तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘सरकार बनाउनका लागि एमालेले निर्णायक पहल गर्ने’
नेकपा एमालेले आफ्नो नेतृत्वमा आगामी सरकार गठनका लागि सशक्त र निर्णायक पहल गर्ने सो पार्टीका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्।
"यहाँ बहुमत कुनै पनि दलले प्राप्त गर्न नसकेको अवस्था छ र यस्तो संसदीय संरचनाले प्रतिकुल प्रभाव पार्ने निश्चित छ," उनले भने।
अङ्कगणितको खेल
बुटवलमा सोमवार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, "अब कुनै न कुनै रूपमा अङ्कगणितको खेल हुन्छ र यसले गर्दा अस्थिरताको चक्रव्युहमा मुलुक फस्न सक्ने जोखिम छ।"
"यो अवस्थामा मुलुकलाई स्थिरता र विकास तर्फ लैजानका लागि अधिकतम प्रयास नेकपा एमालेले गर्छ , यस्तै अधिकतम प्रयास सरकार गठनका सन्दर्भमा पनि एमालेले गर्छ।"
एमाले "निष्क्रिय राजनीतिक शक्ति" नभएर "सक्रिय शक्ति" भएको बताउँदै पौडेलले भने, "सरकार गठनका लागि अरू पार्टीहरूसँग तालमेल वा के के गर्नु पर्छ त्यो पनि एमालेले गर्ने प्रयास भित्रै पर्छ।"
उपाध्यक्ष पौडेलले सरकार गठन गर्ने अवस्थामा आगामी प्रधानमन्त्री भने पार्टी अध्यक्ष केपी ओली नै बन्ने पनि बताए।
अहिले सम्मको नतिजामा प्रत्यक्षतर्फ ५१ सिटमा जित र ३ मा अग्रता सहित नेपाली कांग्रेस अगाडि छ भने नेकपा एमाले ४१ सिटमा जित र ३ मा अग्रता सहित दोस्रो दल बनेको छ।
नेकपा माओवादी १६ सिटमा जित र १ मा अग्रता सहित तेस्रो स्थानमा छ।
एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १० सिटमा जित हासिल गरेको छ।
कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा खास गरी नेपाली कांग्रेस र एमालेले साना दलसँग तालमेल गरी सरकार बनाउने भित्रभित्रै तयारी सुरु गरेको बताइन्छ।
चुनाव भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग टेलिफोन कुराकानी गरेका थिए।