‘उनी त कालो बादलभित्र अलप भए’

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

"पाकेको खाना नखाई हिँड्दा राम्रो हुँदैन भन्छन्!"

श्रीमतीले बोली सक्दा नसक्दै निस्किने हतार गरिरहेका पाइलट निश्चल केसी टक्क रोकिए। खाना खान बसे। सधैँ तोकिएको समय अगावै एअरपोर्ट पुगेर कामको तयारी गर्ने उनी त्यसदिन केही ढिला पुगे।

दुई दशकभन्दा लामो समयदेखि उडान गरिरहेका अनुभवी पाइलट। त्यसमाथि अनुशासन, आँट र अल्टिट्यूड रेस्क्यूमा अब्बल पाइलटमध्ये एकका रूपमा परिचित थिए उनी। विशेषगरी हिमाली क्षेत्रको उद्धारका लागि धेरैले नाम लिने गरेका निश्चल त्यसदिन पनि एक व्यक्तिको उद्धारमा जाने तयारीमा थिए।

तर, घरबाट निस्किएको केही समयमै उनले फोन गरे र भने “रेस्क्यूमा जान नपर्ने भयो। बिरामीको मृत्यु भइसकेछ।”

त्यो कोही आफ्नाको मृत्युको खबर थिएन तर त्यही खबरले निश्चलकी श्रीमती वैशालीलाई नराम्ररी झस्कायो। उनलाई सधैँ लाग्थ्यो- उडान श्रीमान्‌को रहरको पेसा हो।

“त्यसदिन चाहिँ मैले उनको कामको गाम्भीर्य बुझेँ। पाइलट हुनु रहरभन्दा बढी यात्रुको जीवनप्रति जिम्मेवारीको पेसा रहेछ,” उनले कसैको मृत्युले गराएको बोधबारे सुनाउँछिन्।

त्यो घटनापछि निश्चल कुनै उद्धारका लागि हेलिकप्टर लिएर जानु र आउनु उनका लागि सामान्य दिनचर्या थियो।

तर २०७५ सालको भदौ २३ गते त्यस्तै एक उद्धारका लागि उडेका उनी फर्किएनन्। २५ वर्षदेखि उडान गरिरहेका “सेलिब्रेटी पाइलट”को दुर्घटना धेरैका लागि अपत्यारिलो खबर थियो।

“सबैले उनी निकै राम्रो पाइलट हो भनेको सुन्थेँ। म सधैँ उनको दोस्रो प्राथमिकता थिएँ, यात्रुको सुरक्षा पहिलो। तर त्यसदिन के भयो कसैलाई थाहा छैन। हाम्रो लागि निस्पट्ट कालो दिन थियो त्यो,” वैशाली भन्छिन्।

केही समयपछि उक्त दुर्घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक भयो। त्यसमा दुर्घटनाको सम्भावित कारण मध्येको एक थियो- पाइलटले उडिरहेको भूभाग र बादलको घनत्व राम्ररी मूल्याङ्कन नगरी अनजानबस बादलभित्र पस्नु।

तर, वैशाली यो ठहरप्रति संशय व्यक्त गर्छिन्। उनी भन्छिन्, “यात्रुको सुरक्षामा सम्झौता गर्ने मान्छे थिएनन् उनी। तौल थोरै बढी हुँदा सामानको बोरा फालेकै कारण ‘एउटा केसी भन्ने पाइलट छ साह्रै छुच्चो’ भनेको सुनेका थियौँ। उनले कुनै जोखिम मोले होलान् र?”

