पश्चिम नेपालका भूकम्प पीडितलाई फेरि जमिन हल्लिएला भन्ने डर

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

मङ्गलवार अपराह्न एक्कासि जमिन हल्लिँदा बझाङको थलारा गाउँपालिका-७, भण्डारी गाउँकी निशा सार्की आफ्नै पसलमा बसेर सामान बेचिरहेकी थिइन्।

हेर्दाहेर्दै गाउँलेहरू 'भुँइचालो आयो' भन्दै कराउँदै भागदौड गर्न थाले। सार्की समेत त्यसमै मिसिइन्। 

भत्केका घरहरूबाट धुलोको मुस्लो निस्कियो।

"भुकम्पले हल्लाइरहेको बेला दैड्न पनि सकिँदो रहेनछ," भूकम्पको भोलिपल्ट बुधवार उनले सुनाइन्।

"जेनतेन पसलबाट बाहिर निस्केर ज्यान बचाएँ।"

उनी जीवनमा पहिलोपटक यस्तो खालको विपत्तिमा परेको बताउँछिन्।

"राती भूकम्प आएको भए सायद नबाँच्न सकिन्थ्यो।"

त्यसपछि पनि बेलाबेलामा ठूलासाना भूकम्पका धक्काहरू महसुस भइरहेका छन्। 

त्यही डर त्रासले गर्दा अहिले पनि उनको शरिर भूकम्प सम्झँदा बेलाबेला झस्किन्छ।

"फेरी भूकम्प आउने हो कि भन्ने चिन्ताले गर्दा रातभरि निद्रा लाग्दैन," निशा बताउँछिन् । 

उनीहरूको घर समेत भत्किएपछि पाँच जनाको परिवार हाल घर नजिकै खुला ठाउँमा पाल टाँगेर बसिरहेको छ। 

"चिसो बढ्न थालेको छ," उनी भन्छिन्। "के खुवाउने, जाडोबाट कसरी बचाउने भन्ने चिन्ताले सताउँछ।"

खान बस्नकै सकस

भूकम्पले घर चर्किएपछि भण्डारी गाउँकै लक्ष्मी सार्कीको परिवारको बास पनि अहिले पालमा सरेको छ। 

तरकारी खेती गर्ने टनेलको पालभित्र उनीहरूसहित ८–१० घर परिवार कोचिएर बसेका छन्। 

"फेरी जमिन हल्लिएला भन्ने डरले चर्केको घरमा फर्कन सकिएको छैन," लक्ष्मी सार्की सुनाउँछिन्। 

घरभित्रको अन्न निकाल्न जान समेत नसकिरहेको उनी बताउँछिन्। 

त्यसैले अहिले उनको परिवारलाई खान बस्नको निकै नै समस्या छ।

दलित र विपन्न परिवारलाई के खाने, कहाँ बस्ने पिरलो झन् बढ्दा रहेको बताइन्छ।

महिला, बालबालिका र वृद्ध वृद्धालाई थप समस्या भएको प्रभावितहरू बताउँछन्।

थलारा गाउँपालिका-७ का वडाध्यक्ष कृष्ण सार्की भूकम्प प्रभावितलाई तत्कालका लागि टनेलका पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको बताउँछन्।

भण्डारी गाउँमा १५ घर पूर्ण रूपमा भत्किएका छन् भने झण्डै ३० वटा घर बस्न लायक छैनन्। 

बाँकी घरहरू समेत चर्किएका छन्।

भूकम्प प्रभावितलाई गाउँपालिकाले समेत सहायता दिए तापनि त्यो पर्याप्त नभएको उनीहरू बताउँछन्।

अन्यत्र सार्न माग

धाँजा फाँटेको जमिनमा धेरै दिन बस्ने नसक्ने भएकोले आफूहरूलाई सुरक्षित ठाउँमा सार्न भण्डारी गाउँवासीले सरकारसँग माग गरेका छन्।

सरकारले सुरक्षित ठाउँमा भूकम्प प्रतिरोधी घर बनाउन सघाउनुपर्ने उनीहरूको माग छ।

मङ्गलवार दिउँसो गएको भूकम्पले बझाङको भण्डारी गाउँ लगायत पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ।

दिउँसोतिर आएको हुनाले भूकम्पले मानवीय क्षति नगरे तापनि व्यापक रूपमा घरहरू भत्किएका र चर्किएका छन्।

सुदूरपश्चिम प्रहरी कार्यालयका अनुसार भूकम्पबाट अहिलेसम्म २७ जना सर्वसाधारण घाइते भएका छन् भने टिमुर टिप्न जङ्गल गएका एक जना भने सुख्खा पहिरोमा परेर वेपत्ता छन्।

अधिकारीहरूका अनुसार भूकम्पका कारण ७६ वटा निजी घरहरू पूर्ण रूपमा भत्किएका छन् भने ३०१ वटा घरहरूमा आंशिक क्षति पुगेको छ।

प्रहरीले ३२ वटा सरकारी भवनहरूमा समेत क्षति पुगेको जनाएको छ।

भूकम्पले सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडीलगायतका जिल्लाका घरहरूमा धेरै असर पुर्‍याएको बताइएको छ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आग्रह गरिएको बताउँछन्।

उनी भन्छन्: "हाल प्रभावितलाई त्रिपाल उपलब्ध गराएर खुला ठाउँ, सुरक्षित स्थान, सार्वजनिक भवनहरूमा राखिएको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।