करिब साढे तीन सय जनाको ज्यान गएका विमान दुर्घटनाबारे बोइङले अदालतमा जवाफ दिने

    • Author, थियो लेगट
    • Role, व्यापार संवाददाता, बीबीसी न्यूज

विमान उत्पादक कम्पनी बोइङले ३४६ जनाको मृत्यु हुनेगरी भएका दुईवटा जहाज दुर्घटनाका विषयमा उसमाथि लागेको ठगीको आरोपबारे अदालतमा जवाफ दिँदैछ।

दुवै दुर्घटना बोइङ ७३७ म्याक्स विमानको फ्लाइट कन्ट्रोल सिस्टममा त्रुटिका कारण भएका थिए।

बोइङले प्रणालीको बारेमा जानकारी खुलाउन असफल भएको फेला पारिएको थियो तर उक्त कम्पनी जरिवाना र क्षतिपूर्तिबापत दुई अर्ब ५० करोड डलर तिर्न सहमत भएर परीक्षणबाट बच्यो।

तर ती उडानहरूमा मारिएका व्यक्तिका आफन्तहरूले उक्त मुद्दालाई पुनः खुलाउने प्रयास गरिरहेका छन्।

त्यसको अर्थ हो- पहिलो पटक विमान निर्माता कम्पनीलाई दुईवटा दुर्घटनाको सम्बन्धमा अदालतमा औपचारिक रूपमा आरोप लगाइनेछ।

बोइङले यसअघि अमेरिकी न्याय मन्त्रालयसँग जरिवाना र क्षतिपूर्तिको रकम तिर्ने गरी गरिएको सम्झौताको पुनः सुनुवाइ गरिने कुराको विरोध गरेको थियो।

उसले त्यसो गर्नु "अभूतपूर्व, काम नबन्ने र असमान" हुने बताएको थियो।

उसले अभियोगबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

पुन: उडान अनुमति

सन् २०१९ मा भएका ती दुर्घटनाहरूपछि बोइङ ७३७ म्याक्स विमानलाई अमेरिकामा सन् २०२० मा अनि ब्रिटेन तथा युरोपेली सङ्घमा सन् २०२१ मा फेरि उडान गर्न अनुमति दिइएको थियो। 

करिब चार वर्षअघि इथियोपियन एयरलाइन्सको विमान ईटी-३०२ अदिस अबाबाबाट नैरोबीका लागि उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

मार्च २०१९ मा इथियोपियाको राजधानी नजिकै खेतमा उक्त जहाज खसेको थियो र त्यसमा यात्रा गरिरहेका १५७ जनाको मृत्यु भएको थियो।

त्यो दुर्घटनामा परेको विमानको नयाँ डिजाइनको बोइङ ७३७ म्याक्स थियो।

त्यसको केही महिनाअघि इन्डोनेसियाली लायन एअरद्वारा सञ्चालित लगभग उस्तै विमान जाकार्तादेखि पाङ्कल पिनाङका लागि नियमित उडानका क्रममा जाभा सागरमा दुर्घटनाग्रस्त भएको थियो।

त्यसमा १८९ जनाले ज्यान गुमाएका थिए।

पछि दुवै दुर्घटनाको कारण डिजाइनमा भएको त्रुटि रहेको थाहा भयो।

त्यसमा पनि विशेषगरी ती दुर्घटनाहरू एमसीएएस भनिने उडान नियन्त्रण सफ्टवेयरको प्रयोगका कारण भएका थिए।

त्यो प्रणाली ७३७ को अघिल्लो पुस्तासँग परिचित पाइलटहरूलाई सहयोग गर्न र नयाँ मोडेलको उडान गर्न महँगो अतिरिक्त प्रशिक्षण आवश्यक नहोस् भन्नका लागि डिजाइन गरिएको थियो।

तर सेन्सरको विफलताले त्यसलाई खराब बनायो र दुवै अवस्थामा त्यसले विमानलाई दुर्घटनाबाट बचाउन सकेन।

अमेरिकामा भएको अनुसन्धानले के देखायो भने बोइङले पाइलट म्यानुअल अर्थात् प्रशिक्षण मार्ग निर्देशनमा उक्त प्रणालीबारे जानकारी समावेश गरेको थिएन र उसले जानाजान अमेरिकी नियामक, सङ्घीय उड्डयन प्रशासनसँगको सञ्चार प्रणालीको प्रभावलाई कम गर्न खोजेको थियो।

