यूएफओ: अज्ञात उडनतस्तरी के हो भन्ने व्याख्या नभएको अमेरिकी प्रतिवेदन

तस्बिर स्रोत, Getty Images
अमेरिकी सरकारले सैनिक पाइलटहरूले देखेका दर्जनौँ अज्ञात उड्ने वस्तु यूएफओ वा उडनतस्तरीबारे केही भन्न नसक्ने जनाएको छ।
शुक्रवार सार्वजनिक अमेरिकी रक्षा मन्त्रालयको एक प्रतिवेदनमा सन् २००४ यता अज्ञात उडनतस्तरी देखिएका १४४ घटना भए पनि ती सबै के हो भनी व्याख्या गर्न नसकिने रहेको भनिएको छ।
ती वस्तुहरू अलौकिक हुनसक्ने सम्भावनालाई समेत त्यसले अस्वीकार गरेको छैन।
आकाशमा अस्वभाविक लयमा वस्तुहरू देखिएका कैयौँ घटनाका विवरणहरू सेनाले उल्लेख गरेसँगै अमेरिकी संसद्ले उक्त प्रतिवेदन मगाएको थियो।
पेन्टागनले गत अगस्टमा त्यस्ता गतिविधिबारे एक कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलको काम आकाशमा देखिएका ती घटनालाई 'पहिचान, समीक्षा र लयबद्ध' पार्नुका साथै उडनतस्तरीहरूको 'स्वभाव र उत्पत्तिबारे ज्ञान बढाउनु' रहेको पेन्टागनले जनाएको छ।
प्रतिवेदनले के भन्छ?
शुक्रवारको अन्तरिम प्रतिवेदनले ती १४४ वटामध्ये अधिकांश घटना गत दुई वर्षमा देखा परेका 'अज्ञात खगोलीय गतिविधि'बारे छन्।
यस अवधिमा अमेरिकी नौसेनाले त्यस्ता गतिविधिबारे विवरण सङ्कलन गर्ने एउटा परिष्कृत संयन्त्र बनाएको थियो।
१४३ घटनाबारे 'पर्याप्त जानकारीका अभाव' रहेको जनाइएको छ।

तस्बिर स्रोत, Getty Images
मुख्य रूपमा त्यस्ता उडनतस्तरीलाई 'ग्रहबाहिरको गतिविधिसँग जोड्न सकिने स्पष्ट सङ्केत नभएको' बताइएको छ।
तर त्यसको सम्भावनालाई अस्वीकार भने गरिएको छैन।
यस्तो पनि हुनसक्छ
अपरिचित खगोलीय गतिविधिका 'सम्भवतः एउटै व्याख्या अभाव रहेको' प्रतिवेदनले जनाएको छ।
केही चीन वा रुसजस्ता अन्य देशका प्रविधि हुन सक्छन् भने अन्य केही प्राकृतिक रूपमा वायुमण्डलमा हुने घटना समेत हुन सक्छन्।
ती केही 'अमेरिकी निकायकै गोप्य कार्यक्रम र विकास क्रमका घटना' समेत हुनसक्ने उक्त प्रतिवेदनले सुझाएको छ।
उक्त प्रतिवेदनले 'उच्च आत्मविश्वासका साथ' पहिचान गर्न सकिएको एउटा घटना चाहिँ 'एउटा ठूलो हावा फुस्किएको बलुन' रहेको जनाएको छ।
जसमा त्यस्ता गतिविधिले 'उड्डयन सुरक्षामा समस्याहरू ल्याउन सक्ने र अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौती थप्न सक्ने' जनाएको छ।
कार्यदलले त्यसबारे बुझ्ने नयाँ उपायहरू खोज्दै विस्तृत अध्ययनका लागि थप बजेटले सघाउने बताएको छ।
प्रमाण कस्ता छन्?
अमेरिकी रक्षा मन्त्रालयले सन् २०२० को एप्रिलमा अपरिचित खगोलीय घटनाका भिडिओ सार्वजनिक गरेका थिए।
पेन्टागनले ती भिडिओहरू अमेरिकी नौसेनाले खिचेको जनाएको थियो।
सीबीएस न्यूजको ६० मिनेट्स कार्यक्रममा गत महिना नौसेनाका दुई पूर्वपाइलटहरूले प्रशान्त महासागरमा एउटा वस्तु देखेको चर्चा गरेका थिए।
एक पाइलटले त्यसको तुलना 'हल्का सेतो टिक-ट्याक अब्लङ्ग मिन्टजस्तो देखिने वस्तु' भनेर गरेका थिए।
"त्यो ठ्याक्कै त्यस्तै देखिन्थ्यो। मात्र त्यो निकै तीव्र गतिमा अस्वभाविक लयमा थियो। हामी त्यो कता मोडिन खोजेको हो भन्ने अनुमान गर्न सकेनौँ," एलेक्स डिट्रिचले बीबीसी न्यूजलाई भने।
"त्यसले कुनै धूवाँ छाडेको थिएन। जसरी त्यो उडिरहेको थियो, उडान नियन्त्रणको कुनै स्पष्ट तरिका थिएन।"