निश्चल नियम तोड्दैनथे र पहुँचको दुरुपयोग गर्दैनथे भन्ने प्रसङ्गमा उनी एक उदाहरण दिन्छिन्- सन् १९९१ देखिको चिनजान र २० वर्ष लामो वैवाहिक सम्बन्धमा रहे उनीहरू। तर पाइलटकी श्रीमती भए पनि उनले श्रीमान्‌सँग जम्मा एक पटक हेलिकप्टर चढिन्। सन् २०१६ मा गोसाईंकुण्ड गएका थिए उनीहरू। त्यति बेला श्रीमानले आफूसँग पनि अरू सरह शुल्क लिएको सम्झन्छिन् उनी।

“उनका आमाबुबा त अहिलेसम्म चढ्नु भएको छैन। उनले आफूसँग भएको सुविधाको अनावश्यक प्रयोग गरेनन्। अनुशासनमा रहे, सधैँ।”

संयमता अपनाउँदा अपनाउँदै दुर्घटना हुने वा त्यस्ता घटनामा पाइलटको गल्ती हुनसक्ने कुरा नकार्दिनन् वैशाली। तर, राज्यले नेपालको हवाई सुरक्षाको पक्षमा ध्यान दिनुको साटो हरेक दुर्घटनाको कारक “मानवीय त्रुटि”लाई इङ्गित गर्नु चाहिँ सही ठान्दिनन्।

“पाइलटको गल्ती हुन सक्छ। तर गल्ती के र कसरी कम गर्न सकिन्छ भन्नेबारे छलफल हुँदैन जुन अत्यावश्यक छ। उनीहरूको मानसिक अवस्थाबारे पनि सोच्नुपर्छ,” उनी आफ्नो विचारमा प्रस्ट छिन्।

“हवाई उडान सुरक्षा मापदण्डहरूलाई पनि केलाउनुपर्छ।”

निश्चलको दुर्घटनाले वैशालीलाई गहिरो भावनात्मक चोट दिएको छ। नेपालमा जबजब हेलिकप्टर दुर्घटना हुन्छ उनलाई पुरानो घटनाको सम्झनाले पिरोल्छ।

नेपालले पछिल्ला वर्षहरूमा एकपछि अर्को दुर्घटनाका कारण अनुभवी पाइलटहरू गुमाइरहेको छ। छिनछिनमा बदलिने मौसम र पहाडी भूगोलमा नेपालका पाइलटहरूले सधैँ जोखिमपूर्ण अवस्थामा उडान गर्दै आइरहेका छन्।

२०७२ को भूकम्पपछि निरन्तर परकम्पबीच सगरमाथा आधार शिविरमा उद्धारका लागि पुग्ने पहिलो पाइलट थिए निश्चल। तर यसरी जोखिम मोल्ने पाइलटका परिवार भने दुर्घटनापछिको प्रतिवेदनले आत्तिन्छन्।

हवाई सुरक्षाको 'औपचारिक'ता

अर्का पाइलट रञ्जन लिम्बुको परिवार मनमा उस्तै चोट बोकेर बाँचिरहेको छ। तर, छोराको सम्झनाले औधी गाँज्दा बुवा भक्त खेवाङ आक्रोशित बन्छन्- राज्यसँग। प्रणालीसँग। आकाशमा उड्ने साधनको सुरक्षाप्रति जिम्मेवार हरेक निकायसँग।

“त्यति बेलाका उड्डयन मन्त्रीले समवेदना समेत दिएनन्। न कुनै दिन हामीकहाँ घटनाको छानबिन प्रतिवेदन लिएर आए न कसैमार्फत् पठाए,” ६४ वर्षीय भक्त आवाज केही चर्को बनाउँदै बोल्छन्।

२०७३ सालको साउन २४ गते। झरीको टुङ्गो थिएन। मौसम कहिले खुल्थ्यो कहिले धुम्म हुन्थ्यो। गोरखामा पाँच दिनको सुत्केरी र नवजात शिशु जीवन र मरणको दोसाँधमा रहेको थाहा पाएपछि उद्धारका निम्ति जान तयार भएका थिए रञ्जन।

उनले हाँकेको हेलिकप्टर सम्पर्कविहीन भएको खबर छाउँदा परिवारलाई उनी फर्कने विश्वास थियो। तर, त्यसो भएन।

“ऊ त कालो बादलभित्र अलप भयो। त्यहाँबाट निस्कन सकेन। त्यो सानो नानीलाई बचाउन बादलभन्दा माथि माथि कति चक्कर घुमायो होला,” उनी बोल्दाबोल्दै आवाज मसिनो सुनियो।

