विभिन्न प्रदेशमा अहिले अवस्था कस्तो छ

बागमती

हेटौँडामा आगो लगाइएको एउटा सरकारी कार्यालय

तस्बिर स्रोत, Krishna Saru Magar

ईश्वर जोशी, भरतपुर

जेन जी भनिने युवा पुस्ताले थालेको आन्दोलनले उग्र रूप लिएपछि बागमती प्रदेशको राजधानी हेटौँडामा पनि विभिन्न स्थानमा तोडफोड र आगजनी भएको छ।

आन्दोलनकारीहरूले बागमती प्रदेशका मन्त्रालयहरू, संसद् भवन, सरकारी कार्यालयहरू, नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयहरूमा आगजनी गरेका थिए।

मकवानपुरका पत्रकार कृष्ण सारु मगरका अनुसार हेटौँडामा मङ्गलवार आन्दोलनकारीहरूले मुख्यमन्त्री इन्द्र बानियाँ र अन्य नेताहरूको घर तथा हेटौँडा नगरपालिका र वडा कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।

यता चितवनकाे जनजीवन भने सामान्य बन्दै गएकाे छ। नेपाली सेनाले चितवनकाे संवेदनशील क्षेत्रमा सुरक्षा प्रदान गरेकाे छ।

नुवाकोट

तस्बिर स्रोत, BBC/Shakti Maya Tamang

शक्तिमाया तामाङ, नुवाकोट

नुवाकोटको सदरमुकाम त्रिशूली, विदुर, बट्टार बजार क्षेत्रमा नेपाली सेनाले गस्ती गरिरहेको छ।

सेनाले मङ्गलवार रातिबाट माइकिङ गर्दै भिडभाड नगर्न र घरभित्र बस्न नागरिकलाई आग्रह गर्न थालेको थियो।

नुवाकोटमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

बजार क्षेत्र सुनसान तथा शान्तिपूर्ण रहेकाे प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।

मधेश

वीरगन्ज महानगरपालिकाको कार्यालय

तस्बिर स्रोत, BBC/Madhuri Mahato

माधुरी महतो, वीरगन्ज

देशका अन्य जिल्लामा कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्केको खबर सुनेलगत्तै सर्लाही अनि पर्साको वीरगन्जमा रहेको जेलका कैदीबन्दीहरूले पनि हिजो साँझदेखि तोडफोड गर्दै भाग्ने प्रयास गर्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको बुझिएको छ।

यसैबीच मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिका कार्यालयमा युवाहरूको समूहले तोडफोड गर्दै आगजनी गरेपछि अहिले कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। आगजनी गरेका आन्दोलनकारीहरूले महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा साथै महानगरपालिकामा पसेर रातभर सामान चोरीसमेत गरेका बताइएको छ। हिजो राति १० बजेदेखि नेपाली सेना सडकमा निस्केको अवस्था छ।

युवाहरूको आन्दोलनको आडमा पर्सालगायत विभिन्न जिल्लामा अन्य समूहले समेत सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याएको विवरण आएको छ। कतिपयले सुनियोजित तरिकाले तोडफोड र आगजनी गरिएको पनि भनेका छन्।

बाल सुधारगृह र वीरगन्ज कारागार दुवैतर्फ टीभीमार्फत् समाचारमा अन्य जिल्लाका कारागारबारे सुनेपछि त्यहाँ पनि होहल्ला सुरु गरेका छन् । रातिदेखि सुरु भएको होहल्ला साम्य हुन नसकेको प्रहरी उपरीक्षक गौतम मिश्रले जनाएका छन्।

लुम्बिनी

नेपालगन्ज

तस्बिर स्रोत, BBC/Bimala Chaudhary

विमला चौधरी, नेपालगन्ज

बाँकेमा जेन जी पुस्ताका आन्दोलनकारीहरू राति ९ बजे नेपालगन्जको जमुनाहा नाका पुग्दा प्रहरीहरू पोस्ट छोडेर भागेका थिए।

नाकास्थित भन्सार कार्यालयको सामान जाँच कक्षमा राखिएका सामान तोडफोड र लुटपाट समेत भएको बताइएको छ। बुधवार बिहान ८ बजेसम्म पनि नाकामा नेपालतर्फ कुनै सुरक्षाकर्मी तैनाथ थिएनन्।

