कुनै समय सड्न छाडिएको फलले कसरी श्रीलङ्कालीहरूलाई भोकमरीबाट जोगाउँदै छ

    • Author, नितिन श्रीवास्तव कोलोम्बोबाट र सुनिथ परेरा लन्डनबाट
    • Role, बीबीसी विश्व सेवा

“कटहरको रुखले हामीजस्ता हजारौँ मानिसहरूलाई जीवित राखेको छ। यसले हामीलाई भोकमरीबाट जोगाएको छ,” दैनिक ज्यालादारी मजदुरी गर्ने, तीन सन्तानका पिता करुप्पैया कुमारले भने।

कुनै समय अवहेलना गरिएको र प्रति पन्ध्र केजी ०.९५ डलर (हालको सटही अनुसार १२४ नेपाली रुपैयाँ) मात्रै पर्ने यो फल अहिले धेरैका लागि मुक्तिदाता बनेको छ।

“आर्थिक सङ्कट सुरु हुनुभन्दा पहिले जो कोहीले चामल वा पाउरोटी किन्न सक्थ्यो। तर अहिले खाद्यान्नको मूल्य वृद्धिका कारण अधिकांश मानिसहरू दिनहुँ कटहर खान्छन्,” ४० वर्षीय कुमारले भने।

श्रीलङ्काका झन्डै एक तिहाइ मानिसहरू खाद्य असुरक्षाको मारमा परेका छन् र हरेक दोस्रो परिवार आफ्नो आम्दानीको ७० प्रतिशत खाद्यान्नमा खर्च गर्न बाध्य छन्।

"हामीले खाना कटौती गरेर तीन छाकबाट दुई छाक खान थालेका छौँ। गत वर्षसम्म १२ केजी तौलको खाना पकाउने ग्याँस सिलिन्डर पाँच डलर (हाल ६५७ नेपाली रुपैयाँ)मा आउँथ्यो,” तीन सन्तानकी आमा ४२ वर्षीया नादीका परेराले भनिन्।

“त्यही सिलिन्डरको मूल्य अहिले दोब्बरभन्दा बढी छ। त्यसैले खाना बनाउनका लागि परम्परागत शैली अपनाउनुको विकल्प नै छैन,” उनले आँसु पुछ्दै भनिन्। इन्धनको रूपमा बालिएको नरिवलको खबटाबाट निस्किएको विषाक्त धुवाँले उनको भान्सा ढाकेको थियो।

सन् २०२२ मा आर्थिक सङ्कटका कारण यस टापु राष्ट्रको अवस्था धरासयी बनेपछि आय घटेको छ र खाद्यान्नको मूल्य चर्किएको छ।

महिनौँसम्मको नियमित विद्युत कटौती र इन्धनको अभावबाट आक्रान्त बनेका श्रीलङ्कालीहरू सन् २०२२ को जुलाई ९ मा राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवासमा प्रवेश गरेका थिए। लगत्तै उनी देश छोडेर भाग्न बाध्य भए।

त्यसपश्चात् त्यहाँको सरकार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्ता गरेर आर्थिक सहयोग जुटाउन सफल भयो। यद्यपि त्यहाँ गरिबीको दर दोब्बर भएको छ।

नादीका आफ्ना श्रीमान् र सन्तानहरू सँग राजधानी कोलम्बोस्थित दुई कोठे घरमा बस्छिन्।

उनी राष्ट्रिय क्यारम प्रतियोगिताको पूर्व उपविजेता हुन् जुन खेलमा पारिश्रमिक राम्रो हुँदैन। क्यारम एशियामा लोकप्रिय खेल हो।

तर अहिले रेफ्रीको रूपमा उनको आम्दानी रोकिएको छ र उनका श्रीमानले आम्दानीका निम्ति भाडाको ट्याक्सी चलाउँछन्।

“म खाना पकाउने ग्याँस र विद्युत्को महसुल कम होस् भनेर नियमित प्रार्थना गर्छु,” नादिकाले भनिन्।

मुद्रास्फीति गत फेब्रुअरीमा ५४ प्रतिशत बाट झरेर जुनमा १२ प्रतिशत पुगेको छ। परिवारहरूको आम्दानी घटिरहेको बेला सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न निकै सङ्घर्ष गरिरारहेको छ।

ग्रामीण सङ्घर्ष

रबर र चिया खेतीको घना हरियो पहाडमा अवस्थित रतनपुरा राजधानी कोलम्बोबाट १६० किलोमिटर दक्षिणमा अवस्थित छ।

करुप्पैया जीविकोपार्जनका लागि रूख चढेर नरिवल टिप्छन्। प्रत्येक पटक रुख चढ्दा उनलाई ६५ अमेरिकी सेन्ट अर्थात् ८५ नेपाली रुपैयाँ आम्दानी हुन्छ।

“मूल्य निकै आकासिएको छ। मैले मेरा बालबच्चाहरूको पढाइको पनि ख्याल गर्नुपर्छ। त्यसैले रासन किन्न निकै कम पैसा जोगिन्छ,” उनले थपे।

कुमारकी श्रीमतीले रबरको रूखबाट चोप सङ्कलन गरेर आम्दानी गर्छिन्। तर बर्खा याममा यो काम पनि रोकिएको छ।

“पानी परिरहे पनि म यत्तिकै घर बसिरहन र रुख नचढी बस्न सक्दिनँ। मैले मेरो परिवारको ख्याल गर्नुपर्छ,” सम्भावित जोखिम बुझेका उनले भने।

