सी विचारधाराबारे नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गर्न वरिष्ठ चिनियाँ नेता काठमाण्डूमा

सोन थाव

तस्बिर स्रोत, RSS

चिनियाँ राष्ट्रपति सी जिन्पिङको सम्भावित नेपाल भ्रमणको मुखैमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीले काठमाण्डूमा एउटा विचारात्मक छलफल कार्यक्रम आयोजना गरेका छन्।

झन्डै दुईतिहाइ बहुमतको समर्थनप्राप्त सरकारको नेतृत्व गरिरहेको नेकपा र चीनमा सात दशकदेखि अविच्छिन्न शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच नेपालमा हुने उक्त कार्यक्रमलाई राजनीतिक विश्लेषक तथा अन्यले निकै चासोका साथ हेरेका छन्।

नेकपानिकट स्रोतहरूका अनुसार उक्त द्विदिवसीय कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको विचारधाराबारे छलफल गरिने र उत्तरी छिमेकले लागु गरेका नीति तथा तिनको बलमा प्राप्त उपलब्धिबारे एक किसिमको राजनीतिक प्रशिक्षण दिइनेछ। तसर्थ उक्त कार्यक्रमको विशेष महत्त्व भएको उनीहरू बताउँछन्।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री सोन थावले प्रमुख वक्ताका रूपमा मन्तव्य राख्नेछन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ।

दाहालले नेपालमा कम्युनिस्ट आन्दोलन र उपलब्धि आदि विषयमा धारणा राख्नेछन् भने ओलीले कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालको विकासको खाकाबारे चर्चा गर्ने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

छलफल

कार्यक्रममा चीनका राष्ट्रपति सी जिन्पिङले प्रतिपादन गरेको विचारधाराबारे गहन छलफल हुने पार्टीनिकट स्रोतहरूको भनाइ छ।

सोन थाव

तस्बिर स्रोत, Courtesy: Bishnu Rijal

चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो महाधिवेशनले सीको विचारधारा "निर्यात" गर्ने निर्णय गरेपछि चीनले राजनीतिक विचारधाराबारे छलफल तीव्र बनाएको छ।

केही वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सीको नामसहित उनको विचारधारा समावेश गरिएको थियो। केही दशकयता राजनीतिक विषयमा प्राय: मौन रहेर आर्थिक विषयमा केन्द्रित चीनमा त्यसबाट पर्ने प्रभावबारे विश्वभरि उत्सुकतापूर्वक हेरिराखिएको विश्लेषकहरू बताउँछन्।

"अमेरिकासँग चीनको व्यापार युद्ध तथा अमेरिकी नेतृत्वकै इन्डो-प्यासिफिक रणनीति आदि विषयमा अन्तर्राष्ट्रिय स्तरमै विवाद उत्पन्न भएको बेला कम्युनिस्ट शासन रहेका मुलुकहरूमा चीन व्यावसायिक सम्बन्धको परिधिभन्दा बाहिर जान खोजेको हुन सक्छ," चीनसम्बन्धी विषयका जानकार रूपक सापकोटाले बीबीसी न्यूज नेपालीसँग भने।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सोमवार काठमाण्डूमा आरम्भ हुने कार्यक्रम मूलत: दुई देशका कम्युनिस्ट नेताहरूबीच समयसापेक्ष विषयवस्तुमा छलफलका लागि तयार पारिएको साझा मञ्च हो।

उद्देश्य

कार्यक्रममा कम्युनिस्ट पार्टीमा अनुशासनको अवस्था, पार्टीमा विकृति नियन्त्रण र बेल्ट एन्ड रोड इनिशिअटिभ लगायतका विषयवस्तुमा अन्तर्क्रिया हुनेछ। कार्यक्रममा चिनियाँ प्रतिनिधिहरूले कार्यपत्र प्रस्तु्त गर्नेछन्।

नेपाली र चिनियाँ कम्युनिस्ट पार्टीहरूले आआफ्ना विचारबारे छलफल गर्न लागेको यो पहिलो कार्यक्रम भने होइन। रिजालका अनुसार चीनले प्रत्येक वर्ष आफ्ना मुलुकमा राजनीतिक तथा वैचारिक विषयमा अन्तर्क्रिया गर्छ।

तर यसपालि भने चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि वातावरण बनाउन काठमाण्डूमा कार्यक्रम आयोजना गरिएको अनुमान भैरहेको छ।

"पार्टी एकीकरण हुनुअघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबाट वर्षमा दुई पटक करिब १० देखि १२ को सङ्ख्यामा पार्टी नेताहरू चीनमै हुने त्यस्ता अन्तर्क्रियामा सरिक हुनेगर्थे," रिजालले भने।

विचार निर्यात

सि जिनपिङ माओ जेदोङ

तस्बिर स्रोत, Reuters

करिब दुई वर्षअघि सीको विचार पार्टी विधानमा उल्लेख भएलगत्तै नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु होङले काठमाण्डूमा एउटा कार्यक्रमको आयोजना गरेर चीनले आफ्नो विचार प्रवर्धन गर्ने बताएकी थिइन्।

चीनले नयाँ विश्व परिदृश्य तयार पार्न खोजिरहेको सङ्केत प्रस्ट रूपमा गर्दै त्यसका लागि राजनीतिक विचारको महत्त्व रहेको भन्ने भाव उनले व्यक्त गरेकी थिइन्।

तर हालको कार्यक्रमलाई विचारको आयात गर्ने अभियानका रूपमा भने बुझ्न नहुने रिजाल बताउँछन्।

केही समयअघि काठमाण्डूमा कार्ल मार्क्सको २०० औँ जन्मजयन्तीको अवसरमा करिब दुई दर्जन मुलुकका नेताहरूको उपस्थितिमा कार्यक्रम गरिएको र कम्युनिस्ट दलहरूबीच विचारबारे हुने बहस नौलो कुरा नरहेको उनको भनाइ छ।

सापकोटा पनि सीको विचार विश्वव्यापी रूपमै चर्चाको विषय बनिसकेको अवस्थामा नेपालले विकास र समृद्धिका विषयमा भने चिनियाँ अनुभवबाट सिक्न सक्ने हुँदा उक्त कार्यक्रमलाई विचारको निर्यातका रूपमा मात्र हेर्न नमिल्ने बताउँछन्।

भ्रमणको योजना

औपचारिक रूपमा राष्ट्रपति सीको नेपाल भ्रमणबारे नेपाल र चीन दुवैले आधिकारिक रूपमा कसैले केही बताएका छैनन्।

तर सी अक्टोबर ११ वा १४ मा काठमाण्डू आउन सक्ने बुझिएको जानकारहरू बताउँछन्।

भ्रमणबारे घोषणा नगरिए पनि भ्रमणको तयारी व्यापक बनाइएको स्रोतहरू बताउँछन्।

भारत भ्रमणका क्रममा नेपाल आउने भनिएका सी भारत गएर नेपाल आउँछन् वा नेपालबाट भारत जान्छन् भन्ने विषय प्रस्ट भइनसकेको परराष्ट्र स्रोतको भनाइ छ।

उनीहरूका अनुसार राष्ट्रपति कार्यालय लगायतका महत्त्वपूर्ण निकायहरूलाई आउँदा वा जाँदा भ्रमण हुन सक्ने भन्दै दुवै मितिका लागि तयारी अवस्थामा रहन ब्रिफिङ गरिसकिएको छ।