भारततर्फ भने बिहानैदेखि ठूलो सङ्ख्यामा भारतीय सुरक्षकर्मीहरु तैनाथ थिए।

पछि नेपालतर्फ पनि सशस्त्र प्रहरी र नेपाली सेना नाकामा खटिएका छन्। बाँकेमा मङ्गलवार साँझसम्म क्षति पुर्‍याएका कार्यालयमा अन्य व्यक्तिहरूले राति अबेरसम्म लुटपाट गरेको पाइएको छ।

नेपालगन्जको ट्राफिक पोस्टमा आन्दोलनकारीले तोडफोड गरेर गइसकेपछि ट्राफिक प्रहरीले कारबाहीका लागि राखेका मोटरसाइकललगायत अन्य सामानहरू ओसारपसार गर्दै गरेको अवस्थामा जेन जीको समूहले सामान चोरी गर्ने व्यक्तिहरूलाई आफैँ हटाएर ट्राफिक पोस्टको गेट बन्द गरेको पाइएको छ।

मङ्गलवार दिउँसोदेखि सुरु भएको प्रदर्शन साँझसम्म हिंसात्मक रूप लिँदै अधिकांश सरकारी कार्यालय, विभिन्न दलका पार्टी कार्यालय र नेताका निजी घरसम्ममा तोडफोड तथा आगजनी भयो। आन्दोलनकारी युवाहरूले छानीछानी सरकारी कार्यालय र पार्टी कार्यालयहरू लक्षित गर्दै आक्रमण गर्दा नेपालगन्ज र कोहलपुर क्षेत्र पूर्ण रूपमा अशान्त बनेका थिए।

प्रदर्शनका क्रममा नेपाली कांग्रेस पार्टी कार्यालय, एमाले पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय कोहलपुर, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, कोहलपुर नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, आन्तरिक राजस्व कार्यालय कोहलपुर, जिल्ला अदालत बाँके, उच्च अदालत नेपालगन्ज तुलसीपुर इजलास, उच्च सरकारी वकिल कार्यालय नेपालगन्ज, मालपोत कार्यालय नेपालगन्ज, नापी कार्यालय नेपालगन्ज, जिल्ला हुलाक कार्यालय बाँके, भन्सार कार्यालय नेपालगन्ज र कोहलपुर नगरपालिका मेयर पूर्णप्रसाद आचार्यको घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जमा पनि तोडफोड भएको थियो। प्रदर्शनकारीले नेपालगन्जका विभिन्न चोकमा रहेका ऐतिहासिक र राजनीतिक नेताका सालिक पनि भत्काएका छन्। बीपी चोकमा रहेको बीपी कोइरालाको सालिक, गणेशमान चोकमा रहेको गणेशमान सिंहको सालिक, पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको सालिक र सेतु विकको सालिक भत्काएर केहीमा आगजनी समेत गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

कर्णाली

जुम्ला

कृष्णमाया उपाध्याय, जुम्ला

जुम्लामा पनि चन्दननाथ नगरपालिकाे कार्यालय, जिल्ला प्रशासन कार्यालय ताेडफाेड गर्नुका साथै चन्दननाथ नगरपालिकाकाे कार्यालयमा ताेडफाेड गरिएको छ।

मङ्गलवार प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाकाे पार्टी कार्यालयहरूमा आगजनी गरे। उनीहरूले पार्किङ गरेर राखिएका सवारीसाधन समेत जलाए।

चन्दननाथ नगरपालिकाभित्र पार्किङ गरेर राखिएको दमकल, एम्बुलेन्स, शववाहन, डोजर, मेयर तथा उपमेयरको गाडी तोडफोड गर्नुका साथै चारवटा मोटरसाइकल र एउटा स्कुटर जलाएका छन्।

यसको साथै नगरपालिकाको लागि सुरक्षा गर्न खटिएका नगरप्रहरी अनिता सुनार र जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार आइतमान तामाङ घाइते भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी रेस्मा बुढाक्षेत्रीले जानकारी दिइन्।

