तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टिकटकले सम्भावित अमेरिकी प्रतिबन्धलाई कस्तो चुनौती देला
- Author, जेरमी हावल
- Role, बीबीसी विश्व सेवा
टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनीले टिकटकलाई संयुक्त राज्य अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने कानुनविरुद्ध अदालतको ढोका घचघच्याउन लागेको छ।
बाइटड्यान्स कम्पनीले टिकटक एप बिक्री नगरे उक्त कानुनले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने छ। टिकटक सञ्चालन गर्ने उक्त कम्पनी आगामी सेप्टेम्बर १६ मा उक्त कानुनलाई अमेरिकाकै अदालतमा चुनौती दिन लागेको छ।
अमेरिकी संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रतालाई उक्त कानुनी प्रावधानले उल्लङ्घन तर्क बाइटड्यान्सको छ।
अमेरिकाले किन टिकटकलाई प्रतिबन्ध लगाउन खोजेको हो?
गत एप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा नयाँ कानुनलाई प्रमाणीकरण गरेका थिए। कानुन बन्नुअघि विधेयकका रूपमा अमेरिकी संसद्मा प्रस्तुत हुँदा त्यसले त्यहाँ व्यापक समर्थन पाएको थियो।
'प्रोटेक्टिङ अमेरिकन अगेन्स्ट फरिन एड्भर्सरी कन्ट्रोल एप्लिकेशन्स एक्ट' नामक उक्त कानुनले रुस, चीन, इरान र उत्तर कोरियाजस्ता अमेरिकासँग सौहार्द सम्बन्ध नभएका देशका एपहरूलाई निषेध गर्छ।
अमेरिकी अधिकारीहरूले टिकटकको माउकम्पनीलाई चीनबाहिरको कम्पनीलाई उक्त एप बिक्री गर्न वा प्रतिबन्ध सामना गर्ने निर्देशन दिन उक्त कानुन प्रयोग गरेका छन्।
उनीहरूले सन् २०२५ को ज्यानुअरी १९ सम्ममा त्यसो गर्न बाइटड्यान्सलाई भनेका छन्।
अमेरिकी अधिकारीहरू विशेष गरी टिकटकबारे चिन्तित देखिएका छन्।
टिकटको २० प्रतिशत शेअर माउकम्पनी बाइटड्यान्सका संस्थापकहरूको स्वामित्वमा छ। बाँकी शेअरमा लगानी गर्ने कम्पनीहरू र बाइटड्यान्सका कर्मचारीको स्वामित्व छ।
अमेरिकाको संसद् र ह्वाइटहाउसले बाइटड्यान्सले टिकटकका माध्यमबाट चीनका गुप्तचर निकायहरूलाई प्रयोगकर्ताहरूको सूचना हस्तान्तरण गर्छन् भन्ने आशङ्का गर्दै आएका छन्।
अमेरिकामा १७ करोड मानिस टिकटक प्रयोग गर्छन्। त्यसरी चिनियाँहरूलाई पठाइएको सूचनाबाट चीनले अमेरिकामाथि निगरानी गरेको दाबी अमेरिकी पक्षको छ।
टिकटकले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र यूट्यूबजस्ता एपले गरे जसरी नै डेटा सङ्कलन गर्दै आएको छ। त्यसमा फरक भनेको के मात्र हो भने अन्य कम्पनीहरू अमेरिकी हुन् भने टिकटकको माउकम्पनी चिनियाँ हो।
टिकटकको एल्गरिदम "फर यू" फीडबारे पनि चिन्ता व्यक्त हुने गरेको छ। उक्त फीडले प्रयोगकर्ताहरूलाई के हेर्ने भनेर सुझाव दिन्छ। तर मानिसहरूलाई चिनियाँ सरकारी निकायले आफू अनुकूलका सामग्री हेर्न लगाउन उक्त सुविधा प्रयोग गरेको आशङ्का पनि गरिँदै आएको छ।
टिकटक प्रतिबन्ध कसरी कार्यान्वयन होला?
यदि अमेरिकी अधिकारीहरूले टिकटकमाथि प्रतिबन्ध लगाए भने उनीहरूले गुगल र एपलजस्ता कम्पनीका एपस्टोरबाट उक्त एप अमेरिकामा डाउनलोड हुन नमिल्ने बनाइदिन सक्छन्।
त्यसको अर्थ अमेरिकी प्रयोगकर्ताहरूले टिकटक एप ती स्टोरबाट अप्डेट गर्न सक्दैनन्।
त्यस्तै अमेरिकामा टिकटक चल्न सक्ने इन्टरनेट होस्टिङ सेवामा पनि रोक लाग्न सक्छ।
ह्वाइटहाउसले चाहिँ उक्त एपलाई बन्द गर्नुको साटो त्यसको चिनियाँ स्वामित्व सार्न चाहेको बताएको छ।
प्रतिबन्धविरुद्ध चुनौती कसले दिन लागेको हो?
