एसईईको परीक्षाफल प्रकाशित - पूरक परीक्षा कहिले, पुनर्योग र पुन: परीक्षणको प्रक्रिया कस्तो

राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने 'ग्रेड' ल्याउन सफल भएका छन्।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ११ कक्षा पढ्न नपाउने ग्रेड ल्याएका अर्थात् 'नन-ग्रेडेड' परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा बढी देखिएको छ।

यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घट्ने ठानिएको थियो।

त्यो भनेको सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा कम्तीमा २७ र आन्तरिक तथा प्रयोगात्मकतर्फ २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ।

बोर्डका अधिकारीहरूले नयाँ व्यवस्थाले पास हुने दरमा "केही असर" गरे पनि विद्यार्थीको शिक्षाको गुणस्तरमा भने सुधार हुने बताउँदै आएका थिए।

नतिजा प्रकाशनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफलबारे जानकारी दिएका थिए।

उनका अनुसार गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईई परीक्षामा नियमिततर्फ कुल ४,६४,७८५ परीक्षार्थी सहभागी थिए।

शर्माले दिएको जानकारीअनुसार नियमिततर्फ २,२२,४७२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले 'नन-ग्रेड' (एनजी) ल्याएका छन्।

उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ। बोर्डका अनुसार २२१ जनाको परीक्षा रद्द भएको छ।

कुन जीपीए ल्याउने कति?

शर्माले दिएको जानकारीअनुसार यसपालि माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा केही बढेको छ।

उनले भने, "खास गरी आजको नतिजा हेर्दा माथिल्लो जीपीए ल्याउने सङ्ख्या वृद्धि भएको देखिरहेका छौँ।"

  • जीपीए २.८ देखि ३.२०: - ७८,८७४ जना
  • जीपीए ३.६ देखि ४.०: ३१,२०९ जना
  • जीपीए ३.२ देखि ३.६: ६८,२५६ जना
  • जीपीए २.४ देखि २.८ः ४१,१७७ जना
  • जीपीए २.० देखि २.४ः २,९५० जना
  • जीपीए १.६ देखि २.०ः ६ जना।

कुन प्रदेशबाट कति सहभागी थिए?

शर्माका अनुसार एसईई परीक्षामा बागमती प्रदेशबाट सर्वाधिक र कर्णालीबाट कम सङ्ख्यामा विद्यार्थीहरू सहभागी भएका थिए।

  • कोशी - ७५,९८८
  • मधेश - ७९,५९२
  • बागमती - ९९,८७२
  • गण्डकी - ४०,५२६
  • लुम्बिनी - ८०,३२७
  • कर्णाली - ३५,०३७
  • सुदूरपश्चिम - ५३, ४४६

नन-ग्रेडेड परीक्षार्थीमध्ये दुई वटासम्म विषय लागेर पूरक परीक्षा दिन पाउनेहरूको सङ्ख्या झन्डै एक लाख १६,००० छ। तीमध्ये एउटा मात्र विषय लागेका ६७,७९६ छन् भने दुई विषय लागेका ४८,०३८ जना छन्।

उनका अनुसार आगामी साउन १८ र १९ गते यी विद्यार्थीहरूले मौका परीक्षा सञ्चालन गर्न पाउने छन्।

धेरै विद्यार्थी फेल हुने पाँच विषय

विगतमा जस्तै यसपालि पनि गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएको शर्माले जानकारी दिएका छन्।त्यसपछि विज्ञान र अङ्ग्रेजीमा पनि धेरै विद्यार्थी फेल भएका छन्।

यस पटकको परीक्षामा गणितमा फेल हुने विद्यार्थीको सङ्ख्या १,७७,९८५ जना रहेको छ।

त्यस्तै विज्ञानमा १,२६,९३३ जना विद्यार्थी फेल भएका छन् भने अङ्ग्रेजीमा १,१३,०८३ जना फेल भएका छन्।

गणित, विज्ञान र अङ्ग्रेजीपछि सबैभन्दा धेरै सामाजिक अध्ययनमा ७३,८७७ जना र त्यसपछि अर्थशास्त्रमा ६९,४१६ जना फेल भएको शर्माले जानकारी दिए।

नतिजा सुधार किन भएन?

