साइबर अपराध र ठगी बढेको बढ्यै : कतै तपाईँ पनि ठगको जालोमा परिरहनुभएको त छैन

तस्बिर स्रोत, PA Media
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा अन्लाइनका माध्यमबाट हुने ठगी तथा विभिन्न खालका अपराधमा विदेशी नागरिकको संलग्नता बढिरहेको पाइएको प्रहरी अधिकारीहरूले बताएका छन्।
त्यस्ता गतिविधिमा केही अघिसम्म विशेष गरी चिनियाँ नागरिकको संलग्नता धेरै हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ। तर अहिले भारतीय नागरिकहरूको संलग्न बढेको पाइएको छ।
नेपाली नागरिहरूसँग मिलेर तथा नेपालमा घर नै भाडामा लिएर विदेशी नागरिकहरूले साइबर माध्यमबाट हुने आपराधिक गतिविधि गरिरहेको पाइएको नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले बताएका छन्।
बूढानीलकण्ठमा छापा मारेर अन्लाइन जुवा खेलाउने समूह पक्राउ
गत आइतवार काठमाण्डू प्रहरीले काठमाण्डूको बूढानीलकण्ठ नगरपालिकास्थित एउटा घरबाट 'अवैध' अन्लाइन जुवा खेलाएको आरोपमा ठूलो सङ्ख्यामा भारतीय नागरिकहरूलाई पक्राउ गरेपछि साइबर अपराधमा विदेशी नागरिकको संलग्नताबारे पुन: चर्चा सुरु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाण्डूका अनुसार उक्त घटनामा २३ भारतीय नागरिक पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला अदालत काठमाण्डूबाट पाँच दिनको म्याद लिई प्रहरीले अनुसन्धान जारी राखेको परिसरका सूचना अधिकारी अपीलराज बोहोराले बताएका छन्।

तस्बिर स्रोत, Nepal Police
उनका अनुसार ती भारतीय नागरिकले एक नेपाली नागरिकको घर भाडामा लिएर 'लोटस365' नामक अन्लाइन मञ्चमा जुवा खेलाउने गरेका थिए।
नेपालमा अन्लाइन जुवाले कानुनी मान्यता पाएको छैन र त्यसलाई सट्टेबाजी मानिन्छ।
नेपालमा मान्यताप्राप्त अन्य कसीनो अर्थात् जुवाघरमा विदेशी नागरिकले मात्र जुवा खेल्न पाउँछन्।
अन्लाइन ठगी, सट्टेबाजी र क्रिप्टोकरेन्सी
प्रहरीले अनुसन्धान जारी रहेको भन्दै ती भारतीय नागरिकहरू अरू कस्ता गतिविधिमा संलग्न थिए भन्ने स्पष्ट पारिसकेको छैन।
यद्यपि बोहोराले भने, "उनीहरू अन्लाइन जुवामा मात्र होइन, क्रिप्टोकरेन्सी [कारोबार] तथा अन्लाइन ठगीमा पनि संलग्न भएको हुन सक्ने देखिएको छ।"
ती भारतीय नागरिकहरूले तीन अर्ब रुपैयाँभन्दा बढीको अन्लाइन जुवा खेलाएको तथा ४६ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा फेला परेको प्रहरीले जनाएको छ।
"उनीहरूले अन्लाइन ठगी पनि गरेको हुन सक्ने देखिन्छ। तर यस्तो अवस्थामा अवैध काममा संलग्नहरूलाई पक्राउ गरिएकाले उनीहरूबाट ठगिएकाहरू उजुरी गर्न नआउँदा त्यसबारे यकिन थाहा नहुन सक्छ," उनले भने।
साइबर ठगीका घटना बढेको बढ्यै