उनका अनुसार जुम्लामा अवस्था क्रमशः सामान्य हुने क्रममा छ।

गण्डकी

पोखरा

तस्बिर स्रोत, BBC/Krishnamani Baral

कृष्णमणि बराल, पोखरा

पोखराका सबै मुख्य सरकारी कार्यालय जलाएपछि प्रदर्शनकारीहरूले मङ्गलबार राति जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि आगजनी गरेका छन् ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले प्रयास गरेको थियो।

प्रदर्शनकारीले घेरेपछि प्रहरीले कार्यालय छाडेका थिए।

सुदूरपश्चिम

हिक्मत रावल, कैलाली

धनगढी बजार बुधवार बिहानैदेखि बन्द छ। कर्फ्यू आदेश जारी भएपछि सेनाले माइकिङ गर्दै मानिसहरूलाई घरभित्रै बस्न भनेको छ।

कैलालीमा मङ्गलवार जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण धेरै भवन र अन्य संरचना ध्वस्त भएका छन्। कर्फ्यू लगाइएको भए पनि प्रदर्शनकारीहरूले प्रदेशसभा भवनसँगै विभिन्न मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन, मालपोत, नापी, भन्सार, यातायात, सहरी विकास लगायतका सरकारी भवनहरूमा आगो लगाएका थिए।

त्यस क्रममा धनगढी विमानस्थल भवनमा पनि तोडफोड भएको थियो।

कैलालीमा दर्जनौ सरकारी गाडीहरु जलेका छन्। मङ्गलवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ढुङ्गामुढा गर्दै अघि बढेका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजानी र तोडफोड गरेका थिए।

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यालयहरूमा पनि आगजनी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यू जारी रहेको बताउँदै अहिले नै स्थिति सामान्य भइसकेको भन्न नमिल्ने बताए।

बिहान आंशिक रूपमा खुलेको धनगढी बजार नेपाली सेनाको माइकिङपछि पुनः बन्द भएको छ।

कैलाली कारागार

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात जिल्लाका कैदीबन्दीहरू फरार भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सुदूरपश्चिम प्रहरी प्रमुख डम्बर बहादुर विश्वकर्माले बाजुरा बाहेक सात जिल्लाबाट १,४५७ कैदी भागेको जानकारी दिए। अछाम र बाजुरामा भने कैदीहरू कारागारमै रहेको उनले बताए।

प्रदेश प्रहरी प्रमुख विश्वकर्माका अनुसार आन्दोलनकारीहरूले कारागार तोडफोड गरेपछि कैलालीमा ६६५ जना, कञ्चनपुरमा ४५७, डोटीमा ५३, बैतडीमा ६१, डडेल्धुरामा ८५, दार्चुलामा ७१ र बझाङ कारागारबाट ६५ जना भागेका हुन् ।

मङ्गलवार सुुरक्षास्थिति नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहरूले कारागारमै पुगेर कैदीबन्दीहरुलाई भगाएका थिए ।

प्रदेश प्रहरी प्रमुख विश्वकर्माले भने, "हिजोको अवस्था फरक थियो। त्यो अवस्थामा काठमाण्डूका जेलबाट नै कैदीहरू फरार हुन थालेपछि त्यसको यसको लहर विभिन्न कारागारसम्म पुग्यो। उनीहरू भाग्न सफल भए। कतिपय ठाउँमा प्रदर्शनकारीहरूले तोडफोड गरेर भगाउने काम गरे। अहिले फरार कैदीहरूको खोजी गरी पुनः कारागार ल्याउने विषयमा सबै सुरक्षा संयन्त्रसँग समन्वय भइरहेको छ।"

प्रकाश पार्की, डडेल्धुरा

डडेल्धुरा कारागारबाट भागेका ३१ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बुधवार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ जना भागेका थिए।

तीमध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए।

त्यहाँ ३३ पुरुष र नौ महिला गरी कुल ४२ कैदीबन्दी थिए।

अहिले कारागारको स्थिति नियन्त्रणमा नै रहेको प्रहरी निरीक्षक बिष्टले बताए। उनका अनुसार अन्य भागेका ५४ जनाको पनि खोजी कार्य भइरहेको छ।

नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्। तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको बताइन्छ। कारागारमा १२७ बन्दी कैद भुक्तान गरिहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।