तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'शुक्रवारैदेखि' हिउँदे वर्षाको चेतावनी, देशभर 'चिसो बढ्ने'
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
यस हिउँद्को दोस्रो मुख्य पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रवार अपराह्नदेखि शनिवारसम्म हिमाली क्षेत्रमा हिउँ र पहाडी तथा तराई क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसै साताको सुरुमा समेत एउटा उल्लेख्य प्रणालीका कारण पश्चिम नेपालमा हल्का वर्षा र हिमपात भएको थियो।
पुस १२ र १३ को प्रणालीले 'केही बढी वर्षा गराउने' र त्यसको प्रभाव देशव्यापी हुने देखिएको विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बीबीसीलाई बताएकी छन्।
"सामान्य हिउँद यामको तीन महिनामा पाँच-सातवटा उल्लेख्य पश्चिमी वायु प्रणाली देखिने गर्छ। तर कुनै वर्ष त्योभन्दा कमबढी समेत भएका छन्," मानन्धर भन्छिन्।
नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ।
विभागको हावापानी मूल्याङ्कन शाखाकी प्रमुख विभूति पोखरेल भन्छिन्, "यसपटकको हिउँद्मा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने हुँदा केही न्यानो महसुस हुने विभागको आकलन छ।"
गत वर्ष देशका धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिए तापनि हिउँद् त्यसविपरीत सुक्खा हुन पुगेको थियो।
सधैँझैँ यसपटक समेत विश्व मौसम सङ्गठन र क्षेत्रीय स्तरका विवरणको मूल्याङ्कनका आधारमा नेपालमा 'केही सुक्खा हिउँद्' हुने देखिएको विभागकी वरिष्ठ डिभिजनल मौसमविद् पोखरेल बताउँछिन्।
चिसो बढ्ने
यस प्रणालीका कारण अबका केही दिन देशभर चिसो बढ्ने क्रम समेत देखा पर्ने मौसम अधिकारीहरू बताउँछन्।
विभागको पूर्वानुमानअनुसार शुक्रवार खास गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना छ भने वर्षा भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का पानी पर्ने छ।
शनिवार भने देशैभरका उच्च पहाडी र हिमाली भागमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताइएको छ।
त्यस दिन सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ। हल्का वर्षाको सम्भावना शनिवार बाँकी प्रदेशका अन्य भूभागमा रहेको बताइएको छ।
"यस प्रणालीको असर देशैभरि पर्ने देखिन्छ। कोशी र बागमती प्रदेशको तराई र मधेस प्रदेशतिर भने बादल लागे पनि वर्षा गराउने सम्भावना भने छैन," प्रतिभा मानन्धर भन्छिन्।
"देशैभर बादल लाग्ने भएकाले देशैभर तापक्रम घट्ने अवस्था रहन्छ।"
हिउँद्मा कति वर्षा हुनुपर्ने हो?
नेपालमा हिउँदे डिसेम्बरदेखि ज्यानुअरीका महिनामा करिब ६० मिलिमिटर वर्षा हुँदाको अवस्थालाई सामान्य मान्ने गरिए तापनि पछिल्ला कैयौँ वर्ष सुक्खा हुने गरेका पाइन्छन्।
विक्रम संवत् २०८० को हिउँद्मा सरदर वर्षाको झन्डै २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको थियो।
त्यसभन्दा अघिल्लो सालको हिउँद्मा समेत सरदरको एक चौथाइ मात्र वर्षा भएको थियो।
वर्षभर हुने वर्षाको करिब ८ देखि १० प्रतिशत पानी हिउँद्मा पर्नुपर्ने मौसमविद्हरू बताउँछन्।
नोभेम्बर महिना नेपालका लागि धेरैजसो सुक्खा हुने हुँदा 'पोस्टमनसुन' अवधिमा सबैभन्दा कम पानी पर्ने मौसमविद्हरू बताउँछन्।
नेपालमा सबैभन्दा बढी अर्थात् झन्डै ८० प्रतिशत वर्षा मनसुनमा हुने गर्छ।
"स्थानीय प्रणालीको असर भने हिउँद्मा खासै हुँदैन," मानन्धर भन्छिन्। "पश्चिमी वायु प्रणाली नै यस यामको वर्षा गराउने मुख्य तत्व हो। स्थानीय प्रणाली समेत सक्रिय हुने याम प्रीमनसुन र पोस्टमनसुन हो।"
हिउँदे वर्षाका विगत
देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने तीस वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ।
त्यसकै आधारमा हेर्दा पछिल्ला झन्डै दुई दशकका नेपालमा धेरैसजो हिउँद सुक्खा पाइएका छन्।
विसं २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।अनि २०६३ साल यता जम्मा पाँच वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ।
गत वर्ष जल तथा मौसम विज्ञान विभागले हिउँदअघि जारी गरेको सूचनामा तीन महिनाको हिउँदे मौसम आकलन क्रममा २०८० सालको हिउँदमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो।
तर ज्यानुअरी महिनामै मौसम अधिकारीहरूले उक्त वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको भन्दै 'हिउँदे खडेरी' सामना गरिरहेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।