सिरियामा असदको पतनपछि न्यायका लागि कसरी उठ्दै छ आवाज

    • Author, सेबास्टिअन अशर
    • Role, बीबीसीका मध्यपूर्व विश्लेषक
    • Reporting from, दमास्कस, सिरिया

सिरियाको नयाँ प्रशासनका अधिकारीहरूले भूतपूर्व राष्ट्रपति बशर अल-असदको शासनकालमा भएका अपराधका पीडितहरूलाई न्याय दिलाउने वाचा गरेका छन्।

तर गृहयुद्धमा सबै प्रकारका क्षति बेहोर्ने धेरै मानिस रहेका पृष्ठभूमिमा त्यो कार्य भने कठिन हुने देखिन्छ।

यस विषयमा सेबास्टिअन अशरले दमास्कसका केही मानिसलाई भेटेर कुराकानी गरेका छन् र उनीहरूले सिरियाको भविष्य उनीहरूले कस्तो देख्छन् भन्ने कुराका निम्ति न्याय महत्त्वपूर्ण भएको बताएका छन्।

युद्धबाट सबैभन्दा बढी क्षतिग्रस्त भएका दमास्कसका बाहिरी भेगमध्ये एक दुमाको किनारमा चुलोको छेवैमा ढाकिएको एउटा बैठक कोठामा उम्म माजेन ती १२ वर्ष सम्झन्छिन्, जति बेला उनी आफ्ना छोराहरूको अवस्थाबारे व्यग्रताका साथ सोध्ने गर्थिन्।

उनका छोराहरूलाई गृहयुद्ध सुरु भएको पहिलो वर्षमै गिरफ्तार गरिएको थियो र असदकालीन सुरक्षा प्रणालीले उनीहरूलाई विलीन बनायो।

अन्ततः उनले जेठा छोरा माजेनको मृत्यु प्रमाणपत्र प्राप्त गरिन्। तर अर्को छोरा अबु हादीको अवस्थाबारे अहिलेसम्म केही अत्तोपत्तो छैन।

उनका तेस्रा छोरा अहमदले तीन वर्ष सुरक्षा प्रणालीमा बिताए। त्यसमध्येका आठ महिना राजनीतिक बन्दीहरूका लागि कुख्यात सयदनाया कारागारको रेड ब्लकमा बित्यो।

यातना दिने हतौडाले उनका अगाडिका दाँत भाँचियो। जेलमा रहेका बेला आफ्ना दाइ माजेनको नाम बोलाइँदा एकचोटि उनले जवाफ दिएको सुनेभन्दा बाहेक दाइबारे उनले अरू केही थाहा पाएनन्।

'दैवी न्याय'को अपेक्षा

आफ्नो परिवारलाई बर्बाद गरिएकोमा उम्म माजेन कस्तो न्याय चाहन्छिन् त?

"ईश्वरबाट आएको दैवी न्याय हुनुपर्छ," उनी भन्छिन्। "मैले केही स्थानीय पुरुषहरूले हत्या गरियोस् भनेर एकजना शबीहा (सत्ताका एक सशस्त्र समर्थक) लाई ल्याएको देखेँ।"

"मैले उनीहरूलाई भनेँ - उसको हत्या नगर। बरु उनीहरूले जसरी हाम्रा युवाहरूलाई यातना दिए, त्यसै गरी तिमीहरूले पनि यातना देऊ," उनले भनिन्।

"मेरा दुई छोरा बितिसके अथवा बितिसकेका होलान्, तर अरू हजारौँ युवालाई यातना दिइएको थियो।"

"म ईश्वरसँग प्रार्थना गर्छु कि बशर अल-असद भूमिगत कारागारमा बस्न परोस् र उसलाई जोगाउने गरेको रुसले पनि अब मद्दत गर्न नसकोस्।"

असदको कार्यकालमा राजनीतिक अपराधका सिकार भएका दर्जनौँ व्यक्तिलाई न्याय दिन वकिल हुसैन इस्साले माग गरे।

त्यो वकालत गरेकामा उनले अधिकारीहरूबाट निरन्तर दबाव झेल्नुपर्‍यो। तर उनी त्यसमा अडिग रहे र सुरक्षा प्रणालीको अत्याचारमा पर्नबाट केहीलाई उनले जोगाए पनि।

तर आतङ्कवादसम्बन्धी विशेष अदालतमा मुद्दा चलाइने सूचीमा परेका मानिसहरूको हकमा उनले सामान्यतया केही गर्न सकेनन्।

गृहयुद्ध जारी रहँदा आतङ्कवादसम्बन्धी कानुन सिरियामाथि अझै रहस्यात्मक रूपमा मडारिइरह्यो।

दमास्कसको किनारमा अवस्थित पहाड फोहोर र धुवाँले भरिएको उनको कार्यालयको झ्यालबाट देखिन्छ।

