'हामीले यसलाई देशद्रोहका रूपमा हेरेनौँ': युक्रेनका निम्ति जासुसी गरेका रुसी दम्पती

    • Author, इल्या बारबानोभ र अनास्तासिआ लोतरेभा
    • Role, बीबीसी न्यूज रसिअन

सर्गेइ र तात्याना भोरोङ्कोभ रुसबाट युक्रेनको सानो गाउँमा बसाइँ सरिरहँदा शान्त जीवन बिताउने आशामा थिए। तर स्थिति सोचेभन्दा भिन्न निस्कियो।

उनीहरू बसाइँ सरी गएको क्षेत्र मस्कोले पूर्ण स्तरमा आक्रमण थालेपछि रुसको कब्जामा पर्‍यो।त्यसपछि उनीहरूले युक्रेनी सेनाका निम्ति सुराकी गर्न थाले।

पछि उनीहरूलाई हिरासतमा लिइयो र सोधपुछ गरियो। त्यसपछि उनीहरू फर्जी कागजात बोकेर युरोप छिरे।

सन् २०१४ मा मस्कोले युक्रेनबाट क्राइमिया कब्जामा लिएको केही समयपछि नै सर्गेइ र तात्याना भोरोङ्कोभले रुस छाड्ने निधो गरेका थिए।

उक्त दम्पती राष्ट्रपति भ्लादिमिर पुटिनको शासनअन्तर्गत रुसले पक्डिएको बाटोप्रति लामो समयदेखि निराश रहँदै आएको थियो। क्राइमियामाथिको अवैध कब्जा र पूर्वी युक्रेनमा सुरु भएको लडाइँ उनीहरूका निम्ति देश छाड्ने निर्णायक बिन्दु बनिदियो।

"हामी (युद्धविरोधी) विरोध प्रदर्शनहरूमा सामेल भइरहेका थियौँ, तर त्यसको अर्थ छैन भन्ने चाँडै नै बुझ्यौँ," पचपन्न वर्षीय सर्गेइले भने।

"म साथी तथा चिनेजानेकाहरूलाई हामीले क्राइमिया कब्जा गर्नु र डोनबासतर्फ संलग्न हुनु (पूर्वी युक्रेनको एउटा ठूलो औद्योगिक क्षेत्र) नराम्रो कुरा हो भन्थेँ। उनीहरू 'तिमीहरूलाई मन नपरेको भए यहाँबाट गए भयो नि त' भन्थे। त्यसैले हामीले हिँड्ने निधो गर्‍यौँ।"

डोनबासमा जन्मेकी ५२ वर्षीया तात्याना पनि रुसी नागरिक हुन्। उनका अनुसार उनी काम गर्ने ठाउँका सहकर्मीहरू उनको क्रेम्लिन–विपरीतका विचार मन पराउँदैँनथे र क्राइमिया कब्जा गरिएपछि उनले जागिर छाडिदिइन्।

त्यसपछिका पाँच वर्षसम्म नयाँ घरको खोजीमा उक्त दम्पतीले हरेक ६–६ महिनामा युक्रेनको चक्कर लाउन थाल्यो।

अन्तत: सन् २०१९ मा उनीहरू दक्षिणपूर्वी जापोरिझ्झिया क्षेत्रको तीन सय जनाजति मानिसहरू बसोबास गर्ने नोभोल्युब्भिक्का भन्ने ठाउँमा बसाइँ गए। त्यहाँ उनीहरूले पशुपालन गरे। सर्गेइले भूमि–सर्वेक्षणकर्ताको जागिर पनि पाए। सोभियत सेनामा छँदाको बेला उनले त्यसबारे विशेषज्ञता हासिल गरेका थिए।

सन् २०२२ को फेब्रअरी २४ मा उनीहरूको छानोमाथिबाट पहिलो पटक रुसी क्षेप्यास्त्र उड्यो।

"बिहान मैले केही सुसाएजस्तो, केही उडेजस्तो सुनेँ। त्यसपछि बाहिर निस्किएँ," तात्यानाले सम्झिइन्।

"हाम्रो घरको ठिक माथिबाट एउटा क्षेप्यास्त्र उड्दै थियो। त्यसपछि के भएछ भनेर इन्टरनेटमा खोज्न थालेँ। त्यसमा किएभमा बमबारी भएको उल्लेख गरिएको थियो।"

फेब्रुअरीको २६ सम्म आइपुग्दा नोभोल्युब्मिभ्का (जापोरझ्झियाको लगभग पूरै दक्षिण भाग) रुसी कब्जामा परिसकेको थियो। सुरुमा उक्त दम्पती आक्रमणकारी सेनासँग सोझो सम्पर्कमा गएन।

