कांग्रेस नेतासँग 'भारतीय दूत'को चासो: पुरानो गठबन्धन कसरी भत्कियो?

क्वात्रा र खाण भेट

तस्बिर स्रोत, Balkrishna Khand Secretariat

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको काठमाण्डू-यात्राले नेपालमा जारी आन्तरिक राजनीतिक खेलबारे थप अड्कलबाजी बढेको देखिएको छ।

लामो समयदेखि नेपालको आन्तरिक राजनीतिमा प्रभाव राख्ने पहिचान बनाएको छिमेकी देशबाट क्वात्रा कूटनीतिज्ञको रूपमा ओर्लिए।

तर फर्किँदासम्म उनले गरेको सघन राजनीतिक भेटवार्ताका कारण कतिपयले उनको नेपाल आगमनलाई राजनीतिक यात्राको रूपमा अर्थ्याएको देखिन्छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधवार प्रतिनिधिसभाको बैठकमा उनको भ्रमणलाई आन्तरिक राजनीतिसँग जोडे।

उनले निर्वाचन तालिका प्रकाशित भइसकेको राष्ट्रपतिको चुनावसँग भारतीय विदेश सचिवको भ्रमणको सम्बन्ध रहेको आशङ्का प्रकट गरे।

पुरानो गठबन्धनबारे क्वात्राको चासो

अघिल्लो सत्ता गठबन्धन नभत्कियोस् र नेपाली कांग्रेसकै नेतृत्वमा त्यो अघि बढोस् भन्ने चाहना भारतले राखेको भन्ने विश्लेषणहरू भइरहेका थिए। तर त्यो भत्कियो।

त्यसैले धरमराउने सङ्केत देखिएको नयाँ सत्ता समीकरण र त्यससँग जोडिएको राष्ट्रपति निर्वाचनसँग भारतीय विदेश सचिवको भ्रमणलाई जोडेर हेर्नेहरू पनि छन्।

तर क्वात्रासँग भेट गरेका कांग्रेस नेता बालकृष्ण खाणले आफू पूर्व गृहमन्त्री भएकाले देशको शान्ति सुरक्षाको चर्चा हुनुका साथै लुम्बिनीको विकास र भैरहवा विमानस्थलबारे भारतीय सहयोगको विषयमा भेटघाट केन्द्रित भएको बताए।

नेता बालकृष्ण खाणसँग भेटवार्ता

तस्बिर स्रोत, Balkrishna Khand Secretariat

वर्तमान सत्ता समीकरण र राष्ट्रपतिबारे खासै कुरा नभएको उनको भनाइ छ।

उनका अनुसार प्रसङ्गवश विदेश सचिवले सोधे, “तपाईँहरू त तत्कालीन समीकरणलाई बचाएर लानुपर्छ भनेर लाग्नु भएको थियो, चुनावसम्म त बच्यो तर पछि कसरी फेरबदल भयो?”

एमालेले मौकाको सदुपयोग गरेको विश्लेषण

नेता खाणले त्यसको विश्लेषण सुनाए। उनका भनाइमा नेपालमा कांग्रेस र एमालेबीच पनि सहमति र सहकार्य होस् भन्ने चाहना रहेको थियो र त्यसमा कांग्रेसका नेताहरूले भरोसा गरे।

खाणले सुनाए, “कांग्रेस सबैभन्दा ठूलो पार्टी पनि बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् र अघि बढोस् भन्ने चाहनामा हाम्रा नेताहरू प्रस्तुत हुनु भएको हो। तर एमाले र माओवादीले नयाँ गठबन्धन गर्ने मौका पाए र त्यो मौकाको सदुपयोग एमालेले गर्‍यो भनिदिएँ मैले।”

त्यसपछि उनको प्रतिक्रिया? खाणका अनुसार भारतीय विदेश सचिव क्वात्राले ‘खासै’ प्रतिक्रिया दिएनन्।

