उडिरहेको कार्गो विमानभित्र खोरबाट एउटा घोडा बाहिर निस्किएपछि...

    • Author, ब्र्यान्डन ड्रेनन
    • Role, बीबीसी न्यूज, वाशिङ्टन

संयुक्त राज्य अमेरिकाबाट बेल्जियमका लागि उडेको एउटा कार्गो विमानभित्र एउटा घोडा खोरबाट बाहिर निस्किएपछि झन्डै ९० मिनेटको उडान गरिसकेको उक्त विमान फर्किएको छ।

न्यूयोर्कबाट उडेको उक्त बोइङ ७४७ जेट झन्डै ९,००० मिटरको उचाइमा हुँदा घोडा खोरबाट उम्किएको सूचना विमानचालकले दिएका थिए।

"विमानभित्र एउटा जिउँदो घोडा छ। त्यो घोडा कसरी हो बाहिर निस्किएको छ," विमानचालकले एअर ट्राफिक कन्ट्रोललाई सन्देशमा भनेका थिए।

"हामी सुरक्षित रूपमा त्यो घोडालाई समात्न सक्दैनौँ।"

यो घटना गत साता बिहीवारको हो।

१२ टन इन्धन फालियो

न्यूयोर्कस्थित जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एअर एट्ल्यान्टा आइसल्यान्डिकको उडान ४५९२ को नेतृत्व गरिरहेका विमानचालकले विमान सुरक्षित भए पनि खोरबाट घोडा भाग्नु चिन्ताको कारण भएको बताएका थिए।

उनले विमान जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलतिर फर्काउन लागेको जानकारी दिँदै त्यहाँ एक पशुचिकित्सक बोलाइदिन अनुरोध गरेका थिए।

फेरि न्यूयोर्कतिर फर्किँदै गर्दा विमानचालकले म्यासचूसिट्सनजिकै "न्यान्टकिटको पूर्वतिर" विमानबाट १२ टन इन्धन फाल्नुपर्ने बताएका थिए। न्यान्टकिट धनाढ्यहरूको बस्ती भएको क्षेत्र हो।

विमानको तौलका कारण त्यसरी इन्धन फाल्नुपरेको हो।

फेरि उड्यो विमान

विमानभित्र घोडा कसरी खोरबाट बाहिर निस्कियो भन्ने अझै खुलिसकेको छैन। तर विमानस्थलमा फेरि आइपुग्दा पनि उक्त घोडा फुक्कै थियो।

न्यूयोर्कमा अवतरण गरेपछि एअर ट्राफिक कन्ट्रोलरले विमानचालकलाई केही सहायता चाहिएको छ कि भनेर सोधेका थिए।

"धावनमार्गमा पर्दैन, र्‍याम्पमा पर्छ," विमानचालकले भने, "हामीसँग समस्यामा परेको एउटा घोडा छ।"

पछि उक्त विमान सोही दिन फेरि बेल्जियमका लागि उडेको र शुक्रवार बिहान लिएज विमानस्थलमा ओर्लिएको FlightRadar24 ले जनाएको छ।

बीबीसीले प्रतिक्रियाका लागि गरेको अनुरोधको उत्तर एअर एट्ल्यान्टाबाट आइसकेको छैन।

कसरी गरिन्छ जीवित पशुलाई कार्गो

उक्त घोडा किन विमानमा राखेर बेल्जियम लगिएको थियो भन्ने कारण पनि स्पष्ट भइसकेको छैन।

तर विज्ञहरूका अनुसार घोडादौडमा प्रयोग गरिने घोडाहरूलाई त्यसरी लगिन्छ।

जीवित पशुहरू कार्गो गर्न विभिन्न आकारका कन्टेनर उपलब्ध हुने जानकारी दिँदै एक स्रोतले सीएनएनसँग त्यस्ता कन्टेनर "फर्स्ट क्लास, बिज्निस क्लास र इकोनमी क्लास" गरी तीन किसिमका हुने बताएका छन्।

कार्गो गर्दा प्रयोग गरिएको खोरबाट जनावर विमानभित्र निस्किएका घटनाहरू यसअघि पनि भएका थिए।

गत अगस्ट महिनामा दुबईबाट बग्दादका लागि उडेको विमानभित्र एउटा भालु त्यसरी नै खोरबाट बाहिर निस्किएको विवरण समाचारसंस्था एपीले प्रकाशित गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।