तस्बिर स्रोत, Reuters
प्रहरीका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा अन्लाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारजस्ता 'अवैध' घटना मात्र बढेका छैनन्, अन्लाइनबाट हुने ठगी पनि बढेको छ। अनि त्यसका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढ्दो क्रममा छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्षमा १९,७३० साइबर अपराधका घटना दर्ता भएका थिए। यो आर्थिक वर्षको पहिलो छ महिनामा झन्डै १०,७०० वटाभन्दा बढी उजुरी परेको ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार अन्लाइन माध्यमबाट हुने आर्थिक ठगीका घटना उल्लेख्य रूपमा बढेका छन्।
उनले गत साता बीबीसीसँग भनेका थिए, "यो छ महिनाको अवधिमा ६२ करोड रुपैयाँजतिको ठगी भयो भनेर पीडितहरूको निवेदन प्राप्त भएको छ। यसको उद्गमस्थल नै सामाजिक सञ्जाल हुन्छ किनभने सामाजिक सञ्जालमा प्रायोजित विज्ञापन आइरहेको हुन्छ। त्यो राम्रै हो कि भनेर मानिसहरू त्यसमा आकर्षित हुन्छन्। लगानीको कुरा चाहिँ धेरै टेलिग्राममा हुन्छ, जहाँ उनीहरूले 'यस्तोयस्तो गर्नुहोस्' भनेर निर्देशन दिन्छन् र प्रलोभनमा पार्ने गरिरहेका छन्।"
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार अनुसन्धानका क्रममा अन्लाइन ठगी गर्नेहरूले विभिन्न मानिसलाई प्रलोभन देखाएर उनीहरूका ब्याङ्क खाता तथा मोबाइल वालेटहरू प्रयोग गर्ने गरेको पाइएको छ।
उनले भने, "घरैमा बसेर पैसा कमाउने लोभ देखाएर मानसहरूलाई खाता खोल्न वा मोबाइल वालेटमा दर्ता हुन लगाउने र त्यो खातालाई ठगीको रकम यताउता सार्न प्रयोग गर्ने गरेको पाइएको छ। त्यसबापत खातावाललाई ५ देखि १० प्रतिशत कमिशन दिने गरेको भेटिएको छ।"
उनका अनुसार अन्लाइनबाट ठगी गरिएको रकम सुरुमा एउटा खातामा पठाउन लगाउने अनि त्यसलाई भाग लगाएर विभिन्न खातामा पठाउने देखिएको छ। "दश/पन्ध्र मिनटभित्र कम्तीमा ६/७ तहमा रकम विभाजन भइसकेको हुन्छ," उनले भने।
"पहिले यस्तो गतिविधि लागुऔषध कारोबार गर्नेहरूले गर्ने गरेको पाइन्थ्यो, अहिले अन्लाइन ठगी गर्नेले गर्छन्।"
कसरी हुन्छ अन्लाइन ठगी

प्रहरीको साइबर ब्यूरोले नेपालमा हुने ठगीका स्वरूपबारे आफ्नो वेबसाइट र सामाजिक सञ्जालहरूबाट नियमित जानकारी दिने गरेको छ।
उसले आफ्नो वेबसाइमा नेपालमा अन्लाइन ठगीका घटना बढिरहेको भन्दै सर्वसाधारण नागरिकलाई सचेत हुन आग्रह गरेको छ।
साइबर ब्यूरोका अनुसार नेपालमा हुने अन्लाइन ठगीका स्वरूप यस्ता छन्:
चिट्ठा/उपहारको नाममा : तपाईँको मेल, मेसिन्जर वा अन्य अन्लाइन माध्यमबाट शङ्कास्पद लिङ्क वा आकर्षक सन्देश आउँछ। त्यसमा तपाईँले आकर्षक चिट्ठा जित्नुभएको छ वा उपहार प्राप्त गर्नुभएको छ भनिन्छ। त्यो चिट्ठा वा उपहार विदेशी हो भनी कर/भन्सार तिर्नका लागि रकम माग गरिन्छ।
सस्तोमा राम्रो कोठा/फ्ल्याट : भाडामा सस्तो मूल्यमा कोठा वा फ्ल्याट दिलाइदिन्छु भन्ने सन्देश आउँछ वा सामाजिक सञ्जालमा त्यस्ता पोस्ट राखिएको हुन्छ। त्यस्ता व्यक्तिले अग्रिम रकम माग्छन् अनि तपाईँले रकम दिएपछि सम्पर्कविहीन हुन्छन्।
अन्लाइन किनमेल : सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्न लगाउने, वा तपाईँ 'वास्तविक' ग्राहक हुनुहुन्छ भनी प्रमाणित गर्न तपाईँको व्यक्तिगत विवरणहरू (नागरिकता, परिचयपत्र आदि) माग्ने गर्छन्। तपाईँलाई अग्रिम भुक्तानी गर्न लगाएर सामान डेलिभरी नगरी सम्पर्कविहीन हुन्छन्। त्यसको अर्को घातक रूप भनेको तपाईँले पठाएका नागरिकताजस्ता दस्तावेज पछि अर्को ठगी प्रकरणमा प्रयोग हुन सक्छन्।
बेवारिसे सम्पत्तिको उत्तराधिकार बनाइने प्रलोभन : आफ्नो 'सम्पत्ति'को सम्हाल्ने कोही पनि नभएको भन्दै उत्तराधिकारी बन्न आग्रह गर्ने गर्छन्। त्यसपछि कर वा खर्च यति लाग्छ भनी रकम लिएर सम्पर्कविहीन हुन्छन्।
आकर्षक रोजगारीको लोभ : घरमै बसीबसी बिनाझन्झट वा कम मेहतनका साथ आकर्षक जागिर वा अविश्वसनीय काम पाउनुहुन्छ भनिन्छ। त्यसका लागि सुरुमा रकम लगानी गर्न लगाउने वा व्यक्तिगत कागजातहरू माग गर्ने अनि ठगी गर्ने गर्छन्।
ओटीपी मागेर ह्याकिङ : कसैले तपाईँलाई ओटीपी पठाउन लगाई तपाईँको ब्याङ्किङ वा सामाजिक सञ्जाल खाता वा मोबाइल वालेट ह्याक गर्न सक्छन्।
ह्वाट्स्याप भिडिओ कल ठगी : तपाईँले कहिल्यै नभेटेको, नदेखेका महिलाको नाम वा तस्बिर भएका खाताबाट सन्देश आउँछ। कुराकानी हुँदाहुँदै उनले तस्बिर वा भिडिओ पठाउन वा वेबक्याम खोल्न लगाई तपाईँको अनुहार देखिने गरी निर्वस्त्र महिलाको फोटो लिइन्छ। तर त्यहाँ कुनै महिला हुँदैनन्। तपाईँको 'आपत्तिजनक' तस्बिर अरू कसैले पाउँछ। उसले त्यस्तो तस्बिर तपाईँका साथीभाइ र परिवारलाई पठाउने धम्की दिँदै त्यसो नगर्नका लागि पैसा माग्छ।
अनुसन्धानमा कठिनाइ

