काठमाण्डूमाजस्तै अन्य जिल्लामा पनि कम्प्युटरले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गर्ने दिन आउला?

यस वर्षको कक्षा १२ को परीक्षाका लागि राजधानीमा लागु गरिएको कम्प्युटराइज्ड विधिबाट स्वचालित ढङ्गले परिक्षा केन्द्र निर्धारण गर्ने कदम प्रभावकारी देखिए त्यसलाई देशका अन्य जिल्लामा पनि विस्तार गर्न सकिने अधिकारीहरूले बताएका छन्।

शुक्रवारबाट सुरु कक्षा १२ को परीक्षामा देशभरिका ५ हजार ५ सयभन्दा बढी विद्यालयका झन्डै ४ लाख साढे ९२ हजार विद्यार्थी सहभागी भइरहेका छन्।

काठमाण्डूबाहेक अन्य जिल्लामा परम्परागत ढङ्गले नै प्रमुख जिल्ला अधिकारी नेतृत्वको संयन्त्रहरूले परीक्षा केन्द्रहरू तोकेका छन्।

तर राजधानी काठमाण्डूमा शिक्षामन्त्री सुमना श्रेष्ठको अग्रसरतापछि अधिकारीहरूले परीक्षार्थीको सङ्ख्या, परिक्षा केन्द्रको सिट सङ्ख्यासहितलाई ध्यान दिएर प्रत्येक पटक केन्द्र तोक्दा फरक नतिजा आउने विधि अपनाएर कम्प्युटरबाट केन्द्रहरू निर्धारण गरिएको थियो।

किन यस्तो निर्णय गरियो?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जाल एक्समा राखेको विवरण अनुसार पहिलो चरणमा काठमाण्डू जिल्लामा लागु गरिएको यो निर्णयअन्तर्गत सफ्टवेयरबाट परीक्षा केन्द्रहरू निर्धारण गरिएका हुन्।

उनले उक्त विधिबाट केन्द्र छान्दा परीक्षासँग जोडिएको ‘अनियमितताहरू निरुत्साहित हुने र विद्यार्थीहरूको हैरानी पनि कम’ हुने बताएकी छन्।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले काठमाण्डूमा अहिले चालिएको कदमको प्रभावकारिता हेरेर यसलाई अगामी परीक्षाहरूमा विस्तार गर्न सकिने बताए।

जिल्ला परीक्षा समन्वय समितिकै सिफारिसमा काठमाण्डूमा नयाँ व्यवस्था अनुसार परीक्षा केन्द्र निर्धारण गरिएको भन्दै उनले बीबीसीसँग भने, “परीक्षा केन्द्र निर्धारणका सन्दर्भमा अलिकति मिलेमतो हुन्छ, कमीकमजोरी हुन्छ र मर्यादाविपरी गतिविधि हुन्छन् भन्ने गुनासोलाई ध्यान दिएर अहिले पहिलो चरणमा यसलाई सुझाव गरिएको हो। यसको प्रतिक्रिया राम्रो आयो भने आगामी परीक्षामा अरू जिल्लामा पनि यसलाई अनुसरण गर्न सकिन्छ।”

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल एक्सको खाताबाट सार्वजनिक गरेको विवरणमा नौवटा मापदण्ड अपनाएर केन्द्रहरू निर्धारण गरिएको जनाइएको छ।

त्यसमा हरेक विद्यालयमा परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्या लिने, विद्यालय र केन्द्रको गुगल म्यापबाट दूरी निकाली आधारको रूपमा प्रयोग गर्ने र विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

त्यसबाहेक एक विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी १०० वा २०० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँड्न पर्ने, एकै स्वामित्व वा व्यवस्थापनको भनी पहिचान भएका केन्द्रमा पार्न नहुने, दुई विद्यालयका परीक्षार्थीको केन्द्र एकअर्कामा पार्न नहुने जस्ता मापदण्ड छन्।

विगतमा कुनै विद्यालयलाई केन्द्र तोक्दा समस्या देखिएको भए त्यही केन्द्रलाई दोहोर्‍याउन नहुने र कम्प्युटर प्रोग्रामबाट प्रत्येक पटक केन्द्र तोक्ने प्रयास गर्दा फरक फरक नतिजा आउने विधि सुनिश्चित हुनुपर्ने पनि सर्त छन्।

१२ कक्षाको परीक्षाका लागि नेपालभित्र १,५२५ र जापानमा १ परीक्षा केन्द्र तोकिएका छन्।

विज्ञ के भन्छन्?