तर केही दिनपछि रुसी सेनाको लस्कर आफ्नो घर हुँदै अघि बढेको देखेपछि भने तात्यानाले केही कदम चाल्ने निधो गरिन्।

सेनाको लस्कर अघि बढेको देख्नासाथ तात्याना हतारहतार घरभित्र छिरिन्, फोन तानिन् र किएभमा बस्ने एक परिचितलाई सन्देश पठाइन्। ती व्यक्ति युक्रेनी सुरक्षा सेवाको सम्पर्कमा छन् भन्ने उनको विश्वास थियो।

ती व्यक्तिले टेलिग्राम एपको एउटा विशेष 'च्याटबट'को सम्पर्क पठाए। उक्त 'च्याटबट'ले एकजना छद्मनाम भएका व्यक्तिले सम्पर्क गर्ने जानकारी दियो।

त्यसपछि उक्त दम्पतीलाई रुसी सेना भएको स्थान, इलोक्ट्रोनिक युद्ध प्रणालीहरू तथा उनीहरूले देखेका सैन्य सामग्रीहरूको विवरण दिन भनियो। उनीहरूले क्षेप्यास्त्र प्रणाली र ट्याङ्कहरूबारे विशेष चासो देखाए। उक्त स्थानबारेको सटिक जानकारीले ड्रोन वा अन्य हमलामार्फत् त्यहाँ उपस्थित रुसी सेनालाई ध्वस्त पार्न युक्रेनी सेनालाई मद्दत पुग्थ्यो।

"त्यलाई हामीले देशद्रोह ठानेनौँ," तात्यनाले भनिन्, भलै यी दुई रुसी नागरिक थिए।

"रुसमाथि आक्रमण भएको भए र हामी शत्रुतिर लागेको भएचाहिँ देशद्रोह हुन्थ्यो। तर रुसमाथि कसैले आक्रमण गरेको थिएन। यो खराबका विरुद्धको लडाइँ थियो।"

आफूले उपलब्ध गराएको सूचनाले सर्वसाधारण र सार्वजनिक संरचनामाथि आक्रमण ननिम्तिएकामा उक्त दम्पतीले जोड दियो।

"ठूलो निसाना बनाउन सकिने एउटा माहोल बनेको थियो, तर (युक्रेनी सेनाका तर्फबाट) सर्वसाधारणको घर पर्ने भएकाले त्यहाँ आक्रमण नगर्ने भनियो," सर्गेइ भन्छन्।

त्यसपछि दुई महिनासम्म सर्गेइ 'कोअर्डिनेट्स' (निश्चित् स्थानको सटिक विन्दु) बटुल्थे र तात्यनाचाहिँ आफ्नो फोनमार्फत् त्यसको प्रसार गर्थिन्। त्यसपछि उनीहरू सबै सन्देशहरू होसियारीपूर्वक मेटाउँथे।

उक्त दम्पती नोभोल्युब्मिभ्कामा इन्टरनेटमाथिको पहुँच नगुमाउञ्जेल सन् २०२२ को अन्त्यसम्म पनि किएभस्थित आफ्नो सुत्रसँग सम्पर्कमै थियो।

त्यसपछि भने सेनाका मान्छेहरू नियमित रूपमा गाउँमा आउँदै घरमा छिर्न र खानतलासी गर्न थाले। उनीहरू केहीपटक भेरोङ्कोभ्स दम्पतीको निवासमा पनि पसे।

उनीहरूलाई नियन्त्रित क्षेत्र किन नछाडेको भनेर सोध्दा दम्पतीले उल्टै सोधे, "हामी कहाँ जान्थ्यौँ त?"

उनीहरू रुस जान चाहँदैनथे र उनीहरूलाई रुसी कागजात बोकेर युक्रेनका अनियन्त्रित भूभागमा छिर्न अनुमति थिएन। सबैभन्दा मुख्य कुराचाहिँ यो ठाउँ उनीहरूलाई "आफ्नै घरजस्तो" लाग्थ्यो र यहाँ बसेर निरन्तर किएभलाई सघाउन चाहन्थे।

तर सर्गेइको गिरफ्तारीसँगै सबै कुरा सकियो।

चिसो छिँडीमा सोधपुछ

रुसी नागरिक भएका कारण उक्त दम्पतीले आक्रमणको सुरुदेखि नै रुसी सैन्य अधिकारीहरूको ध्यान खिचेको थियो।

गत वर्षको अप्रिलको अन्त्यतिर सर्गेइलाई क्षेत्रीय केन्द्र टोक्म्याकबाट हतियारधारी मानिसहरूले हिरासतमा लिए।

