बाङ्ग्लादेशमा जेन जी आन्दोलनपछि भएको निर्वाचनमा बीएनपीलाई दुईतिहाइ बहुमत

बाङ्ग्लादेशमा मतदान गरेपछि औँलामा लगाइएको मसी देखाउँदै एक महिला

तस्बिर स्रोत, EPA/Shutterstock

पढ्ने समय: ५ मिनेट

बाङ्ग्लादेशमा सम्पन्न निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हात पारेको छ।

तर प्रतिद्वन्द्वी दल जमात-ए-इस्लामीले मतपरिणामबारे प्रश्न उठाएको छ। उसले "अनौपचारिक परिणाम घोषणा हुँदा एकरूपता कायम नभएको र बढाइचढाइ भएको पटकपटक देखिएको" दाबी गरेको छ।

संसद्‌का ३०० सीटका लागि भएको मतदानमा बीएनपीले कम्तीमा २०९ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।

"मतपरिणामसँग सम्बन्धित प्रक्रियाप्रति हामी असन्तुष्ट छौँ," उक्त दलले एउटा विज्ञप्तिमा भनेको समाचारसंस्था एएफपीले जनाएको छ।

यद्यपि बाङ्ग्लादेशको निर्वाचन आयोगले मतपरिणाम "निष्पक्ष र विश्वसनीय" भएको दाबी गरेको छ। "समग्रमा सबैको सहकार्यमा हामी स्वीकार्य निर्वाचन गराउन सफल भयौँ," सबै मतदाता, नेता र सञ्चारकर्मीहरूलाई धन्यवादज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त नासिर उद्दिनले भने।

निर्वाचन आयोगका अनुसार बिहीवार भएको चुनावमा ५९.४४ प्रतिशत मतदाता सहभागी भएका थिए।

बीएनपीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई "विजय जुलुस" ननिकाल्न बरु "शान्ति, स्थिरता र बाङ्ग्लादेशको भविष्यको मार्गदर्शनका लागि" प्रार्थना गर्न आह्वान गरेको छ।

सन् २०२४ मा बाङ्ग्लादेशमा तात्कालिक प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुने गरी भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले अहिले निर्वाचनमा गराएको हो। यो निर्वाचनमा सहभागी हुने १७ वर्ष निर्वासनमा बसेका तारिक रहमान स्वदेश फर्किएका थिए।

अहिलेको मतपरिणामबाट जमात पहिलो पटक संसद्‌मा दोस्रो दलका रूपमा उदाएको छ।

बिहीवार रातिसम्म जमातले आफ्नो पक्षमा बहुमत आउने दाबी गर्दै आएको थियो। तर आफूले सोचे जस्तो परिणाम नआएपछि जमात-ए-इस्लामीले आफ्ना समर्थकहरूलाई धैर्य राख्न आह्वान गरेको छ।

मतगणाको अन्तिम परिणाम शुक्रवार अबेरसम्म आइपुग्ने अपेक्षा गरिएको छ।

हसिनाको अवामी लीग पार्टीलाई भने चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। उक्त दलले निर्वाचन बहिष्कार गर्न आह्वान गरेको थियो।

जमात-ए-इस्लामीका प्रमुख शपिकुर रहमान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जमात-ए-इस्लामी अहिलेसम्मकै निर्वाचनमा पहिलो पटक दोस्रो स्थानमा आउन सकेको हो

भारत र चीनको सन्देश

बाङ्ग्लादेशमा भएको निर्वाचनको मतगणना गरिँदै

तस्बिर स्रोत, Getty Images

बीएनपी बहुमततिर उन्मुख भएको देखिने गरी परिणाम आएपछि छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको बहुआयामिक सम्बन्ध सुदृढ पार्न र विकासका साझा लक्ष्यहरू अगाडि बढाउन आफू आफू तारिक रहमानसँग सहयकार्य गर्न तयार भएको सन्देश दिएका छन्।

चीनले पनि "निर्बाध र सफल" निर्वाचन भएकोमा बाङ्ग्लादेशलाई र अग्रस्थानमा रहेकोमा बीएनपीलाई बधाई दिएको छ।

"लोकतान्त्रिक, प्रगतिशील र समावेशी बाङ्ग्लादेशको समर्थनको पक्षमा भारतले निरन्तर रहन्छ," मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले "[बीएनपीको] विजयले बाङ्ग्लादेशी जनताको विश्वास पार्टी नेता तारिक रहमानको नेतृत्वमा रहेको देखाएको उल्लेख गरेका छन्।

