तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पको 'गोल्ड कार्ड' भिसा के हो, यस्तो सुविधा कुनकुन देशले दिन्छन्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी विदेशीहरूलाई अमेरिकामा स्थायी बसोबास तथा नागरिकताको मार्ग प्रशस्त हुने गरी ५० लाख डलर पर्ने 'गोल्ड कार्ड' भिसाको योजना घोषणा गरेका छन्।
"उनीहरू धेरै धनी र सफल हुने छन्। उनीहरूले धेरै पैसा खर्च गर्ने छन्, धेरै कर तिर्नेछन् अनि धेरै जनालाई रोजगारी दिने छन्। हामीलाई लाग्छ यो उपाय निकै सफल हुने छ," मङ्गलवार ओभल अफिसमा बोल्दै ट्रम्पले भने।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लट्निकले प्रस्तावित 'गोल्ड कार्ड'ले विद्यमान ईबी-५ (EB-5) लगानीकर्ता भिसा योजनालाई विस्थापित गर्ने बताएका छन्। उक्त भिसा विदेशी लगानीकर्तालाई दिइँदै आएको छ।
ट्रम्पको प्रस्तावमा के छ
ट्रम्पले नयाँ भिसा लिनका निम्ति रोजगार सिर्जनासम्बन्धी कुनै सर्त उल्लेख गरेनन्। "पैसा भएका मानिसहरू आउने छन्," उनले भने।
ईबी-५ भिसाको सङ्ख्या सीमित हुने गरेकोमा 'गोल्ड कार्ड' चाहिँ एक करोडको सङ्ख्यामा बिक्री गर्न सकिने र त्यसले सङ्घीय सरकारको घाटा कम हुने ट्रम्पले बताएका छन्। "यो गजब हुन सक्छ," उनले भने।
"यो नागरिकताको मार्ग हुने छ। धेरै सम्पत्ति भएका मानिसहरू वा धेरै प्रतिभाशाली मानिसहरू आउने छन्। कम्पनीहरूले त्यस्ता प्रतिभाशाली मानिसहरूलाई भित्र्याउन र दीर्घकालीन हैसियत दिलाउन पैसा तिर्ने छन्," उनले भने।
पत्रकारहरूले धनाढ्य रुसीहरू पनि यसका निम्ति योग्य हुने छन् त? भनेर सोध्दा ट्रम्पले भने, "हो, हुन सक्छ। मैले पनि केही रुसी 'ओलिगार्क' चिनेको छु जो निकै राम्रा मानिस छन्।"
तर लट्निकले 'गजबका, विश्वस्तरीय ग्लोबल सिटिजन' भएको निश्चित गर्न सबै आवेदनकर्ताहरूको सघन परीक्षण गरिने बताए। यद्यपि गोल्ड कार्ड भिसा पाएकाहरूले नागरिकता निम्ति कति समय पर्खनुपर्छ भनेर स्पष्ट पारिएको छैन। ग्रीनकार्ड भएका – ईबी-५ योजना अन्तर्गतका समेत गरी – विदेशीहरू अमेरिकामा कम्तीमा पाँच वर्ष वैध स्थायी बासिन्दाका रूपमा बिताएपछि नागरिकताका निम्ति योग्य ठहरिन्छन्।
अमेरिकामा नागरिकताको योग्यता त्यहाँको संसद् वा कङ्ग्रेसले तोक्छ। तर ट्रम्पले 'गोल्ड कार्ड'का निम्ति कङ्ग्रेसको स्वीकृति आवश्यक नपर्ने बताए।
उनले नयाँ योजनाको विस्तृत विवरण दुई सातामा दिइने बताएका छन्।
ईबी-५ किन विस्थापित गर्नुपर्यो
अरू देशमा कस्ता छन् भिसा योजना?
