कल सेन्टरमार्फत् नेपालमा 'बारम्बार अवैध धन्दा', नियन्त्रण गर्न सक्ने प्रहरीको क्षमतामा प्रश्न

ल्यापटमा हात चलाउँदै

तस्बिर स्रोत, Reuters

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा कल सेन्टरमार्फत् 'अवैध धन्दा' हुने घटनामा बारम्बार कारबाही सञ्चालन गर्दै आएको प्रहरीले तिनीहरू देशबाहिर र विदेशी नागरिकहरूलक्षित ठगीका काममा बढ्ता संलग्न रहेको पाइएको जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसै साताको सुरुमा ललितपुरबाट अवैध कल सेन्टर सञ्चालनमा संलग्न रहेको भन्दै दुई भारतीयसहित ५३ जनालाई पक्राउ गर्दै केहीलाई हिरासतमै राखेर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले विगत नौ महिनादेखि नेपालमा रहेर त्यस्तो गतिविधि सञ्चालन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

'भारत र चीनका धेरै मानिस संलग्न'

सीआईबी प्रवक्ता होविन्द्र बोगटी पछिल्लो समय त्यस्तो गिरोहमा भारत र चीनका मानिसहरू धेरै संलग्न भएको पाइएको बताउँछन्।

"त्यस्ता व्यक्तिहरूले यहाँ नेपालीहरूसँगै मिलेर आइटी कम्पनीका रूपमा दर्ता गरेर लुकिछिपी अनलाइन छली तथा ठगीको काम गरेको देखिन्छ," प्रहरी उपरीक्षक बोगटीले बीबीसीसँग भने।

"त्यसका लागि नेपालमा जनशक्ति समेत सस्तोमा पाइने भएकाले हाम्रो देश रोजेर काम गर्न हौसिएको पाइन्छ। नेपालीका नाममै कम्पनी दर्ता गरेर उनीहरू काम गरेको पाइन्छ।"

नेपाल प्रहरी कन्ट्रोल कक्ष

तस्बिर स्रोत, Nepal Police Mirror

तस्बिरको क्याप्शन, प्रहरी अनुसन्धानमा प्रविधिको प्रयोग बिस्तारै बढे पनि पर्याप्त हुन नसकेको बताइन्छ

नेपाल प्रहरीबाट सेवानिवृत्त एक वरिष्ठ अधिकारी अपराधको माध्यम अब इन्टरनेटमा केन्द्रित भएको बताउँदै नेपाल प्रहरीले अब ढिलो नगरीकन त्यसतर्फ आफ्नो क्षमता विकास गर्नुपर्ने बताउँछन्।

पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, "अहिलेसम्म कि कसैले ठगिएर उजुरी दिएपछि त कहिले प्रहरीलाई सम्बन्धित देशहरूले नै सूचना दिएपछि मात्र पक्राउ गरिएको अवस्था छ।"

विगतमा काठमाण्डूबाहेक वीरगन्ज, पोखरा, चितवन, बुटवललगायतका सहरहरूमा समेत विगतमा शङ्कास्पद घटनामा कल सेन्टरमा छापा मार्दै मानिसहरू पक्राउ गरिएका छन्।

'अनुसन्धान विदेशी सूचनामा निर्भर'

सीआईबी प्रवक्ता बोगटी पछिल्लो पटक सन्दिग्धहरू पक्राउ गर्दा विगतमा झैँ कतैबाट प्राप्त 'सूचनामा भर' गरिएको तर आफूहरूसँग 'प्राविधिक रूपमा ट्र्याक गर्ने अवस्था नरहेको' बताउँछन्।

यसअघि समेत केही चिनियाँहरू नेपालमा रहेर भारतमा डिजिटल वालेटको माध्यमबाट ऋण दिने काममा संलग्न भएका पाइएका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालय
तस्बिरको क्याप्शन, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालय

झन्डै पाँच वर्षअघि चिनियाँ सरकारले नै नेपालमा करिब ३,००० चिनियाँहरूले अनलाइनमार्फत् अवैध काम गरिरहेको पाइएको भन्दै त्यसबारे नेपाललाई जानकारी दिएको थियो।

पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, "त्यस बेला संयुक्त अपरेशनमार्फत् चीनले विमान नै पठाएर अध्यागमनको नियन्त्रणमा रहेका १२२ जना आफ्ना सन्दिग्ध नागरिकहरूलाई लगेको थियो।"