ढाकास्थित चिनियाँ दूतावासले बाङ्ग्लादेश सहकार्य गर्न र दुई देशको सम्बन्धमा "नयाँ अध्याय" थप्न चीनले चाहेको फेसबुकमा लेखेको छ।

केही वर्षदेखि भारत र बाङ्ग्लादेशबीचको सम्बन्ध चिसिँदै गएको थियो। हसिनाले भारतमा शरण लिएपछि दुई देशबीच कूटनीतिक तनाव चुलिएको थियो।

बीएनपीका वरिष्ठ नेता अमिर खस्रु महमुदले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले "पारस्परिक सम्मान, पारस्परिक हित अनि हस्तक्षेपरहित रणनीतिक स्वायत्तताका आधारमा अरू देशसँग सम्बन्ध राख्ने बताएका छन्।

बाङ्ग्लादेशा धेरै मानिस शेख हसिनाको तानाशाही शासनलाई भारतले सहयोग गरेको ठान्छन्।

जनमतसङ्ग्रह पनि

बाङ्ग्लादेशमा मतदान गर्दै एक महिला

तस्बिर स्रोत, Reuters

बीबीसी बाङ्ग्लाका अनुसार जनमतसङ्ग्रहतर्फ ६५ प्रतिशत मतदाता 'जुलाई बडापत्र' अपनाउने पक्षमा उभिएको देखिएको छ।

जुलाई बडापत्रमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले सुझाएको ८४ वटा सुधारको प्रस्ताव समावेश छ जसले बाङ्ग्लादेशमा कसरी शासन गरिने छ भन्ने ढाँचा प्रस्तुत गर्छ।

पूर्ण रूपमा बिथोलिएको राजनीतिक प्रणालीलाई ठिक गर्न अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनको बारेमा जनमत सङ्ग्रहमा पनि मतदाताहरू सहभागी भएका थिए।

सरकारी स्वामित्वको बीएसएस समाचारसंस्थाका अनुसार जनमतसङ्ग्रहतर्फ शुक्रवार बिहानसम्मको गणनामा अधिकांश मतदाताले उक्त प्रस्तावको पक्षमा मतदान गरेको देखिएको छ।

जनमतसङ्ग्रहको केन्द्रमा समानुपातिक प्रतिनिधित्वमार्फत् निर्वाचित १०० सदस्यीय माथिल्लो सदनको निर्माण गर्नु रहेको छ।

तारिक रहमानको तस्बिर बोकेका बीएनपीका एक समर्थक

तस्बिर स्रोत, Getty Images

तारिक रहमान को हुन्

रहमान प्रभावशाली जिया परिवारका वरिष्ठ सदस्य हुन्। अहिले उनी ६० वर्षका भए।

सन् २००८ यता लन्डनमा बस्दै आएका रहमान यो निर्वाचनअघि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।

शेख हसिनाको अवामी लीग पार्टी सत्तामा हुँदा उनीमाथि विभिन्न अपराध गरेको अभियोगमा अनुसन्धान गरिएको थियो।

तर हसिनाको शासन पतन भएपछि सबै अभियोगहरू फिर्ता गरिएको छ।

जेन जी विद्रोहको छाया

सन् २०२४ मा भएका युवा नेतृत्वका प्रदर्शनले हसिना नेतृत्वमा १५ वर्षदेखि बढ्दो रूपमा अधिनायकवादी बनिरहेको शासनको अन्त्य गराएको पृष्ठभूमिमा अहिले निर्वाचन भएको भएको हो।

उक्त विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरूको मृत्यु भएको थियो।

जेन जी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जेन जी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए

आन्दोलन चर्किएपछि भारत पलायन भएकी शेख हसिनामाथि प्रदर्शनकारीहरूलाई दमन गर्न सोझै आदेश दिएको आरोप लागेको थियो।

तर उनले त्यो अस्वीकार गर्दै आएकी छन्।

गत नोभेम्बरमा बाङ्ग्लादेशको एउटा अदालतले मानवताविरुद्धको अपराध भएको ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिना देश छाडेर भागेदेखि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बाङ्ग्लादेशको नेतृत्व गर्दै आएको छ।

बिहीवारको निर्वाचनले बाङ्ग्लादेशका लागि प्रतिनिधि शासनको नयाँ युगको आरम्भ गर्ने धेरैको आशा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।