विद्यालय शिक्षाका एकजना जानकार धनञ्जय शर्माले परीक्षा केन्द्र निर्धारणमा आरम्भ गरिएको यो सुधारलाई सकारात्मक भनेका छन्।

उनले बीबीसीसँग भने, “१२ कक्षाको परीक्षामा केन्द्र निर्धारणदेखि उत्तरपुस्तिका परीक्षण, कोडिङ, डिकोडिङदेखि पुनर्योगसम्ममा बेथितिहरू थिए। यस पटक थोरै सुधार हुन्छ १२ को परीक्षामा भन्ने मैले अपेक्षा गरेको छु। परीक्षा केन्द्र निर्धारण बारे काठमाण्डूमा चालिएको कदमलाई सफल बनाउन सकियो भने परीक्षा केन्द्रहरूको अनियमितता रोकिन्छन्।”

उनले कम्प्युटराइज्ड विधिबाट परीक्षा केन्द्र निर्धारण गर्ने कदमले निजी दश जोड दुई विद्यालयहरूको चलखेललाई पनि रोक्न मद्दत गर्न बताए।

“मलाई लाग्छ शिक्षामन्त्री र काठमाण्डूका मेयरको कतिपय सोचाइ मिल्छन्। कस्तो प्रतिक्रिया आउँछ भनेर काठमाण्डूमा लागु गर्न खोजिएको हो। यसलाई देशव्यापी बनाउन सकिन्छ।”

विद्यालयको अध्यापनबाहेक जाँचपुस्तिकाको परीक्षणजस्ता अन्य कैयौँ क्षेत्रमा अझै पनि सुधारहरूको आवश्यकता रहेको उनको भनाइ छ।

यो परीक्षामा कति सहभागी छन्?

शुक्रवारबाट सुरु भएर वैशाख २६ गतेसम्म चल्ने कक्षा १२ को परीक्षामा देशभरिका ५ हजार ५ सय जनाभन्दा बढी विद्यालयका झन्डै ४ लाख साढे ९२ हजार विद्यार्थी सहभागी भइरहेको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार यस परीक्षामा नियमिततर्फ झन्डै ३ लाख ९१ हजार र ग्रेड वृद्धितर्फ १ लाख ६ सयभन्दा बढी विद्यार्थी सहभागी छन्।

नियमित परिक्षार्थीमध्ये करिब १ लाख ९४ हजार छात्र र झन्डै १ लाख ९७ हजार छात्रा रहेका छन्। अन्य लिङ्गका परीक्षार्थीको सङ्ख्या ४८ छ।

यसपालि अघिल्लो वर्षको भन्दा १८ हजार ६ सयभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।

परीक्षा सञ्चालनका लागि १८ हजारभन्दा बढी सुरक्षाकर्मी र ३४ हजार कर्मचारी खटाइएको परीक्षा बोर्डले जनाएको छ।

प्रश्नपत्र र हाजिरी पुस्तिकासहित कागजपत्रहरू सम्बन्धित क्षेत्रहरूमा पठाइसकिएको अधिकारीहरूले बताएका छन्।

परीक्षा बोर्डका सदस्य सचिव अर्यालले १२ को परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गरिसक्ने बताए।

उनले कुनै पनि विद्यार्थीलाई परिणाममा चित्त नबुझे पुनर्योगका लागि आवेदन दिन सकिने भन्दै त्यसमा पनि सहमत नभएको खण्डमा सम्बन्धित व्यक्तिको उत्तरपुस्तिकासमेत देखाउन सकिने निर्णय केही वर्षयता कार्यान्वयनमा रहेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।