पत्रकार सम्मेलनमा पत्रकारहरूले एसईई परीक्षामा कमजोर नतिजा हुनुको कारणबारे प्रश्न गरेका थिए।

पत्रकार सम्मेलनमा उपस्थित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले "नीतिगत र कार्यगत" दुवै कारणले त्यस्तो भएको हुन सक्ने बताए। उनले सरकारले त्यसबारे समीक्षा गरेर अघि बढ्नेमा जोड दिए।

उनले धेरै विद्यार्थीहरू फेल भएका विषयहरूमा कसरी सुधार गर्न सकिन्छ भनेर सरकारले अब काम गर्ने आश्वासन दिए।

उनले भने, "अब हामी परीक्षा समितिमा यो नतिजाको विश्लेषण गर्छौँ। बोर्डसँग पनि छलफल गरेर सुझाव लिन्छौँ र आउँदा दिनमा यो नतिजालाई र विद्यालय शिक्षामा सुधारमा कसरी गर्न सकिन्छ भनेर जान्छौँ भन्ने गम्भीर छलफल अघि बढाउँछौँ।"

उनले सरकारले चाहेर मात्र नतिजा सुधार नहुने बताए। त्यसका लागि शिक्षक, परिवार र समाज पनि उत्तिकै जिम्मेवार रहेको उनको भनाइ छ।

सरकारले कक्षाकोठाको सिकाइको वातावरण, परीक्षा प्रणालीलगायतमा सुधार गर्दै जाने उनको भनाइ छ।

नतिजा कहाँ हेर्न पाइन्छ?

बोर्डका अनुसार एसईईको नतिजा विभिन्न ११ वटा वेबसाइट, आईभीआर र एसएमएसमार्फत् हेर्न मिल्छ।

परीक्षार्थीहरूले नेपाल टेलिकममा आईभीआर र एसएमएस दुवैबाट परीक्षाफल हेर्न सक्छन्।

त्यसका लागि प्रयोग हुने 'सर्ट कोड' १६०० हो।

त्यस्तै स्विफ्ट टेक्नोलजीमा ३४४५५, जानकी टेक्नोलजीमा ३५००१, ईजी सर्भिसमा ३४९४९, आकाश टेकमा ३१००३ 'सर्ट कोड'मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ।

त्यस्तै निम्नलिखित वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ -

  • www.see.gov.np
  • www.neb.gov.np
  • www.see.ntc.net.np
  • https://blog.imepay.com.np/see-result
  • www.see.edusanjal.com
  • www.ekantipur.com
  • https://khalti.com/app
  • see.esewa.com.np
  • www.ayoresult.com
  • https://bit.ly/GetNcellApp

पूरक परीक्षा कहिले हुन्छ?

बोर्डले जारी गरेको सूचनानुसार दुई विषयमा ननग्रेड (एनजी) हुनेले तत्कालै परीक्षा दिन पाउने छन्।

त्यसमा भनिएको छ, "नतिजा प्रकाशन भएको एक महिनापछि दुई विषयसम्म एनजी आउनेले मौका परीक्षा मा सहभागी हुन पाउने (पूरक) भएकाले तयारी गरी ग्रेड वृद्धि गर्न सक्ने अवसर रहेको हुन्छ। सोको नतिजा एक महिना भित्र प्रकाशन हुने भएकाले कक्षा ११ मा भर्ना भई अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने हुन्छ।"

"दुईभन्दा बढी विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ।"

बोर्डले आगामी वर्षको वार्षिक परीक्षा २०८१ चैत ७ देखि सञ्चालन हुने निर्णय गरिसकेको छ।

सोहीअनुसार वार्षिक कार्यतालिका पनि बोर्डले सार्वजनिक गरिसकेको छ।

पुनर्योगका लागि के गर्ने?

बोर्डका अनुसार नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था छ।

सूचनामा भनिएको छ, "पुनर्योगका लागि परीक्षार्थीहरूलाई अनलाइनमार्फत् आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।"

"परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फारम भरी आवेदन गर्न सक्ने छन्। सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेवसाइटबाट हेर्न सकिने छ।"

त्यस्तै उमेर, नाम र थर सच्याउका लागि पनि परीक्षार्थीले पाउने छन्।

सूचनामा भनिएको छ, "परीक्षार्थीहरूको उमेर, नाम र थर कुनै कारणले फरक परेमा नतिजा प्रकाशन भएको पाँच वर्षभित्र प्रवेशपत्रअनुसार र प्रवेशपत्रमा समेत फरक परेको अवस्थामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चाअनुसार सच्याउन सकिने व्यवस्था रहेकाले सोहीअनुसार निवेदन दिई सच्याउन सकिने छ।"

बोर्डले नतिजा अस्पष्ट भएको अवस्थामा के गर्ने भनेर पनि सूचना दिएको छ।

"नतिजा प्रकाशन हुँदा परीक्षार्थीको कुनै कारणले सबै वा कुनै विषयमा नतिजा नखुलेको अवस्था रहेमा यस कार्यालयको वेवसाइटमा रहेको नतिजा खुलाउने निवेदन डाउनलोड गरी कुनकुन विषयको नतिजा नखुलेको हो सोसम्बन्धी विवरण भरी प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमार्फत् इमेलबाट वा सोझै यस कार्यालयमा निवेदन दिनुपर्ने छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।