सर्गेइका अनुसार सेना भनेर पुष्टि हुने सङ्गेत चिह्न नभएका ती मानिसहरूले उनलाई एउटा घरमा लगे र चिसो न चिसो छिँडीमा हुले। त्यो ठाउँ त्यस्तै दुई मिटर फराकिलो र तीन मिटरजति गहिरो थियो। उनले त्यहाँ टुक्रुक्क बसेरै सुत्नुपर्ने अवस्था थियो।

अर्को दिनदेखि टाउकोमाथि बोरा राखेर कुटपिटको धम्कीसहित कसरी सोधपुछ सुरु भयो र अधिकारीहरूले रुसी सेना उपस्थित ठाउँबारे युक्रेनी पक्षलाई जानकारी दिए नदिएकोबारे कसरी सोधे भन्नेबारे उनले वर्णन गरे।

चार दिनसम्म त उनी गलेनन् तर त्यसपछि भने आफ्नो संलग्नता सकारे। याताना दिइएमा भुलवश् अरुको नाम पोल्छु कि भन्ने डर लागेकाले त्यसो गरेको सर्गेइले बताए।

यता त्यस्तो भइराख्दा उता तात्याना भने व्याकुल भएर श्रीमानलाई खोज्न यत्रतत्र भौँतारिनुका साथै कहिले अस्पताल त कहिले मुर्दाघरमा फोन गरिराखेकी थिइन्।

त्यतिखेर मस्कोबाहिर बसिरहेका उनीहरूको छोरोलाई समेत 'स्टेट इन्भेस्टिगेटिभ कमिटि'देखि राष्ट्रपति कार्यालयसम्मका मस्कोका विभिन्न निकाय‍सँग सम्पर्क गर्न थाले।

सर्गेइ समातिएको दस दिनपछि सुरक्षा बलका मानिसहरू नोभोल्युम्मिक्कास्थित तात्यानाको घरमा तलासी लिन पुगे। उनीहरूले बगैँचा खोतलेर उक्त दम्पतीले लुकाएर राखेको चार हजार चार सय डलर निकाले।

गिरफ्तारीको ३९ ‍औँ दिनपछि मे ७ का दिन बल्ल तात्यानाले आफ्नो पतिलाई राखिएको ठाउँबारे थाहा पाइन्। "टोक्म्याकको पुलिसले मलाई भन्यो: 'उनी छिँडीमा बसिरहेका छन्। उनलाई एफएसबी (रुसी सुरक्षा सेवा) ले ल्याएको हो। प्रतिगुप्तचरी(को मामिला हो।)"

आफूलाई एफएसबी अफिसरका रूपमा चिनाउने व्यक्तिहरूले मे २६ का दिन सर्गेइको प्रतिजासुसीमा आफ्नो 'संलग्नता स्वीकारेको' भिडिओ खिचे।

त्यसको दुई दिनमै आफूलाई छाडिएपछि भने सर्गेइ चकित परे, यद्यपि सवारी चालक अनुमतिपत्र बाहेकका उनका सबै कागजातहरू उनीहरूले नै राखे।

स्वीकारोक्तिपछि समेत उनलाई किन छाडियो भन्ने कुरा सर्गेइ र तात्यानाले आजसम्म बुझेका छैनन्।

त्यसपछि सर्गेइ नयाँ कागजात बनाउन टोक्म्याकस्थित राहदानी कार्यालय गए, तर उक्त क्षेत्रमा कब्जा जमाएर बसेका रुसी अधिकारीहरूले उनलाई नयाँ राहदानी दिनतर्फ कुनै हतारो गरेनन्।

सर्गेइको रिहाइपछि पनि रुसी अधिकारीहरूले निरन्तर निगरानी राख्नेछन् भन्ने उनीहरूलाई विश्वास थियो।

निगरानीका क्रममा थरीथरीका कारहरू आइरहन्थे र अपरिचित मानिसहरूले ढोकामा आएर उनीहरूले केही बेच्दैछन् कि भनेर सोध्थे।

उक्त दम्पतीलाई अब आफूहरूलाई एक्लै छाडिदैँन भन्ने थाहा भइसकेको थियो।

युरोपका मानवाधिकार अभियानकर्मीहरूसँग परामर्श गरेपछि उनीहरूले उक्त नियन्त्रित क्षेत्र छाड्ने निर्णय गरे। नयाँ पासपोर्ट पाउने आशामा पहिले रुस फर्किने र त्यसपछि त्यतैबाट युरोप जाने योजना बन्यो।

