नेपालमा धानको उत्पादन बढ्दा पनि धानचामलको आयात वृद्धि, भारतमा देखिएका परिवर्तन हुन सक्छन् कारण

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
भारत सरकारले चामल निर्यातमा हटाएको कर तथा त्यहाँको नियमित धान भण्डारको नयाँ बाली विस्थापित गर्ने बेला समेत एकसाथ पर्नुले नेपालमा चालु आर्थिक वर्षमा धान चामलको आयात बढेको पाइएको अधिकारीहरूले बताएका छन्।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क केलाउँदा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै दोबरले धान चामल आयात भएको देखिएको अधिकारीहरूले बताएका छन्।
यद्यपि त्यस्तो वृद्धिलाई अस्वाभाविक मान्नुपर्ने अवस्था भने नरहेको उनीहरू बताउँछन्।
सन् २०२४ को अक्टोबरमा भारतको सङ्घीय सरकारले त्यसरी कर हटाउँदा सस्तिएको भाउमा नेपाली व्यवसायीहरूले चामल आयात गर्नु एउटा कारण रहेको अधिकारीहरू बताउँछन्।
अर्कोतर्फ भारतमा आपत्कालीन अवस्थाका लागि नियमित रूपमा दाल चामल भण्डारण गर्ने र हरेक तीन वर्षमा त्यसलाई फेर्ने नीतिगत चक्रको अन्तिम वर्ष समेत यसैबेला परेका कारण पनि नेपालमा भारतबाट आयात बढेको हुन सक्ने अधिकारीहरू ठान्छन्।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल भन्छन्: "त्यस्तो बेला भारतमा चामलको मूल्य सस्तिने हुँदा व्यापारीहरूले पछि विक्री गर्ने गरी माग नभईकन पनि भारतबाट आयात बढाउने गर्छन्।"
आन्तरिक उत्पादन बढ्दो

तस्बिर स्रोत, Reuters
नेपाललाई वार्षिक झन्डै ७२ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा सरकारले यस आर्थिक वर्षमा करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण सार्वजनिक गरेको थियो।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशतभन्दा धेरै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
भन्सार विभागका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब रुपैयाँ बराबरको चामल र ८ अर्ब रुपैयाँ बराबरको धान आयात भएको थियो।
"यो वर्ष अहिलेसम्म [मध्य वैशाखसम्म] १८ अर्ब रुपैयाँको चामल आएको छ, बाँकी दुई-अढाई महिनामा के कस्तो आयात हुन्छ भन्नेले समग्रमा कति थपघट भयो भन्ने देखाउँछ," विभागका प्रवक्ता नारायणप्रसाद रेग्मी भन्छन्।
"गत आर्थिक वर्ष वर्ष २० अर्ब रुपैयाँको धान आयात भएकोमा अहिलेसम्म १६ अर्ब जतिको आयात भइसकेको देखिन्छ। अवस्था अनुकूल हुँदा ठूला मिलहरूले ठूलो मात्रामा धान ल्याएर तुलनात्मक व्यापारिक लाभ लिने गरेका पनि पाइन्छन्।"
भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता हो। चामलको विश्वव्यापी व्यापारमा ४० प्रतिशत हिस्सा भारतको छ।
भारतबाहेक नेपालले चीन, भियतनाम, अमेरिका, दक्षिण कोरिया, थाईल्यान्डसहितका मुलुकबाट चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
नेपाललाई कति धान अपुग छ?
परिमाणका हिसाबले यस आर्थिक वर्ष सर्वाधिक धान उत्पादन भएको साल रहेको सरकारले जनाएको छ।
"तर हामीलाई आवश्यक पर्ने १०/११ लाख मेट्रिक टन बाहिरबाटै ल्याउनुपर्ने पुरानै अवस्था हो। यद्यपि विगतका केही वर्षमा आयात घट्दै गरेको देखिएकामा यस वर्षको नौ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग दोबर भएको देखिएको हो," महानिर्देशक सञ्जेल भन्छन्।
"हाम्रो खाने चक्र चामलमा मात्र धेरै निर्भर देखियो। चामलसँगै गहुँ, मकै, कोदो, फापरजस्ता खानेकुराको सन्तुलन मिलाउने हो खाद्य सुरक्षाका हिसाबले हामी जटिल अवस्थामा छैनौँ।"
तुलनात्मक रूपमा नेपालमा कम उत्पादन हुने मसिना र बास्नादार चामलप्रति मोह बढ्दै गएको देखिनुले पनि नेपालबाट आयात बढ्दै गएको पाइएको अधिकारीहरू बताउँछन्।

