तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तनहुँ र चितवनमा सत्ता गठबन्धनलाई पछि पार्दै रास्वपा, बारामा चर्को प्रतिस्पर्धा
प्रतिनिधिसभाका रिक्त सदस्य चयन गर्न तीन जिल्लाका तीन क्षेत्रमा अहिले मतगणना जारी छ। तनहुँ-१ मा आइतवार रातिदेखि नै गणना सुरु भएको थियो भने चितवन-२ र बारा-२ बाट मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ।
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम गरेका छन्।
सोमवार राति ९:०० बजेसम्मको विवरणअनुसार झन्डै २,३००० मतसहित वाग्लेले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो अग्रता कायम राखेका छन्।
उपनिर्वाचन भएको चितवन-२ मा २ बजेपछि मतगणना सुरु भएको चितवनस्थित बीबीसी संवाददाता ईश्वर जोशीले जानकारी दिएका छन्। त्यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्र स्थानमा देखिएका छन्।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेपछि विवाद भएको थियो। सोमवार बसेको सर्वदलीय बैठकले आचारसंहिताबारेको उजुरी निर्वाचन आयोगमा पठाउने सहमति गरेको छ।
बारा-२ को करैया गाउँपालिका र सुवर्ण गाउँपालिकाको वडा नं. १ बाट सङ्कलित मतपेटिकाबाट दिउँसो १ बजेदेखि गणना सुरु भएको जानकारी वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोले दिएकी छन्।
तनहुँ-१ मा भने आइतवार राति नै मतगणना सुरु भएको थियो।
उपनिर्वाचन भएका तीन वटै क्षेत्रको मतपरिणाम तीन दिनभित्र आइसक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताउँदै आएका छन्।
तनहुँ-१: स्वर्णिम वाग्लेको अग्रता कायम
आइतवार मतगणना सुरु भएदेखि नै तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अरू उम्मेदवारभन्दा निकै अगाडि देखिएका छन्।
- स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी): २२,४४२
- गोविन्द भट्टराई (नेपाली कांग्रेस): १२,९७४
- सर्वेन्द्र खनाल (नेकपा एमाले): ६,५६७
तनहुँका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यो क्षेत्रमा गत मंसिरमा ५४.०३ प्रतिशत मत खसेको थियो।
उपनिर्वाचनमा झन्डै ५३ प्रतिशत मात्र मत खसेको बताइएको छ।
सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समितिका दुईवटा हलको दुई ठाउँमा मध्यरातदेखि गणना सुरु गरिएको जानकारी जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको छ।
गत मङ्सिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।
बारा-२ः कहिले उपेन्द्र यादव अगाडि कहिले शिवचन्द्र कुशवाह
वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोका अनुसार बारा-२ मा भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टी-नेपालका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच तीव्र प्रतिस्पर्धा भएको देखिएको छ।
प्रारम्भिक मतगणनामा कुशवाहले यादवलाई झिनो अन्तरले पछाडि पारेको भएको पनि अहिले पुन: यादव अगाडि रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बीबीसीलाई उपलब्ध गराएको विवरणले देखाउँछ।
उनीहरूलाई नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।
- उपेन्द्र यादव (जनता समाजवादी पार्टी-नेपाल): ३,२१४
- शिवचन्द्र कुशवाह (जनमत पार्टी): २,८१३
- पुरुषोत्तम पौडेल (नेकपा एमाले): १,३३५
- रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): ६४१
निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा ६५.०२ प्रतिशत मतदान भएको थियो।
उक्त निर्वाचन क्षेत्रमा गत मङ्सिरमा ६३.५६ प्रतिशत मत खसेको थियो।
उपाध्यायका अनुसार यहाँ ६८,००० भन्दा बढी मत खसेको छ।
उक्त निर्वाचन क्षेत्रका १३७ मतदानकेन्द्रबाट सङ्कलित मतपेटिकालाई उच्च सुरक्षा दिएर राखिएको छ।
जनता समाजवादी पार्टी-नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त हुन गएको थियो। उपेन्द्र यादव सोही पार्टीका केन्द्रीय अध्यक्ष हुन्।
त्यहाँ १० दलका र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
चितवन-२ः रवि लामिछानेले लिए अग्रता
चितवनस्थित बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार चितवनका इच्छाकामना १ र ३ बाट सङ्कलित पेटिकाको मत गनिसकिएको छ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्र स्थानमा देखिएका छन् भने उनलाई क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।
- रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): १२,५४०
- रामप्रसाद न्यौपाने (नेकपा एमाले): ३,५७०
- जीत नारायण श्रेष्ठ (नेपाली कांग्रेस): ३,५५५
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ।
नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो।
पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्।
मङ्सिरमा भएको निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका थिए।