छिमेकी दक्षिणी भूभागमा पालेन्दा नामको गाउँमा विशाल बस्ती छ। त्यहाँ करिब १५० घरपरिवार छन् र तीमध्ये अधिकांश मजदुर र किसानहरू छन्।

एक स्थानीय सरकारी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू प्राथमिक तहका विद्यार्थीहरूलाई तराजुमा तौलँदै उनीहरूको वजन टिपोट गरिरहेका छन्।

“अधिकांश विद्यार्थीहरू गत वर्ष मात्रै गरिबीको रेखामुनी गएका परिवारबाट छन्। त्यसैले हामीले उनीहरूलाई केही छाक खाना दिने गर्न थाल्यौँ जसमा पहिले पहिले प्रतिहप्ता दुई वटा अण्डा सामेल थियो,” विद्यालयका प्रधानाध्यापक वजीर जहिरले भने।"

“तर अहिले मूल्य बढेको छ र विद्यार्थीहरूका लागि प्रोटिन पनि निकै आवश्यक छ। त्यसैले अहिले हामी यो सङ्ख्या घटाएर एउटा बनाएका छौँ।”

विद्यालयका प्रधानाध्यापकका अनुसार करिब आधा विद्यार्थीहरू कम तौल भएका वा कुपोषणबाट ग्रसित छन्।

एक वर्षभन्दा लामो आर्थिक सङ्कटका कारण दुई करोड २० लाख जनसङ्ख्याको निम्ति निःशुल्क हुनेगरेको देशको स्वास्थ्य प्रणाली समेत प्रभावित भएको छ ।

श्रीलङ्काले करिब ८५ प्रतिशत औषधि आयात गर्छ। तर देश आर्थिक सङ्कटमा परेर मुद्रा सञ्चिति घटेका कारण अत्यावश्यक औषधिहरूको अभाव चर्कियो।

पचहत्तर वर्षीय राजनीतिशास्त्री प्राध्यापक मोआ डी जोयशा यसबाट प्रत्यक्ष प्रभावित भए। उनले आफ्नो फोक्सोको उपचारका लागि भारतबाट औषधि मगाउन निकै सङ्घर्ष गरे र अन्ततः नौ महिना अघि प्राण त्यागे।

“उनी औषधि पाउन भएको निरन्तर ढिलासुस्तीका कारण निराश थिए। यद्यपि आफ्नो पुस्तक लेखनलाई जारी राखिरहे,” जोयशाकी श्रीमती मालिनीले भनिन्।

“तर परिस्थिति सामान्य भइदिएको भए पछिल्ला केही महिना कम तनावपूर्ण हुन सक्थे। उनको मृत्युपश्चात् ठूलो रकम ऋण तिर्न हामीले धेरै सङ्घर्ष गर्‍यौँ।”

यो पीडा कोलम्बोको एक मात्र विशिष्टीकृत क्यान्सर अस्पतालमा समेत देख्न सकिन्छ।

अस्पताल परिसरको एक क्लिनिक बाहिर बसिरहेका थिए ४८ वर्षीय स्तन क्यान्सर पीडित रमानी अशोका र उनका श्रीमान्। उनीहरू अर्को महिना तय भएको दोस्रो चरणको केमोथेरापीबारे चिन्तित छन्।

“अहिलेसम्म अस्पतालबाट नि:शुल्क औषधि प्राप्त भए पनि उपचारका लागि यहाँसम्म आउनु नै खर्चिलो छ। अब त हामीले ती औषधि फार्मेसीबाट खरिद् गर्नु पर्छ तर कहीँ पनि यो उपलब्ध छैन,” असोकाले भनिन्।

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुवेलाले मूल्यवृद्धि र अभावको समस्या “तत्काल निर्मूल गर्न नसकिने” बताए।

“कल्पना गर्नुहोस्, हामीसँग भएको सीमित मुद्रा सञ्चितिबाट खाद्यान्न वा औषधिमध्ये के आयात गर्ने भन्नेबारे कठिन निर्णय लिनु छ। हामीले व्याप्त भोकमरीसँग जुध्न खाना आयात गर्नुपर्छ। अहिले अवस्था केही मत्थर भएको छ र यो बिस्तारै सुधार हुनेछ,” उनी वाचा गर्छन्।

तर मानिसहरूले बाँच्नका लागि आफ्नै बलबुतामा केही गर्नुको विकल्प छैन। पहिले कटहर जमिनमा “कुहिएर जान्थ्यो” करुप्पैया भन्छन्।

“एक भाँडा उसिनेको कटहर हामी पाँच जनाको परिवारलाई एक दिनको भोक टार्न पर्याप्त हुन्छ,” उनले भने।

आफ्नो जग्गामा कटहरको रुख नभएका करुप्पैयाको उनका छिमेकीहरू सँग एउटा रोचक “सम्झौता” छ।

“मानिसहरूले पैसा दिन खोज्छन् तर म कटहरको रुखमा चढ्न र फल टिप्न कुनै परिश्रमिक लिँदिन। त्यसको साटो म एउटा कटहर घर लिएर जान्छु।”

राजनीति र आर्थिक भद्रगोलका बाबजुद उनलाई प्रकृतिमाथि विश्वास छ।

“कटहर र नरिवलका रुख मेरा लागि आमा र बुवाजस्तै हुन्,” उनले भने।