दशैँमा एकतर्फी खुल्ने भनिएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा कहिले आउँछ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका सबै काम कात्तिक पहिलो सातासम्म सक्ने कार्यतालिका रहे पनि पश्चिमतर्फको पोर्टलमा पहिरोका कारण उक्त सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको अधिकारीहरूले बताएका छन्।

दुई महिनाअगाडि नै करिब ९५ प्रतिशत काम सकिएको भनिएको उक्त आयोजनामा पहिरोका कारण थप काम गर्नुपर्ने र दस्तुर सङ्कलनका लागि सेवा प्रदायक खोज्नुपर्ने दुईवटा कामका कारण केही समय लाग्ने देखिएको आयोजना निर्देशकले बीबीसीलाई बताएका छन्।

दुवै काम सकेसम्म सँगसँगै लैजानेगरी सन् २०२६ को सुरुसम्ममा सुरुङ सञ्चालनमा ल्याउने सम्भावना अझै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले बताएका छन्।

गएको दशैँमा पहिरोका कारण नागढुङ्गा हुँदै राजधानी बाहिरिने सडकमा समस्या आउँदा आंशिक रूपमा एकतर्फी उक्त सुरुङमार्ग खोल्नेबारे मन्त्रालयले निर्माण पक्षसँग छलफल गरेको थियो।

तर अहिले भने त्यसतर्फ भन्दा पनि निर्माण सकेर नै सञ्चालनमा ल्याउनेतर्फ मन्त्रालय केन्द्रित रहेको सचिव केशवकुमार शर्माले बीबीसीलाई जानकारी दिएका छन्।

सन् २०१६ मा जापानसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपालले जापानकै हाजमा एन्ड्रो कर्पोरेशनमार्फत्‌ निर्माण अघि बढाएको उक्त सुरुङमार्ग २.६८८ किलोमिटर लम्बाइको हुने छ।

साढे तीन मिटर चौडाइका दुईवटा लेन र दुवैतर्फ पानी बग्ने नालीहरू रहेको सुरुङमार्गको दुवै मुखमा 'टोल' स्थापना गरिने बताइएको छ।

चौबिसै घण्टा 'भेन्टिलेटेड' रहने भनिएको उक्त सुरुङमार्गमा आपत्कालीन उद्धार प्रणाली स्थापना गरिएको छ।

उक्त सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा सात मिनेटभित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिने अधिकारीहरूको दाबी छ।

सञ्चालनमा अहिले देखिएको अवरोध के हो?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गको मुख्य संरचनाको काम सम्पन्न भइसकेको छ।

तर सुरुङमार्गको पश्चिमतर्फ एउटा ठूलो पहाडको हिस्सा नै झरेर बसेको अवस्थाका कारण सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने देखिएको उनले बताए।

"त्यो पहिरोको रोकथाम नगरीकन हामीले पश्चिमपट्टिको टोल प्लाजा र केही लेनहरू निर्माण गर्न सकिरहेका छैनौँ। ती पनि आयोजनाकै हिस्सा हुन्। त्यो सम्पन्न हुन बाँकी छ," उनले भने।

"पहिरोको डिजाइन भइरहेको छ। त्यो परामर्शदाताले पेस गर्दै हुनुहुन्छ र टोल बुथको काम पनि सम्पन्न गरेपछि सर्वसाधारणलाई खुला गर्न सकिन्छ।"

यो बीचमा सुरुङमार्ग सञ्चालन तथा मर्मत संहार गर्नका लागि एउटा छुट्टै सेवा प्रदायकलाई बोलपत्र आह्वानमार्फत् खुला प्रतिस्पर्धा गरेर चयन गरिने उनले बताए।

"पूर्ण रूपमा सञ्चालन गर्न हामीलाई तीनदेखि चार महिना लाग्छ। तर यो बीचमा पहिरो रोकथामलगायत सबै काम सम्पन्न भयो भने सीमित रूपमा सवारीसाधन पठाएर ट्रायल अपरेसन गर्ने कि भन्ने प्रारम्भिक छलफल छ तर निर्णय भइसकेको छैन," उनले भने।