केही बेर चुप लागेपछि थप भने, "बादल, हावाहुरी, अँध्यारो सबै छिचोल्ने योजना थियो होला तर सकेन।"

उनले फाट्टफुट्ट सुने- बिरामीलाई सकेसम्म छिटो अस्पताल पुर्‍याउनुपर्ने बाध्यता सिर्जित तनाव र तत्कालीन परिस्थितिबारे पाइलट सचेत नभई उडान गर्दा फिसटेल एअरको हेलिकोप्टर दुर्घटनामा परेको जाँच आयोगको निष्कर्ष।

रञ्जन तनावमा थिए होलान् भन्ने अनुमानलाई नकार्दैनन् भक्त। “मेरो छोरालाई मानसिक तनाव भयो होला। ३५ मिनेटको बाटो १५ मिनेटमा छिचोल्नुपर्दा कसलाई तनाव हुँदैन?,” उनी प्रश्न गर्छन्।

“नानी मरे मरोस् तर आफू बाँच्छु भनेर बिस्तारै आएको भए हुन्थ्यो होला तर साना केटाकेटी र बूढाबूढीलाई साह्रै माया गर्ने मान्छे थियो ऊ। बच्चालाई मर्न दिन मनै मानेन होला मेरो केटाको।”

आज पनि कतै हेलिकप्टर बेपत्ता वा दुर्घटनाको खबर सुन्दा त्यही कहाली लाग्दो दिन सम्झन्छन् उनी। घटनापछि धेरैले सहानुभूति प्रकट गरे। रञ्जनलाई “आँटी र बहादुर”को सङ्ज्ञा दिए तर उमेरले भर्खरै २७ वर्ष टेकेको छोरा गुमाउनु भक्त र उनकी श्रीमती शान्ताका लागि “मुटुमा चोट लागेर बस्नु” सरह थियो।

दुर्घटनामा पर्नुभन्दा केही महिनाअघि हेलिकप्टर लिएर मोरङको केर्खा पुगेका थिए रञ्जन। त्यतिबेला आमाबुबा र दाजुलाई लिएर उडान गरेका थिए। सानो पाथिभरा भनिने मन्दिर दर्शन गर्न लिएर गएका थिए उनले परिवारलाई।

“पहिलो पटक उसको हेलिमा बस्यौँ। मन गर्वले ढक्क फुल्यो तर मुखले केही भनिनँ। केही महिनापछि त ऊ बितिगयो। अहिले लाग्छ- बोलेरै उसको प्रशंसा गर्नुपर्थ्यो। मरेर गएपछि त जुन देशको सेवा गर्‍यो त्यहाँको सरकारले न ऊ जस्तो दक्ष जनशक्ति गुमाउनुको मर्का बुझ्यो न हामी वृद्ध आमाबुबाको वेदना,” भावुक हुँदै उनले भने।

एकपछि अर्को पाइलटले ज्यान गुमाए पनि हवाई सुरक्षा औपचारिकतामा सीमित रहनुले उनको आक्रोश उत्कर्षमा पुर्‍याउँछ।

“हेलिकप्टर कम्पनी अझै पनि नाफा हेर्छन्। जहाज राम्रो किन्दैनन्। भएका हेलिको मर्मत सम्भार गर्दैनन्। सरकारी पक्ष अनुगमन गरेको जस्तो मात्र गर्छन्। देशको आकाश र प्राविधिक गडबडीबारे सुरक्षा जाँच गर्दैन,” उनी भन्छन्।

ठीक नहुने घाउ

गुनासो, पीडा, आक्रोश वा कुनै पनि भाव अभिव्यक्तिको अर्थ नै देख्दैनन् पाइलट प्रभाकर केसीका आमाबुवा कल्पना र प्रह्लाद चाहिँ।

२०७५ फागुन १५ गते बुधवार एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो। तत्कालीन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाउँदा उक्त घटना केही दिनका लागि ठूलो समाचारको शीर्षक बन्यो।

