अनुसार ती निकायका प्रतिनिधि दुर्घटनास्थल पुगेको र उनीहरूले नेपाललाई अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
लामिछानेले थपे, “जहाज उत्पादन फ्रान्समा भयो। अध्ययन गर्दै जाँदा जहाजको प्राविधिक विषयमा हामीलाई केही विश्लेषण चाहियो भने उनीहरूले दिने भए। एटीआरकै कुनै पार्टपुर्जाको परीक्षणको काम गर्नुपर्ने भयो भने पनि गर्ने भए। हामीले आवश्यक पर्यो भने उनीहरूबाट केही सुझाव लिन सक्छौँ।”
कतिपय विवरणमा दुर्घटनास्थलबाट फेला परेको विमानको 'ब्ल्याक बक्स' परीक्षणका लागि फ्रान्स लैजाने तयारी भइरहेको उल्लेख गरिएको भएपनि त्यसबारे कुनै निर्णय नभइसकेको दुर्घटना जाँच आयोगले जनाएको छ।
आयोगका सदस्य सचिवले केही दिनमा उक्त 'ब्ल्याक बक्स'लाई परीक्षणका लागि विदेश पठाउने विषयमा निर्णय गरिने बताए।
हवाई सुरक्षा जाँचको नेपालको सामर्थ्य
बारम्बार भएका हवाई दुर्घटना सहितका कारणले गर्दा सन् २०१३ यता नेपाललाई युरोपेली सङ्घको उड्डयन सम्बन्धी निगरानी सूचीमा राखिएको छ।
उक्त निगरानी सूचीका कारण नेपाली जहाजहरूलाई युरोपमा उडान गर्न प्रतिबन्ध लगाइएको छ भने ईयूजस्ता निकायहरूले नेपालको उड्डयन सुरक्षाको अवस्थाबारे नियमित रूपमा जाँच समेत गर्दै आएका छन्।
अधिकारीहरू नेपालमा हवाई दुर्घटना जाँचका लागि दक्ष जनशक्ति रहेको बताउँदै उनीहरूको क्षमता अभिवृद्धिका क्षेत्रमा पनि काम हुने गरेको बताउँछन्।
यसपटक पोखरामा भएको दुर्घटना अनुसन्धानमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सहयोग समेत लिन सकिने पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख समेत रहेका आयोगका सदस्य सचिव लामिछानेले बताए।
उनले बीबीसीसँग भने, “दुर्घटनाको जाँच क्षमता अभिवृद्धि गर्न सघाउने सम्बन्धमा ब्रिटेन, फ्रान्स र सिङ्गापुरसँग हाम्रो सम्झौता नै छ। यसमा पनि हामी लागिरहेका छौँ। आवश्यक पर्यो भने उनीहरूको सहयोग मज्जाले लिन सकिन्छ। उनीहरू त्यसका लागि तयार पनि छन्। एमओयु नै नभएका अन्य कतिपय देशहरूले पनि हामीहरू सहयोग गर्न तयार छौँ भनिरहेका छन्।”
दुर्घटना भएको विमान कस्तो खालको हो?
