भाजपा नेताको नेपाल भ्रमण विवादः ‘चौथाइवालेले आउँछु भन्दा महासचिवले हुन्छ भन्नुभएको हो’

तस्बिर स्रोत, Dr Vijay Chauthaiwale/twitter
भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमणलाई लिएर नेपालमा सत्ताधारी नेकपाभित्र जारी विवादलाई बल दिने गरी सन्देह उत्पन्न भएको छ।
यसअघि भारतकै गुप्तचर निकाय ‘रअ’ का प्रमुखको नेपाल भ्रमण र भेटघाटको विषय पनि नेकपाभित्रको विवादको एउटा कारण बन्न पुगेको छ।
त्यो विवाद चर्किएका बेला भएको चौथाइवालेको नेपाल आगमन पछिल्ला दिनमा भारतको विभिन्न क्षेत्रका उच्च अधिकारीहरूबाट भएको चौथो भ्रमण बन्न पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वसभामुख सुवास नेम्वाङसँग भेट गरेका उनले ओलीलाई पद त्याग गराउन तम्सिएका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गर्न आवश्यक ठानेका देखिएन।
प्रचण्ड-नेपाललाई किन भेटेनन्?
विदेश विभागका उपप्रमुख विष्णु रिजालको बुझाइ छ, “विदेश भ्रमणमा जाने अतिथिको भेटघाट आयोजकको इच्छाअनुसार नै हुन्छन्। सल्लाह बेगरका कार्यक्रम हुँदैनन्। सायद आयोजकबाट अतिथिलाई जे-जे भनियो त्यसै अनुसार नै भेटघाट नभएको होला।”
महासचिव पौडेलको निमन्त्रणमा आफू नेपाल भ्रमणमा आएको चौथाइवालेले जनाएका छन्।
तर भ्रमणबारे विदेश विभागलाई जानकारी समेत नदिइएको रिजालको भनाइ छ। उनका अनुसार नेकपाको भारतीय जनता पार्टीसँग औपचारिक सम्बन्ध पनि छैन।
भाइचारा सम्बन्ध रहेको चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले यसअघि गरेको भर्चुअल कार्यक्रमबारे पनि पार्टीको विदेश विभागलाई जानकारी दिइएको थिएन।
रिजाल भन्छन्, “पार्टीभित्र विधि-विधान र पद्धति अनुसार चलौँ भन्ने आवाज उठेको कारण पनि त्यही हो। यदि यो विभाग अरू कुनै नेतालाई महत्त्वपूर्ण लाग्छ भने त्यही नेताले राखेपनि हुन्छ। तर एउटा विभागको काम पनि अर्कैले गर्ने हो भने त्यो विभागका मान्छेका काम त विरोध गर्नु बाहेक के बाँकी रहन्छ?”
पौडेलको निम्ता कि चौथाइवालेकै अग्रसरता?

तस्बिर स्रोत, pradeep gyawali/twitter
नेकपा नेताहरूका अनुसार चौथाइवालेसँग महासचिव पौडेलको सम्पर्क र सम्बन्ध केही वर्षदेखिको हो।
प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईका बुझाइमा दुवैजनाबीच अनौपचारिक फोनवार्तामा 'चौथाइवालेले आउँछु भनेपछि पौडेलले हुन्छ' भनेका हुन्।
उनले भने नेपालमा भेट्ने तालिका चौथाइवालेकै हो। नेकपाभित्रैबाट प्रचण्ड र नेपाललाई उनीसँगको भेटघाटभन्दा बाहिर राखिएको सत्य नभएको बताए।
भट्टराई भन्छन्, “कसलाई भेट्ने, कसलाई नभेट्ने विषयमा उहाँले आफै तालिका बनाउनु भयो। हामी त्यसमा संलग्न छैनौँ। को मान्छे भ्रमणमा आउने भन्ने पार्टीको एजेन्डा बन्छ र? त्यो पनि अनौपचारिक भ्रमण भनिसकेपछि त्यसलाई धेरै ठूलो विषय बनाउनु पर्ने औचित्य देख्दिनँ।”
अनौपचारिक रूपमा कसैले आउने चाहना व्यक्त गरेपछि निमन्त्रणा दिने र त्यस्तो अवस्थामा पाहुना आफ्नो तालिका अनुसार आउने, बस्ने र भेटघाट गरेर जाने अन्तर्राष्ट्रिय अभ्यास रहेको उनको भनाइ छ।
चौथाइवालेको चासोमा नेकपा
चौथाइवालेले विपक्षी नेताहरू नेपाली कांग्रेसका शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग पनि भेटवार्ता गरेका थिए।
उनकै आग्रहमा काठमाण्डूमा उपलब्ध नेताहरूले भेट गरेको नेता महतोले जानकारी दिए।
महतोले भने, “पार्टीबारे, सम्बन्ध विकास गर्ने र दुई देशको सम्बन्धमा सामान्य कुराकानी भएको थियो।”
नेपालमा राजनीतिक अस्थिरता गहिरिने सम्भावनाबारे पनि चौथाइवालेले केही चासो राखे कि?
महतोले कुटनीतिक भाषामा "खुला सिमानाका कारण यहाँको अस्थिरताको असर आफूलाई पनि पर्ने भएकाले नेपालमा अस्थिरता नहोस् भन्ने मान्यता भारतले पहिल्यैदेखि राख्दै आएको" बताए।
तर चौथाइवालेले नेकपा विवादको गम्भीरताबारे चासो राखेको उनीसँग भेट गरेका एक नेताले बीबीसीलाई बताए।
मोदी निकट चौथाइवाले

तस्बिर स्रोत, Dr Vijay Chauthaiwale/twitter
चौथाइवाले यसअघि पनि नेपाल भ्रमणमा आउने गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि पनि उनी आएका थिए।
उनी मोदीकै गृहराज्य गुजरातका हुन्। प्रधानमन्त्री मोदी र अर्का शक्तिशाली मानिने नेता तथा गृहमन्त्री अमित शाहका विश्वासपात्र मानिन्छन्।
मोदीको अमेरिका भ्रमणमा निकै चर्चित बनेको ‘हाउडी मोदी’ कार्यक्रमको श्रेय पनि चौथाइवालेलाई दिइन्छ।