तर उक्त घटनापछि आफूहरू पनि “बाँचेको सार नभएको” बताउँछन् प्रह्लाद।

“सबैकुरा गुमाएपछि केही महसुस नै नहुँदो रहेछ। न चाडपर्व आउँदा रमाइलो, न मीठो मसिनो पाक्दा खुसी,” उनले भने।

छोराको मृत्युपछि बदलिएका प्रह्लादलाई साथीभाइहरू सम्झाउँछन्- बिस्तारै सबै ठीक हुन्छ।

उनी सबैलाई एउटै जवाफ दिन्छन्, "आफू मरेर चितामा बसेपछि मात्र ठीक होला। नत्र सन्तान गुमाउनुको पीडाले दिएको घाउ बाँचुन्जेल ठीक हुँदैन।“

रहरहरू मरेको महसुस गर्छन् उनी।

“मेरो छोरा क्याप्टेन भए पनि नजिकबाट हेलिकप्टर देखेको थिइनँ मैले। उसले घुमाउन लान्छु भन्थ्यो तर मैले नै ‘यति लामो समय छ कुनै न कुनै दिन जाउँला नि’ भन्थेँ। तर अब समय छ, ऊ छैन,” उनले भने।

आजभोलि आकाश तिरबाट हेलिकप्टरको आवाज आउँदा “मुटु काम्छ।” त्यस्तो बेलामा श्रीमान् श्रीमती एक अर्कालाई हेर्छन् तर केही बोल्न सक्दैनन्।

“आकाश अँध्यारो हुँदा पनि डर लाग्थ्यो। बिस्तारै कठोर बन्दै गइयो जस्तो लाग्छ। हाम्रो सर्वस्व गुम्यो। सायद यो सबै हुनु हिजोको भाग होला,” प्रभाकरकी आमा कल्पना बोल्छिन्।

मौसम बिग्रँदाबिग्रँदै छोराले किन उडान गर्‍यो होला? भन्ने प्रश्नले बेलामौकामा कल्पनाको मन गिजोल्छ।

सरकारी प्रतिवेदनमा भनियो: प्रतिकूल मौसममा पाथीभरा हेलिप्याडबाट उडेपश्चात् पाइलटले हाइपोक्सिया (शरीरमा पर्याप्त अक्सिजन नभएको अवस्था) को प्रारम्भिक चरण अनुभव गरेको हुनसक्छ। त्यसपछि उनले होस र हेलिकप्टरको नियन्त्रण गुमाए र दुर्घटना भयो।

तर, प्रतिवेदनमा लेखिने सम्भावित कारणका आधारहरूबारे प्रश्न गर्छन् आफ्नो प्रियजन गुमाएका परिवारहरू।

"कतिपयले मेरो छोराले हेलिकप्टरमा क्षमताभन्दा बढी भार बोकेको आरोप लगाए। तर त्यहाँ त उड्डयन मन्त्री स्वयं सवार थिए। उनले किन 'यसरी नजाऔँ, जोखिम नमोलौँ' भनेनन्? मौसम खराब हुँदाहुँदै किन उडाउन लगाए? यी प्रश्नले हामीलाई आजैसम्म लखेट्छ। जबाफ कसले दिन्छ?," प्रह्लादसँग प्रश्नका खात छन्।

यस्ता मानसिक आघात र भावनात्मक चोट भए पनि पाइलट पेसाको सम्मान गर्छन् उनीहरू।

"म, मेरो परिवार र निश्चलका साथीहरू ऊमाथि निकै गर्व गर्छौँ। उसैलाई देखेर धेरै भाइबहिनीहरू पाइलट बन्न प्रेरित भएको मैले देखेकी छु," वैशाली भन्छिन्।

“कहाँ, कसको, के गल्ती भयो मलाई थाहा छैन तर तारन्तार दुर्घटनाका खबर सुन्दा पनि यही भूगोलमा हेलिकप्टर उडाउन चाहनेहरूका लागि यहाँको आकाश सुरक्षित हुनुपर्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।