एमाले अध्यक्ष ओलीसँग भेटघाट

तस्बिर स्रोत, KP Oli Secretariat/RSS

एमालेले पार्टी सभापति शेरबहादुर देउवालाई साथ दिने वचन दिएको उनको भनाइ छ।

खाणले भने, “मैले कसैलाई आरोप प्रत्यारोप गर्न चाहन्न। कांग्रेसले भरोसा गर्नु पनि स्वाभाविक हो तर हरेक कुरामा हामीले विश्लेषण गर्न पर्ने र चनाखो हुनुपर्ने अवस्था थियो र छ।”

एमालेका नेताहरूले भने अघिल्लो गठबन्धन फुटाउने आफूहरूको घोषित नीति रहेको र त्यसअनुसार कांग्रेसले ठोस प्रस्ताव नै नल्याउँदा माओवादीले चाँडो निर्णय गरेको भन्दै कांग्रेसलाई धोका दिएको कुरा अस्वीकार गर्दै आएका छन्।

राष्ट्रपति चुनावमा भ्रमणको प्रभाव?

आउँदो राष्ट्रपति चुनावका कारण वर्तमान सत्ता गठबन्धनभित्र पनि विवाद बढ्ने अनुमान भइरहेका छन्।

जनमोर्चाका सांसद केसीले प्रतिनिधिसभाको बैठकमा बोल्दा विदेश सचिवको भ्रमणलाई त्यस प्रसङ्गसँग जोडे।

केसीले विगतमा शक्ति राष्ट्रले अप्रत्यक्ष रूप खेल खेल्ने गरेको बताउँदै भने, “अहिले त प्रत्यक्ष रूपले आफ्नो देशको अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने जुन खालको खेल चलिराखेको छ, यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइराखेको छ।”

प्रधानमन्त्री प्रचण्डसँग भेटघाट

तस्बिर स्रोत, RSS

क्वात्राले राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।

केसीले त्यसप्रति पनि असन्तुष्टि जनाए, “हामीलाई लाज लाग्दैन कि शक्ति राष्ट्रहरूका मान्छे आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट हामीले आफ्नो दुनो सोझ्याउने काम गरिराखेका छौँ।”

कूटनीतिज्ञ र राजनीतिक दूत?

भारतीय राजदूतको रूपमा नेपाल बसेका विदेश सचिव क्वात्राको सम्बन्ध नेपाली नेताहरूसँग स्वाभाविक रूपमा धेरै छ।

उनीसँग भेट गर्ने एक नेता हुन्, हृदयेश त्रिपाठी। आफू स्वास्थ्य मन्त्री भएका बेला कोभिड महामारीमा खोप लगायतका विषयमा समन्वय भएको र आफूहरूबीच खुला रूपमा कुराकानी हुने सम्बन्ध रहेको त्रिपाठीको भनाइ छ।

तर क्वात्राले राजनीतिप्रति चासो नदेखाएको बताउँदै त्रिपाठीले भने, “राजनीति तपाईँहरूको आफ्नो कुरा हो, चुनावपछि पनि जुन ढङ्गको संसद्को बनावट छ त्यसैअनुसार तपाईँहरू अघि बढी हाल्नुहुन्छ भन्दै मसँगको कुराकानीमा उहाँले राजनीतिक चासो लिएको पाइनँ। जबकि मसँग फ्र्याङ्कली (खुला) कुरा हुन्छ।”

जयशङ्कर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, संयोगवश भारतका पूर्व विदेश सचिव एस जयशङ्कर अहिले त्यहाँको विदेश मन्त्री छन्

उनका भनाइमा क्वात्राको भ्रमण ऊर्जा निर्यात लगायतका विकास परियोजनाहरूबारे नियमित काममा केन्द्रित रहेको उनले बुझेका छन्।

पृष्ठभूमि कूटनीतिज्ञको भए पनि क्वात्राको भेटघाटले उनी भारतको राजनीतिक दूतको रूपमा आएको अर्थ लगाएको पनि पाइन्छ।

संयोगवश पूर्व विदेश सचिव एस जयशङ्कर अहिले भारतको विदेश मन्त्री छन्।

विदेश सचिव हुँदा उनी २०७२ सालमा काठमाण्डू आएर तत्काल हुबहु संविधान जारी नगर्न आग्रह गरेको नेपाली नेताहरूले बताउने गरेका छन्।

उनी भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा नेपाल आएका थिए। तर उनको प्रयास विफल भएको थियो।