सरकारले दिने 'स्टार्टअप' कर्जा लिन १० हजारभन्दा धेरै आवेदन

फूलप्रसाद उद्यमले मन्दिरमा चढाइएका फूलबाट बनाएका धूपबत्ती कुनै एक प्रदर्शनीमा राखेको तस्बिर

तस्बिर स्रोत, Phoolprasad/Facebook

तस्बिरको क्याप्शन, स्टार्ट अप कर्जामार्फत् विगतमा उद्यमीहरूले वातावरण मैत्री उद्यमहरू थप विस्तार गरेका छन्
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

गत वर्ष 'स्टार्टअप' कर्जा लिएर आफ्नो वातावरणमैत्री उद्यम विस्तार गर्न सफल सुष्मा शर्मा युवाहरूले स्पष्ट सोच र व्यावसायिक प्रतिबद्धताका साथ सरकारले अघि सारेका नीतिबाट आफूलाई मात्र नभई समग्र समुदायलाई फाइदा पुग्ने उद्यम गर्न सक्ने बताउँछिन्।

उस्तै सफल नसना बज्राचार्यले युवाहरूले सुरुमा आफूले केही काम गरेर त्यसपछि सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा लिँदा उद्यमको विस्तार गर्न निकै सहयोग पुग्ने आफ्नो अनुभव सुनाइन्।

सरकारले युवाहरूलाई विशेष लक्ष्य गरेर व्यवसाय विकास तथा विस्तार गर्न सघाउने हेतुले ल्याएको स्टार्टअप कर्जामा यसपालि पोहोरभन्दा दुईगुना बढी मानिसले आवेदन दिएको अधिकारीहरूले बताएका छन्।

करिब पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कर्जा तीन प्रतिशत ब्याजमा पाँच वर्षमा तिर्ने सर्तसहित बिनाधितो उपलब्ध गराइने यस्तो कर्जा लिएर विगतमा सुष्मा शर्मा वा नसना बज्राचार्यजस्तै धेरै युवायुवतीले सफल उद्यम सञ्चालन गरिसकेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ।

यसपालि अधिकांशले अनलाइनमार्फत् नै आफ्ना आवेदन बुझाएको प्रतिष्ठानले बताएको छ।

१० हजारभन्दा धेरै आवेदन

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवन

तस्बिर स्रोत, IEDI

तस्बिरको क्याप्शन, यो वर्ष स्टार्टअप कर्जा लिने चाहनेहरूको सङ्ख्या उत्साहजनक रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बताएको छ

यो वर्ष स्टार्टअप कर्जाका लागि पोहोरभन्दा दुई गुना बढी आवेदन परेको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले बताएका छन्।

"हामीकहाँ ८,२०३ वटा अनलाइन निवेदन अनि २,०४१ वटा कार्यालयमै आएर दर्ता गराइएको गरी कुल १०,२४४ वटा निवेदन प्राप्त भएको छ। पोहोरको भन्दा यो दोबरले बढी हो। एकदम उत्साह देखियो," गुप्ताले बताए।

अब मूल्याङ्कन समितिले कार्याविधिअनुसार ती आवेदन अध्ययन गरेर सूची बनाउने उनले बताए।

कृषिका अतिरिक्त सूचना प्रविधि, पूर्वाधार, पर्यटन तथा परम्परागत क्षेत्र पनि छन्। ती सबै क्षेत्र गरी १९ वटा उद्यम समेटिएका छन्।

गत वर्ष प्रतिष्ठानसँग स्टार्टअप कर्जा दिन एक अर्ब रुपैयाँ उपलब्ध भएकोमा करिब ५,००० वटाआवेदनमध्ये परियोजना प्रस्तुतिसहित विभिन्न चरणमा पास भएर ऋण पाउनेको सङ्ख्या ६६१ भएको प्रतिष्ठानले बताएको छ।

"परार कर्जा प्रवाह भएको समेत गरी आजको दिनमा ७६५ जनाले यस्तो कर्जा प्राप्त गरेर काम गरिरहेका छन्," गुप्ताले बताए। पोहोर ८८ करोड रुपैयाँ अनि परार २१ करोड रुपैयाँ जतिको कर्जा प्रवाह भएको उनले बताए।

आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको यस्तो कर्जा कार्यक्रमअन्तर्गत हालसम्म कर्जा असुलीमा पनि कुनै समस्या नदेखिएको उनले बताएका छन्।

"अहिलेसम्म दुई करोड ९० लाख रुपैयाँ फिर्ता आइसकेको छ भने एउटाले पनि नतिरेको भन्ने छैन," गुप्ताले भने। यस्तो कर्जा नतिरेमा सरकारी सम्पत्ति असुलउपर गर्ने कानुन नै आकर्षित हुने कडा प्रावधानहरू रहेको उनले बताए।

