तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पूर्वराजाका सक्रियताका चार पाटा
अहिले मूलधारमा रहेका राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय कहिले राजसंस्था पक्षधर दलका नेताहरूसँग भेट्ने त कहिले विभिन्न जिल्लाको भ्रमण गर्ने वा विज्ञप्ति निकाल्ने जस्ता कारणले चर्चामा आइरहेका छन्।
उनले दिने अभिव्यक्तिलाई लिएर वा उनको देशभित्रै वा बाहिरको भ्रमणलाई लिएर प्रमुख दलका शीर्ष नेताहरूले बेलाबेला आपत्ति पनि जनाउने गरेका छन्।
पूर्वराजाका अभिव्यक्ति वा उनको गतिविधिले लोकतन्त्रलाई खतरामा पारेको टिप्पणी नेताहरूले गरिरहेकै बेला यसै साता ज्ञानेन्द्र शाह भारत जान लागेको बुझिएको छ।
नागरिक अभिनन्दन कार्यक्रममा हाल नेपालगञ्जमा रहेका पूर्वराजा शाह शुक्रवार भारतको लखनऊ जाने र त्यहाँ केही राजनीतिक भेटघाटहरू गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ।
पूर्वराजाका पछिल्ला सक्रियतालाई कतिपयले राजसंस्था पुनर्स्थापनाका लागि भइरहेका प्रयासका रूपमा हेरेका छन् त कतिले त्यसको सार्थकता नरहेको बताएका छन्।
सक्रियताले के दर्शाउँछ?
एकजना पत्रकार देवप्रकाश त्रिपाठी राजाको सक्रियताले अहिले नै राजसंस्था पुनर्स्थापना भइहाल्ने आधार बनिनसकेको बताउँछन्।
“राजावादी राजनीतिक दललाई बल पुर्याउने र राष्ट्रवादी शक्तिमा जागरण पैदा गर्नेसम्मको कामचाहिँ पूर्व राजाको पछिल्लो सक्रियताले गर्ला। राजसंस्था पुनर्स्थापना नै राजा आफैँको सक्रियताबाट मात्रै सम्भव छैन,” त्रिपाठीले बीबीसीसँग भने।
अहिलेको अवस्था हेर्दा दुईवटा परिस्थितिमा मात्रै राजसंस्था पुनर्स्थापित हुनसक्ने उनी ठान्छन्।
“आजका स्थापित दलहरूले महसुस गरे भने राजसंस्था पुनर्स्थापित हुनसक्छ। अर्को भनेको षड्यन्त्रको सिद्धान्त अन्तर्गत राजतन्त्र विस्थापनमा भूमिका निर्वाह गरेकाहरूले पुनर्मुल्याङ्कन वा आत्म समीक्षा गर्नुपर्यो। यी दुवै कुरा हुने अवस्था अहिले देखिएको छैन,” उनले भने।
हालसालै भएका चुनावका नतिजाले पनि जनताको मत राजसंस्थाको वकालत गर्ने पार्टीले नपाएको देखिएका कारण पनि त्यो सम्भावना अहिलेकै अवस्थामा नरहेको विश्लेषकहरू ठान्छन्।
शाहले आफ्ना भ्रमण देशभित्र वा बाहिर तीव्र बनाइरहँदा त्यसले स्थापित दलकै नेताहरूमा भने संशय पैदा भएको देखिन्छ।
हालसालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराजा शाह र उनको परिवारको संलग्नतामा आफूविरुद्ध आक्रमण भएको भन्दै शाहविरुद्ध खनिए।
त्यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि शाहका अभिव्यक्ति र विभिन्न गतिविधिमा संशय व्यक्त गर्दै लोकतन्त्रलाई खतरामा पार्ने प्रयास भइरहेको बताएका थिए।
तर शीर्ष नेताहरूको यो संशय केवल आफूले जनतामा देखाउन नसकेको सुशासन र भ्रष्टाचार छोप्ने दाउका रूपमा विश्लेषकहरू अर्थ्याउँछन्।
नागरिक समाजका एक अगुवा तथा अधिकारकर्मी कृष्ण पहाडी भन्छन्, “यो व्यवस्थामा सबैभन्दा ठूलो खतरा पूर्वराजाबाट छैन। कसैबाट छ भने त्यो वर्तमान प्रमुख दलका नेताहरूबाट छ। प्रमुख दलका नेताहरू जनताको ध्याना अर्को तिर मोड्नका लागि पूर्वराजाबाट खतरा छ भनेर हौवा देखाउँछन्।”
पछिल्लो समय शाहका सक्रियताका चारवटा पाटा देखिएका छन्। विज्ञप्ति निकालेर व्यक्त गरिएका अभिव्यक्ति, नागरिक अभिनन्दनका नाममा गरिएका जिल्ला भ्रमण र सम्बोधन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँगको बाक्लो भेटघाट र भारतका विभिन्न नेतासँगको भेटघाटका लागि बेलाबेला गरिने भ्रमणहरू।
भारत भ्रमण
अहिले नागरिक अभिनन्दनको कार्यक्रममा नेपालगञ्जमा रहेका शाह शुक्रवार भारतको लखनऊ जाने कार्यक्रम रहेको र त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही राजनीतिक भेटघाट हुने बुझिएको स्रोतले जनाएको छ।
तर, उनका सहयोगी फणीन्द्रराज पाठकले भने पूर्वराजा लखनउमा एक साताका लागि निजी भ्रमणमा जान लागेको र राजनीतिक भेटघाटबारे आफूलाई जानकारी नभएको बताएका छन्।
नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र फिर्तीको वकालत गर्दै आएका योगी आदित्यनाथसँग पूर्वराजा शाहको विगतमा पनि पटक पटक भेटघाट भएका थिए।
विवादास्पद छवि भएको भनिएका आदित्यनाथले ती भेटमा नेपाल राजतन्त्रात्मक हिन्दूराष्ट्र हुनुपर्ने मान्यता सार्वजनिक रूपमा राख्दै आएका छन्।
बेलाबेला पूर्वराजा शाह भारतमा हप्तौँसम्म बस्ने गरेका विवरण पनि आउँछन्।
अब हुने भनिएको भेट कुन प्रयोजनले हुन लागेको र त्यसमा कुन विषयमा कुराकानी हुने स्पष्ट नभएको शाह निकट नेताहरूले बताएका छन्।
देश दौडाहा तीव्र
विश्वका कतिपय देशमा राजसंस्थाको पुनर्स्थापना भए पनि त्यहाँ स्वयं राजाको नभइ जनताको स्तरबाट भएका पहलले मात्रै फर्किएका दृष्टान्त रहेको जानकारहरू बताउँछन्।
अहिले ज्ञानेन्द्र शाह देशको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म विभिन्न भागमा कार्यक्रमहरूमा गए पनि त्यसमा उनले स्पष्ट रूपमा राजसंस्था पुनर्स्थापना गरिदेउ नभनेको पहाडी बताउँछन्।
उनले भने, “पूर्वराजाको गर्तमा एउटा कुरा होला आशय एउटा कुरा होला। तर राजतन्त्र पुनर्स्थापना गरिदेउ म गद्दीमा बस्छु भनेर ठाडै भन्न सक्नुभएको छैन। त्यसो भनेको दिन नेपालको युवा पुस्ताको प्रकोप उहाँले सामना गर्नुपर्छ।”
शाहका अभिव्यक्ति
शाहले दशैँ वा नयाँ वर्ष वा प्रजातन्त्र दिवसजस्ता अवसर पारेर आफ्ना राजनीतिक धारणाहरू व्यक्त गर्ने क्रम बाक्लो बनाएका छन्।
त्यसबाहेक देशका विभन्न स्थानमा कार्यक्रममा पुग्दा पनि उनले असन्तुष्टि पोख्ने गरेका छन्।
जनताले अपेक्षा गरे अनुसार राजनीतिक दलहरूले काम गर्न नसकेको भन्दै उनले वर्तमान राजनीति र देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपालगञ्जमा बुधवार भएको कार्यक्रममा उनले अहिलेको नीति र पद्धति जनताको निम्ति हुन नसकेको बताए।
“हाम्रो राजनीति तथा राज्य व्यवस्था नेताद्वारा नेताको निम्ति दलद्वारा दलका निम्ति भइरहेको छ,” नेपालगञ्जको कार्यक्रममा बोल्दै उनले भने।
“भए रहेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भरतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेको छ।”
त्यस्ता कार्यक्रममा उपस्थित हजारौँ मानिसले "राजा आउ देश बचाउ" भन्दै नारा लगाउने गरेका छन्।
तर जनताको मतको सही परीक्षणका लागि पूर्वराजा चुनावमा जानुपर्ने पहाडी बताउँछन्।
“पूर्वराजाले आफूलाई परीक्षण गर्न आफ्ना घोषणापत्रमा प्रष्ट कुरा लेख्नुहोस् र चुनावमा लड्नुहोस् त्यसपछि नागरिकले मतको मार्फत जुन खालको खटनपटनमा राख्छन् त्यसले उहाँलाई प्रष्ट पार्छ,” उनले भने।
राप्रपाका नेतासँगको भेटघाट
राजसंस्थाको पुनर्स्थापनाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग शाहको भेटघाट पछिल्लो समय बाक्लिएको देखिन्छ।
ती भेटमा उनले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको सवाल उठाउन पहल गर्ने गरेको बताइन्छ।
तर यस्ता भेटघाट वा देश दौडाहा र अभिव्यक्त मात्रैले अहिले राजसंस्था ब्यूँतिने वा पुनर्स्थापित हुने सम्भावना नदेखिएको पत्रकार त्रिपाठी बताउँछन्।
अहिलेको अवस्थामा राजसंस्था पुनर्स्थापित भन्दा पनि वर्तमान दलका नेताहरूप्रतिको वितृष्णाका कारण व्यवस्थामाथि प्रश्न उठेको उनी ठान्छन्।
“दलहरूको विकल्पको खोजी भइरहेको बेला राष्ट्रियताको पक्षमा वातावरण बनाउन यो सक्रियता/भूमिका पूर्वराजाले देखाएको हुनसक्छ,” उनले भने।
शाह विभिन्न तरिकाबाट सक्रिय भइरहे पनि राजसंस्था पुनस्थापना सहजै नहुने ठान्छन् पहाडी।
“यसमा कोही उत्साही हुनुपर्ने वा हतोत्साही हुनुपर्ने कुनै पनि जरूरी म देख्दिनँ,” उनले भने।
पहाडीको भनाइ छ, “२०६२/२०६३ को जस्तै ठूलो आन्दोलन भयो भने मात्रै बौरिन्छ। त्यो सत्यलाई हामीले स्वीकार्नुपर्छ। तर म त्यस्तो सम्भावना देख्दिनँ।”