सेप्टेम्बर १६ मा 'डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट'मा न्यायाधीशहरूले नयाँ कानुनविरुद्ध निवेदन दर्ता गर्नेहरूको तर्क सुन्ने छन्।
त्यस्तो निवेदन दर्ता गर्नेमा बाइटड्यान्स र त्यसको अमेरिकी साझेदार टिकटक इन्क, टिकटकमा सामग्रीहरू बनाउने व्यक्तिहरूको समूह र 'बेस्ड' नामक अनुदारवादी राजनीतिक सङ्गठन पनि छन्।
बाइटड्यान्स र अन्य समूहले हजारौँ अमेरिकी नागरिकहरूले टिकटकमा सामग्री बनाउने र त्यसका माध्यमबाट फैलाउने गरेकाले त्यसमाथि लाग्ने प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन हुने तर्क गरेका छन्।
उनीहरूका अनुसार संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको अधिकार उक्त कानुनले उल्लङ्घन गर्छ।
टिकटकका प्रमुख कार्यकारी शोउ जी चूले अमेरिकी प्रयोगकर्ताहरूलाई भनेका छन्, "हामी तपाईँहरूको अधिकारका लागि निरन्तर अदालतमा लड्ने छौँ र हामी त्यसमा विश्वस्त छौँ।"
"तथ्य के हो भने संविधान हाम्रो पक्षमा छ… ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ।"
बाइटड्यान्सले टिकटकलाई पूर्ण रूपमा बिक्री गर्न सम्भव नभएको जनाएको छ। त्यसका लागि चिनियाँ अधिकारीहरूको अनुमति लिनुपर्ने र उनीहरूले पहिले नै त्यस्तो अनुमति नदिने बताइसकेको बाइटड्यान्सको भनाइ छ।
उसले अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउँदा त्यहाँ ठूलो रोजगारी कटौती हुने चेतावनी पनि दिएको छ।
गत मार्चमा उक्त कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार ७० लाखभन्दा बढी मानिसहरू तथा साना व्यवसायहरूले टिकटकमा 'कन्टेन्ट' बनाउने गरेका छन्। उसले त्यस्तो गरेर ती व्यक्ति तथा कम्पनीहरूले १५ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने गरेको जनाएको छ।
डोनल्ड ट्रम्पले आफ्नो कार्यकालमा सन् २०२० मा उक्त एपमाथि प्रतिबन्ध लगाउने कोसिस गरेका थिए।यद्यपि हालै उनी टिकटकमा जोडिएका छन् र उनले प्रतिबन्ध लगाउने कुराको विरोध गरेका छन्।
उनले बाइटड्यान्सको तर्कलाई साथ दिँदै यदि टिकटकमाथि प्रतिबन्ध लगाइयो भने त्यसले बजारमा उसको प्रतिस्पर्धी फेसबुकलाई व्यापक शक्तिशाली बनाउने तर्क गरेका छन्।
बाइटड्यान्सले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीनमा भण्डारण नगरिएको र त्यसलाई चीन पुर्याउने कार्य नहुने बताउँदै आएको छ। उसले अमेरिकाको टेक्ससमा 'डेटा सेन्टर' पनि बनाइरहेको बताउने गरेको छ।
बाइटड्यान्स र उसको पक्षमा निवेदन दिनेहरूका साथसाथै अमेरिकी न्याय मन्त्रालयले पनि अदालतलाई डिसेम्बर ६ भित्र आदेश दिन आग्रह गरेका छन्। त्यसपछि उक्त मुद्दालाई अमेरिकाको सर्वोच्च अदालतमा लैजान सकिन्छ।
बाँकी विश्वमा टिकटकको अवस्था
टिकटकमाथि भारत, अफगानिस्तान र सोमालियामा प्रतिबन्ध लगाइएको छ। नेपालमा पनि प्रतिबन्ध लागेको थियो तर भर्खरै फुकुवा भयो। टिकटकको अन्तर्राष्ट्रिय संस्करण चीनमै प्रतिबन्धित छ।
युरोपेली आयोगले आफ्ना कर्मचारीहरूलाई कार्यस्थलका उपकरणमा टिकटक नचलाउन निर्देशन दिएको छ। यूके सरकार र त्यहाँको संसद्ले पनि त्यस्तै निर्णय गरेको छ।
यदि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगायो भने अमेरिकाका साझेदार अन्य देशहरूले पनि त्यसलाई अनुसरण गर्ने ठानिएको छ।
चीनले चाहिँ कैयौँ वर्षदेखि अमेरिकी सामाजिक सञ्जाल एपहरूमाथि प्रतिबन्ध लगाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।