जाजरकोट भूकम्प पीडितको खोजी तथा उद्धार सकियो, 'राहत कार्य सकेपछि अस्थायी आवास निर्माण'

तस्बिर स्रोत, Nepal Police/X
जाजरकोट भूकम्पपछि शुक्रवार रातियता जारी खोजी तथा उद्धार कार्य अब सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
“अब हामी राहत पुर्याउनमा केन्द्रित भएका छौँ। हिजोबाटै केही स्तरमा सुरु भएको त्यो काम तीन दिनसम्म चल्ने छ,” प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बीबीसी न्यूज नेपालीसँग सोमवार बिहान भने।
“चाहिने जति राहत सामग्री उपलब्ध भइसकेको छ। केही सामान पुग्न थालेको छ भने केही हिँडिसकेका अवस्था छ।”
राहत सामग्री पुर्याउने काममा तीनवटै सुरक्षा बल – नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना – परिचालन गरिएको छ।
“स्थल र हवाई मार्ग दुवैबाट हामीले राहत पुर्याइरहेका छौँ,” प्रवक्ता खड्काले थपे। ठ्याक्कै कुन सामान कति पुग्यो भन्नेबारे चाहिँ उनले केही बताएनन्।
एकद्वार प्रणालीमार्फत् राहत
सरकारले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरिसकेको छ।
त्यसो गर्दा विगतको भूकम्पमा जस्तो राहत सामग्रीको दुरुपयोग रोकिने अधिकारीहरूको तर्क छ।
तर सरकारी निकायहरू मात्र संलग्न हुँदा पीडितसम्म अत्यावश्यक राहत सामग्री पुग्न ढिलाइ हुन सक्ने भन्दै कतिपयले असन्तुष्टि समेत व्यक्त गरेका छन्।
कतिपय भूकम्प पीडितले लगातार तेस्रो रात खुला आकाशमुनि बिताउनु परेको गुनासो गरेका छन्।
चिसो बढिरहेकोले अस्थायी आवासको भए पनि छिटो व्यवस्था नगरिए बाँचेका व्यक्तिहरूलाई समेत बचाउन गाह्रो हुने केही पीडितले घटनास्थलमा रहेका बीबीसी संवाददाताहरूलाई बताएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पीडितसम्म पर्याप्त त्रिपाल तथा न्याना कपडारू छिटै पुर्याउनु मुख्य चुनौती रहेको सोमवार बताए।
“यो चिसो मौसममा पीडित सबैलाई सुरक्षित राख्नुपर्ने चुनौती रहेको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
सरकारी योजनाअनुसार तीन दिनभित्र राहत पुर्याउने काम सकेपछि भूकम्पले पुर्याएको क्षतिको आकलन सुरु गरिने प्राधिकरणले जनाएको छ।
“त्यसपछि पीडितका लागि अस्थायी आवास निर्माण गरिने छ,” प्राधिकरणका प्रवक्ता खड्काले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र पुनर्निर्माणको काम सकिने बताएका छन्।
प्रधानमन्त्रीले बझाङमा आइतवार गरेको घोषणा अनुसार भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराइने छ।
त्यसैगरी भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवार सङ्ख्याका आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गरिने छ।
क्षतिको पछिल्लो विवरण के छ?

शुक्रवारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन्।
कुल ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।
यसअघि सरकारले भूकम्पमा परी १५७ जनाको ज्यान गएको बताएको थियो।
तर केही मृतकको सङ्ख्या दोहोरिन गएकोले सच्याउँदा १५३ देखिएको अधिकारीहरूले बताएका छन्।
भूकम्पबाट भएको भौतिक क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने प्राधिकरणका प्रवक्ता खड्काले बताए।
नेपाल प्रहरीले आइतवार साँझ उपलब्ध गराएको विवरण अनुसार करिब एक हजारवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब २,९०० घरमा आंशिक क्षति पुगेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