चौवन्न वर्षीय यी वकिलका अनुसार असदको सत्तासँग साठगाँठ गरेका कैयौँ न्यायाधीशहरूलाई जागिरबाट निकाल्नुपर्छ र उनीहरूविरुद्ध कानुनी कारबाही गरिनुपर्छ।

तर तीबाहेक अरूले चाहिँ नयाँ न्याय प्रणालीअन्तर्गत भूमिका निर्वाह गर्न सक्ने उनी बताउँछन्।

पछिल्ला ५० वर्षमा भएका अपराधमा परेका मानिसहरूलाई निष्पक्ष न्याय दिलाउने प्रयास चुनौतीपूर्ण रहेका बेला सक्षम न्यायिक प्रणालीको स्थापना गर्नु सिरियाको नयाँ सरकारका लागि महत्त्वपूर्ण काम हुने इस्सा बताउँछन्।

"यदि यो प्रणाली राम्रो हुँदैन भने नयाँ राज्यको भविष्य धमिलो हुने छ," उनी भन्छन्।

"त्यसपछि त्यो कति नराम्रो हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन। कतिपय पक्षले हिंसा निम्त्याउन सक्ने हामीलाई डर छ।"

"यदि हामीसँग बलियो प्रणाली र राज्य छ भने ती कुराबाट डराउनुपर्ने हुँदैन।"

फेरि मुद्दा हेर्ने तयारी

सिरियाको राजधानी दमास्कसस्थित न्याय मन्त्रालय रहेको ऐतिहासिक भवन असदको पतनपश्चात् हप्तौँदेखि बन्दप्रायः थियो।

देवानी र फौजदारी अदालत पुनः खोलिने तयारीअघि लिफ्ट र करिडोरमा वकिलहरूको समूह भेला भएको छ।

पाँचौँ तलामा रहेको आफ्नो कार्यालयमा उपन्यायमन्त्री खिताम हद्दादले फेरि देवानी र फौजदारी मुद्दाहरू हेरिने बताइन्। तर अघिल्लो सत्ताका बेला भएका अपराधहरूबारे अहिले नै नहेरिने उनले बताइन्।

सरकारी कागजपत्रले थिचिएको डेस्कबीच उनले सन् २०१३ देखि न्यायाधीशको रूपमा काम गरेको बताइन्।

सन् २०२३ मा उनी सिरियाकी उपन्यायमन्त्री नियुक्त भएकी हुन्। अहिले उनी सोही पदमा बहाल छिन्।

"यसमा म एउटा व्यक्तिगत जिम्मेदारी महसुस गर्छु," उनी भन्छिन्।

"काम जारी राख्न जरुरी छ। न्यायाधीशहरू काममा फर्कनुपर्छ र अदालत सुरु हुनुपर्छ किनकि एक सिरियालीको नाताले म आफ्नो काम जारी गर्न चाहन्छु र जित जारी राख्न चाहन्छु ताकि मानिसहरू केही कुराबाट डराउन नपरोस्।"

"म कुरा मात्र गर्न चाहदिनँ। म पुनर्विश्वस्त पार्ने वास्तविक सन्देश दिन चाहन्छु।"

तर मतदानमा नगई बार असोसिएशनलाई हेर्न एउटा परिषद् गठन गर्न चाहेको अधिकारीहरूको कदमलाई लिएर कतिपय वकिलहरू चिन्तित देखिन्छन्।

यो कदमले एउटा अधिनायकवादलाई अर्को अधिनायकवादले विस्थापित गर्ने उनीहरूले बताएका छन्।

तत्कालका लागि आतङ्कवादसम्बन्धी कानुनसहित असदकालीन कानुनहरू तथा न्यायिक संरचना नै सञ्चालनमा रहने छ।

विगतको सम्झना र भविष्यको आशाको सङ्गम

केही पूर्वअधिकारीहरूविरुद्ध क्रूर व्यवहार गरिएका भिडिओहरू सार्वजनिक भएका बेला नयाँ प्रशासनका अधिकारीहरूले सिरियालीहरूलाई कानुन हातमा नलिन आग्रह गरेका छन्।

धेरै ठाउँमा छापा पारिएको छ, केही मानिस गिरफ्तार भएका छन् र लेबनन अथवा इराक भागेर गएका कतिपय स्वदेश फर्केका छन्।

लामो समयदेखि दमनको माध्यम रहेको न्याय प्रणालीले के व्यापक नैतिक र संशाधनसम्बन्धी चुनौतीबारे यकिन गर्न सक्षम होला भन्ने प्रश्न महत्त्वपूर्ण रहेको छ।

दमास्कसमाथि पहाडमा सिरियालीहरू, युवा तथा बूढाबूढीहरू अहिले पनि खुला सास लिइरहेका छन्, जहाँ जान एक दशकदेखि प्रतिबन्ध लगाइएको थियो।

असदको सत्ता ढलेपश्चात्‌ धेरै क्याफे र साना पसलहरू खुलेका छन्, उनीहरू कालो याद र न्याय दिने गरिएको वाचाबीच आफूअगाडि फैलिएको सहरतिर हेर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।