तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भालुबाङ दुर्घटनामा सहयात्री मामा गुमाएका घाइते भाञ्जाले सुनाएको पीडा
शुक्रवार राति दाङको भालुबाङस्थित राप्ती पुलबाट एक बस खस्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै १४ जनाभन्दा धेरै घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये उपचारका क्रममा बुटवल आइपुगेका रौतहटका २९ वर्षीय सञ्जय कार्कीलाई बुटवल सीटी अस्पतालमा पुगेर हाम्रा संवाददाता माधव नेपालले भेटेका छन्।
कार्कीले उक्त घटनाको पीडा यसरी सुनाए।
म र मेरो मामा कोहलपुर नजिकैबाट उक्त बसमा चढेका थियौँ।
म पनि बस चलाउने काम गर्छु। त्यसैले मलाई बस निकै तीव्र गतिमा चलाइएको अनुभव भइरहेको थियो।
मलाई त्यो गति देखेर अलिअलि डर पनि लागेको थियो। तर पनि यो बाटो जानेकै चालकले बस कुदाएका होलान् भन्ने सोचेँ।
लमहीबाट केही अगाडि आएपछि खाना खानका लागि बस रोकियो। सुरुमा म र मामा सँगै बसेका थियौँ तर त्यहाँबाट केही सीट खाली भएपछि मामालाई छाडेर म पछाडिको सीटमा गएर बसेँ।
त्यहाँबाट केहीबेर अगाडि लागेपछि एक्कासि मलाई बस ढल्किएझैँ लाग्यो। मलाई ड्राइभरले बसलाई कतै बाटोछेउको नालीमा हाले कि भन्ने लाग्यो।
म सम्हालिन के खोज्दैथिएँ बस त जोडले बजारियो। केही सेकेन्डमै धेरै कुरा भयो।
त्यसपछि केही बेर मलाई होस भएन।
एक छिनमा मेरो होस खुल्यौ, मैले मेरो हातखुट्टा छामेँ। बाँचेछु जस्तो लाग्यो। अनि मामालाई खोज्न लागेँ। मामाले पनि भान्जा-भान्जा भन्दै मलाई नै खोज्दै हुनुहुँदो रहेछ।
मामालाई भेटेपछि मैले वहाँलाई माथि बाटोतिर गइहालौँ भनेँ। तर मामा त नसकेर पछाडि घस्रिरहनु भएको थियो।
म एक्लै बाटोमा पुगेर हेर्दा त्यहाँ कोही थिएनन्। तर एक छिनमा प्रहरीहरू आएको देखेँ।
मैले उनीहरूसँग एम्बुलेन्स खोजिदिन अनुरोध गरेँ। मलाई उनीहरूले उद्धार गरेर नजिकैको अस्पतालमा पुर्याए।
मलाई मेरो टाउकोमा चोट लागेजस्तो ठानिरहेको थिएँ। अर्कोतिर मामाको पीर थियो।
मैले फेरी प्रहरीलाई प्राइभेट गाडी भए पनि खोज्दिनु पर्यो म मामालाई पनि लिएर बुटवल जान्छु भनेँ।
एक छिनमा एउटा एम्बुलेन्स आयो म एम्बुलेन्समा चढेर मामा भएको तिर गएँ तर म त्यहाँ पुग्दासम्म मामाले संसार त्यागिसक्नु भएछ।
मलाई त्यहाँ भएका प्रहरीले मामाको मृत्यु भएको कुरा सुनाए। पीडामाथि पीडा थपियो। के गर्ने के नगर्ने सोच्न सकिनँ।
त्यैपनि मामाको लासलाई त्यहीँ छाडेर एम्बुलेन्सलाई मलाई बुटवलसम्म पुर्याउन भनेँ। बुटवल आइपुग्दा रातिको करिब १ बजेको थियो।
जहाँसम्म दुर्घटनाको कारणको कुरा छ म पनि चालक भएको हिसाबले बसको पट्टी भाँचिएर दुर्घटना भएको हो भन्ने मलाई लाग्दैनँ। पट्टी भाँचिनको लागि त्यो पुलमा खाल्डा खुल्डी केही थिएनन्।
मलाई लाग्छ बस तीव्र गतिका कारण अनियन्त्रित भएको हो। र अर्को कारण चालक निदाएको पनि हुन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।