तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बलिवुड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, सिनेमाजस्तै नाटकीय थियो जीवन
- Author, वन्दना
- Role, सीनियर न्यूज एडिटर, बीबीसी न्यूज
हिन्दी सिनेमाका प्रख्यात अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमवार निधन भएको छ।
सन् १९३५ मा पञ्जाबमा जन्मिएका धर्म सिंह देओलले आफ्नो पुस्तैनी गाउँ नरसालीदेखि बम्बेसम्मको एउटा स्वप्निल सफल यात्रा गरे।
भारतमात्र होइन पाकिस्तानमा पनि धर्मेन्द्रका धेरै प्रशंसक छन्। त्यसमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पनि सामेल छन्।
धर्मेन्द्र आफैले किस्सा सुनाउँथे: "नवाज शरीफ भारत आएका बेला मेरो भेट भएको थियो। नवाज शरीफले आफ्नो परिवार मोटरमा कतै गइरहेका बेला धर्मेन्द्रको घर अगाडि कार रोकेर आफ्नी पत्नी र बच्चाहरूलाई 'हेर त्यो धर्मेन्द्रको घर हो भनेका थिए'।"
महेश भट्टका लागि ट्रक ड्राइभरसँग लुगा उधारो
धर्मेन्द्र आफ्नो अभिनय कलाका लागि प्रख्यात थिए।
लेखक राजीव विजयकरको किताब 'धर्मेन्द्र- नट जस्ट ए ही म्यान'मा उनका कैयौँ रमाइला प्रसङ्ग उल्लेख छन्।
किताबमा महेश भट्ट भन्छन्: "'दो चोर' भन्ने फिल्मको शुटिङ भइरहेको थियो। मैले ट्रक ड्राइभरको रूपमा धर्मेन्द्रका लागि तयार पारेको लुगा मैले ड्रेसम्यानलाई राम्रोसँग निर्देशन दिन नसकेकाले टाढा रहेको होटेलमा छुटेछ। यो सीन हर हालतमा त्यस दिन बिहान खिच्नुपर्ने थियो नत्र ठूलो नोक्सान हुन्थ्यो। मैले धर्मेन्द्रलाई आफ्नो समस्या बताएँ।"
"धर्मेन्द्रले मप्रति सहानुभूति राख्दै मेरो कुरा सुने। उठे । नजिकै एक ट्रक ड्राइभर थियो। उसँग गएर ड्राइभरको मैलो कपडा उधारोमा लिए। एक ड्रेसम्यानको गल्तीलाई आफ्नो उदारता र कल्पनाशीलताले ढाकिदिए।"
दिलीप कुमारले जगाएको अभिनय मोह
बाल्यकालको कुरा हो जतिखेर उनका पिता लुधियानाको गाउँमा गणित पढाउँथे। त्यो परिवेशमा सिनेमा हेर्न जाने नै धेरै परको कुरा थियो।
अलि ठूलो भएपछि धर्मेन्द्रले लुकेर दिलीप कुमारको फिल्म 'शहीद' हेरे।
त्यसै फिल्मबाट दिलीप कुमारले धर्मेन्द्रको मनमा जादु गर्दिए र उनको भाग्य त्यसैदिन तय भएको थियो।
भाग्यले पनि सायद धर्मेन्द्रको साथ दिएको थियो।
सन् १९५८मा फिल्मफेयर म्यागजिनले 'ट्यालेन्ट हन्ट'को घोषणा गर्यो जसमा बिमल राय र गुरु दत्तजस्ता दिग्गज सामेल थिए।
त्यसबेला मलेरकोटलामा जागिर खाइरहेका धर्मेन्द्रले स्थानीय एक फोटो स्टुडियो गएर भने - फोटोमा मलाई दिलीपकुमारजस्तै बनाइदेऊ ता कि म छानिऊँ।
भयो त्यस्तै। गाउँका एक युवक अचानक बम्बे पुगे।
र त्यहीँबाट सुरु भयो एक फिल्मकोजस्तो धर्मेन्द्रको जीवन कथा जसमा समवेदना थियो, नाटक थियो र बिछोड पनि।
बिमल रायका धर्मेन्दू र बंदिनी
बिमल रायले उनलाई धर्मेन्दू भन्थे, उनैले धर्मेन्द्रलाई पहिलो भूमिका दिए फिल्म 'बंदिनी' मा।
बंदिनी बन्न समय लाग्यो। सङ्घर्षका बेला अर्जुन हिंगोरानीले धर्मेन्द्रलाई 'दिल भी तेरा हम भी तेरे' भन्ने फिल्ममा काम गर्न दिए।
सन् १९६६ मा आएको 'फूल और पत्थर ' ले धर्मेन्द्रलाई हिरोको रूपमा पहिचान दिलायो।
अमिताभ-राजेश खन्ना हुँदाहुँदै हिट
सन् ६० को दशकको अन्त्यतिर धर्मेन्द्रले सफलताको सिँढी चढ्न थालेका थिए। प्रतिस्पर्धा कडा थियो।
शम्मी कपूर, राजेश खन्ना र अमिताभ बच्चनजस्ता कलाकारको एकपछि अर्को जगजगी थियो।