"हालसम्म करिब २९ अर्ब रुपैयाँको आयात देखिएकोमा त्यो ३५ अर्ब रुपैयाँसम्म पुग्न सक्छ। तर हामीले विगतमा झेलेजस्तो उत्कर्ष अवस्था आउने सम्भावना अब छैन," पछिल्लो दशकका केही वर्ष ५० अर्ब रुपैयाँभन्दा बढीको धान चामल आयात भएको औँल्याउँदै सञ्जेल भन्छन्।
"रोपाई हुने क्षेत्रफल घट्दो क्रममा रहँदा पनि बर्सेनि उत्पादन बढ्दो क्रममा छ। प्रति हेक्टर ४.२ मेट्रिक टन उत्पादकत्व छ जुन अघिल्लो वर्ष ३.८ मेट्रिक टन थियो।"
तर नेपालीको खाने बानी र स्वादमा परिवर्तन खोज्दा आयात केही बढेको देखिएको अधिकारीहरू बताउँछन्।
भन्सार विभागका प्रवक्ता नारायण प्रसाद रेग्मी थप्छन्: "जनसङ्ख्या उल्लेख्य वृद्धि नदेखिँदा समेत आयातको परिमाण बढ्दो देखिनु रोचक छ।"
सधैँको चिन्ता

जलवायुजन्य परिवर्तनको कारण २०७८ सालको कात्तिकको पहिलो साता अनपेक्षित रूपमा ठूलो वर्षा हुँदा लाखौँ हेक्टर क्षेत्रमा लगाइएको धानबाली नष्ट भएको थियो।
त्यसपछि सरकारले धान काट्ने समयअघि सतर्क बनाउने गरी सूचना प्रणालीको प्रयोग बढाएको अधिकारीहरू बताउँछन्।
तर अन्तर्राष्ट्रिय परिवेश अस्थिर देखा परिरहेका बेला आयात नै गर्नु पर्ने अवस्थामा पनि सधैँ सहज नहुन सक्ने बताइन्छ।
नेपालमा धान उत्पादन हुने कुल क्षेत्रफलमध्ये एक तिहाइमा मात्र वर्षभर सिँचाइ हुने व्यवस्था छ भने बाँकीमा आकासे पानीको भर पर्नु पर्ने देखिन्छ।
अहिलेको अभावलाई पूर्ति गर्नका लागि चैते धानको प्रवर्धन गर्न सक्दा 'पाँचदेखि छ लाख मेक्ट्रिक टन' उत्पादन बढाउने सकिने अधिकारीहरू बताउँछन्।
कृषि मन्त्रालयका अनुसार नेपालमा झन्डै १४ लाख हेक्टर जग्गा धानखेतीका लागि योग्य छ। थप कम्तीमा एक लाख हेक्टर खेत सिँचाइ प्रणालीमा जोडिने क्रममा रहेको र त्यसलाई थप विस्तार गरिरहनुपर्ने अवस्था रहेको बताइन्छ।
"नत्र जलवायुजन्य अवस्था र अन्य विपद्ले गर्दा सधैँ अन्योलको अवस्था रहिरहन सक्छ," कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल थप्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