आरोप र सफाइ

सन् २०२१ को ज्यानुअरीमा अमेरिकी न्याय मन्त्रालयले बोइङलाई धोखाधडीको आरोप लगायो।

तर कम्पनीले दुई अर्ब ५० करोड डलर जरिवाना र क्षतिपूर्ति तिर्न सहमत भएर तथा आफ्ना प्रक्रियाहरूलाई कडा बनाउने वाचा गरेर अदालती सुनुवाइमा जानबाट बच्न सक्षम भयो।

तर त्यसले इथियोपियन एयरलाइन्समा मारिएका धेरै आफन्तहरूलाई आक्रोशित बनायो।

उनीहरूले उक्त सम्झौता आफूहरूको जानकारीविना भएको र उनीहरूको अधिकारको उल्लङ्घन भएको तथा कम्पनीलाई पूर्ण रूपमा जवाफदेही हुनबाट उन्मुक्ति दिइएको दाबी गर्दै आएका छन्।

यद्यपि अमेरिकी न्याय मन्त्रालयले उक्त सम्झौता उपयुक्त थियो भनेर आफ्नो निर्णयको रक्षा गर्‍यो।

उसले बोइङको कथित अपराध र दुईवटा दुर्घटनाबीच प्रत्यक्ष सम्बन्ध थियो भन्ने शङ्कालाई तर्कसङ्गत रूपमा प्रमाणित गर्न नसकेको दाबी गरेको थियो।

त्यसपछि के भयो?

त्यसपछि टेक्ससको अदालतमा कानुनी लडाइँ जारी छ र त्यसले एक वर्ष भन्दा बढी समयदेखि पछ्याइएको छ।

दुर्घटनामा मारिएका व्यक्तिका आफन्तले उक्त सम्झौतालाई पुनः कानुनी कठघरामा ल्याउने प्रयास गरिरहेका छन्।

बोइङलाई आफ्नो तर्फबाट उपस्थित हुन "उपयुक्त व्यक्ति" पठाउन आदेश दिइएको छ। तर त्यस्तो व्यक्ति को हो भन्ने स्पष्ट छैन।

यो कानुनी लडाइँको यूकेमा रहेका पीडितका लागि पनि महत्त्वपूर्ण छ र कतिपयले टेक्ससमै पुगेर त्यसका लागि सहयोग गर्ने बताएका छन्।

त्यस्तैमध्येकी एक जिपोराह कुरियाका पिता जोसेफ वाथाइका ईटी-३०२ दुर्घटनामा मारिएका थिए र उनी त्यसबेलादेखि नै बोइङविरुद्ध मुखर अभियानकर्ता बनेकी छन्।

पीडित के भन्छन्?

उनी सुनुवाइका क्रममा टेक्ससमा हुनेछिन्। उनी अदालतमा बयान दिनु आफ्ना लागि आफ्नो जीवन परिवर्तन गराउने व्यक्तिप्रतिको श्रद्धाञ्जली हुने बताउँछिन्।

"यस्तो लाग्छ हामी अन्ततः केही त देखिरहेका छौँ," उनले भनिन्।

"मलाई लाग्छ हाम्रा मारिएका ३४६ जना प्रियजनहरूको मृत्यु कम्तीमा अब प्रासङ्गिक बन्ने स्तरको भएको छ।"

सोही जहाजमा भएका मार्क पेग्रामका छोरा सामको पनि निधन भयो।

यद्यपि उनी टेक्सस यात्रा गर्न असमर्थ भएका छन् तर सुनुवाइ हुन लागेकोमा आफू निकै खुसी भएको उनले बताए।

"हाम्रो लागि जरिवाना र लुकाउनु न्याय होइन," उनले भने।

उनले अहिलेको न्यायको लडाइँले “निर्दोष जीवनको यस्तै क्षतिलाई रोक्नको लागि एउटा उदाहरण बनाउने र आफूले गरेको गल्तीका कारण धेरै परिवारहरूमा परेको भयानक प्रभाव बोइङलाई बुझाउन" सहयोग गर्ने आशा व्यक्त गरे।

कानुनी कारबाहीले अन्ततः बोइङ र अमेरिकी न्याय मन्त्रालयबीचको स्थगित अभियोजन सम्झौतालाई पुनः कठघरामा लान्छ कि लाग्दैन भनेर अझै स्पष्ट छैन।

यस्तो भएमा त्यो कदम धेरै असामान्य कुरा हुनेछ।

तर अर्को अलग्गै नागरिक अभियानमा परिवारहरूको प्रतिनिधित्व गर्ने सिकागोका वकिल रोबर्ट ए क्लिफर्डका अनुसार यसको दूरगामी परिणामहरू हुन सक्छ।