'जेन जी' आन्दोलनमा मृतकको सङ्ख्या ३०, प्रधानसेनापति 'वार्ता'मा

नेपाली सेनाले जेन जीको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न देशैभरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ।

सारांश

  • नेपाली सेनाले देशभरि भोलि बिहानसम्म लागु हुने गरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ
  • सैनिकहरू गस्तीमा निस्किएका छन्
  • कैयौँ सरकारी कार्यालय र अन्य संरचनामा व्यापक आक्रमण र आगजनी भएको भोलिपल्ट आज बिहानसम्म आन्दोलनकारीहरू सडकमा गएको देखिँदैन
  • नेपाली सेनाले जेन जीको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ
  • मङ्गलवार अपराह्णदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै २४ घण्टापछि पुन: सञ्चालनमा आएको छ
  • 'जेन जी' प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ
  • प्रधानसेनापति अशोकराज सिग्देलले सङ्कटको निकासबारे विभिन्न पक्षहरूसँग कुराकानी गरेको विवरण आएका छन्

लाइभ कभरेज

  1. आजका लागि यति नै

    प्रिय पाठकहरू,

    'जेन जी'को प्रदर्शनपछि उत्पन्न सङ्कटमा आज दिनभरि देशका विभिन्न भागमा भएका गतिविधिबारे हामीले प्रस्तुत गरेका विभिन्न सामग्रीहरू हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरैधेरै धन्यवाद।

    आजका लागि हामी यो लाइभ पेजलाई यहीँ टुङ्ग्याउँछौँ।

    हाम्रा अरू सामग्रीका लागि हाम्रो वेबसाइट र सोशल मिडियाका प्ल्याट्फर्महरू हेर्दै रहनुहोला। धन्यवाद।

  2. दुर्गा प्रसाईले भेटे प्रधानसेनापति

    दुर्गा प्रसाई र प्रधानसेनापति अशोकराज सिग्देल

    तस्बिर स्रोत, Durga Prasai/FB

    मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूले प्रधानसेनापति अशोकराज सिग्देलसँग "अबको निकास"बारे छलफल गरेको दाबी गरेका छन्।

    आफ्नो भेरिफाइड फेसबुक पेजमा छलफलको एक तस्बिर सार्वजनिक गर्दै उनले आफूलाई "नेतृत्वको मोह नभएको" तर कोही अघि नबढे आफू "नभाग्ने" बताएका छन्।

    "देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। 'जेन-जी' पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशीला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्विकार्न तयार छु," उनले लेखेका छन्।

    यसअघि 'जेन जी' आन्दोलनमा सक्रिय भनिएकी एक अभियानकर्मीले प्रसाई पनि छलफलमा सहभागी भएको विषयप्रति सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।

    प्रसाईले भावना र व्यक्तिगत स्वार्थभन्दा पर सोचेर देशलाई बाटो देखाउन आह्वान गरेका छन्।

  3. जेलबाट भागेका ३०३ जना समातिए

    सुनसरीको झुम्का कारागारबाट भागेका २०२ जना सहित विभिन्न जेलबाट भागेका ३०३ जना कैदीबन्दीलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ।

    काठमाण्डूको डिल्लीबजार कारागारको गेटबाट बाहिरिएका कैदीबन्दीलाई गेटबाहिर नियन्त्रणमा लिएर सेनाले अन्य कारागारमा स्थानान्तरण गरेको थियो।

    उक्त कारागारमा लागेको आगो समेत नियन्त्रणमा आएको सेनाले बताएको छ।

    धुलिखेल जिल्ला कारागारमा प्रहरीसँग कैदिबन्दीको झडप भएको थियो। उक्त कारागारमा स्थिति नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ।

    सुरक्षा फौजले रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५०, सप्तरी र म्याग्दीमा ४-४ जनालाई पक्राउ गरेको सेनाले विज्ञप्तिमार्फत् जनाएको छ।

  4. 'जेन जी' प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'जेन जी'को प्रदर्शन सुरु भएयताको हिंसामा ३० जनाको ज्यान गएको पुष्टि गरेको छ।

