महिला फुटबल : उज्वेकिस्तानसँग हारेसँगै नेपालले गुमाएको 'इतिहास रच्ने' अवसर

तस्बिर स्रोत, NSJF
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
यस्तो कहानी धेरै पटक दोहोरिसक्यो, सफलताको नजिक पुगेर अन्तिम समयमा चुक्दा हुने पीडा नेपाली महिला खेलाडीहरूले दर्जन पटक खपिसके।
उज्वेकिस्तानको मिल्ली रङ्गशालामा शनिवार राति उज्वेकिस्तानविरुद्ध भोग्नु परेको पराजय भने अझ बढी पीडादायी बन्न पुगेको छ।
यसले नेपालको एएफसी एसियन कपमा छनोट हुने ढोका बन्द भयो। त्यतिमात्र होइन, महिला टोलीले फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को छनोटको यात्रा पनि गुमाउन पुगेको छ।
३-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-३ को प्रतिस्पर्धात्मक बराबरीमा पुर्याएको खेल 'टाइब्रेकर' मा पुगेर गुम्दा म्याचपछि खेलाडीहरू निकै भावुक देखिएका थिए।
छिमेकी भारत हिजै एसियन कपमा छनोट भयो। दुई दिनअघि बाङ्ग्लादेशले इतिहास रच्दै अस्ट्रेलियाको टिकट काटिसकेको थियो। नेपालले भने टाइब्रेकरमा ४-२ ले पराजित हुँदै यात्रा टुङग्याएको छ।
प्रभाव

तस्बिर स्रोत, NSJF
हुन त उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न पुगेको नेपाली टोलीको लागि यात्रा सहज थिएन।
५१ औं स्थानको टोली विरुद्ध १०० औं स्थानको नेपालले क्षमता बढी प्रदर्शन गर्न जरुरी थियो।
बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले भर्खरै मात्र नेपाली टोली सम्हालेका थिए।
यस्तो अवस्थामा टोलीको टिमवर्क अत्यन्त बलियो हुनुपर्नेमा टोलीभित्र भने 'कसलाई कप्तान बनाउने' भन्ने जस्ता विषयमा मनमुटाव देखिएको थियो।
आन्तरिक विवाद बाहिरसम्म छरपस्ट भएको थियो, यद्यपि महिला खेलाडीहरू भने एकताबद्ध देखिएका थिए।
प्रशिक्षक वाइल्ड आएपछि टोलीमा देखिएको जाँगर, उनले टोलीको संरचनामा गरेको परिवर्तन र मैदानमा देखिएको त्यसको असरले उज्वेकिस्तानमा खेलाडीहरूले एकपछि अर्को राम्रो नतिजा निकालेका थिए।
लाओससँग ९-० र श्रीलंकाविरुद्ध ८-० को जित त्यसकै परिणाम थियो।
निर्णायक खेलमा पनि टोलीले नेपाली समर्थकलाई निराश नपार्ने गजबको खेल प्रस्तुत गर्यो।
प्रशिक्षक वाइल्डले भने, "नेपाली टोली अहिले फरक छ। यसले आगामी दिनमा अझ राम्रो फुटबल खेल्नेछ।"
प्रदर्शन

तस्बिर स्रोत, NSJF
खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक वाइल्डले खेलाडीहरूको प्रदर्शनलाई 'बहादुरी' भन्दै प्रशंसा गरेका थिए।
हुन पनि मिल्ली रङ्गशालामा नेपाली टोलीले पहिलो हाफमा ३-१ ले पछि परेको खेलमा पुनरागमन जनाएको थियो।
सुरुआतमा भने नेपाली टोली सम्हालिन सकेनन्। ५१ औं स्थानको उज्वेकिस्तानका खेलाडीहरू शारीरिक दबावसहित नेपालमाथि हाबी भएका थिए।
सुरुआतको दोस्रो मिनेटमा डिफेन्डर गीता रानाले क्लियर गरेको बल विपक्षीको खुट्टामा पर्दा गोल हुन पुगेको थियो।
दोस्रो गोल समिक्षा घिमिरेको 'डिफ्लेक्ट' मा हुन गयो भने सरस्वती हमालले डि–बक्सभित्र ह्यान्ड हुंदा पेनाल्टीमा तेस्रो गोल हुन पुगेको थियो।
नेपाली टोलीले त्यसको दह्रिलो जबाफ दियो। सावित्रा भण्डारीले पहिलो हाफमा उत्कृष्ट गोल गर्दै खेलमा फर्किने सङ्केत गरेकी थिइन्।
पहिलो हाफको अन्तिम समयमा उज्वेकिस्तानकी खेलाडी नोजिमाखोन इर्गासेबा दुई पहेँलोसहित रातो कार्ड खाएर बाहिरिएपछि दोस्रो हाफमा नेपाली खेलाडीहरूले त्यसको फाइदा उठाए।
सावित्राले दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिकसहित खेललाई टाइब्रेकरसम्म पुर्याउन कप्तानी भूमिका निभाइन्।
त्यो टाइब्रेकर

तस्बिर स्रोत, NSJF
जित, अंक र गोल सङ्ख्या सबै समान भएपछि खेल टाइब्रेकरतिर धकेलियो। यहाँसम्मको कथा नै नेपालको लागि बहादुरीको नमूना बन्यो।
उज्वेकिस्तान टाइब्रेकरसम्मको बलियो तयारीमा आएको देखियो।
उनीहरुले प्रहार गरेको चारवटै पेनाल्टी गोलमा परिणत हुन पुग्यो।
नेपाली कप्तान सावित्राको पहिलो प्रहार बारमा लागेर फर्किनु नै नेपालको दुर्भाग्यको सङ्केत थियो। गोलकिपर अन्जना रानामगरले गरेको चौथो प्रहार विपक्षी गोलकिपरले सहजै रोकेपछि नेपालको हारको अर्को कथा थपियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








