तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्का: एकदिनको लागि मात्र पुग्ने पेट्रोल रहेको भन्दै प्रधानमन्त्रीद्वारा कर्मचारीलाई तलब दिन पैसा छाप्न अनुमति
- Author, पीटर होस्किन्स
- Role, व्यापार रिपोर्टर
पछिल्लो ७० वर्षयताकै सर्वाधिक खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा, त्यहाँका नयाँ प्रधानमन्त्रीले देश पेट्रोलियम पदार्थ खपत गर्ने अवस्थाको अन्तिम दिनमा पुगेको बताएका छन्।
एक टेलिभिजन सम्बोधनमार्फत रनिल विक्रमसिङ्घले, अत्यावश्यक सामग्रीहरूको आयातको लागि देशलाई तत्कालै ७ करोड ५० लाख डलर विदेशी मुद्रा आवश्यक रहेको जानकारी दिए।
उनले सरकारी तलब तथा ज्याला भुक्तानी गर्नका निम्ति देशको केन्द्रीय ब्याङ्कले पैसा छाप्नुपर्ने बताए।
विक्रमसिङ्घले सरकारी स्वामित्वमा रहेको श्रीलङ्का एयरलाइन्सलाई पनि निजीकरण गर्न सकिने बताए।
यस टापु राष्ट्रको अर्थतन्त्र महामारी, इन्धनको बढ्दो मूल्य र देखावटी लोकप्रियताका लागि सरकारले गरेको कर कटौतीका कारण नराम्रोसँग प्रभावित भएको छ।
विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मूल्यवृद्धिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ।
राजधानी कोलम्बोमा सहरको सबैभन्दा बढी प्रयोग गरिने सवारी माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरू बाहिर लामबद्ध छन्।
"अहिले हामीसँग एक दिनको लागि मात्र पुग्ने पेट्रोल छ। अबको दुई महिना हाम्रो जीवनको सबैभन्दा कष्टकर समय हुनेछ," बिहीबार मात्र प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घले भनेका छन्।
यद्यपि, भारतले उपलब्ध गराएको ऋण सुबिधाबाट केही दिनमा नै पेट्रोल र डिजेल ढुवानी गरेर ल्याउनसकिने उनले बताएका छन्।
विक्रमसिङ्घका अनुसार राज्यको अन्य खर्चको रकम भुक्तानी गर्न देशको केन्द्रीय ब्याङ्कले पैसा छाप्नु पर्ने हुन्छ।
पैसा छाप्ने अनुमति
"मेरो आफ्नै इच्छाहरू विपरीत, राज्यका कर्मचारीलाई तलब उपलब्ध गराउन र अत्यावश्यक वस्तु तथा सेवाको भुक्तानी गर्न पैसा छाप्ने अनुमति दिन बाध्य छु।
तर पैसा छाप्दा रुपैयाँको अवमूल्यन हुने जाने कुरा पनि हामीले सम्झनु पर्छ," उनले भने।
पछिल्ला साताहरूमा त्यहाँका राष्ट्रपति गोटाबय राजपक्ष र उनको परिवार विरुद्ध ठूला र हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।
गत साता सरकार समर्थक र प्रदर्शनकारीबीच द्वन्द्व चर्किएपछि राष्ट्रपतिका दाइ महिन्द राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए।
प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा नौ जनाको मृत्यु भएको थियो भने ३०० जनाभन्दा बढी घाइते भएका थिए।
शुक्रवार विक्रमसिङ्घले बीबीसीसँग बोल्दै श्रीलङ्काको "अर्थतन्त्र राम्रो हुनुअघि अझै नराम्रो हुने" चेतावनी दिएका थिए।
पदभार ग्रहण गरेपछिको पहिलो अन्तर्वार्तामा उनले हरेक परिवारलाई दैनिक तीन पटक खाना खुवाउने प्रतिबद्धता जनाएका थिए।
थप आर्थिक सहयोगको लागि विश्व समक्ष अपिल गर्दै उनले भने, "भोकको सङ्कट हुने छैन, हामी खाना जुटाउने छौँ"।