‘तिमीले मेरो आँखालाई निशाना बनायौ तर मेरो मुटुले धड्कन छोडेको छैन’

अस्पताल इलाहे ताभोकोलियन

तस्बिर स्रोत, Elahe Tavokolian

तस्बिरको क्याप्शन, इलाहे ताभोकोलियन
    • Author, पुया घोरबानी
    • Role, बीबीसी पर्सियन

एक युवती अस्पतालको शय्यामा पल्टिएकी छन्। उनको दाहिने आँखामा पट्टी बाँधिएको छ र देब्रे आँखा बन्द छ। उनको मुहारभरि चोटैचोट छन् र उनी पीडाले कराइरहेकी छन्।

गत सेप्टेम्बरमा मशहद नजिकैको उत्तर पूर्वी सहरमा भएको विरोध प्रदर्शनका क्रममा इलाहे ताभोकोलियनलाई इरानी सुरक्षा बलले गोली प्रहार गर्‍यो।

विद्यावारिधि गरिरहेकी ती छात्राको दाहिने आँखाको दृष्टि गुम्यो।

चेतावनी: यस सामाग्रीमा केही पाठकहरूलाई विचलित तुल्याउन सक्ने विवरणहरू समावेश छन्।

तर तीन महिनापछि मात्रै उनले इन्स्टाग्राममार्फत् आफ्नो नमिठो अनुभवबारे भिडिओ साझा गर्ने साहस जुटाइन्।

"तिमीले मेरो आँखालाई निशाना त बनायौ तर मुटु अझै धड्किरहेको छ," उनले एक पोस्टमा लेखिन्।

"मेरो आँखाको दृष्टि खोसेकोमा धन्यवाद। यसले धेरै मानिसहरूको आँखा खोलिदिएको छ।

मेरो हृदयभित्रको उज्यालो र आगामी दिनहरू सुन्दर हुने आशाले मलाई खुसी तुल्याउँछ। तर तिमी र तिम्रो कमान्डरको मन दिन प्रतिदिन अँध्यारो हुँदै गइरहेको छ।

मैले छिट्टै सिसाको आँखा पाउनेछु र तिमीले पदक।"

इलाहे शल्यक्रियामार्फत टाउकोमा लागेको गोली निकाल्न हालसालै इरानबाट इटाली गइन्। उनले अस्पतालको शय्याबाट एक भिडिओ सार्वजनिक गरिन् जसमा उनले भनेकी छन्: “म यो सबै सुनाउनका लागि भए पनि बाँच्नेछु।"

शल्यक्रियापछि उनले बीबीसी पर्सियनसँग भविष्यमा "आफूलाई लागेको गोली अन्तर्राष्ट्रिय अदालतमा प्रस्तुत गर्ने" योजनाबारे सुनाइन्।

उनी एक्ली होइनन्

इरानमा महासा अमिनीलाई तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले शिर ढाक्ने नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो। उनको हिरासतमै मृत्यु भएयता दशौँ हजार मानिस प्रदर्शनमा उत्रिएका छन्।

आँखामा चोट लागेका युवाहरू
तस्बिरको क्याप्शन, आँखामा चोट लागेका युवाहरू

प्रहरी दमनको नतिजा स्वरूप करिब २०,००० मानिस पक्राउ परेको र ५०० जना मारिएको ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए)ले जनाएको छ।

दृष्टि गुमाएका युवाहरूले आफूहरूलाई छानी छनी गोली प्रहार गरिएको बताए।

तर इरानको दङ्गा नियन्त्रणका लागि खटेका प्रहरीका कमान्डर ब्रिगेडियर जनरल हसन करामीले हालसालै इरानी सञ्चार माध्यममा प्रस्तुत त्यस्ता आरोपको खण्डन गरेका छन्।

उनले आफ्ना सेनामाथि "नियतबस्" प्रदर्शनकारीहरूको अनुहारमा गोली हानेको आरोप लगाउनुलाई "दुष्प्रचार"को सङ्ज्ञा दिए।

कानुनका विद्यार्थी गजल रञ्जकेश घाइते हुनेहरूमध्ये एक थिइन्। उनलाई नोभेम्बरमा दक्षिणी सहर बन्दर अब्बासमा छँदा गोली हानिएको थियो।

२१ वर्षीया उनी जनचेतना बढाउनका लागि आफ्नो चोटको बारेमा सामाजिक सञ्जालमार्फत खुलेर बोल्ने पहिलो व्यक्ति हुन्।

उनले अस्पतालको शय्याबाट साझा गरेको भिडिओमा उनको दाहिने आँखाबाट रगत बगिरहेको देखिन्छ। यद्यपि, उनका औँलाहरूले भने विजयको संकेत गरेको देखिन्छ।

गजल रञ्जकेश

तस्बिर स्रोत, Ghazal Ranjkesh

तस्बिरको क्याप्शन, गजल रञ्जकेश

उक्त भिडिओ इरानी युवाहरू कसरी प्रहरी अधिकारीहरूको निशानामा छन् भन्ने सन्देशसहित देश तथा विदेशमा चर्चित भयो।

"तिमीले मलाई गोली हान्दै गर्दा किन मुस्कुराएको थियौ?" गजलले आफ्नो भिडिओसँगै प्रश्न गर्दै लेखेकी छन्।

उनले पछि भिडिओमा आवाज सुनिएको स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सामग्री हटाइन्।

तर गजलले गरेको सुरुवात फरक थियो जसका कारण उस्तै चोट बोकेका अन्य महिला तथा पुरुषहरूले आफू एक्लो नभएको महसुस गरे। र, आघातबाट निस्कन मद्दत गर्ने अनलाइन समुदाय भेट्टाए।