    बुधवार साँझ सार्वजनिक गरेको विवरणमा मन्त्रालयले १,०६१ जना घाइते भएको उल्लेख गरेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीकाअनुसार घाइतेमध्ये ७१९ जना डिस्चार्ज गरिएका छन्, २७४ जना अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ।

  5. नेपाली सेनाले बरामद गर्‍यो ७३ थान हतियार

    हतियारहरू

    तस्बिर स्रोत, Nepal Army

    नेपाली सेनाले ७३ थान हतियार बरामद गरिएको जनाएको छ।

    मङ्गलवारको हिंसात्मक प्रदर्शनका क्रममा कैयौँ प्रहरी विटमा तोडफोड र आगजनीसँगै सुरक्षा निकायका हतियार समेत खोसिएका विवरण आएका थिए।

    सेनाले बुधवार विज्ञप्ति जारी गर्दै महाराजगन्ज क्षेत्रबाट लुटपाटमा संलग्न भएको आरोप लागेका चार जना सहित सात नाल हतियार र "उक्त हतियारका म्यागजिन, राउन्ड, व्युनेट लगायतका असेसरिजहरु तथा व्यक्तिगत सामाग्रीहरू बरामद" भएको जनाएको छ। त्यसै गरी बालाजु माछा पोखरी इलाकाबाट थप एक थान हतियार बरामद गरिएको सेनाले जनाएको छ।

  6. नेपालको घटनाक्रमबारे बेइजिङको प्रतिक्रिया

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान

    तस्बिर स्रोत, fmprc.gov.cn

    नेपालमा विकसित पछिल्ला घटनाक्रमबारे चीनले पनि प्रतिक्रिया व्यक्त गरेको छ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधवारको नियमित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जबाफ दिने क्रममा "आन्तरिक मुद्दाको राम्रोसँग व्यवस्थापन गर्न नेपालका सबै पक्ष सक्षम रहेको"मा आफूहरूको विश्वास रहेको बताएका छन्।

    उनले नेपालमा "शीघ्र सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनर्बहाली हुने आशा" गरिएको बताए।

    प्रदर्शनहरूलगत्तै विदेश मन्त्रालय र काठमाण्डूस्थित चिनियाँ दूतावासले आफ्नो ‘कन्सुलर प्रोटेक्सन इमरजेन्सी मेकानिजम्’ सक्रिय पार्दै चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा सुनिश्चितताका लागि आग्रह गरेको प्रवक्ता जियानले बताए।

  7. 'राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय' हुनुपर्ने कांग्रेसको भनाइ

    जेन जी प्रदर्शनमा नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको आगजनी

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, मङ्गलवार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पनि आगजनी भएको थियो

    प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र आक्रमणसँगै देश शून्यतामा पुगेको भन्दै अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नुपर्ने बताएको छ।

    पार्टीका प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, "कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ।"

    पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अर्को विज्ञप्ति प्रकाशित गर्दै "यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ" भनेका छन्।

    "नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, सञ्चार जगत्, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथसहयोगका लागि अपील गर्दछौँ।"

    यो पहललाई जेन जी कै भावनाअनुसार निष्कर्षमा पुर्‍याउनुपर्ने उनीहरूको भनाइ छ।

    आन्दोलनकारीहरूले हिजो नेपाली कांग्रेसको मुख्य कार्यालय र विभिन्न नेताका घरहरूमा आक्रमण, तोडफोड र आगजनी गरेका थिए।

  8. काठमाण्डू विमानस्थल खुला, प्रदीप बस्याल

    मङ्गलवार अपराह्णदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै २४ घण्टापछि पुन: सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बीबीसीलाई बताएका छन्।

    हिजो काठमाण्डूमा भएका व्यापक आगजनीले गर्दा धुँवाको मुस्लोले विमानको मार्गलाई असुरक्षित पार्ने र राजधानीबाहिरका विमानस्थलले सुरक्षा सुनिश्चितताबारे अनिश्चितता व्यक्त गरेपछि दुवै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रोकिने अवस्था आएको थियो।

