सुनको मूल्य बढेकोबढ्यै, के अझै बढ्ला

दशैँ बिदापछि बजार खुलेसँगै पहेँलो धातु सुनको मूल्य फेरि उकालो लाग्ने क्रम शुरू भएको छ।

एक महिनाकै अवधिमा सुनको मूल्य प्रतितोला सात हजार रुपैयाँसम्म बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्कले देखाउँछ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार विगत तीन महिनाको तथ्याङ्क हेर्दा सुनको आयात पनि बढेको देखिन्छ।

यद्यपि तुलनात्मक रूपमा अहिले सुनको माग घटेको व्यवसायीहरूको दाबी छ।

"भाउ बढेर अनि नेपाली अर्थतन्त्रमा मन्दी देखिएर पनि सुनको माग केही घटेको देखिन्छ," नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बीबीसी न्यूज नेपालीसँग भने।

आयातको अवस्था के छ?

भन्सार विभागका अनुसार गत साउनमा दुई सय किलो सुन आयात भएको छ।

एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सुन आयात हुँदा सरकारले २४ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ।

भदौमा चार अर्ब १२ करोड रुपैयाँभन्दा बढी मूल्यको पाँच सय किलो सुन आयात भएको विभागले जनाएको छ।

त्यस बापत सरकारलाई ६१ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको देखिन्छ।

तीन महिनाको अवधिमा सबैभन्दा बढी असोजमा सात अर्ब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यको नौ सय किलोभन्दा बढीको सुन आयात भएको विभागको तथ्याङ्क छ।

सरकारले राजस्व बापत त्यसबाट एक अर्ब १० करोड रुपैयाँभन्दा बढी आर्जन गरेको छ।

राष्ट्र ब्याङ्कले एक महिनामा ६०० किलो (दैनिक २० किलो) मात्र सुन आयात गर्न पाउने सीमा तोकेको छ।

तर असोज महिनामा मात्रै ९०० किलोभन्दा बढी सुन आयात कसरी देखियो त?

“व्यापारीहरूले पहिल्यै अनुमति लिएर त्यो महिनामा आयात गरेको हुनुपर्छ,” जवाफमा भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बीबीसी न्यूज नेपालीसँग भने।

कोभिडपूर्व दैनिक २० किलो आयात गर्न पाउने अनुमति थियो भने राष्ट्र ब्याङ्कले पछि घटाएर १० किलोमा सीमित गर्‍यो।

अहिले फेरि दैनिक २० किलो आयात गर्न दिने भएपछि त्यसको प्रभाव देखिएको अधिकारीहरू बताउँछन्।

“विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार र १० किलोबाट बढाएर २० किलो पारिएपछि पनि आयात बढेको हो,” नेपाल राष्ट्र ब्याङ्कका सहप्रवक्ता डिल्लीराम पोखरेलले बीबीसी न्यूज नेपालीसँग भने।

मूल्य किन बढिरहेको छ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारक तत्त्व रहेको जानकारहरू बताउँछन्।

“एउटा पक्ष भूराजनीतिक अस्थिरता र युद्ध पनि हो। उदाहरणका लागि पछिल्लो समय इजरेल र हमासबीच लडाइँ शुरू भएयता सुनको भाउ बढ्दो क्रममा छ,” शाक्यले भने।

“युद्ध मत्थर भयो अथवा युद्धविराम भयो भने त्यसले मूल्य घटाउनमा सहयोग गर्न सक्छ। तर अझ चर्कियो भने त्यसले सुनको मूल्य थप बढ्न सघाउँछ।”

उनका अनुसार अमेरिकामा सेप्टेम्बर ११ मा हमला हुँदा, युक्रेन युद्ध शुरू हुँदा पनि सुनको भाउ बढेका विगतका उदाहरण छन्।

“त्यस्ता घटनाले सूनको मूल्यमा सीधै प्रभाव पार्छ। विगत दुई/चार वर्षमा झन् सुनको मूल्य अस्थिर देखिएको छ,” शाक्यले भने।

“पहिलापहिला एक दिन प्रतितोला १०/१५ डलरले तलमाथि हुने गरेकोमा अहिले अहिले ५०/६० डलरले तलमाथि हुन थालेको छ।”

नेपाली बजारमा हेर्दा एकै दिनमा प्रतितोला चार हजारले बढेको देखिएको छ।

अमेरिकी डलरको विकल्प

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा 'डी-डलराइजेशन’ शुरू भएमा सुनको भाउ अझै बढ्न सक्ने शाक्यको अनुमान छ।

पछिल्लो समय कतिपय देशले वैदेशिक व्यापारका क्रममा अमेरिकी डलरको विकल्पमा आआफ्नै मुद्राको प्रयोग गर्न थालेका छन्।

खासगरी इन्धनको कारोबार त्यसरी हुन थालेको जानकारहरू बताउँछन्।

रुस, चीन, इरान, ब्राजिल र भारतलगायत देश डलरको विकल्पमा अर्को मुद्रा चलाउनुपर्ने पक्षमा लागिपरेका छन्।

“डी-डलराइजेशन भयो भने त्यसले सुनको भाउलाई अझै प्रभावित पार्न सक्ने अवस्था देखिन्छ अर्थात्‌ अझ बढ्न सक्छ,” शाक्यले भने।

अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यले नेपाली बजार भाउलाई डोर्‍याउने गरेको पोखरेल बताउँछन्।

त्यसबाहेक नेपालको विदेशी मुद्रा विनिमय दरले पनि सुनको मूल्यलाई तलमाथि पारिरहेको हुन्छ।

“सुनलाई पनि नगदकै रूपमा हेरिने भएकोले खासगरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राखे भने मूल्यमा दबाव सिर्जना हुन्छ,” पोखरेलले भने।

नेपालमा सुनमा लगानी

नेपालीका लागि धर्म, संस्कृतिसँग जोडिएकोले पनि सुनप्रति आकर्षण रहँदै आएको बताइन्छ।

तर अरू देशमा जस्तै सुरक्षित लगानीका रूपमा कच्चा सुन/सुनको ढिक्का किनेर राख्ने अवस्था चाहिँ छैन।

“अन्य देशमा अस्थिरताका बेला सुनमा सुरक्षित लगानी गर्ने अवस्था रहे पनि नेपालमा त्यस्तो गर्ने अवस्था सरकारले दिएको छैन,” शाक्यले भने।

“हामीकहाँ धर्म, संस्कृति, रीतिरिवाजसँग जोडिएको हिसाबले सुनको प्रयोग गर्ने चलन हो।”

“गहनाको रूपमा किन्न पायो। तर बचत वा लगानी गर्ने उद्देश्यले ढिक्का सुन ५/१० किलो किनेर राख्छु भन्नुभयो भने तपाईँले पाउनुहुन्न।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।