त्यसबेला उनीहरूको अनलाइन मुद्दामा अभियोग साबित हुन नसकेपछि अध्यागमन कानुन उल्लङ्घन गरिएको कसुरमा देश निकाला गरिएको थियो।

"त्यो अपरेशनमा पूरा जानकारी उताबाटै आएको थियो। त्यसैले अपराधको प्रवृत्ति फेरिरहेको र त्यो इन्टरनेटमार्फत् भइरहेको थाहा हुँदा पनि नेपाल प्रहरीको क्षमता विकास पनि त्यसै गरी हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन," मल्ल थप्छन्।

नेपालमा रहेका कल सेन्टरमार्फत् सयौँ अमेरिकीहरू समेत ठगिएपछि दुई वर्षअघि त्यहाँको सङ्घीय जाँच ब्यूरो (एफबीआई) समेत काठमाण्डू आएर अनुसन्धान गरेको थियो।

"जुनजुन देशमा यहाँबाट ठगी हुन्छ, तिनै हकमा त्यहाँको प्रहरी सक्रिय हुने कुरा स्वाभाविक हो," सीआईबी प्रवक्ता बोगटी भन्छन्।

"पहिले चिनियाँहरू धेरै संलग्न पाइन्थे, तर पछिल्लो समयमा भारतीय नागरिकहरू धेरै संलग्न भएका पाइएका छन्।"

प्रहरीले गत दशैँको बेलामा कल सेन्टरबाट अवैध गतिविधि सञ्चालन गरेकामा चिनियाँ र भियतनामी नागरिकहरू सहितलाई पक्राउ गरेको थियो।

कस्ता धन्दा

कल सेन्टरमार्फत नेपालबाट चिट्ठा, जुवा, रोजगारी दिने, विभिन्न आवरणमा गोप्य विवरण लिने प्रयास गर्दै ह्याकिङमा संलग्न हुनेजस्ता गतिविधि हुने गरेका पाइएको प्रहरीले जनाएको छ।

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार समेत त्यस्ता गिरोहले गराउने गरेका पाइएको प्रहरी विवरण छ।

"मुख्य रूपमा नेपालबाट हुने गतिविधिको रूपमा अनलाइन क्यासिनो छ। यो अर्कै देशमा रहने विदेशीहरू र नेपालबाहिर रहेका नेपालीलक्षित नै समेत देखिन्छ," सीआईबी प्रवक्ता बोगटी भन्छन्।

पछिल्लो घटनामा पक्राउ गरिएकाहरूले विभिन्न सात देशमा आफ्ना अवैध गतिविधिहरू सञ्चालन गरेका पाइएको थियो। उनीहरूलाई जुवा र सट्टेबाजी सञ्जालनजस्ता कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रहरीको क्षमतामा प्रश्न

ल्यापटप चलाइँदै

तस्बिर स्रोत, PA

तर कल सेन्टरसम्बन्धी घटनाका अनुसन्धानमा प्रहरीलाई प्रमाण जुटाउनपर्ने सकसले धेरैजसो मुद्दा टुङ्गोमा पुग्न नसकिरहेको जानकारहरू बताउँछन्।

पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, "प्रहरीमा यस्ता अनुसन्धानका लागि बजेटको कमी छ। पैसा एकातर्फ सूचना सङ्कलन गर्ने क्रममा खर्च हुन्छ भने अर्को प्रविधिभित्र पहुँच बनाउने क्षमता विकासका लागि चाहिन्छ। नेपाल प्रहरी कमजोर होइन तर उसको क्षमता विकास गर्ने यस्ता पक्ष कमजोर छन्।"

मल्ल सम्बन्धित देशहरूसँग सहकार्य गर्दै यस्ता चुनौतीको सामना गर्नका लागि समेत नेपाल प्रहरीले इन्टरनेटसँग सम्बन्धित प्राविधिमा आफूमा लगानी बढाउन ढिलो भइसकेको बताउँछन्।

उनी भन्छन्, "यसमा जति ढिलो लगानी बढायो, त्यति बढी कमजोर भइने हो किनकि इन्टरनेटरमा आश्रित यस्ता अपराध आउँदा दिनमा घट्ने छैनन्, झन् बढ्ने नै हुन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।