तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा रेलमार्ग हात्तीका लागि घातक, 'एआई'ले कसरी जोगाउन सक्ला
- Author, एस प्रशान्त
- Role, बीबीसी तमिल
भारतको दक्षिणी राज्य तमिलनाडुका अधिकारीहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग गरी रेलवे लिकमा हुने हात्तीको मृत्यु रोक्ने पहल गरेका छन्।
रेलवे लिक वा नजिकै हुने हात्तीको मृत्यु बढ्दो क्रममा छ। आधिकारिक तथ्याङ्कका अनुसार गएको दशकमा मात्रै रेलको ठक्करबाट ३६ वटा हात्ती मारिएका छन्।
तीमध्ये ११ हात्ती केरला राज्यको जङ्गलसँग सीमावर्ती मधुकराईनजिकैका दुई वटा रेलवे लिकमा मारिएका थिए। यी लिकहरू हात्तीको नियमित आवतजावतको मार्गमा पर्छन् र त्यहाँनजिकैको जङ्गलमा दुईतर्फको रेलको लिग जोडिएको छ।
सन् २०२१ मा तमिलनाडु उच्च अदालतले रेलवे लिकमा हुने हात्तीको मृत्यु रोक्नका लागि वन विभाग र रेलवेलाई निर्देशन दिएको थियो।
हात्ती संरक्षणका लागि एआईको प्रयोग
वन विभागले अहिले मधुकराईको दुई वटा रेलवे लिक नजिकै १२ वटा 'टावर' बनाएको छ। त्यहाँ एआईको प्रयोग गरिएका क्यामरा राखिएको छ।
ती क्यामराले हात्तीको आवतजावतको प्रत्यक्ष निगरानी गर्छन्।
परियोजना व्यवस्थापक आशिष राजपुतले सीमासँगै भारतीय सेनाले प्रयोग गर्ने क्यामराको दाँजोमा एआई प्रणालीका क्यामराले रेलवे लिक नजिकै मानिसको पहिचान पनि गर्न सक्ने बताए।
रेलवे लिकको १०० फिट नजिकै हात्ती देखियो भने एआईले वन र रेलवेका अधिकारीहरूलाई सतर्कताको सूचना पठाउँछ। त्यसपछि उनीहरू रेलको गति सुस्त बनाउन एकअर्कासँग समन्वय गर्छन् र त्यसले हात्तीलाई रेलसँग ठोक्किनबाट जोगाउँछ।
के फाइदा?
रेलवे लिकनजिकै रहेको कन्ट्रोल रूममा चार जना मानिसहरूले निरन्तर रूपमा उक्त प्रणालीको अनुगमन गर्छन्।
तामिलनाडु वन विभागकी सचिव सुप्रिया साहूले गत फेब्रुअरीमा ७ करोड २४ लाख भारतीय रुपैयाँबराबरको खर्चमा यो परियोजना सुरु गरिएको बताइन्।
यसअघि, वनका अधिकारीहरू रेलवेनजिकै हात्तीको गतिविधि अनुगमन गर्न निरन्तर रूपमा गस्ती गर्थे।
तर साहूका अनुसार यो तरिका अपनाउँदा त्यसका सीमाहरू थिए र हात्तीलाई दुर्घटनाबाट बचाउन "ठूला चुनौतीहरू" थिए।
नयाँ प्रणाली लागु भएको केही महिनामा एआई प्रणालीले झन्डै ४०० पटक हात्ती रेलवे लिक नजिकै आउन लागेको थाहा पाएर तत्कालै रेलवे अधिकारीलाई त्यसको जानकारी दिँदा सम्भावित दुर्घटना हुनबाट जोगिएको उनले बताइन्।
"लिकनजिकै हात्ती मात्रै नभई अन्य जनावर पनि आउँदा त्यसले सतर्कता सूचना पठाउँछ," कन्ट्रोल रूममा काम गर्ने मणिकन्दनले भने।
पहिलो पटक होइन
भारतमा जङ्गली जनावरलाई जोगाउनका लागि एआई प्रयोग भएको यो पहिलो पटक होइन।
गत डिसेम्बरमा भारतको सङ्घीय रेलवे मन्त्रालयले देशभरिकै विभिन्न राज्यमा हात्ती हिँड्ने बाटोमा 'गजराज' नामक एआईमा आधारित निगरानी प्रणाली लागु गरिरहेको जनाएको थियो।
यो परियोजनाअन्तर्गत अधिकारीहरूले रेलवे लिकनजिकै सेन्सरहरू राखिरहेका छन्। उक्त प्रविधिले हात्ती र अन्य जनावर अनि मानव गतिविधिबारे वन विभाग र रेलवे प्रशासनलाई सूचना पठाउँछ।
गबन, केन्या र बोट्स्वानाजस्ता अफ्रिकी देशहरूमा हात्ती संरक्षण प्रयासका लागि एआई क्यामरा प्रणालीको प्रयोग हुँदै आएको छ।
तमिलनाडुले राज्यका कोइम्बटुर, धर्मपुरी, होसुर र गुदलुरजस्ता अन्य पाँच जोखिमयुक्त क्षेत्रमा यो नयाँ प्रणाली विस्तार गर्ने योजना घोषणा गरेको छ।
साहू भन्छिन्, "प्राविधिक कदमले रेलका कारण हुने वन्यजन्तुलगायतको दुर्घटनामा उल्लेख्य कमी आएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।