किशोरीको 'आपत्तिजनक' भिडिओ भाइरल भएपछि उनका पिताको हत्या

मेलाजी वाघेलाले भारतीय सीमा सुरक्षा बलमा कार्यरत थिए
तस्बिरको क्याप्शन, मेलाजी वाघेलाले भारतीय सीमा सुरक्षा बल बीएसएफबीमा कार्यरत थिए

भारतको पश्चिमी राज्य गुजरातमा प्रहरीले एक सैनिकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

मेलाजी वाघेलाले आफ्नी किशोरी छोरीको भिडिओ सामाजिक सञ्जाल राखेकोमा विरोध जनाएपछि उनीमाथि आक्रमण भएको प्रहरीसमक्ष गरिएको उजुरीमा उल्लेख छ।

भिडिओ अप्लोड गरिएपछि भाइरल भएको उजुरीमा उल्लेख गरिएको छ।

आक्रमणको आरोप लागेकाहरू वाघेलाले 'आपत्तिजनक' भिडिओ अप्लोड गरेको आरोप लगाएका एक किशोरको परिवारका सदस्य हुन्।

आक्रमणमा वाघेलाकी श्रीमती र छोरा पनि घाइते भएका छन्।

पीडित वाघेला भारतको सीमा सुरक्षा बल बीएसएफमा हवल्दार थिए।

वाघेलाकी पत्नी मञ्जुलाले प्रहरीमा दिएको जाहेरीअनुसार शनिवार राति गुजरातको खेडा जिल्लामा आक्रमण भएको थियो।

कसरी भयो घटना

वाघेला, उनकी पत्नी, दुई छोरा र भतिजाहरू ती किशोरीको भिडिओ अप्लोड गरेको आरोप लगाउँदै ती किशोरविरुद्ध कुरा गर्न उनको घर गएका थिए।

कैयौँ समाचारहरूमा उक्त भिडिओलाई "अश्लील" भनेर वर्णन गरिएको भए पनि बीबीसीले त्यसको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

प्रहरीमा दिइएको निवेदनमा ती किशोरका घरमा भएको छलफलले झगडाको रूप लिएको उल्लेख छ।

त्यसपछि ती किशोरका आफन्तहरूले वाघेला र उनको परिवारका सदस्यलाई "काठको लौरो र धारिला वस्तु"ले प्रहार गरेको विवरण प्रकाशित भएको छ।

गम्भीर घाइते भएका वाघेलाको तत्कालै मृत्यु भएको थियो।

स्थानीय सञ्चारमाध्यम प्रहरी अधिकारीलाई उद्धृत गर्दै वाघेला आफ्नो सरुवा हुनुभन्दा अघि परिवारलाई भेट्न गएको बेला घटना भएको जनाएको छ।

उनका एक छोराको टाउकोमा चोट लागेको छ र उनी अस्पतालमा उपचाररत छन्।

प्रहरीले सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ।

उनीहरूलाई सोमवार हिरासतमा पठाइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अपराधसँग सम्बन्धित प्रमाण जम्मा गर्ने काम भइरहेको जनाएको छ।