    त्रिभुवन विमानस्थलको विज्ञप्ति

    तस्बिर स्रोत, TIA

  9. 'जेन जी' प्रदर्शनका क्रममा कम्तीमा २ जना प्रहरीको मृत्यु

    काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जलेका मोटरसाइकलहरू

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जलेका मोटरसाइकलहरू

    'जेन जी' प्रदर्शनले हिंसात्मक रूप लिँदा कम्तीमा दुई जना प्रहरीको ज्यान गएको र केही हराइरहेको अधिकारीहरूले बताएका छन्।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले कैयौँ प्रहरी कार्यलयहरूमा तोडफोड भएसँगै त्यहाँबाट हटेका प्रहरी अधिकृतहरूलाई पुन: त्यहाँ फर्कन निर्देशन दिइएको बताए।

    उनले भने, “हामीले प्रहरी वृत्तहरूलाई खोजी कार्य गर्न र अद्यावधिक विवरण पठाउन भनेका छौँ।”

    प्रहरीले पछिल्लो आन्दोलनका क्रममा ज्यान गुमाएका आन्दोलनकारीहरूको यकिन सङ्ख्या अझै भन्न सक्ने अवस्था नरहेको जनाएको छ।

    कति प्रहरी चौकीमा क्षति पुग्यो भन्ने विवरण आइनसकेको पनि उनले सुनाए।

    सोमवार काठमाण्डूमा प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको र मङ्गलवार तीन जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका थिए।

  10. अबको निकास के? कुलमान घिसिङ यसो भन्छन्

    भिडिओ क्याप्शन सुरु हुँदैछ, जेन जीको प्रदर्शनपछि देखिएको राजनीतिक शून्यताको निकासबारे कुलमान घिसिङ

    जेन जी आन्दोलन चर्किएपछि उत्पन्न राजनीतिक शून्यताको निकासबारे नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्।

  11. जेन जी समूह र प्रधानसेनापतिबीच के छलफल भयो

    राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले मङ्गलवार वार्ताका लागि छुट्टाछुट्टै आह्वान गरेपछि आन्दोलनरत जेन जी समूहका प्रतिनिधि तथा सेनाबीच राति लामो छलफल भएको त्यसमा सहभागी युवाहरूले बीबीसीसँग पुष्टि गरेका छन्।

    प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा सहभागीमध्ये एक तनुजा पाण्डेले शान्ति पुनर्बहालीदेखि अन्तरिम सरकारसम्मको विषयमा कुराकानी भएको बताइन्।

    प्रधानसेनापति सिग्देलले जेन जी समूहका मुख्य मागहरूबारे चासो राखेपछि देशभरिका प्रतिनिधि युवाहरूसँग छलफल गरी अर्को बैठकमा बस्ने उनीहरूले बताए।

  12. अफवाहका पछाडि नलाग्न सेनाको अनुरोध

    नेपाली सेनाले जेन जीको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ।

    सेनाले जारी गरेको विज्ञप्तिमा अवकाशप्राप्त सैनिकसहित सबै सुरक्षाकर्मी, सबै राष्ट्रसेवक, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकहरूलाई अफवाहका पछाडि नलागी आधिकारिक सूचनाहरू मात्र सम्प्रेषण गर्न र विश्वास गर्न अनुरोध गरेको छ।

  13. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि उक्त विमानस्थल बन्द रहने जनाएको छ।

    काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति, विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँका कारण विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उक्त निर्णय गर्नुपरेको उक्त विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    उक्त कार्यालयले यात्रुहरूलाई बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन र विमानस्थल खुलेपछि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र विमानस्थलमा आउन अनुरोध गरेको छ।

  14. बाल सुधारगृहबाट भाग्न खोज्दा ५ बालबन्दीको मृत्यु, विमला चौधरी, नेपालगन्ज

    बाँकेको नौबस्ता कारागार

    बाँकेको बैजनाथ गाउँपालिका नौबस्तास्थित बाल सुधारगृहबाट भाग्न खोज्दा पाँच बालबन्दीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

    हिजो राति बाल सुधारगृहसँगै रहेको क्षेत्रीय कारागारको गेटबाट बालबन्दीहरू भाग्न खोज्दा सुरक्षार्थ खटिएका प्रहरीको गोली चलाएको थियो। उक्त कारबाहीमा पाँच जनाको मृत्यु भएको नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए।

