प्रचण्डले 'धोका दिए एमाले चुनौतीको सामना गर्न तयार’

तस्बिर स्रोत, Getty Images
आसन्न राष्ट्रपति निर्वाचन निर्णायक मोड बन्नेमा नेपाली कांग्रेसका नेताहरू आशावादी बनिरहेका बेला नेकपा एमालेका नेताहरूमा पनि केही चिसो पसेको देखिन्छ।
गृह मन्त्रालयलाई लिएर देखिएको विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदसँग सत्तापक्षकै सांसदको जुहारीले एमालेमा आशङ्का थपिदिएको बताइन्छ।
एमालेका एक पदाधिकारीका भनाइमा "समस्या उत्पन्न र आशङ्का सिर्जना" भएका छन्।
माओवादीको राष्ट्रिय सहमतिको प्रस्तावबारे उनले भने, “सत्ता गठबन्धनलाई विश्वासमा लिएर मात्र त्यो सम्भव छ, तर यताको अविश्वास बढाएर अनि यताको मूल्यमा कांग्रेसको विश्वास जित्न सम्भव हुँदैन र त्यो गर्नु भनेको वस्तुत: मुलुकलाई थप अस्थिरतातर्फ धकेल्नु हो।”
ती पदाधिकारीको उक्त भनाइ राष्ट्रपति चुनाव र पछिल्लो विवादतर्फ लक्षित छ।
तैपनि प्रचण्डप्रति ‘विश्वास’
तर अहिले नै प्रचण्ड नेपाली कांग्रेससहितको नयाँ सत्ता समीकरण बनाउन अघि बढिसकेको हदसम्मको अविश्वास नगरेको एमाले नेताहरू बताउँछन्।
उनीहरूका भनाइमा भूराजनीतिक दबाव, सङ्क्रमणकालीन न्याय र भविष्यमा कतै एमालेसँग कुरा नमिल्दा आवश्यक पर्ने भरोसाका निम्ति प्रचण्डले कांग्रेससँगको सम्बन्ध राम्रो बनाउन आवश्यक ठानेका हुनसक्छन्।

तस्बिर स्रोत, Reuters
विश्वासको मत दिएको कांग्रेसको निम्ति त्यतिसम्मको प्रस्ताव ‘शिष्टाचार’ को रूपमा पनि लिनुपर्ने एमाले नेताहरूको बुझाइ छ।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, “सकेसम्म सहमति होस् भन्ने सदिच्छा होला, त्यो नराम्रो कुरा होइन।”
केही दिनअघि ओली निवासमा प्रचण्डसँग लामो कुराकानी भएको र त्यसमा पनि धेरै कुरा प्रष्ट र विश्वसनीय देखिएको एमाले नेताहरूको भनाइ छ।
तर त्यो कुरा पछिल्ला विवाद देखिनुअघिको हो।
प्रचण्ड ‘जोखिममा पर्ने’
ती विवादले थोरै आशङ्का जन्माएको स्वीकार गरेपनि एमाले नेताहरू वर्तमान सत्ता समीकरण भत्काउँदा माओवादी नै जोखिममा पर्ने ठम्याइका कारण प्रचण्डप्रति विश्वस्त भएको पाइन्छ।
एक नेता भन्छन्, “गठबन्धन भत्काउन सक्यो भने कांग्रेसले पहिले हेर्ने भनेको त आफ्नै हित होला नि, माओवादीलाई त हेर्दैन होला।”
तर नाम खुलाउन नचाहने केही कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिँदै प्रधानमन्त्रीमा आलोपालो गर्न समेत तयार रहेको बताउन थालेका छन्।
त्यस्तो अवस्था प्रचण्डकै निम्ति जोखिमपूर्ण हुने ती एमाले नेताको भनाइ छ।
“अस्ति पनि आलोपालोको सहमति त भएकै थियो त। फेरि कांग्रेस माथि पर्नेबित्तिकै माओवादी बोकिराख्छ भन्ने बिल्कुलै गलत कुरा हो। त्यो कुरा प्रचण्डजीले पनि बुझ्नुभएकै होला,” उनले भने।

तस्बिर स्रोत, @CMPRACHANDA
एमाले प्रचार तथा प्रसारण विभागका उपप्रमुख विष्णु रिजाल कांग्रेसको आशा निरर्थक भएको बताउँछन्।
नयाँ सत्ता समीकरण बनाउने कांग्रेसको प्रयासबारे संक्षेपमा उनले टिप्पणी गरे, “कांग्रेस अझै होसमा आएको छैन।”
एमालेको वैकल्पिक हतियार के?
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई आफूतिर तान्न खोजिरहेको कुरा लुकेको छैन। नेताहरूले नै सार्वजनिक रूपमा आफ्नो नीति बोलिरहेका छन्।
तर एमाले सम्भावित विकल्पको तयारीमा लागेको देखिएको छैन। ऊ अहिलेसम्म प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने धारणा दोहर्याइरहेको छ।
कतै प्रचण्डले धोका दिएमा कांग्रेस र माओवादीबिनाको गठबन्धन बन्ने विकल्प छ। नेकपा एकीकृत समाजवादीको समर्थन जुटाउन सके त्यो झन् सहज देखिन्छ।
त्यस्तै कांग्रेससँग एमाले मिल्ने विकल्प पनि छ।
तर उपाध्यक्ष ज्ञवाली भन्छन्, “त्यो स्थिति आउँदैन र आउन दिनुहुँदैन। यो गठबन्धनलाई नै टिकाउनुपर्छ अन्यथा सोच्नै हुँदैन।”
उनले "धेरै नयाँ नयाँ सङ्कटहरू आउने र देश नसोचेको दुर्घटनामा पर्ने जोखिम" देखेका छन्।
“त्यसैले त्यो दिशामा लाग्दै हुँदैन,” ज्ञवालीले भने, “यदि माओवादीले जो हुन्छ हुन्छ भनेर त्यस्तो केही भयो भने (गठबन्धन टुट्यो भने) एमाले हरेक चुनौती समाधान र सामना गर्न तयार छ।”








