चीनद्वारा अमेरिकी शुल्कविरुद्ध जबाफी घोषणा

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा लगाएको थप शुल्कविरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको छ।
अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेका छन्।
चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा चीनले १० प्रतिशत शुल्क लगाउने छ।
चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ १० प्रतिशत शुल्क लगाउने डोनल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि चीनले जबाफी कदम चालेको हो।
'जस्तालाई तस्तै'
जबाफी शुल्क घोषणा गरिएको विषयको एउटा वक्तव्यमा चीनले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापार नीतिहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।
"अमेरिकाले एकपक्षीय रूपमा लादेका शुल्कहरूबाट विश्व व्यापार सङ्गठन डब्ल्यूटीओका नीतिहरू गम्भीर रूपमा उल्लङ्घन भएका छन्। उसका समस्याहरूको सम्बोधनका लागि मात्रै त्यो असहयोगी नभई तिनले चीन र अमेरिकाबीच हुने सहज आर्थिक र व्यापार सहकार्यलाई पनि बेवास्ता गरेका छन्," चीनले भनेको छ।
शुल्कसम्बन्धी चीनको जबाफी घोषणाले बेइजिङ्ग 'जस्तालाई तस्तै' गर्ने पक्षमा रहेको देखाउँछ र त्यो कदमले धेरै पर्यवेक्षकहरूलाई आश्चर्यचकित बनाएको छ।
यद्यपि चीनले आयात गरिने सबै अमेरिकी सामानमा शुल्क लगाएको नभई निश्चित उत्पादनहरूमा मात्र लगाएको छ।
बेइजिङ्गस्थित बीबीसीकी चीन संवाददाता लउरा बिकरका अनुसार चीनको जबाफी कदम डोनल्ड ट्रम्पले अमेरिका आयात हुने चिनियाँ सामानहरूमाथि लगाएको शुल्कको स्तरभन्दा सीमित मात्रामा देखिएको छ।
यस पटक बेडजिङ्गले ऊर्जादेखि निश्चित खालका कम्पनीहरूसम्म अमेरिकी अर्थतन्त्रका विभिन्न पक्षलाई छुन खोजेको देखिन्छ।
अमेरिकाबाट आयात हुने सामानहरूमा चीनले घोषणा गरेका शुल्कहरू आउँदो सोमवारदेखि कार्यान्वयनमा आउने छ।
यद्यपि अमेरिकामाथि पर्ने असर चाहिँ सीमित मात्रामा हुन सक्छ।

तस्बिर स्रोत, Getty Images
मोलमोलाइको बाटो
अमेरिका विश्वभरि तरलीकृत प्राकृतिक ग्यास धेरै निर्यात गर्ने देश हो जबकि चीनले त्यसको करिब २.३ प्रतिशत हिस्सा मात्रै ओगट्छ।
चिनियाँ कारका ठूला आयातकर्ताहरू युरोप र जापानका रहेका छन्।
चीनका पछिल्ला कदमहरू बेइजिङ्गको तर्फबाट शुरूवाती जबाफ हुन सक्छ जुन भावी वार्ताहरूमा मोलमोलाइको बाटो हुन सक्छ।
तर पनि व्यापार युद्धमा यो जस्ताको तस्तै गर्ने शुरूवात पनि हुन सक्ने जोखिम छ।
चीन सुन्ने पक्षमा रहेको कुराका सङ्केतहरू पाइएका छन्। कैयौँ वक्तव्यमा बेइजिङ्गले वाशिङ्गटनलाई वार्तामा आउन र "मध्यमार्गमा" चीनलाई भेट्न आह्वान गरिसकेको छ।
यसको अर्थ चीन वार्ताका लागि खुला छ भन्ने हो। ह्वाइट हाउसका अनुसार दुई देशका नेताहरूले यसै साताको अन्त्यतिर संवाद गर्ने तय भएको छ।
तर मेक्सिको र क्यानडासँग सम्झौता गर्नुभन्दा चीनसँग गर्नु अमेरिकाका लागि कठिन हुने छ। ट्रम्पले के माग गर्ने छन् त्यसमा सम्झौता निर्भर गर्ने छ।
बेइजिङ्ग वाशिङ्गटनको प्रमुख आर्थिक प्रतिद्वन्द्वी हो र चीनसँग महत्त्वपूर्ण आपूर्ति प्रणाली तोड्नु ट्रम्प प्रशासनको एउटा लक्ष्य रहेको छ।
यदि डोनल्ड ट्रम्पले धेरै नै मागहरू गरे भने चिनियाँ राष्ट्रपति सी जिन्पिङ वार्ताबाट बाहिरिनुपर्ने सोच्न सक्छन्।
तत्कालका लागि चीनले मोलमोलाइ गर्ने सामर्थ्यको विकास गरिरहेको छ। तर बेडजिङ्ग कुन हदसम्म धकेलिन सक्छ भन्ने कुराको हद हुने छ।
ट्रम्पले अवैध औषधिहरू तथा आप्रवासीहरूको प्रवाह रोक्नका निम्ति शुल्कहरू लगाउन आवश्यक रहेको तर्क गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