यी सबैबीच धर्मेन्द्र शायद एक्लो अभिनेता हुन् जो सन् ६० देखि ८०को दशकसम्म चर्चामा टिकिरहे।
धर्मेन्द्रका 'हकीकत', 'दिल ने फिर याद किया', 'ममता', 'मेरे हमदम मेरे दोस्त' जस्ता फिल्ममा बिमल राय, ऋषिकेश मुखर्जी, चेतन आनन्दजस्ता निर्देशकले उनलाई तिखारेका थिए।
सन् १९७० को दशकमा धर्मेन्द्रको एक्सन, रोमान्स, कमेडी, कर्मसियल सबै किसिमका सिनेमा आए - 'जीवन मृत्यु' , 'सीता और गीता' , 'चरस' , 'ब्ल्याकमेल' , 'चुपके चुपके' –अर्थात् एक पछि अर्को हिट।
सन् १९७५ मा शोलेमा वीरूको लोकप्रियता त धेरै माथि पुग्यो।
सबभन्दा ह्यान्डसम मध्येमा थिए धर्मेन्द्र
उनको यात्रामा धर्मेन्द्रलाई दुनियाँका सबभन्दा ह्यान्डसम पुरुषको सूचीमा राखियो।
धर्मेन्द्रका आइडल दिलीप कुमारले एक कार्यक्रममा- यदि उनले ईश्वरलाई भेटे भने उनले आफूलाई धर्मेन्द्रजस्तो सुन्दर किन नबनाएको भनेर सोध्नेछु भनेका थिए।
यसबारे धर्मेन्द्रले बीबीसीलाई भनेका थिए, "मान्छेले भनेको कुरा शायद सत्य हो कि भनेर सोच्छु। मान्छेहरू मलाई ही मैन भन्छन्, ग्रीक गडसम्म भन्छन्। म मेरो खुबीमा पनि कमी खोज्छु। लाग्छ मलाई चाहनेहरूको त्यो भावनामा चोट नपुगोस्।"
नाचमा भने उनी केही कम मानिन्थे तर पनि 'जट् यमला पगला दीवाना' जस्ता उनका गीत खूब लोकप्रिय भए।
त्यस गानाबारे धर्मेन्द्रले बीबीसीलाई बताएका थिए: "फिल्ममा मैले सर्वसाधारणका अगाडि नाच्दिनँ भनेको थिएँ। त्यसैले मेरो र रेखाका लागि विशेष व्यवस्था गरियो। त्यसपछि म यसरी खुलेँ कि लाज शरम सबै हरायो।"
हेमा र धर्मेन्द्रको प्रेम कथा
यसै दौरान हेमा मालिनीसँग उनको प्रेम बस्यो।
त्यसबेला धर्मेन्द्रको प्रकाश कौरसँग बिहे भइसकेको थियो।
जब धर्मेन्द्रले सन् १९८० मा ' ड्रीमगर्ल' हेमासँग बिहे गरे त्यसबेला निकै विवाद भयो।
पछि धर्मेन्द्र फिल्म निर्माता पनि बने। आफ्ना छोरा सनी र बबी देओल मिलाएर विजेता फिल्म्स सुरु गरे।
करिअर उच्च स्थानमा पुगेका बेला उनलाई मदिराको लतले नोक्सान पुर्यायो जसलाई उनले स्वीकार गर्थे।
बी ग्रेड फिल्मवाला धर्मेन्द्र
सन् १९९० पछि 'पापी देवता', 'वीरू दादा', 'डाँकु भैरव सिंह', 'महा शक्तिशाली' जस्ता फिल्ममा उनले जेजस्तो भूमिका खेल्नुपर्यो त्यसबाट उनका प्रशंसकहरूलाई चोट पुगेको थियो।
लेखक राजीव विजयकरले आफ्नो किताब 'धर्मेन्द्र- नट जस्ट ए ही मैन'मा लेख्छन्: सन् १९९० देखि सन् २००३ लाई उनको करिअरको पछाडि फर्केको समय भन्न सकिन्छ।
"धरमजीको प्रशंसकको नाताले म भन्न सक्छु कि उनलाई जे जस्तो बाध्यता भए पनि उनले आफ्नो करिश्मालाई धुमिल गराएर सी ग्रेडको फिल्म गरे र प्रशंसकको विश्वास तोडे," त्यसै किताबमा राजकुमार सन्तोषी बताउँछन्।
"२५ वर्षमा उनले जे कमाएका थिए त्यसलाई उनले धक्का दिए। यो असाध्यै दिक्क लाग्ने कुरा हो।"
'अभिनय मेरो प्रेमिका हो, यो कहिलेकाहीँ रिसाउँछे पनि'
लन्डनमा दिएको एक अन्तर्वार्तामा धर्मेन्द्रले मलाई भनेका थिए- अभिनय मेरी प्रेमिका हो। यससँग मलाई प्रेम छ।
"कहिले यो रिसाउँछे म मनाउँछु कहिले म रिसाउँछु यसले फकाउँछे। तर यसलाई मैले छोडेको छैन।"
फिल्मबाट राजनीतिमा पनि उनले कदम राखे।
अटल बिहारी वाजपयीले भनेर उनले बीकानेरबाट लोक सभा चुनाव लडे र जिते पनि। तर उनी राजनीतिमा आउनुलाई ठूलो भूल मान्थे।
अभिनय बाहेक उर्दू र शायरी पनि उनी उत्तिकै मन पराउँथे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।