लट्निकका अनुसार "ईबी-५ कार्यक्रम…वाहियात, नक्कली र कपटपूर्ण थियो। कम मूल्यमा ग्रीनकार्ड लिने उपाय थियो। त्यसैले राष्ट्रपतिले यस्तो हास्यास्पद ईबी-५ राख्नुभन्दा त्यसलाई अन्त्य गर्नुपर्छ भनेका हुन्।"
अमेरिकी कङ्ग्रेसले विदेशी लगानी भित्र्याउन सन् १९९० मा ईबी-५ को स्थापना गरेको हो। करिब १० लाख डलर लगानी गरेर त्यो व्यवसायबाट रोजगारीका कम्तीमा १० वटा अवसर सिर्जना गर्ने व्यक्ति उक्त योजनाका निम्ति योग्य हुन्छन्।
यस कार्यक्रमअन्तर्गत लगानी गरेको बदलामा लगानीकर्ताले तत्कालै ग्रीनकार्ड पाउँथे र उनीहरूका लागि अन्तत: नागरिकता प्राप्त गर्ने बाटो खुल्थ्यो। यद्यपि सामान्यतया कुनै पनि आवेदनकर्ताले ग्रीनकार्ड पाउन कैयौँ महिनादेखि कैयौँ वर्षसम्म पर्खनुपर्छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ईबी-५ कार्यक्रमअन्तर्गत वर्षमा बढीमा १०,००० भिसा दिइन्छ र त्यसमध्ये ३,००० चाहिँ धेरै बेरोजगारी भएको क्षेत्रमा जाने लगानीकर्ताका निम्ति छुट्ट्याइन्छ। अमेरिकाको नागरिकता तथा आप्रवासनसम्बन्धी निकायका अनुसार यसको उद्देश्य "विदेशी लगानीकर्ताबाट हुने पुँजी लगानी र रोजगार सिर्जनामार्फत् अमेरिकी अर्थतन्त्र चलायमान बनाउनु" हो।
डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीको पछिल्लो वार्षिक आप्रवासन प्रतिवेदनअनुसार सन् २०२२ को सेप्टेम्बर ३० मा सकिएको १२ महिनाको अवधिमा करिब ८,००० विदेशीले लगानीकर्ता भिसा लिएका थिए।
सन् २०२१ मा अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसले ईबी-५ भिसामा अन्य आप्रवासी भिसाभन्दा 'ठगीका थप जोखिम' रहेको पाएको थियो।
"ती जोखिममा लगानीकर्ताले ल्याएको पैसा वैध धन हो कि होइन भनेर यकिन गर्न कठिनाइ हुने, पैसाका निम्ति लगानीकर्ताको फाइदा उठाउने सम्भावना बढ्ने, र कृपावाद भएको देखिने गरी दुरुपयोग हुन सक्ने," उसको प्रतिवेदनमा उल्लेख छ।
यस्तै खालका भिसा योजना विश्वभरि नै प्रचलित छ।
'गोल्डन भिसा' योजनाले धनाढ्य विदेशीहरूलाई ठूलो लगानीको बदला अन्य देशमा बस्ने र काम गर्ने अवसर प्रदान गर्छ।
अनि केही क्यारिबिअन देशमा 'गोल्डन पासपोर्ट' पनि उपलब्ध गराइएको छ जसमार्फत् धनाढ्य व्यक्तिहरूलाई काम गर्न र भोट हाल्न समेत पाउने गरी नागरिक सरहका सबै अधिकार र स्वतन्त्रता दिइन्छ।
यूकेस्थित परामर्शदातृकम्पनी हेन्ले एन्ड पार्ट्नर्सका अनुसार १००भन्दा धेरै देशहरूले धनीहरूलाई 'गोल्डन भिसा' दिन्छन्। तिनमा अमेरिका, यूके, स्पेन, ग्रीस, माल्टा, अस्ट्रेलिया, क्यानडा र इटली पर्छन्।
तर यी कार्यक्रमहरूको धेरै आलोचना भएको छ।
