व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको मुटुमा भएको आक्रमणबारे तपाईँको प्रतिक्रिया

सिंहदरबारको मूलढोकामाथि चढेका एक प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि मङ्गलवार सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनसहित राज्यका मुख्य अङ्गका कार्यालयहरूमा आक्रमण, तोडफोड र आगजनी भयो। त्यसपछि सेनाले सुरक्षा व्यवस्था कायम गर्ने जिम्मेवारी लिएको छ।

यसअघिका कुनै पनि आन्दोलनमा राज्य संयन्त्र नै नराम्ररी प्रभावित हुने गरी व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका मुख्यालयमा त्यस किसिमको आक्रमण नभएको भन्दै मानिसहरूले विभिन्न सार्वजनिक मञ्चहरूमा चिन्ता व्यक्त गरेका छन्।

हामीले यस विषयमा सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममा यसबारे आफ्नो मनमा लागेका कुरा व्यक्त गर्न हाम्रा पाठकहरूसँग प्रतिक्रिया मागेका थियौँ।

धेरैले 'आगजनी र आक्रमणका घटनाप्रति दुःख व्यक्त गरेका' छन् भने केहीले जेन जीको 'आन्दोलनमा विभिन्न तत्त्वको घुसपैठ भएको' टिप्पणी गरेका छन्।

घुसपैठ भएको आशङ्का

जल्दै गरेको सर्वोच्च अदालत

तस्बिर स्रोत, EPA/Shutterstock

"सार्वजनिक भवन र त्यसमा भएका सम्पूर्ण सामानहरू जलेर खरानी पार्ने काम गरियो जुन अत्यन्तै दुःखद र केही जल्नबाट बचेका सामानहरू पनि लुट्ने कार्य भइरहेको छ , त्यस्तो कार्य रोक्नुपर्छ," फेसबुकमा वसन्त पोखरेल लेख्छन्।

हीरा पाण्डे लेख्छिन्, "नेपालको इतिहास जलेको छ। यो कदापि सही हैन।"

खड्का राजु लेख्छन्, "युवाको नाममा यहाँ कालो बिरालो घुम्दै छ। सचेत रहौँ। सचेत रहौँ।"

"देशका आधारभूत संरचनामाथि नै छानीछानी आगजनी गर्ने कुराले सामान्य हाेइन, गम्भीर सङ्केत गर्छ। यसमा आन्तरिक र बाह्य शक्ति दुवैकाे स्वार्थ छ," सिजापति हेमन्त लेख्छन्।

आक्रोशको कारण

मङ्गलवार शीतलनिवासमा आगजनी भएपछि नेपालको झण्डा बोकेर उभिएका एक प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

दीपेन्द्र मल्ल भने यो आक्रोश "जायज" भएको ठान्छन्। "यो राज्य व्यवस्थामाथिको असन्तुष्टिको परिणाम हो। राज्यका हरेक निकायमा रहेको बढ्दो भ्रष्टाचार र अपारदर्शिताले नेता मात्र नभई कर्मचारीमाथिको पनि यो गम्भीर ध्यानाकर्षण हो," उनको तर्क छ।

"नयाँ व्यवस्थाको सूत्रपात भइसकेको" भन्दै उनले छिट्टै पुनःनिर्माण हुनेमा आफू निश्चिन्त भएको लेखेका छन्।

छत्र नामका अर्का प्रयोगकर्ताले "जेन जीको नाममा बहुपक्षीय स्वार्थी तत्त्वहरूको घुसपैठमार्फत्" यस्ता आतङ्ककारी क्रियाकलाप भएको तर्क गरेका छन्।

"तोडफोड र आगजनी गर्नेहरू जेन जी होइनन्, अरू शक्तिका खेलाडी हुन्," उनी लेख्छन्।

"अब बन्ने सरकारले भ्रष्टाचारलाई छुट दिने छैन भन्ने बुझेर, आफ्ना कार्यकर्तालाई अघि सार्दै न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकासँग सम्बन्धित अभिलेखमाथि प्रहार गर्न लगाइएको हो। यस कुरा हामी सबै सचेत नागरिकहरूले बुझ्न अत्यावश्यक छ।"

नयाँ पुस्तालाई सुझाव

सङ्घीय संसद्को भवनमाथि धुवाँ उड्दै गर्दा अगाडि भेला भएका प्रदर्शनकारी

तस्बिर स्रोत, AFP

साधुमणि भण्डारीको टिप्पणी छ, "८४ कुर्नुपरेन, २४ घण्टामै परिवर्तन आयो! नयाँ बच्चा जन्मिँदा आमालाई पीडा हुन्छ नै!"

फेसबुकमा दीपक कटवालले दुईतिहाइको दम्भमा सरकारले देशमा लुटतन्त्र मच्चाउन दिएकाले अहिलेको अवस्था आएको भन्दै अब आउने पुस्ताले ध्यान दिनुपर्ने भन्दै विभिन्न बुँदा लेखेका छन्।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ समूहको मन्त्रिमण्डल, अहिलेसम्म राष्ट्रका विभिन्न पदमा बसेका नेता, नबसेका नेता कार्यकर्ता र कर्मचारीको सम्पत्ति छानबिन गरेर स्पष्टीकरण, अहिले भएको नरसंहार गराउनेहरूको तत्काल गिरफ्तारी र विदेशमा भएको सम्पत्ति खोजी राष्ट्रियकरण अनि राज्यका संस्थानहरूमा दलीय व्यक्ति नियुक्त नगर्ने सुझाव दिएका छन्।

लक्ष्मण चुनारा लेख्छन्, "यो अन्त्य होइन। हामी यो देशलाई फेरि उचाल्छौँ। जे भयो, भइसकेको छ। हामी भविष्यका लागि लड्यौँ, र त्यो भविष्य हामीले नै बनाउनुपर्छ," उनी लेख्छन्।

"अब वर्तमानमा ध्यान केन्द्रित गरौँ। पछुतो नगर। दुःखी नबन। यसलाई केवल हाम्रो कठिन इतिहासको एउटा अध्यायका रूपमा सम्झ। यो समय पनि बित्ने छ। ... हामी अझ बलिया, एकताबद्ध, र अजेय भएर उठ्ने छौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।