उद्योग कारागार भनिएको देशकै 'नमुना' जेलमा कैदीबन्दीलाई कस्तो सुविधा छ?

तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
देशकै नमुना कारागारको रूपमा नुवाकोटको विदूरमा सञ्चालनमा आएको केन्द्रीय कारागारमा पहिलो चरणमा देशका अन्य चार जेलबाट डेढ सय कैदीहरू पठाइएको छ।
गृहमन्त्री रमेश लेखकले शनिवार उद्घाटनका क्रममा ‘औद्योगिक कारागार’ भनेको यो जेलमा कैदीबन्दीहरूलाई यसअघि देशभरि सञ्चालनमा ७५ वटा कारागारभन्दा भिन्न सुविधा हुने अधिकारीहरूले दाबी गरेका छन्।
सरकारले विसं २०७० सालमा राजधानीबाट दुई घण्टाको सडक यात्रामा पुगिने नुवाकोटको विदूरमा आधुनिक सुविधा सम्पन्न कारागार बनाएर सुन्धाराको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारलाई सार्ने निर्णय लिएको थियो।
आठ वर्ष लगाएर तीनमध्ये दुई भाग निर्माण सम्पन्न भएको यो कारागारमा बाँकी संरचनाहरूको निर्माण अनिश्चित देखिएको छ।
यो कारागारको सबै संरचना निर्माण भइसक्दा सात हजार कैदी बन्दी अट्ने कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए।
छ सय रोपनी भन्दा ठूलो क्षेत्रफलमा फैलिएको कारागारमा कस्ता कैदीबन्दीहरूलाई राखिन्छ अनि उनीहरूले के-कस्तो सुविधा पाउँछन्?
यो कारागारमा कस्ता कैदी राखिन्छ?

तस्बिर स्रोत, Ramesh Lekhak Secretariat
अधिकारीहरूले अदालतको अन्तिम आदेशपछि थुनामा पठाइने व्यक्तिलाई कैदी र मुद्दाको सुनुवाइ चलिरहँदा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्तिलाई बन्दी भन्ने गरेका छन्।
कारागार व्यवस्था विभागका महानिर्देशक आचार्यका अनुसार राजधानीबाट केही टाढा रहेको यो कारागारमा नियमित अदालतमा उपस्थित गराइरहनुपर्ने बन्दीहरूलाई भने तत्काल सारिँदैन।
“अहिले चाहिँ काठमाण्ठूका तीन वटा कारागारबाट मुद्दा अन्तिम भइसकेका र स्वास्थ्यकर कैदीहरूलाई नुवाकोटको कारागारमा लगेर राख्छौँ। त्यसपछि कैदीको बढी चाप भएका आसपासका कारागारबाट नुवाकोटमा सार्छौँ,” उनले भने।
गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागले देशका अधिकांश कारागारहरूमा क्षमता भन्दा धेरै कैदीबन्दी राख्दै आएको आरोप खेप्दै आएको छ।
शनिवार केन्द्रीय कारागारको उद्घाटन गर्न पुगेका गृहमन्त्री लेखकले पनि करिब १३,००० क्षमता भएका देशभरिका कारागारमा २८,००० लाई राख्नु परेको बताएका थिए।
कारागार व्यवस्था विभागको असार मसान्तसम्मको तथ्याङ्क अनुसार देशभरिका ७५ कारागारमा १७,६९० जना कैदी र १०,९२३ बन्दी सहित २८,६१३ जना कैदीबन्दी छन्।
नेपालका कारागारमा जम्मा १,४३२ जना विदेशी कैदी बन्दी रहेको विभागको तथ्याङ्क छ।
के कारागारमा चाप घटाउला?
नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय अभिसन्धिहरूमा उल्लेख भए अनुसारका सेवा सुविधा कैदीबन्दीहरूलाई नदिइएको आरोप पनि अधिकारीहरूले खेप्दै आएका छन्।
तर नुवाकोटमा बनेको कारागारले मात्रै अहिले नै देशभरिका कारागारमा रहेको कैदीबन्दीहरूको चापलाई भने घटाउनेवाला छैन।
विभागका महानिर्देशक आचार्यका अनुसार यो कारागारको अहिलेको क्षमता १,३७० जना कैदी बन्दी अटाउने मात्रै छ।
सरकारी योजना बमोजिम बाँकी करिब छ हजार कैदी बन्दी राख्ने संरचनाहरू निर्माणको योजनाले गति लिन सकेको छैन।
साउन महिनामा कारागार व्यवस्था विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नुवाकोटमा सञ्चालनमा आएको केन्द्रीय कारागारको तेस्रो चरणको निर्माणका लागि अर्थ मन्त्रालयबाट पर्याप्त स्रोत सुनिश्चितता र आवश्यक पर्ने बजेट प्राप्त नभएका कारण ठेक्का प्रक्रिया अघि नबढेको जनाइएको छ।
‘उद्योग’ कारागार

तस्बिर स्रोत, Nuwakot Prison Office
उद्योग कारागारको रूपमा विकास गर्ने भनिएको नुवाकोटको केन्द्रीय कारागारमा हाल पाँचवटा ब्लकमा २५ वटा भवन बनाइएका छन्।
कारागार बनाउनुअघि यहाँ बन्दीगृह, योग गर्ने हल, अस्पताल, विद्यालय लगायतका संरचना बनाइने बाचा गरिएको थियो।
त्यहाँ सीप सिकेर स्वरोजगारमूलक कामहरू गर्ने कक्ष, खेल मैदान, पुस्तकालय, सीप प्रवर्द्धन केन्द्र, र किरिया पुत्री कक्ष लगायतको सुविधा रहने भनिएको भए पनि अहिले ती सबै संरचनाहरू तयार नभइसकेको कारागारका प्रशासक इन्द्र खतिवडाले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
उनका अनुसार बागमती प्रदेश सरकारको लगानीमा लघु उद्यमका कामहरू सुरु गर्ने परियोजना भने अघि बढेको छ।
“अहिलेलाई मुढा बुन्ने, ढाका कपडा बुन्ने, बत्ती कात्ने, लुगा सिलाउनेजस्ता सीपसम्बन्धी कामहरू गराउन सकिन्छ,” उनले भने।
“लघु उद्यम सुरु भएपछि कैदीबन्दीहरूलाई तालिम दिने र सीपमूलक कामको अवसर दिने कामहरू सुरु हुन्छ।”
खतिवडाका अनुसार नुवाकोटमा लघु उद्यमका कामहरू गर्नका लागि दुईवटा हलहरू व्यवस्था गरिएका छन्।
“हामीसँग १०० वर्ष भन्दा पुराना कारागारहरू पनि रहेको सन्दर्भमा नुवाकोट कारागार एउटा नमुना कारागारको रूपमा रहेको छ। त्यसमा सबै किसिमका सुविधाहरू उपलब्ध छन्,” उनले भने।
“सरकारले बजेटमा पनि कारागारमा घरेलु उद्यमका काम सुरू गर्ने भनेको छ। अहिले हामीले घरेलु मुढा ढाकाका कपडाहरू बनाउने कामहरू कारागारमा सुरु गरेका छौँ।”
अहिले सरकारले डिल्लीबजार कारागारमा गलैँचा कारखाना सञ्चालन गरिरहेको छ। उक्त कारागारका कैदीहरूलाई प्रशिक्षकको रूपमा विकास गरेर नुवाकोट स्थानान्तरण गर्ने योजना आफूहरूको रहेको कारागार व्यवस्था विभागका महानिर्देशक आचार्यले बताए।
