राष्ट्रपतिमा कांग्रेस एमालेले अडान नछाडेमा 'विकल्पको चर्चा'

राष्ट्रपति निवास

तस्बिर स्रोत, OFFICE OF THE PRESIDENT OF NEPAL

तस्बिरको क्याप्शन, शितल निवास। फाइल तस्बिर।

राष्ट्रपतिमा नेकपा एमाले र नेपाली कांग्रेसले आआफ्नो अडान नछाडेमा विकल्पको रूपमा अन्य व्यक्तिहरूबारे पनि चर्चा हुन थालेको छ।

एक सत्ताधारी दल जनमत पार्टीका अध्यक्ष सीके राउतले बीबीसीसँग कुरा गर्दै दाबेदार दुवै दललाई मान्य हुने पात्रबारे गृहकार्य भइरहेको बताएका छन्।

उनले त्यस्तो व्यक्ति वा उसको पृष्ठभूमिबारे केही खुलाएनन्। तर सहमति हुने धेरै सम्भावना रहेको बताए।

नेकपा एमालेका नेताहरू सरकार गठनका बेला राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सघाउने सहमति भएको भन्दै त्यसमा सत्ता गठबन्धनको साथ पाउने विश्वासमा देखिन्छन्।

‘राष्ट्रिय सहमति हुनुपर्ने’ नेकपा माओवादी केन्द्रको अडानले उत्साहित कांग्रेसका नेताहरूले आफ्नो दलबाट रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने बताउने गरेका छन्।

पूर्व सभामुखको आकाङ्क्षा

दुई ठूला दलहरू आआफ्नै अडानमा देखिएका बेला पूर्व सभामुख दमननाथ ढुङ्गानाको नाम पनि चर्चामा आएको छ।

ढुङ्गानाले आफूलाई दलहरूले के गरिरहेका छन् भन्ने जानकारी नभएको बताए।

तर उनले भने, “सबैको सहमति भयो भने म जिम्मेवारी लिन शारीरिक र मानसिक रूपले तयार छु। तर उहाँहरू सबैको सहमति चाहिन्छ।”

उनले भने, “म नै हुनुपर्छ भन्ने हैन। तर जसले सबैलाई अभिभावकत्व दिन सक्छ त्यस्तो व्यक्तिलाई सहमतिको आधारमा खोज्नुहोस् मेरो शुभकामना छ।”

स्वर्गिय पदमरत्न तुलाधरका साथ ढुङ्गाना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दमननाथ ढुङ्गाना र स्वर्गीय पदमरत्न तुलाधरले सुरुको शान्ति वार्तामा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए

उनले राष्ट्रपतिको भूमिका धेरै महत्त्वपूर्ण हुँदै गएको र त्यसको निम्ति साझा व्यक्तिको खाँचो रहेको सुनाए।

कांग्रेसबाट सभामुख रहिसकेका उनलाई लामो समयपछि २०७४ सालको चुनावमा पार्टीले भक्तपुरबाट उम्मेदवार बनाएको थियो।

माओवादी नेतासँग ढुङ्गानाको फोन-संवाद

तर कांग्रेसका नेता एनपी साउदका अनुसार कुनै दलले ढुङ्गानाको नाम कांग्रेस समक्ष प्रस्ताव गरेको छैन र त्यसबारे उनको दलभित्र छलफल पनि भएको छैन।

सरकार र माओवादीबीच सुरुको शान्ति वार्ताको बेला ढुङ्गाना र पदम रत्न तुलाधर सहजकर्ताको भूमिकामा थिए।

राष्ट्रपति र उपराष्ट्रपति

तस्बिर स्रोत, PRESIDENTOFNEPAL.GOV.NP

त्यसैले माओवादीले पनि एमालेलाई विकल्पमा जान दबाब बढाउने उद्देश्यले उनको नामलाई चर्चामा ल्याएको हुनसक्ने कतिपयको ठम्याइ छ।

प्रधानमन्त्री प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार तथा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उनीसँग फोनमा कुराकानी भएको जानकारी दिए।

अर्कै विषयमा कुरा गर्ने उद्देश्यले फोन वार्ता भएको दाबी गर्दै उनले भने, “तर कुराकानी हुँदा उहाँले आफू राष्ट्रपतिको निम्ति तयार रहेको सङ्केत दिनु भएको थियो।”

विभिन्न विकल्पको चर्चा: केदारभक्त माथेमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि राष्ट्रपति चुनाव झन् पेचिलो बन्ने र वर्तमान सत्ता समीकरण नै हेरफेर हुने अनुमानहरू भइरहेका छन्।

रास्वपा संसदीय दलका नेता विराजभक्त श्रेष्ठले आफ्नो घोषणापत्र अनुसार गैर दलीय व्यक्तिलाई अघि सार्ने कि सरकार गठनका बेला भएको सत्ता गठबन्धनको सहमतिअनुसार अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल हुन थालेको जानकारी दिए।

उनले व्यक्तिगत रूपमा आफू शिक्षाविद् तथा पूर्व राजदूत केदारभक्त माथेमालाई अघि सार्नुपर्ने पक्षमा रहेको पनि बताए। तर माथेमाको नामबारे पनि पार्टीलाई कुनै प्रस्ताव नआएको कांग्रेस नेता साउदको भनाइ छ।

माओवादी नेता गजुरेलले राष्ट्रपति चुनावको निम्ति अझैँ समय रहेकाले विभिन्न व्यक्तिहरूबारे अनौपचारिक छलफल र चर्चा हुनु स्वाभाविक भएको टिप्पणी गरे।

दलभित्रबाट राष्ट्रिय सहमति कति सम्भव?

तीन वटै दल दबाबमा रहेको उल्लेख गर्दै गजुरेलले भने, “त्यो दबाबले कति काम गर्छ त्यस आधारमा सहमति हुने कुरा हो।”

चुनाव लगत्तै पनि गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने तयारी भइरहेको खबर आउँदा मन्त्रिपरिषद्को अध्यक्ष रहिसकेका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी लगायतको नाम चर्चामा थियो।

रामवरण यादव

तस्बिर स्रोत, RSS

माओवादी केन्द्र लगायतका मुख्य दलका नेताहरूले नै त्यसप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि उक्त विषय साम्य भयो।

तर अहिले माओवादीले राष्ट्रिय सहमतिको विषय उठाएपछि दल बाहिरका व्यक्तिबारे फेरि चर्चा हुन थालेको हो।

दुई मुख्य दलले आआफ्नो अडान नछाड्दा माओवादीले सत्ता गठबन्धन जोगाउन एमाले रोज्नुपर्ने वा नयाँ समीकरण बनाउन कांग्रेसलाई साथ दिनुपर्ने अवस्था आउने देखिन्छ।

'एमालेलाई राष्ट्रपति नदिन केही कांग्रेस र माओवादी नेताहरूले जोड बल गरिरहेको देखिएकाले दल बाहिरको व्यक्ति एमालेले स्वीकार गरेमा' सहमति भेटिन सक्ने कतिपयको विश्लेषण पाइन्छ।