तस्बिर स्रोत, Reuters
साइबर माध्यमबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार ठगी गर्ने व्यक्तिहरूले सामाजिक सञ्जाल वा त्यस्तै माध्यमबाट मात्र कुराकानी गरेर मानिसहरूलाई काम लगाउने गर्दा समस्या हुने गर्छ।
परिसरका सूचना अधिकारी अपीलराज बोहोराले हालै पक्राउ परेका २३ भारतीयलाई काम लगाउने मुख्य व्यक्ति को हो भन्ने पत्ता लगाउन पनि थप अनुसन्धान आवश्यक देखिएको बताए।
अधिकारीहरू सिमकार्डका आधारमा प्रयोगकर्ता भएको स्थान पत्ता लगाउन सकिने भए पनि अन्य माध्यम प्रयोग गर्दा त्यति सहज नहुने बताउँछन्।
अन्लाइन शपिङका नाममा ठगी गर्नेहरूलाई पत्ता लगाउन त्यस्तै समस्या भइरहेको वाणिज्य विभागका अधिकारीहरूले केही समयअघि बीबीसीलाई बताएका थिए। विभागका एक अधिकारीले त्यस बेला "ठगी गरिसकेकपछि त्यस्तो व्यक्तिले वेबसाइट नै बन्द गर्ने र सामाजिक सञ्जालका पेजहरू पनि निष्क्रिय पार्ने" गरेकाले समस्या भएको बताएका थिए।
यद्यपि प्रहरीसम्म पुगेका कतिपय उजुरीका हकमा प्रहरीले बन्द गरिएका वेबसाइट वा सामाजिक सञ्जालका लिङ्कहरूलाई विभिन्न प्राविधिक माध्यम तथा सामाजिक सञ्जालकै सहयोगमा पत्ता लगाएका उदाहरणहरू पनि छन्।
त्यस्तो अवस्थामा पनि ठगीको उद्देश्यले खोलिएका वेबसाइटहरू एवं सामाजिक सञ्जालका लिङ्कहरू विदेशबाट चलाउने गरेको भेटिँदा मुख्य व्यक्तिलाई पत्ता लगाउन कठिन हुने प्रहरी अधिकारीहरूको भनाइ छ।

तस्बिर स्रोत, PA Media
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि केही साताअघि बीबीसीसँग पछिल्ला दिनहरूमा नेपालमा टेलिग्राम एपका माध्यमबाट ठगी गर्ने क्रम बढेको तर उक्त एप प्रयोग गरेर ठगी गर्ने व्यक्ति पत्ता लगाउन कठिन भएको बताएका थिए।
टेलिग्रामको 'एड्मिन'बारे पत्ता लगाउन अन्य एपमा भन्दा कठिन भएको उनको भनाइ थियो।
"फेसबुक, यूट्यूब वा अन्य सामाजिक सञ्जालका हकमा हामीले लेखेर पठाएपछि त्यस्तो आपराधिक कार्य गर्न प्रयोग भएको प्रोफाइल वा लिङ्कबारे जानकारी पाउन सकिन्छ तर टेलिग्राममा त्यस्तो संयन्त्र नै छैन," उनले बीबीसीसँग भनेका थिए।
कतिपय नेपाली अभियुक्तले ठगीको रकमबाट विभिन्न एपमार्फत् क्रिप्टोकरेन्सी खरिद गरेको अनि अन्लाइन जुवामा रकम हालेको पनि पाइएको प्रहरीले बताउने गरेको छ।
सचेत हुन आग्रह
अधिकारीहरू विशेष गरी अन्लाइनबाट हुने ठगी रोक्नका लागि सबैभन्दा पहिले सर्वसाधारण प्रयोगकर्ता र उपभोक्ता नै सचेत हुनुपर्ने बताउँछन्।
"सजिलै पैसा कमाइ हुँदैन, त्यसैले कसैले घरै बसेर लाखौँ कमाइ हुन्छ भन्दा पत्याउनु भएन," सीआईबीका प्रवक्ता शाहीले भने, "त्यसका लागि प्रयोगकर्ता नै सजग हुनुपर्यो।"
कसैले चिट्ठा पर्यो वा अपुताली खान पाइन्छ भन्दा पनि विश्वास नगर्न उनको सुझाव छ।
"कसैले ठग्ने कोसिस गरेको छ वा त्यस्तो घटना भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुपर्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








