‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’

सरकारी कार्यालयमा सेवाग्राही

तस्बिर स्रोत, Bishnu Pokharel/BBC

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

प्रधानमन्त्री कार्यालयमा जनताको गुनासो सुन्न स्थापना गरिएको हेलो सरकारमा सोमवार दिउँसो त्रिभुवन विश्वविद्यालयका एक जना सेवाग्राहीले फोन गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा खाने समय आधा घण्टा मात्रै कायम गर्न आइतवार निर्देशन दिए पनि कर्मचारीहरू खाजा खाएर समयमै काममा नफर्किँदा आफूहरूलाई मर्का परेको ती सेवाग्राहीको गुनासो थियो।

“हामीलाई त्रिभूवन विश्वविद्यालयका एक जना सेवाग्राहीले फोन गरेर २:२० सम्म पनि कर्मचारीहरू काममा आएनन्, हामी कुरेकोकुर्‍यै भयौँ भनेर भर्खरै फोन गर्नुभएको थियो,” हेलो सरकार कक्षकी शाखा प्रमुख मधु अर्याल खनालले बीबीसी न्यूज नेपालीसँग सुनाइन्।

खनालका अनुसार त्रिभूवन विश्वविद्यालय जस्तै कैयौँ अन्य सरकारी कार्यालयका सेवाग्राहीले पनि सोमवार हेलो सरकारमा कर्मचारीहरूको खाजा समयबारे गुनासो गरेका थिए।

प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत फेसबुक खातामा आइतवार ‘खाजा समय घटाएर आधा घण्टा कायम गरिएको’ पोस्ट राखे।

सरकारी कार्यालयहरूमा कर्मचारीले खाजाका लागि लामो समय लिँदा सेवाग्राहीलाई असर परेको गुनासो आइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखे, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ।”

खाजा समयको नियम पालना नभए प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारमा उजुरी गर्न ओलीले आह्वान गरेसँगै हेलो सरकारमा सोमवार गुनासा आएका हुन्।

खाजा समय आधा घण्टा कहिलेबाट

सरकारी कार्यालयमा सेवाग्राही

प्रधानमन्त्रीले खाजा समय घटाएर आधा घण्टा बनाइएको दाबी गरे पनि गत वर्ष माघ २९ गते प्रकाशित भएको नेपाल राजपत्रमै यो वर्षका लागि सरकारी कार्यालयहरूमा हुने सार्वजनिक बिदा र खाजा समयबारे सूचना प्रकाशित गरिएको थियो।

उक्त सूचनामा पनि सरकारी कार्यालयहरूमा खाजा समय १:३० बजेबाट २ बजेसम्म आधा घण्टा नै तोकिएको छ।

त्यसभन्दा अघिल्लो वर्ष पनि कार्यालयहरूमा खाजा समय आधा घण्टाकै तोकिएको पाइन्छ। तर त्यसबेलाको राजपत्रमा सम्बन्धित कार्यालयले काममा बाधा नपर्ने गरी आलोपालो गरी आधा घण्टाको खाजा समय तोक्ने भनिएको छ।

सतर्कता केन्द्रले गत वैशाखदेखि असार मसान्तसम्म गरेको अनुगमनमा २,२८६ जना कर्मचारीले कार्यालय समयको पालना नगरेको पाइएको थियो।

केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्मा सतर्कता केन्द्रले कर्मचारीहरूले खाजा समयको अनुशासन पालना गरे वा नगरेको मात्रै विषयमा भने आफ्नो कार्यालयले अध्ययन नगरेको बताउँछन्।

केही वर्षअघि सिंहदरबारका चमेना गृहहरूमा कर्मचारीहरू खाजा समयभन्दा बढी बसे वा नबसेकोबारे अनुगमन गर्दा केही कर्मचारीहरू खाजा समयभन्दा धेरै समय बसेको पाइएको तर आफूहरू अनुगमनमा जाँदा उनीहरू त्यहाँबाट हिँडेको उनले बताए। तर त्यसपछि केन्द्रले यो विषयमा अनुगमन नगरेको अधिकारीहरू बताउँछन्।

“खाजा समय भनेर निश्चित समय तोकिएपछि खाजा अवधिभरि कार्यालयको सेवा ठप्प हुन्छ। अत्यधिक सेवा प्रवाह हुने कार्यालयहरूमा आलोपालो खाजा समयको व्यवस्था मिलाएर बाँकी प्रकृतिका कार्यालयमा समय तोक्दा राम्रो हुन्छ,” उनले भने।

कर्मचारीका नेता के भन्छन्

भिडभाड

तस्बिर स्रोत, Getty Images

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष तथा कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनका पूर्वअध्यक्ष पुण्यप्रसाद ढकाल 'शिफ्ट'अनुसार खाजा खाने समय नमिलाउने हो भने कर्मचारीहरूका लागि आधा घण्टाको खाजा समय अपुग हुने बताउँछन्।

“सबै कर्मचारी एकै पटक चमेना गृहमा पुग्दा त्यहाँ हुने भिडभाडले आधा घण्टामा खाजा खाइसक्न कर्मचारीहरूलाई कठिन हुन्छ,” उनले भने।

“कर्मचारीहरूलाई आधा घण्टाको समय दिने हो भने यति नै समय भनेर नतोकी उनीहरूको कामको चापअनुसार उपयुक्त समयमा खाजाको छुट्टी लिने भन्नुपर्छ।”

माओवादी निकट कर्मचारीहरूको सङ्गठनका अध्यक्ष तथा कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनका सचिवसमेत रहेका अम्बादत्त भट्ट यसअघि नै खाजा समय तोकिएका कारण यसमा प्रधानमन्त्रीको छुट्टै निर्देशनको आवश्यकता नरहेको बताउँछन्।

“जनसम्पर्क धेरै भएका कार्यालयहरूमा कर्मचारीहरूले खाजै खान नभ्याई काम गर्नुपर्ने स्थिति पनि छ। हामीले कैयौँ कर्मचारीहरूले टेबलमै खाजा खाँदै काम गरेको पनि देखेका छौँ,” उनी भन्छन्।

“जनतासँग प्रत्यक्ष काम हुने कार्यालयका कर्मचारीहरूलाई कार्यबोझ घटाउनुपर्‍यो, पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नुपर्‍यो। त्यसो भए मात्रै पालो मिलाएर काम नरोकी खाजा खान जाने अवस्था रहन्छ।”

उनी जनतालाई सास्ती होस् भन्ने भावना कर्मचारीहरूमा पनि नहुने बताउँछन्। तर जनशक्ति र व्यवस्थापनको अभावका कारण कतिपय कार्यालयहरूमा खाजा समयमा काम रोकिने गरेको उनको दाबी छ।

“कतिपय कार्यालयमा पाँच मिनेटका कारण सेवाग्राहीले एक दिन बढी समय छुट्ट्याउनुपर्ने अवस्था पनि रहन्छ। यसका लागि खाजा समयभन्दा पनि अन्य पाटोमा सरकारले ध्यान पुर्‍याउनुपर्ने हो,” उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।