कृषिमा धेरैको रुचि

अघिल्लो वर्ष परेका आवेदनहरूमध्ये झन्डै आधाजसो कृषि उद्यमसँग सम्बन्धित रहेको गुप्ताले बताए।

"यस पटक पनि कृषिमै धेरै परेको हुनुपर्छ। त्यसको विस्तृत विवरण हामी केही सातामा दिन सक्छौँ," उनले भने।

स्टार्टअप कर्जाका निम्ति एउटा प्रमुख क्षेत्रका रूपमा कृषि, वन तथा उत्पादनमूलक क्षेत्र भनेर उल्लेख छ। त्यसमा कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित वा वन पैदावारमा आधारित वा खाद्यप्रविधि तथा पोषणमा आधारित उद्यम पर्छन्।

"स्टार्टअप कर्जा लिएर उद्यम गरेकाहरूलाई हामीले आवश्यक तालिम अनि अरू सहजीकरण पनि गर्छौँ। कैयौँ उद्यमले धेरैलाई रोजगारी दिएको पाइएको छ।"

सफल उदाहरण

जीन्सको कपडा र सिउन लागेकी एक महिलाको हात

तस्बिर स्रोत, re.kriti/Facebook

तस्बिरको क्याप्शन, रिकृति उद्यमले खेर जाने कपडाको पुन: प्रयोग गर्छ

माथि उल्लिखित सुष्मा शर्मा र नसना बज्राचार्यले सञ्चालन गरिरहेका उद्यमलाई गुप्ताले सफल उदाहरणका रूपमा उल्लेख गरे। शर्माको फूलप्रसाद नामक उद्यमले मन्दिरहरूमा चढाइएका फूलहरूको सङ्कलन गरेर त्यसलाई पखालेर, सुकाएर अनि पिसेर विभिन्न किसिमका धूपबत्ती बनाएर बेच्छ।

उनले गत वर्ष आफ्नो उद्यममा थप लगानीका निम्ति १८ लाख रुपैयाँको स्टार्ट अपकर्जा लिएको बताइन्।

"यस्तो सहुलियतपूर्ण कर्जाले वास्तवमै मलाई सहयोग पुगेको छ। हिजोको दिनमा मैले फूल सङ्कलन गर्न अरूको मद्दत लिनुपर्थ्यो भने अब आफ्नै गाडीले सङ्कलन गर्न सकेकी छु," उनले भनिन्।

श्रद्धापूर्वक देवीदेवतालाई चढाएको फूल एकैछिनपछि फोहोरमा परिणत हुने गरेकोमा उनको उद्यमले त्यसको सदुपयोग गर्ने गरेको उनी बताउँछिन्।

बज्राचार्यको रिकृति नामक उद्यमले चाहिँ पुराना जीन्स जम्मा गरेर तिनलाई काटेर विभिन्न डिजाइनका ब्यागहरू बनाउँछ।

"गार्मेन्ट फ्याक्ट्रीमा खेर गएका हुन् वा दराजमा थन्किएका कपडा तिनलाई हामी पुन: प्रयोग गर्छौँ," २६ वर्षीया बज्राचार्यले बताइन्।

उनले पनि गत वर्ष १० लाख रूपैयाँ स्टार्ट अप कर्जा लिएर आफ्नो उद्यममा लगाइन्।

"कपडाले हुने प्रदूषणलाई पुन: प्रयोगमार्फत् कम गर्ने हाम्रो उद्देश्य हो। अनि यसबाट बनाइएका सामानहरू विदेशी वा पर्यटकलाई मात्र होइन, सर्वसाधारण मानिसका निम्ति पनि उपलब्ध गराउन हामी चाहन्छौँ," बज्राचार्यले भनिन्।

दुवै उद्यममा दर्जनौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेका छन्।

के हो स्टार्टअप उद्यम

सरकारी परिभाषाअनुसार स्टार्टअप उद्यम भन्नाले "वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवं सिर्जनशील सोचको प्रयोग गरी व्यवसायका रूपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेका उद्यम" बुझिन्छ। स्टार्टअप उद्यमले "सूचना प्रविधिको उपयोग एवं सिर्जनशील सोचको प्रयोग भएको उद्यम वा व्यवसायलाई समेत" जनाउँछ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१ ले त्यस्ता उद्यमका विशेषताहरूबारे पनि उल्लेख गरेको छ।

त्यसअनुसार त्यस्ता उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्ने अनि प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्ने उल्लेख छ।

त्यस्तै स्थापना भएपछिको कुनै आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको तथा विगतको उद्यम व्यवसायसँग नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको हुनुपर्ने पनि उल्लेख छ।

साथै नवीन एवं सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको विषयलाई पनि नीतिले विशेषताको रूपमा राखेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।