स्वदेशमा उत्पादन नगण्य, तर भटमासको तेल नेपालबाट निर्यात हुने मुख्य वस्तु

तस्बिर स्रोत, Getty Images
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
अघिल्लो आर्थिक वर्ष (२०८०/८१) नेपालले ९० करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको थियो। तर गत आर्थिक वर्ष (२०८१/८२) मा त्यो १०० गुनाभन्दा धेरै बढेर १ खर्ब रुपैयाँ नाघ्यो। पूरै निर्यात भारतमै भएको देखिन्छ।
नेपाल आयात हुने वस्तुको सूचीमा भटमासको तेल पेट्रोलिअम पदार्थपछि दोस्रो स्थानमा छ।
त्यो एक वर्षमा त्यस्तो के चमत्कार भएको थियो? अनि स्वदेशी उत्पादन नगण्य रहेको भटमासको तेल नेपालको 'नम्बर एक' निर्यात वस्तु कसरी बन्न पुग्यो त?
अचम्मलाग्दो आँकडा
असार मसान्तमा सकिएको गत आर्थिक वर्षभरिमा नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँको निर्यात गर्यो।
केही समयअघि मात्रै प्रधानमन्त्री केपी ओलीले निर्यात ऐतिहासिक उच्चबिन्दुमा पुगेको भन्दै ठूलो सन्तोष प्रकट गरे।
"हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ," प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका थिए।
सरसर्ती हेर्दा निर्यातमा उल्लेखनीय वृद्धि भएकै देखिन्छ। तर निर्यातको तथ्याङ्क अलिकति खोतलेर हेर्ने हो भने तस्बिर अचम्मलाग्दो देखिन्छ।
आयात भएको तेलको न्यून मात्रा मात्रै नेपालमा खपत हुन्छ
रु १.०६ खर्बनेपालबाट हुने भटमासको प्रशोधित तेल निर्यात
३८.५%कुल निर्यातमा भटमासको तेलको योगदान
रु १.०८ खर्बभटमासको कच्चा तेल आयात
रु २.७७ खर्बनेपालले गर्ने कुल निर्यात
रु १८.४ खर्बनेपालले गर्ने कुल आयात
रु १५.२७ खर्बनेपालको व्यापार घाटा
अघिल्लो वर्ष नेपालले निर्यात गर्ने मुख्य २० वटा वस्तुको सूचीमै नभएको भटमासको तेल गत वर्ष शीर्ष स्थानमा उक्लियो। कसरी त?
"यसको मूल कारण भारत सरकारको नीतिमा निर्भर रहेको देखिन्छ। उसले त्यहाँ कच्चा भटमास तेलमा भन्सार लगाएकोभन्दा यताबाट लैजाँदा सस्तो पर्ने हुँदा यो बढेको हो," नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात प्रवर्धन समितिका अध्यक्ष नरेशलाल श्रेष्ठले बीबीसीलाई बताए।
विगतमा पाम तेलको निर्यात परिमाण बढ्दा पनि कुल निर्यात ह्वात्तै बढेको दृष्टान्त दिँदै उनले नेपालको निर्यात छिमेकी देशको नीतिअनुसार तलमाथि भइरहने बताए।
नेपाल भारत उद्योग वाणिज्य सङ्घका महासचिव राजन शर्मा पनि भटमासको तेलको निर्यात ह्वात्त बढ्नुमा भारतकै नीति कारक रहेको ठान्छन्।
"भारतमा यसको कच्चा पदार्थमा रहेका केही नियन्त्रणले गर्दा यहाँ ल्याएर त्यसलाई अर्ध प्रशोधित गरेर भारतमा निर्यात गर्न दिएका कारण बढेको हो," शर्माले भने।
नेपालले होस् वा भारतले भटमास तेलको कच्चा पदार्थ मूलत: तेस्रो देशबाटै आयात गर्ने गरेका छन्। ओईसी डट वर्ल्ड नामक वेबसाइटका अनुसार नेपालले सन् २०२३ विशेष गरी युक्रेन, भारत र चीनबाट भटमासको कच्चा तेल आयात गरेको थियो।
दिगो नहुने चिन्ता
जानकारहरू यो वृद्धिलाई दिगो निर्यात मान्न नसकिने बताउँछन्। "यो त भारतको दयामायामा निर्भर छ। उनीहरूले चुप लागेसम्म चल्छ नत्र चल्दैन," शर्माले भने।
"सायद यति दिँदाखेरि नेपालको भारतसँगको व्यापार घाटा अलिकति कम भएको देखिने भएर पनि उनीहरूले अनुमति दिइरहेको हुन सक्छ।"