"हाम्रा आँखाको आवाज कुनै पनि चिच्याहट भन्दा चर्को छ," इन्स्टाग्राममा गजलले व्यक्तिगत धारणा राखेकी छन्।

गजल रञ्जकेश

तस्बिर स्रोत, Ghazal Ranjkesh

तस्बिरको क्याप्शन, गजल रञ्जकेश

उनले हालसालै आफ्नो नयाँ तस्बिर साझा गरेकी छन्। त्यस तस्बिरलाई नियालेर नहेरेसम्म कुनै फ्यासनको लागि छायाङ्कन गरिएको जस्तो लाग्न सक्छ।

“मैले पाएको पीडा असह्य छ तर बिस्तारै यसको बानी पर्नेछ,” उनले लेखेकी छन्।“म यो जिन्दगी बाँच्छु किनकि मेरो कथा टुङ्गिएको छैन। हामीले जित हासिल गरिसकेका छैनौँ तर त्यसको नजिक छौँ।”

गजलले कृत्रिम आँखा राखेकी छन् र यस सत्यलाई स्विकार्नकालागि आफूले गरेको सङ्घर्षको बारेमा लेखेकी छन्। उनले आफू अनुहारमा लागेको चोटसँग अभ्यस्त भइसकेको र यसबारे गौरवान्वित महसुस गर्ने बताउँछिन्। यद्यपि, प्लास्टिक सर्जरी गर्न पर्नु पीडादायी भएको उनको अनुभव छ।

यो सबका बाबजुद उनले लेखेकी छन्,”म आफ्नो एउटा आँखाले हेरेर भएपनि स्वतन्त्रताको साक्षी बन्नेछु।”

‘जीवित प्रमाण’

इरानभर कति जना मानिसले एउटा आँखा गुमाएका छन् भन्नेबारे यकिन तथ्याङ्क छैन।

अस्पतालबाटै गिरफ्तार हुने डर यति थियो कि केही प्रदर्शनकारीहरू स्वास्थ्य सहायता लिन समेत डराए।

न्यूयोर्क टाइम्सले जनाए अनुसार गत सेप्टेम्बर र नोभेम्बरको बीचमा तेहरानस्थित तीन फरक अस्पतालहरूमा उस्तै प्रकृतिको चोट बोकेका ५०० मानिसले उपचार खोजेका थिए।

मोहम्मद फर्जी

तस्बिर स्रोत, Mohammad Farzi

तस्बिरको क्याप्शन, मोहम्मद फर्जी

तेहरानका सडकहरूमा प्रस्तुति दिने ३२ वर्षीय कलाकार मोहम्मद फर्जीमाथि गत सेप्टेम्बरमा गोली प्रहार भयो। बर्डशट भनिने एक किसिमको बन्दुकको गोलीको छर्राले उनको आँखा छेड्यो।

“मलाई कुनै पछुतो छैन,” उनले भने। “मैले मानिसहरूको स्वतन्त्रताका लागि आफ्नो आँखाको बलिदान दिएँ। यसमा म गर्व महसुस गर्छु।”

उनी जोखिम मोलेरै अस्पताल पुगेका थिए। उनको आँखा जोगिन सक्थ्यो। तर, पैसा अभावका कारण तेस्रो शल्यक्रिया अघि उनको उपचार रोकियो।

“प्रमुख समस्या भनेकै आर्थिक, मनोवैज्ञानिक र चिकित्सकीय सहायता नपाउनु हो,” मोहम्मदले भने।

उनले आफूले अस्पतालमा करिब पच्चिस सय डलर खर्च गरेको बताए।

डाक्टर मोहम्मद जाफर घेम्पानाह झन्डै ४०० आँखा रोग विशेषज्ञहरू मध्ये एक हुन्। उनले अधिकारीहरूलाई घाइतेहरूलाई थप सहयोग प्रदान गर्न आग्रह गरिएको आधिकारिक पत्रमा हस्ताक्षर गरेका छन्।

दृष्टि गुमाएका आन्दोलनकारीलाई समाजले सधैँ पहिचान गर्ने उनको भनाई छ।

"आफ्नो जीवनको अन्त्यसम्म यी युवा इरानको दमनको जीवित प्रमाण बन्नेछन्," एक चर्चित भिडिओमा उनले भनेका छन्।

मोहम्मद, कोसर इफ्तेखारी र इलाहे

तस्बिर स्रोत, Mohammed Farzi

तस्बिरको क्याप्शन, मोहम्मद, कोसर इफ्तेखारी र इलाहे

मोहम्मदले आफूले पाएको अनलाइन समर्थन वास्तविक जीवनको मित्रतामा परिणत गर्नु पर्ने विचार राखे।

एक महत्त्वपूर्ण शल्यक्रियाअघि इलाहेलाई भेट्न उनी अर्की घाइते महिला, कोसर इफ्तेखारीसँग ९०० किलोमिटर टाढा पुगे।

"हामीले गर्न सक्ने यति मात्र हो,” उनी भन्छन्। "हामीलाई एक अर्काको पीडा, निराशा थाहा छ र हामी एक अर्काको लागि हुनुपर्छ।"

त्यस भेटपछि उनीहरूले सामाजिक सञ्जालमा एउटा सामूहिक तस्बिर साझा गरे जसमा सबै घाइते छन् तर औँलाले विजयको सङ्केत गरेका छन्।

पीडाका बाबजुद इलाहेले उनको शल्यक्रिया पछि इन्स्टाग्राममा एउटा पोस्ट राखिन्। उनले आफ्ना बाबु, मोहम्मद र कोसरलाई आफूसँग भइदिएकोमा कृतज्ञता जनाएकी छन्।

"मेरो घाउबाटै आशा फुलेको छ," उनले लेखिन्।