टोखामा बरामद 'विदेशी मुद्रा'को सम्बन्ध सुन तस्करीसँग हुन सक्ने सम्भावना कति

तस्बिर स्रोत, RSS
गत सोमवार राति काठमाण्डूको टोखाबाट एक नेपाली नागरिकलाई "ट्रकमा लुकाएर" ठूलो मात्रामा विदेशी मुद्रा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले अमेरिकी डलर र यूरो गरी २५ करोड नेपाली रुपैयाँभन्दा बढी हुने रकम चीनको सीमातर्फ लग्न खोजेको प्रहरीको आशङ्का छ।
प्रहरीले त्यसबारे अनुसन्धान जारी छ। उक्त घटनापछि नेपालमा बेलाबेलामा अवैध रूपमा ओसारपसार गर्न लागिएको सुन र विदेशी मुद्रा ठूलो परिमाणमा बरामद हुने गरेको विषयबारे चर्चा हुन थालेको छ।
गत फागुन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'ब्यागेज चेकिङ' क्षेत्रबाट पनि "अवैध रूपमा लैजान खोजिएको" अमेरिकी डलर तथा जापानी येनसहित एक चिनियाँ र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो। ती चिनियाँ नागरिकको साथबाट १० लाख ४२ हजार जापानी येन र ५८० अमेरिकी डलर एवं नेपाली नागरिकको साथबाट ७,५०० अमेरिकी डलर प्रहरीले फेला पारेको थियो।
गत फागुन ३ गते पनि एक अमेरिकी महिला त्रिभुवन विमानस्थलबाटै "अवैध रूपमा लैजान खोजेको विदेशी मुद्रा"सहित पक्राउ परेकी थिइन्। काठमाण्डूबाट मलेशिया जान लागेकी उनको साथबाट १२,७४८ डलर, २४९ सिङ्गापुर डलर, १२,००० इन्डोनेशियाली रुपैयाँ फेला परेको थियो।
राजधानी काठमाण्डूभित्र भएका यी घटनाले "अवैध रूपमा विदेशी मुद्राको ओसारपसारका लागि नेपाललाई" बाटो बनाइने गरेको सङ्केत पाइएको प्रहरी अधिकारीहरूले बताएका छन्।
विदेशी मुद्रा ओसारपसारका पछिल्ला गतिविधिहरू हेर्दा त्यो "सुन तस्करीसँग जोडिएको हुन सक्ने" कतिपय जानकारको भनाइ छ। प्रहरी अधिकारीहरू पनि अनुसन्धानका क्रममा विदेशी मुद्रा ओसारपसार सुन तस्करीसँग जोडिएका कैयौँ घटनाहरू बाहिर आएको बताउँछन्।
एक भूतपूर्व प्रहरी अधिकारीले यस्ता गतिविधि न्यूनीकरणका लागि "राजनीतिक नेतृत्वमा इच्छाशक्ति हुनुपर्ने र तस्करी रोक्न पर्याप्त लगानी र कानुनी सुधार गर्नुपर्ने" बताएका छन्।
अहिलेको घटनाबारे हामीलाई के थाहा छ?

तस्बिर स्रोत, RSS
नेपाल प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमवार राति करिब ११ बजेतिर टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट एउटा ट्रकलाई नियन्त्रणमा लिइएको जनाएको छ। "राजस्व छली गरेर अवैध रूपमा ओसापसार गर्ने गरेको" सूचना आएपछि उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।
काठमाण्डूबाट रसुवागढीतर्फ जाँदै गरेको उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा त्यसमा ठूलो मात्रामा विदेशी मुद्रा भेटिएको उक्त कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनका अनुसार ट्रकको ड्राइभर बस्ने क्याबिनको बायाँतर्फको माथिल्लो भागमा 'फल्स बटम' बनाएर लुकाएर लैजाँदै गरेको अमेरिकी डलर र यूरोसहित ठूलो परिमाणमा रकम फेला परेको थियो।
ट्रकचालकलाई भन्सार तथा राजस्व छली गरेर अवैध मुद्रा कारोबार गरेको आरोपमा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।
पक्राउ परेका व्यक्ति को हुन्
पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक मूल घर भएका एक ४३ वर्षे पुरुष हुन्।उनी हाल काठमाण्डूमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।
ती व्यक्ति २०७३ पुस १३ गते राजस्व छलेर सात किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेर सात वर्षको कैद भुक्तान गरेको पाइएको प्रहरीले जनाएको छ। तर उनी वास्तविक मालिक नभई "भरिया" मात्र भएको प्रहरीको आशङ्का छ।
"उनी मुख्य अभियुक्त हुन् भन्ने हामीलाई लागेको छैन। उनी र उनको ट्रकलाई अरूले नै प्रयोग गरेका हुन सक्छन्," आचार्यले भने।
प्रहरीले उनको साथबाट अमेरिकी डलर र यूरो गरी २५ करोड १९ लाख रुपैयाँ बराबरको मुद्रा फेला परेको जनाएको छ।