टोक्म्याकका छरछिमेकले पशुपन्छी र उपकरणहरू किनिदिएर सघाए। सर्गेइलाई कुकुरहरूको चिन्ताले सताएको थियो। उनीहरूले तिनका निम्ति पनि नयाँ घर भेटे।

आफूहरूले घर छाडेको दुई सातापछि रुसी सेना त्यहाँ पुगेको सर्गेइ बताउँछन्।

रबरको ट्युब बोकेर त्यहाँबाट हिँडे

नोभोल्युब्मिभ्कास्थित घर छाडेर हिँडेपछि भोरोङ्कोभ दम्पतीले रुसी बलले रोकेका खण्डमा सुनाउनका निम्ति एउटा कहानी गढ्ने योजना बनाए र त्यसलाई वास्तविक बनाउनका निम्ति केही कथा सुहाउँदा सामानको पनि उपयोग गरे।

उनीहरूले आफ्नो कारमा समुद्री तटमा प्रयोग हुने सामानहरू हाले जसमा चौडा किनारावाला टोप र रबरको ट्युब पनि थियो। तात्यानालाई दम भएको र ताजा हावाका निम्ति समुद्रतिर जान लागेको बताउने उनीहरूको योजना थियो।

तर उनीहरूलाई कसैले रोकेन।

त्यसो त सुरुमा उनीहरूलाई रुस छिर्नबाटै रोकियो, तर सर्गेइले नयाँ राहदानीका निम्ति आवेदन दिएको प्रमाणित गर्ने कागजातहरू पेश गरेपछि भने प्रवेश दिइयो।

राहदानी प्राप्त गर्नमा केही ढिलाइ बेहोरेपछि र बेलारुस हुँदै रुस छाड्ने एउटा असफल प्रयासपछि सर्गेइले 'टेलिग्राम'मार्फत् आफ्नै नामको एउटा फर्जी राहदानी किने।

उक्त फर्जी राहदानी उपयोग गर्दै बस चढेर बेलारुस छिर्न सफल भएका उनीहरू त्यसपछि युरोपेली सङ्घको सदस्य तथा युक्रेनको निकट सहयोगी रहँदै आएको लिथुआनिआ प्रवेश गरे।

अलग्गियो परिवार

तर लिथुआनिआका सीमा रक्षकहरूले सर्गेइका कागजातहरू नक्कली रहेको चाल पाए। उनलाई सुनुवाइपूर्व राखिने हिरासत केन्द्रमा राखियो।

सर्गेइलाई त्यहाँको अनुभव भने अप्रिय लागेन।

"मैले त्यहाँ जेजे भोगेँ, त्यो छाड्नै नसकिने किसिमको अतिथिगृहमा बसेजस्तो थियो," उनले भने, "त्यहाँ हप्तामा दुईपटक नुहाउन पाइन्थ्यो। नियमित रुपमा तन्ना फेरिनुका साथै खानाको पनि राम्रो प्रबन्ध थियो।"

लिथुआनिआको एउटा अदालतले फर्जी राहदानीको मामिलामा दोषी ठहर गर्दै सर्गेइविरुद्ध २६ दिन कैदको सजाय सुनायो। उक्त अवधि उनले सुनुवाइपूर्व हिरासतमा छँदै काटिसकेका थिए।

उक्त दम्पती अहिले शरण खोज्नेहरूलाई राखिने आश्रयगृहमा बसिरहेका छन् र उनीहरूलाई लिथुआनिआमा शरण पाउने आशा छ।

किएभस्थित पुरानो सुत्रको अनुरोधमा शरणका निम्ति दिइएको निवेदनलाई सघाउ पुग्ने गरी युक्रेनी सेनाले उनीहरूलाई एउटा कृतज्ञतापत्र पठाएको छ। बीबीसीले उक्त पत्रको प्रतिलिपि प्राप्त गरेको छ।

सर्गेइकी ८७ वर्षीया आमा अझै रुसमै बस्छिन्। उनका विचार छोराका भन्दा भिन्न छन्। पूर्ण स्तरको आक्रमण सुरु भएताका आमाछोराबीच बहस हुनुका साथै केही अवधिका निम्ति बोलचालसमेत बन्द भएको थियो। भोरोङ्कोभ दम्पतीको छोरा पनि रुसमै बस्छन् र बुबाआमाको क्रियाकलापबारे थाहा पाएपछि उनले पनि कुरा गर्न बन्द गरेका छन्।

यी पारिवारिक सम्बन्धहरूका बाबजुद उक्त दम्पती कहिल्यै रुस नफर्कनेमा अडिग छ।

"केही मानवीयता देखाइएछ भने भिन्दै कुरा," सर्गेइ भन्छन्, "अहिले त म त्यस्तो केही पनि देख्दिनँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।