"यी कार्यक्रमले प्रत्यक्ष विदेशी लगानी भित्र्याएर आर्थिक वृद्धिमा तीव्रता ल्याउन सक्छ तर यसले न्याय छल्न र दशौँ अर्ब डलर बराबरका अपराधबाट कमाएको सम्पत्ति शुद्धीकरण गर्न उद्यत अपराधी वा भ्रष्ट अधिकारीहरूलाई आकर्षित गर्छ," अर्गनाइजेशन फर इकनमिक कोअपरेशन एन्ड डेभलपमन्ट (ओईसीडी)ले सन् २०२३ मा प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ।
एक सयभन्दा धेरै देशहरूमा भ्रष्टाचारविरुद्ध कार्यरत संस्था ट्रान्स्पर्यान्सी इन्टर्न्याश्नलले युरोपेली युनियनमा रहेका यस्ता भिसा कार्यक्रमहरू "वास्तविक लगानी वा आप्रवासनभन्दा पनि भ्रष्ट स्वार्थपूर्ति"का निम्ति भएको जनाएको छ।
ईयूका अन्य निकायहरूले पनि यस्ता कार्यक्रमको आलोचना गरेका छन्। सन् २०२२ मा ईयूको कमिटी अन सिभिल लिबर्टिज, जस्टिस एन्ड होम अफेअर्सले गोल्डन पासपोर्टमाथि प्रतिबन्ध लगाउन मत दियो र ईयूमा बिनाभिसा पहुँच पाइरहेका तेस्रा देशहरूलाई पनि तिनका गोल्डन पासपोर्टसम्बन्धी योजना अन्त्य गर्न भन्यो।
यी चिन्ताहरूका माझ यूके, स्पेन, द नेदरल्यान्ड्स र ग्रीसजस्ता कतिपय युरोपेली देशहरूले तिनका गोल्डन भिसा कार्यक्रम फिर्ता गरे।
उदाहरणका लागि, स्पेनले सन् २०१३ मा स्थापित 'गोल्डन भिसा' कार्यक्रम रद्द गरेको छ। उसले पाँच लाख यूरो वा त्योभन्दा धेरै मूल्य पर्ने सम्पत्ति किन्ने लगानीकर्ताहरूलाई उक्त भिसा सुविधा दिएको थियो। अब उक्त कार्यक्रमअन्तर्गत अन्तिम आवेदनको मिति सन् २०२५ को एप्रिल ३ सम्म मात्र राखिएको छ।
गत वर्ष स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले उक्त कार्यक्रम रद्द गर्नुका पछाडि "स्पेनमा आवासलाई केवल व्यापारिक विषय नभई अधिकारको रूपमा ग्यारेन्टी पनि गर्ने" उद्देश्य रहेको बताएका थिए।
यूकेको लन्डन स्कूल अफ इकनमिक्स र अमेरिकाको हार्भर्ड यूनिभर्सिटीले ईयूको गोल्डन भिसाबारे गरेका अध्ययनले पनि तिनको आर्थिक उपादेयतामाथि प्रश्न उठाएका छन्।
तिनले विदेशी लगानीको थोरै भाग मात्र प्रतिनिधित्व गर्ने र तिनको नगण्य आर्थिक प्रभाव पर्ने ती अध्ययनको निष्कर्ष रह्यो।
खोज पत्रकारहरूको विश्वव्यापी सञ्जाल 'अर्गनाइज्ड क्राइम एन्ड करप्शन रिपोर्टिङ प्रोजेक्ट'ले सन् २०२३ को अक्टोबरमा प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले यस्तै खालका कार्यक्रममार्फत् युद्ध अपराधमा आरोपित लिबियाका एक पूर्वकर्नेल अनि टर्कीमा जेल सजाय सुनाइएका एक व्यापारीले डोमिनिकन पासपोर्ट लिएका उदाहरण प्रस्तुत गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।