पक्राउ परेका व्यक्तिले बयानमा के भने
आचार्यका अनुसार हालसम्म प्रहरीले उक्त रकम कसको हो र कहाँबाट ल्याइएको थियो भनेर खुल्न सकेको छैन।
उनले बुधवार दिउँसो बीबीसीसँग भने, "हालसम्म हामीले यसको प्राविधिक पाटोको अध्ययन गरिरहेका छौँ। उसको मोबाइल वा सामाजिक सञ्जालबाट कसैसँग सम्पर्क भएको थियो कि भनेर हेरिरहेका छौँ। थप तथ्य खुलेको छैन।"
प्रहरीका अनुसार ती व्यक्तिले कपडा लिनका लागि रित्तो ट्रक लिएर हिँडेको भन्ने बयान प्रहरीसमक्ष दिएका छन्।
"ट्रकमा भएको रकमबारे आफूलाई थाहा नभएको उसले बताएको छ। सामान लोड गर्न रसुवागढीसम्म जाने र त्यहाँबाट चीनतर्फ गाडी चलाउन पाउने व्यक्तिले उक्त ट्रकलाई लिएर जाने भएकाले आफूलाई सबै कुरा थाहा नभएको बताएको छ," आचार्यले भने।
उनका अनुसार रसुवागढीबाट केरुङतर्फ चिनियाँ क्षेत्रमा गाडी चलाउन रसुवा जिल्लामा ठेगाना भएकाले मात्र पाउने गर्छन्।
त्यस आधारमा पक्राउ परेका चालकले अर्को नेपाली चालकलाई नै ट्रक हस्तान्तरण गरेर त्यो रकम चीनतर्फ पुर्याउन खोजे जस्तो देखिएको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार ती व्यक्तिले चीनतर्फबाट सुन तस्करी गर्नका लागि उक्त विदेशी मुद्रा सीमातर्फ लैजाँदै गरेका हुन सक्छन्।
त्यसले उक्त रकम सुन तस्करीमा जोडिएको हुन सक्ने प्रहरीको अनुमान छ।
विदेशी मुद्राको मात्रा धेरै भएकाले यो नेपाली सुन तस्करले भन्दा पनि भारतीयले पठाएको रकम हुन सक्ने र नेपालीले भरियाको मात्र काम गरेका हुन सक्ने प्रहरीको अनुमान छ।
संसद्मा पनि कुरा उठ्यो

तस्बिर स्रोत, RSS
उक्त घटनाबारे बुधवारको प्रतिनिधिसभाको बैठकमा विपक्षी माओवादीका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
संसद्मा बोल्दै माओवादी सांसद माधव सापकोटाले भने, "यति ठूलो मात्राको तस्करीको घटना चाहिँ उपल्लो तहको कनेक्शन नभई सम्भव छैन। त्यसैले हामी यसको गम्भीर अनुसन्धान र छानबिनको माग गर्छौँ।"
उनले उक्त घटनाले सिङ्गो देशलाई तरङ्गित बनाएको भन्दै त्यसले सङ्गठित अपराध "कुन स्तरमा फैलिएको छ भन्ने" एउटा चित्र देखाएको दाबी गरेका छन्।
सापकोटाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेकाले पनि उक्त घटनाबारे निष्पक्ष छानबिन गरी संलग्न "जोसुकैलाई" कारबाहीको दायरामा ल्याउन माग गरे।
उनले पछिल्ला समयमा यस्ता गतिविधिमा संलग्न "भरियाहरू मात्र पक्राउ पर्ने र मुख्य व्यक्ति छुट्ने" गरेको आरोप पनि लगाए।
सुन तस्करीसँग जोडिएको आशङ्का किन

तस्बिर स्रोत, DPO Kapilvastu
प्रहरी अधिकारीहरू पछिल्ला दिनमा नेपालमा विशेष गरी चीनबाट सुन ल्याएर भारतसम्म पुर्याउने क्रम बढेको बताउँछन्।
त्यस्तै अरब देशहरूबाट सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाली भूमिमा सुन ल्याउने र त्यसलाई भारततर्फ लैजाने प्रवृत्ति पनि देखिएको उनीहरूको भनाइ छ।
मानिसहरूले भारतीयबाट विदेशी मुद्रा ल्याउने र त्यसलाई चीनसम्म पुर्याउने र चीनबाट सुन ल्याएर भारतसम्म पुर्याउने गरिरहेको जानकारहरूको बताउँछन्।
"सुनमा पैसा लगाएर यस्तो गर्न खोज्ने कारण के हो भने सानो र थोरै लुकाएर तस्करी गर्दा पनि त्यसको मूल्य धेरै हुने भएकाले यसको कारोबार गरेको देखिन्छ," आचार्यले भने।
"त्यही मूल्य बराबरको अन्य सामान गर्दा परिमाण धेरै हुन्छ। सुनलाई त मान्छेले शरीरमा नै पनि बोक्न सक्छ र अहिलेको घटनामा जस्तै 'फल्स बटन' बनाएर लैजान पनि सहज हुने भयो।"
उनका अनुसार पछिल्ला घटनामा नेपाली भूमिमा नेपाली नागरिक प्रयोग हुने र अन्य देशको भूमिमा उतैका नागरिकहरू यस्तो कारोबारमा संलग्न हुने गरेको देखिएको छ।
भारतीय सीमा क्षेत्रमा कस्तो गतिविधि देखिन्छ