    ‘‘राति १०–११ बजेको समयमा बालकहरू कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षाकर्मीले हवाई फायर गरेर नियन्त्रणमा लिन खोज्दा घटना भयो," उनले भने। घटनामा दुई जना घाइते भएका छन्।

    ‘‘सुधारगृहमा रहेका सबै जना जेन जी पुस्ताकै छन्, त्यसैले क्षेत्रीय कारकारका कैदीसँगै मिलेर भग्ने प्रयास गरेका रहेछन्,’’ उनले भने।

    क्षेत्रीय कारागारबाट १४९ जना कैदीबन्दी र बाल सुधारगृहबाट ७९ बालबन्दी पनि भागेको सुधार गृहका प्रमुख रानाले जानकारी दिएका छन्।

    बाल सुधारगृहमा ९० जना सकुशल रहेको उनले बताए।

    भागेका बालकहरूका अभिभावकलाई सम्पर्क गरेर फिर्ता ल्याइदिन आग्रह गरिएको पनि उनले बताए।

    केही बालकहरू आफैँ सम्पर्कमा आउन थालेको उनले जानकारी दिएका छन्।

    बाल सुधारगृहमा जम्मा १७६ जना बालबन्दी र क्षेत्रीय कारागारमा ५८० भन्दा बढी कैदीबन्दी रहेको बताइएको छ।

  15. देशका कैयौँ कारागारबाट कैदीबन्दी भागे, अशोक दाहाल

    वीरजन्ज जेल

    देशका विभिन्न कारागारहरूबाट कैदीबन्दी बाहिरिएको विवरण आएको छ।

    कारागार व्यवस्थापन विभागले तीनवटै सुरक्षा निकाय परिचालन गरेर कैदीबन्दीलाई रोक्ने प्रयास भइरहेको जनाएको छ।

    "कहाँबाट कति कैदीबन्दी बाहिरिए भन्ने विवरण सङ्कलन भइरहेको छ। डिल्लीबजार कारागारमा अहिले पनि बाहिर निस्किन खोज्ने कैदीबन्दीलाई रोक्न ठूलो सङ्ख्यामा फौज परिचालन गरिएको छ," कारागार व्यवस्था विभागका निर्देशक सोमेन्द्र न्यौपानेले बीबीसी न्यूज नेपालीसँग बताएका छन्।

    हिजो नक्खु कारागारबाट कैदीबन्दी बाहिरिँदै गरेको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ।

    उक्त कारागारमा करिब १३०० को सङ्ख्यामा कैदीबन्दी रहेको कारागार प्रशासक सत्यराज जोशीले हिजो बीबीसीलाई बताएका थिए।

    वीरगन्ज कारागारका कैदीहरू पर्खाल फोडेर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली प्रहार गरेर रोक्ने प्रयास गरेको छ। प्रहरीसँगको झडपमा चार जना कैदीबन्दी घाइते भएको बीबीसी संवाददाता माधुरी महतोले जनाएकी छन्। जेलबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर घाइते कैदीहरूको नारायणी अस्पतालमा उपचार जारी छ।

  16. काठमाण्डू उपत्यकामा जे देखियो, सञ्जय ढकाल

    जावलाखेलको सडकमा जलेको गाडी

    तस्बिर स्रोत, BBC/Sanjaya Dhakal

    काठमाण्डू उपत्यकाका मुख्य सडकहरूमा ठाउँठाउँमा सेनाको पहरेदारी छ।

    सैनिकहरूले बिहान बाटो हिँड्ने बटुवाहरूलाई सोधपुछ गर्दै निषेधाज्ञा भएकाले आआफ्ना घर जान भनिएको देखियो। सञ्चारकर्मीलाई पहिचान पत्र हेरेर छाडिएको देखियो।

    चोकचोकमा जलेका गाडी तथा मोटरसाइकल असरल्ल छन्। सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भवन र विभिन्न व्यापारिक तथा व्यावासिक प्रतिष्ठान भएका भवनहरूमा लागेको आगोबाट अझै धुवाँ पुत्पुताइरहेको देखिन्छ।

    सिंहदरबार अगाडि सञ्चारकर्मी तथा अन्य मानिस समूहसमूहमा स्थिति बुझ्न आएको देखिन्थ्यो। त्यहाँ सैनिकको गस्ती पनि देखियो।

