भूकम्प: टर्की र सिरियाका नेपालीको अवस्था के छ?

टर्की र सिरियाको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा कोही पनि नेपाली परेको खबर आफूहरूले नपाएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

टर्कीलाई पनि हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतले भूकम्प गएको क्षेत्रमा खासै नेपालीहरू नरहेको जानकारी दिए।

सोमवार बिहानको विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा भवनहरू भत्किएका र सयौँको सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका विवरण आइरहेका छन्।

नेपाली अधिकारीहरूले पनि त्यहाँको परिस्थितिलाई नजिकबाट नियालिरहेका बताएका छन्।

पाकिस्तानस्थित नेपाली राजदूत के भन्छन्?

टर्कीलाई पनि हेर्ने इस्लामावादस्थित नेपाली राजदूत तपस अधिकारी भन्छन्, “टर्की र सिरियाको सिमाना नजिकै जुन स्थानमा भूकम्प गएको छ त्यहाँ नेपालीहरू हुनुहुन्न। हालसम्म कोही पनि नेपाली भूकम्पमा परेका छैनन् भन्ने जानकारी हामीले पाएका छौँ।”

उनका अनुसार टर्कीमा ३५ सयदेखि चार हजारको सङ्ख्यामा नेपालीहरू छन्।

उनीहरू मुख्य रूपमा अङ्कारा र इस्तानबुलमा बस्ने गरेका राजदूत अधिकारीले बताए।

नेपाल र टर्कीबीच पर्यटन, व्यापार लगायतका क्षेत्रमा सहकार्य रहँदै आएको छ।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि खोज तथा उद्धारका लागि टोली पठाउनेमा टर्कीको सहायता निकाय पनि रहेको थियो।

इस्तानबुलमा रहेका गैर आवासीय नेपाली सङ्घ, टर्कीका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सीमित सङ्ख्यामा नेपालीहरू छन्।

“त्यो सिरिया नजिकैको क्षेत्र हो। त्यसैले धेरै नेपाली छैनन्। हामीले केही साथीहरूसँग सम्पर्क गरेर त्यहाँ रहनु भएकाहरूको अवस्थाबारे बुझ्ने प्रयास गरिरहेका छौँ।”

उनले भूकम्प प्रभावित क्षेत्रमा ६ जना नेपालीहरू सुरक्षित रहेको आफूले जानकारी पाएको बताए।

सिरियाको अवस्था नजिकबाट हेरिरहेको भनाइ

नेपाली अधिकारीहरूले कमजोर सुरक्षा अवस्थालाई देखाउँदै सिरियामा जान नेपालीहरूलाई प्रतिबन्ध लगाएका छन्।

तर लुकीछिपी त्यहाँ केही नेपाली पुगेको हुनसक्ने भए पनि उनीहरूको यकिन सङ्ख्या आफूहरूलाई थाहा नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

सिरियालाई पनि हेर्ने जिम्मेवारी पाएको इजिप्टस्थित नेपाली राजदूत सुशील कुमार लम्साल भन्छन्, “सिरियामा हाम्रा एक जना कन्सुल हुनुहुन्छ। हामी उहाँसँग सम्पर्कमा रहेर त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छौँ। अहिलेसम्म नेपाली परेका कुनै विवरण आएको छैन।”