“कैदीहरू भित्र निष्क्रिय जीवन बिताएर नबसुन् र उनीहरूको अर्थोपार्जनसँग पनि जोडिने तथा मानसिक सामाजिक शारीरिक स्वास्थ्यलाई पनि सहयोग पुग्ने भएकोले यो कारागारलाई कैदी राख्ने मात्रै नभएर उद्यमशीलतासँग जोड्ने भनेका छौँ,”आचार्य भन्छन्।
'अन्तर्राष्ट्रिय मापदण्डको जेल'

तस्बिर स्रोत, Nuwakot Prison Office
नेपालले हस्ताक्षर गरेको ‘मण्डेला रुल्स’ भनिने कैदीबन्दीहरूका लागि दिइनुपर्ने आधारभूत सुविधा यो कारागारमा व्यवस्था हुने अधिकारीहरूले दाबी गरेका छन्।
आचार्य नुवाकोटको केन्द्रीय कारागारमा कैदीहरूका लागि आवश्यक स्वास्थ्य, सीप, अध्ययनको अवसर र गुणस्तरीय आवासको सुविधा रहेको बताउँछन्।
“नवीन पूर्वाधार, कैदीबन्दीको सूचना व्यवस्थापन, पर्याप्त ठाउँ र खुला क्षेत्र अनि खेलकुद सहितका मण्डेला रूल्सले तोकेका आधारभूत सुविधाहरू यो कारागारमा छ,” विभागका महानिर्देशक आचार्यले भने।
कारागार प्रशासक खतिवडाका अनुसार यो कारागारमा चौबिसै घण्टा विद्युत् आपूर्ति हुने व्यवस्था छ।
"स्वास्थ्य जाँच गर्ने लगायतका सुविधाहरू अहिलेबाटै उपलब्ध छन्," उनले भने।
अधिकारीहरूका अनुसार कारागारमा उत्पादन भएका सामग्रीको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न कार्यविधिको मस्यौदा पनि तयार भइसकेको छ।
महानिर्देशक आचार्यले कार्यविधिमा कारागार घरेलु एकाइ गठन गर्ने प्रावधान रहेको र त्यसमा काम गर्ने कामदारलाई कैद छुटको पनि व्यवस्था रहेको बताउँछन्।
“कारागारको आन्तरिक प्रशासनमा काम गर्नेले छुट पाएजस्तै उनीहरूले कैद छुट पाउनुका साथै सरकारले तोकेको न्यूनतम ज्याला पनि पाउने व्यवस्थाको प्रस्ताव पनि गरेका छौँ,” आचार्य भन्छन्।
किन कतिपय कैदीहरू जान मानिरहेका छैनन्?
अधिकारीहरूका अनुसार कतिपय कैदीहरूले विशेष गरी काठमाण्डू उपत्यकाका कारागारबाट आफूलाई नुवाकोट नसार्न आग्रह गरेका छन्।
परिवार तथा आफन्तबाट टाढा हुने लगायतका कारण पनि कतिपय कैदीहरूले नुवाकोट जान रुचि नदेखाएको हुनसक्ने अधिकारीहरू ठान्छन्।
यसअघि बाँकेको नौवस्तामा बनाइएको यस्तै ठूलो क्षमता र सुविधा सम्पन्न कारागारमा जान भने कतिपय कैदीहरूले निवेदन नै दिएको विभागका महानिर्देशक आचार्यले बताए।
“नुवाकोट पनि काठमाण्डूबाट दुई घण्टाको दूरीमा पुगिने ठाउँ भएकाले बिस्तारै बानी पर्दै जानुहोला। अब नयाँ आउने कैदीलाई हामी नुवाकोट नै लान्छौँ र यहाँ भएकालाई पनि सुविधाका लागि बनाइएको भएकाले हामी क्रमशः सार्दै जान्छौँ,” आचार्य भन्छन्।
“काठमाण्डूमा भएका तीनवटै कारागारभन्दा धेरै सुविधा पाइने भएकाले मागेर पनि जाने अवस्था समेत आउँछ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