ब्रिटेनस्थित युनिभर्सिटी अफ लफ्बरका एक जना उड्डयन सुरक्षा विज्ञ डेभिड ग्लिभ एटीआर ७२ लाई चलनचल्तीको विमानका रूपमा लिइने बताउँछन्।
उनले बीबीसीको न्यूजआवर कार्यक्रमसँग भनेका छन्, “टर्बोप्रोप एअरलाइन्समध्ये यसलाई धेरै चलनचल्तीको विमानका रूपमा लिने गरिन्छ। यूकेमा तीनवटा वायुसेवाले यसलाई प्रयोग गरिरहेका छन्। यो स्थिर खालको चलनचल्तीको विमान हो।”
उनले एटीआर ७२ सँग सम्बन्धित केही हवाई दुर्घटनाहरू भएको भएपनि युरोपमा त्यति धेरै दुर्घटनाको जोखिम नदेखिएको बताए।
'एभिएशन सेफ्टी नेटवर्क' को वेबसाइटका अनुसार एटीआर ७२ का विभिन्न ३८ दुर्घटनामा ३९८ जनाको ज्यान गएको छ।
सन् २०१४ र सन् २०१५ मा दुईवटा ट्रान्सएसिया एअरवेजको एटीआर विमान दुर्घटनाग्रस्त भएपछि ताइवानले केही समय उक्त कम्पनीका विमानहरूलाई विशेष परीक्षणका लागि आदेश दिएको थियो।
सन् १९८० को दशकयता निरन्तर एटीआर विमानहरू छोटो र क्षेत्रीय स्तरका उडानहरूका लागि प्रयोगमा रहेका बताइन्छ।
एटीआर ७२ फ्रान्स र इटालीको साझेदारीमा निर्माण गरिएको विमान हो। यती एअरलाईन्सको दुर्घटनाग्रस्त विमान १५ वर्ष पुरानो भएको बताइन्छ।
यसलाई सबैभन्दा पहिला सन् २००७ मा भारतको किङफिशर एअरलाइन्सले खरिद गरेको थियो।
उक्त भारतीय वायुसेवा कम्पनी बन्द भएपछि थाइल्यान्डको नोक एअरले एप्रिल २०१३ मा सो विमान किनेको थियो।
थाइल्यान्डमा ६ वर्ष उडान भरेपछि उक्त विमान सन् २०१९ मा यती एअरलाइन्सले किनेको थियो। र त्यसयता नाइनएन-एएनसी कल साइनसहित उसले उडान गर्दै आएको थियो।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान निरीक्षकहरूले नेपालमा रहेका सबै एटीआर-४२ र एटीआर-७२ विमानको परीक्षण गरेको अधिकारीहरूले बताएका छन्।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ती वायुयानमा कुनै प्राविधिक त्रुटि फेला नपरेको बताए।
दुर्घटनाले उठाएका प्रश्न के के हुन्?
दुर्घटनाग्रस्त विमानको चालक दलको सदस्यमा प्रशिक्षक पाइलट कमल केसी र क्याप्टेन अन्जु खतिवडा रहेका थिए।
हवाई उड्डयन क्षेत्रका कतिपय जानकारहरूले जहाज नियन्त्रणबाहिर गएका कारण दुर्घटना भएको हुनसक्ने आफूहरूलाई लागेको भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन्।
एक जना अनुभवी पाइलट प्रचण्डजङ्ग शाहले बीबीसीलाई भने, “पोखराको मौसम पनि राम्रो थियो। भिजिबिलिटी पनि राम्रो थियो। पाइलटहरूले रन वे वान टु मा ल्यान्ड गर्छु भनेर प्रयास पनि गरेको छ। तर जुन त्यो भिडिओ क्लिप्समा देखिएको छ, त्यसबाट प्लेन रनवेको थ्रेसहोल्डबाट एकदमै नजिक छ।”
उनले थपे, “भुईँबाट त्यति थोरै उचाइ भएको ठाउँमा जुन किसिमले जहाजले ब्याङ्क गरेको छ त्यो हेर्दा जहाजको नियन्त्रण राम्रोसँग भएन।”
उनले पछिल्लो दुर्घटनापछि नेपालले उड्डयन क्षेत्रमा खेपिरहेको कालोसूचीबाट नाम हटाउन थप कठिन हुने आशङ्का पनि व्यक्त गरे।
त्यसबाहेक भर्खरै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशका वायुसेवाहरूलाई आकर्षण गर्न पनि चुनौती देखापर्न सक्ने उनको भनाई छ।
शाहले दुर्घटनापछि विमान वा विमान सञ्चालक कम्पनीलाई मात्रै दोषको दृष्टिकोणले हेर्नुको सट्टा नियामक निकायमाथि पनि प्रश्न उठाउनुपर्ने बताए।
उनले भने, “यहाँ नियामक निकाय र सेवा प्रदायक एउटै एजेन्सी रहेको छ। नेपाल पहाडी देश हो यहाँ जोखिम धेरै छ भन्ने थाहा पाएपछि हामीले सुरक्षाको विषयलाई बढ्ता प्राथमिकतामा राख्नुपर्यो। कहाँ त्रुटि छ त्यो नेपाल सरकारले पत्ता लगाएर नागरिक उड्डयन सम्बन्धी नीतिलाई परिमार्जन गर्नुपर्छ।”
उनले वायु सेवा निकायहरूले नियमहरू पालना गरे या नगरेकोबारे पनि गम्भिर रूपमा जाँच गरिनुपर्नेमा जोड दिए।