तस्बिर स्रोत, Nepal Police
नेपाल प्रहरीले सार्वजनिक गरेका विवरणहरूमा नेपाल-भारत सीमा क्षेत्रहरूमा स्रोत नखुलेको रकम भेटिने गरेको देखिन्छ।
प्रहरीको विवरण अनुसार त्यसरी भेटिएको रकममध्ये प्राय: भारतबाट नेपाल आउने क्रममा मानिसहरूले "लुकाएर" ल्याएको पाइएको छ। त्यसरी सीमा क्षेत्रमा पाइने स्रोत नखुलेको मुद्राको सम्बन्ध पनि सुन तस्करीसँग जोडिएको हुन सक्ने आशङ्का गरिन्छ
"तर सीमा क्षेत्रमा दक्षिणबाट आउने पैसा मुख्य रूपमा सुनको भन्दा पनि सुपारी, केराउ, मरिच, छोगडा, लसुनजस्ता वस्तुको तस्करी बापतको पैसा हो। मेरो अध्ययनले देखाएको विषय त्यही हो," नेपाल प्रहरीबाट अवकाशप्राप्त डीआईजी हेमन्त मल्लले भने।
"पहिले भारतीय रुपैयाँ धेरै फेला पर्थ्यो तर भारतमा नोटबन्दी गरिएपछि भने त्यस्ता गतिविधिमा संलग्न नेपालीहरूले नेपाली मुद्रामा मात्र भुक्तानी लिन्छु भनेकाले स्रोत नखुलेको नेपाली मुद्रा भेटिएको हो।"
'नेपाल सुन तस्करीको बाटो'

तस्बिर स्रोत, Nepal Police
हेमन्त मल्ल पछिल्लो पटक काठमाण्डूसहित नेपालमा विभिन्न स्थानमा फेला परेको विदेशी मुद्रा सुनकै लागि चीनतर्फ पुर्याउन ल्याइएको हुने आधारहरू धेरै रहेको बताउँछन्। "भारत विश्वमै व्यक्तिगत सुन धेरै राख्ने र किन्ने देश हो। त्यसले गर्दा त्यहाँ सुनको व्यापक माग छ," उनले भने।
"वैध माध्यमबाट मात्र त्यो पूर्ति हुने अवस्था छैन। माग पूर्ति गर्नका लागि भारतमा सीधै पनि विभिन्न देशबाट सुन तस्करी हुन्छ।"
भारतमा दुई साताअघि दुबईबाट बेङ्गलुरु फर्किँदै गर्दा कन्नड तथा तमिल फिल्मकी अभिनेत्री रान्या रावलाई १४.८ केजी सुनसहित गिरफ्तार गरिएको थियो। उक्त घटनाले "भारतमा सीधै सुन तस्करी" हुने गरेको देखाएको उनको भनाइ छ।
"त्यसबाहेक भारतमा नेपाल र बाङ्ग्लादेशको बाटो हुँदै धेरै सुन तस्करी हुने गर्छ। तस्करहरूले चीनबाट भुटान ल्याएर भारत पुर्याउने कोसिस पनि गरेको देखिन्छ तर त्यो खासै सफल भएन।"
त्यस आधारमा नेपाललाई चीनबाट भारतमा सुन पुर्याउने र भारतबाट चीनसम्म भारतीय तस्करको रकम पुर्याउने काम "नेपाली "अपराधीहरू"ले गरेका छन् भन्न सकिने उनले बताए।
"अहिले टोखामा फेला परेको ठूलो मुद्रा पनि नेपालीको हो भन्ने मलाई लाग्दैन। भारतीयको पैसा हुनुपर्छ र त्यो चीनमा सुन किन्न पठाइएको होला," उनले भने।
आचार्य पनि त्यस्ता गतिविधिहरू हुने गरेको कतिपय अनुसन्धानले देखाएको बताउँछन्।
तस्करी घटाउने उपाय के हो

तस्बिर स्रोत, RSS
मल्ल यस्ता गतिविधि नियन्त्रणका लागि मुख्यत: "राजनीतिज्ञहरू इमान्दार" हुनुपर्ने बताउँछन्।
"राजनीतिकज्ञहरू इमान्दार भए भने न्यूनीकरणका लागि धेरै सहज हुन्छ," उनले भने।
"दोस्रो भनेको यस्ता गतिविधि नियन्त्रणका लागि 'डेडिकेटेड' कर्मचारी हुनुपर्छ र उपयुक्त स्थानमा उपयुक्त मानिस हुनुपर्छ।"
उनी सुन तस्करीको अनुसन्धानका लागि बजेट पनि पर्याप्त नभएको र कतिपय कानुनहरू पनि समयानुकूल नभएको बताउँछन्।
"तस्करी शून्य त कतै पनि हुँदैन तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ तर हामीकहाँ अहिलेका प्रयासहरू पनि त्यसका लागि पर्याप्त छैनन्," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