गत वर्ष नेपालले भारतमा २ खर्ब २४ अर्ब रुपैयाँको निर्यात गरेको थियो भने १० खर्ब ७१ अर्ब रुपैयाँको आयात त्यहाँबाट गरेको थियो – घाटा झन्डै साढे ८ खर्ब रुपैयाँको भएको थियो।
भारतको नीतिमा आधारित भएर नेपालको निर्यातमा उतारचढाव भएका विगतका उदाहरणबाट पाठ सिक्नु पर्ने जानकारहरूको सुझाव छ।
"कहिले पाम तेल, कहिले प्लाइवुड, डन्डी बढ्ने र घट्ने भइरहेका हामीले देख्यौँ। भारतसँग कूटनीतिक सम्बन्ध राम्रो भएका बेला अनि त्यहाँका स्वदेशी उत्पादकहरूले गुनासो नगरेसम्म यताबाट जाने गर्छ," श्रेष्ठले भने।
उनीहरूले औँल्याएको जस्तो दुष्प्रभाव भटमासको तेलको निर्यातमा पर्ने खतरा आइसकेको कतिपय ठान्छन्।
जेठ २८ गते भारत सरकारले कच्चा खाने तेलको आयातमा उसले लगाउँदै आएको आधारभूत भन्सार दर आधाले घटाइदिसकेको छ।
सूर्यमुखी तेल, भटमास तेल तथा पाम तेलमा लगाइने भन्सार दरलाई २०% बाट १०% मा घटाइएको उल्लेख गर्दै भारत सरकारले त्यसो गर्नु पछाडिको दुई कारण समेत खुलाएको थियो।
सबै कच्चा पदार्थ यहीँ उपलब्ध हुने वस्तु निर्यात गर्न सकेको भए शतप्रतिशत विदेशी मुद्रा आर्जन हुने थियो। प्रशोधित वस्तु निर्यात गर्दा चाहिँ २०-३० प्रतिशत मात्र देशलाई आर्जन हुन्छ
एउटा चाहिँ अन्तर्राष्ट्रिय बजारमा यसको भाउ बढेकाले स्वदेशी उपभोक्तालाई फाइदा दिलाउनु रहेको उसले उल्लेख गरेको थियो। दोस्रो कारण चाहिँ नेपालसँग सम्बन्धित देखिन्छ।
संशोधित भन्सार दर संरचनाले प्रशोधित तेलको आयातलाई निरुत्साहित गर्ने तथा भारतभित्रै प्रशोधनका क्षेत्रमा लागेकाहरूलाई प्रोत्साहित गर्ने उसले उल्लेख गरेको थियो।
त्यसैले गत वर्ष बढेको भटमासको तेलको निर्यात यो वर्ष पनि बढिरहन्छ भन्न नसकिने जानकारहरूले औँल्याए।
केही समय अगाडि बीबीसीसँग कुरा गर्ने क्रममा नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका अध्यक्ष विकास दुगडले भारतीय रिफाइनरीहरूको तुलनामा नेपालमा लागत शुल्क अधिक हुने गरेकाले भारतले कच्चा तेलमा आयात शुल्क घटाइदिनेबित्तिकै प्रतिस्पर्धा बढ्ने र परिणामस्वरूप नेपालबाट हुने निर्यात घट्ने बताएका थिए।
मूल्य अभिवृद्धि कति
सामान्यतया कुनै पनि वस्तु नेपालबाट भारत निर्यात गर्न नेपालले ती वस्तुमा कम्तीमा ३० प्रतिशतको मूल्य अभिवृद्धि गरेको हुनुपर्ने नियम रहेको नेपाल भारत उद्योग वाणिज्य सङ्घका महासचिव राजन शर्माले बताए।
तेस्रो देशबाट ल्याइएको कच्चा तेललाई प्रशोधन गर्ने रिफाइनरीहरूमा यहाँ अर्बौ रुपैयाँको लगानी भएको निर्यात प्रvर्धन समितिका अध्यक्ष नरेशलाल श्रेष्ठ बताउँछन्।
"सबै कच्चा पदार्थ यहीँ उपलब्ध हुने वस्तु निर्यात गर्न सकेको भए शतप्रतिशत विदेशी मुद्रा आर्जन हुने थियो। प्रशोधित वस्तु निर्यात गर्दा चाहिँ सयमा २०-३० प्रतिशत मात्र देशलाई आर्जन हुन्छ। त्यसैले भन्नलाई गत वर्ष झन्डै ३ खर्ब रुपैयाँको निर्यात गरियो भनिए पनि खास निर्यात १.५ खर्ब रुपैयाँ मूल्यजतिको मात्रै भए जस्तो लाग्छ," श्रेष्ठले बताए।
तर उत्पादकहरू भने आफूहरूले कच्चा पदार्थ ल्याएर त्यसमा 'मूल्य अभिवृद्धि' गरेरमात्र निर्यात गरेको बताउँछन्। उनीहरूले सरकारलाई राजस्व तिर्न, भारतीय रुपैयाँ आर्जन गर्न तथा रोजगारी सिर्जना गर्न आफूहरूले योगदान गरेको बताउँछन्।
भटमासको तेलको हकमा देशभित्रै भटमास खेतीको सम्भावना खोज् पर्ने जानकारहरूको सुझाव छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








