अमेरिकाले अर्को एक अपरिचित वस्तुलाई क्यानडा माथिबाट खसाल्यो

तस्बिर स्रोत, Getty Images
उत्तर अमेरिकी आकाशबाट अर्को एक अपरिचित वस्तुलाई खसालिएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पुष्टि गरेका छन्।
उनले पछिल्लो वस्तुले "क्यानडाको हवाई क्षेत्रको उल्लङ्घन गरेको" बताउँदै त्यसलाई उत्तर पश्चिम क्यानडाको युकनमा खसालिएको बताएका छन्।
उक्त वस्तुको अवस्थिति थाहा पाउन क्यानडा र अमेरिकाका विमानहरू परिचालन गरिएका थिए र त्यसलाई अमेरिकी लडाकु जेट एफ-२२ ले खसालेको थियो।
पछिल्लो साता उत्तर अमेरिकामाथिबाट खसालिएको यो तेस्रो वस्तु हो।
अमेरिकी सेनाले पछिल्लो सप्ताअन्तमा एक चिनियाँ बलुन ध्वस्त पारेको थियो र शुक्रवार एउटा सानो कारको आकारको अपरिचित वस्तु अलास्कामाथिबाट खसालिएको थियो।
उक्त वस्तुबारे के थाहा छ?
शनिवार प्रधानमन्त्री ट्रूडोले आफूले उक्त वस्तु खसाल्ने आदेश दिएको र अमेरिकी राष्ट्रपति जो बाइडनसँग कुरा गरेको पुष्टि गरेका छन्।
"क्यानडाका फौजले अब उक्त वस्तुका भग्नावशेष सङ्कलन र समीक्षा गर्नेछन्," उनले ट्विटरमा लेखेका छन्।
पछिल्लो अपरिचित वस्तु मध्य युकनमाथि झण्डै ४०,००० फिट (१२,००० मिटर) को उचाइमा उडिरहेको थियो।
जसबारे शनिवार स्थानीय समय अनुसार झण्डै ३ बजेर ४१ मिनेटमा थाहा भएको क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले संवाददाताहरूलाई बताइन्।
उनले त्यसलाई "सानो" र "बेलनाकार" बताउँदै त्यसबारे थप विवरण थाहा पाउने प्रयासहरू भइरहेको बताइन्।
२४ घण्टादेखि निगरानी
क्यानडाकी रक्षामन्त्री आनन्दले त्यसलाई अमेरिकी सीमाबाट "झण्डै १०० माइल" पर लगिएको र त्यसले "नागरिक उड्डयनमा उचित खतरा" देखाएको बताइन्।
उनले उक्त वस्तु गत शनिवार साउथ क्यारोलाइनाको तटबाहिर खसालिएको भन्दा "सानो देखिएको" बताइन्।
अर्थात् त्यसबेला खसालिएको सन्दिग्ध चिनियाँ जासुसी बलुन ६० मिटर अग्लो थियो।
ह्वाइटहाउसले उक्त वस्तुलाई "पछिल्लो २४ घण्टामा" पछ्याउँदै निगरानी गरिएको जनाएको छ।