    ठाउँठाउँमा सुरक्षाकर्मीहरूले बाटोमा सफाइ गर्न थालेका छन्।

    बिहान सिमसिम पानी परेको भए पनि आकाशमा धुवाँ र जलेका सामानको कडा गन्ध फैलिएको पाइएको थियो।

    भिडिओ क्याप्शन सुरु हुँदैछ, बुधवार बिहान काठमाण्डूका केही ठाउँका दृश्य
  17. सर्वोच्च अदालतद्वारा अनिश्चितकालका लागि सुनुवाइ स्थगित

    सर्वोच्च अदालतमा लागेको आगो

    तस्बिर स्रोत, EPA/Shutterstock

    सर्वोच्च अदालतको भवन आगजनीका कारण पूर्ण रूपमा जलेको भन्दै सो अदालतका मुख्य रजिस्ट्रारले अब अर्को सूचना जारी नहुँदासम्मका लागि त्यहाँबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएका छन्।

    बुधवार जारी हस्तलिखित विज्ञप्तिमा उनले मङ्गलवारको आगजनीबाट सर्वोच्च अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर र इजलास समेत जलेर नष्ट भएको जनाएका छन्।

    सर्वोच्च अदालतमा आगजनी भएपछि त्यहाँ कुर्सीमा बसेका एक आन्दोलनकारी

    तस्बिर स्रोत, Reuters

  18. 'अराजक गतिविधि'मा संलग्न २७ जना पक्राउ, केही हातहतियार बरामद

    सेनाले बरामद गरेका हातहतियार

    तस्बिर स्रोत, Nepal Army

    हिजो राति नेपाली सेना र अन्य सुरक्षा निकायहरू परिचालन भएपश्‍चात् आज बिहान १० बजेसम्म काठमाण्डूसहित देशका विभिन्न स्थानमा "विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृङ्खल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ।

    नेपाली सेनाका अनुसार काठमाण्डूको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु ३३.७० लाख बरामद भएको छ।

    सेनाले काठमाण्डूका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार, म्यागजीन र गोलीगट्ठा बरामद गरिएको जनाएको छ।

    सेनाका अनुसार घाइते भएका २३ प्रहरी र तीन सर्वसाधारण व्यक्तिलाई सैनिक अस्पतालमा उपचार गरिएको छ।

    सेनाले बरामद गरेका हातहतियार

    तस्बिर स्रोत, Nepal Army

    सेनाले बरामद गरेका नोट

    तस्बिर स्रोत, Nepal Army

  19. मुख्यसचिवले बोलाए सचिवहरूको भर्चूअल बैठक

    प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयहरू जलेर नष्ट भएपछि आआफ्नै ठाउँबाट सरकारी संयन्त्रहरू सञ्चालन गर्ने प्रयास अधिकारीहरूले सुरु गरेका छन्।

    अत्यावश्यक सार्वजनिक सेवा प्रवाह चालु गराउन मुख्यसचिव एकनारायण अर्यालले सरकारका सचिवहरूको भर्चूअल बैठक आह्वान गरेका छन्।

    "यो विषय परिस्थितिमा अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने सम्बन्धमा मुख्यसचिवको नेतृत्वमा भर्चूअल बैठक आयोजना हुँदै छ," गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसी न्यूज नेपालीसँग भने।

  20. सुरक्षाकर्मीका हातहतियार फिर्ता गर्न सेनाको आग्रह

    सुरक्षाकर्मीका हातहतियार आफ्नो नियन्त्रणमा लिएका केही आन्दोलनकारी सिंहदरबारबाहिर

    तस्बिर स्रोत, EPA/Shutterstock

    जेन जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीका हातहतियार लुटिएपछि नेपाली सेनाले त्यस्ता हातहतियार कसैले फेला पारेको वा आफूसँग लगेको भए सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन आग्रह गरेको छ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एउटा सूचना जारी गर्दै भनेको छ, "त्यस्ता हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएककोले त्यससम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरूले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धित हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ।"

    सेनाले सुरक्षा निकायका पोसाकको अनधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ।

    सुरक्षा निकायका हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारहबाही हुने चेतावनी पनि सेनाले दिएको छ।