मनसुनका कारण कामलाई अन्तिम रूप दिन नसकिएको उनले बताए। पश्चिमतर्फ जुन ठूलो पहाड केही भासिएको छ, त्यो अनपेक्षित भएका कारण सञ्चलनमा आउने समय केही लम्बिने देखिएको उनले बताए।

"निर्माण कम्पनीले पूर्ण रूपमा हामीलाई हस्तान्तरण गर्ने अवस्था अहिले छैन। परामर्शदाताहरूले नमुना र कार्यतालिका र प्रारम्भिक लागत अनुमानबारे हामीलाई पेस गरेपछि भन्न सकिने अवस्था रहन्छ," आयोजना निर्देशक नेपालले भने।

धादिङ जिल्लामा पर्ने पश्चिमतर्फबाट काठमाण्डू भित्रिने सवारी साधनका लागि तीनवटा सडक लेन र पुरानो त्रिभुवन राजपथ हुँदै काठमाण्डूबाट बाहिरिने सवारीसाधनका लागि दुईवटा लेन गरी पाँचवटा बन्ने छन्।

तर पहिरोका कारण पश्चिमतर्फको तीन लेन बन्न बाँकी नै रहेको नेपालले बताए।

त्यहाँको पहाड करिब १ मिटर तल भासिएका कारण लेन बन्न नसकेको उनले बताएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले यसअघि दशैँमा उक्त सुरुङ मार्गको परीक्षण गर्ने बताए पनि अब भने पूर्ण रूपमा नै सञ्चालन गर्ने कुरालाई प्राथमिकतामा राखिने बताए।

"अब सेवा प्रदायकलाई हायर गरेर उसलाई तालिम दिएर मात्रै खोल्ने भन्ने कुरा भएको छ," शर्माले भने।

"सेवा प्रदायकले दस्तुर लिनेबाहेक एम्बुलेन्स वा दमकलजस्ता आपत्कालीन सेवाहरू स्ट्यान्डबाइ राख्ने र कुनै समस्या परे उद्धार गर्ने काम गर्छ।"

नेपालले जस्तै सचिव शर्माले पनि पश्चिमतर्फ टोल स्थापना गर्नुपर्ने क्षेत्रमा पहिरोको काम सम्पन्न गरेर मात्रै सञ्चालनमा ल्याउने प्रारम्भिक छलफल भएको बताए।

पहिरोका कारण बर्खायाममा उक्त काम गर्न नसकिएकाले बर्खापछिको समय कुरेको उनले बताए।

उनले पहिरोको काम सकिएर सेवा प्रदायक छानिँदासम्म कम्तीमा डेढ दुई महिना लाग्ने देखिएको बताए।

"हामीले ज्यानुअरी १ मा सक्छौँ कि भनेका थियौँ। त्यही ताका पुग्ने भयो," सचिव शर्माले भने।

"हामीले दशैँको बेला एकतर्फी गर्ने कि भनेको तर जापानिज कन्ट्र्याक्टरले आपत्कालीन अवस्थामा जोखिम निम्तिन सक्छ भनेर जोखिम नमोलौँ भन्नुभयो।"

सरकारले नागढुङ्गा सुरुङमार्ग भएर आउजाउ गर्ने प्रत्येक सवारीसाधनले तिर्नुपर्ने दस्तुर दुई महिनाअगाडि नै सार्वजनिक गरिसकेको छ।

सवारीसाधनका प्रकृतिअनुसार ६५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म दस्तुर तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

६ वर्षअघि सुरु भएको यो आयोजनाका लागि काम सम्पन्न गर्न सुरुमा साढे तीन वर्षको समयावधि दिइएको थियो। तर पछि पटकपटक गरेर म्याद थपेर कात्तिक पहिलो साता सरकारलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।