कांग्रेस संसदीय दलमा देउवा र गगन थापाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता बन्नका लागि वर्तमान प्रधानमन्त्री तथा उक्त दलका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ।

देउवाइतर समूहले थापालाई एकल उम्मेदवार बनाउने निर्णय गरेपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो।

मङ्गलवार बिहानसम्म संस्थापन पक्षबाहेकको समूहबाट डा. शेखर कोइराला र गगन थापा दुवैले संसदीय दलको नेताको चुनाव लड्ने बताएका थिए।

तर उनीहरूबीच समझदारी भएर थापा उम्मेदवार बनेका हुन्।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि उम्मेदवारी दिने समय मङ्गलवार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो।

शेरबहादुर देउवा र गगन थापाका प्रस्तावक र समर्थक को हुन्

देउवाविरुद्ध उम्मेदवारी दिएका महामन्त्री गगन थापाको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने कांग्रेस उपसभापति धनराज गुरुङ समर्थक बनेका छन्।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र कांग्रेस नेता प्रदीप पौडेलले पनि गगनको समर्थकका रूपमा हस्ताक्षर गरेका छन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन्।

यसअघि पौडेलले पनि संसदीय दलको नेता बन्ने आफ्नो इच्छा रहेको बताउँदै आएका थिए। तर उनले अहिले देउवालाई समर्थन गरेका छन्।

पौडेल गत महाधिवेशनमा शेखर कोइराला-गगन थापाको समूह र देउवा कसैको पक्षमा पनि खुलेका थिएनन्। उनी मतदानमा पनि सहभागी भएनन्।

कांग्रेसको पछिल्लो महाधिवेशनमा देउवाविरुद्ध सभापति पदमा चुनाव लडेका डा. शेखर कोइरालाले पनि संसदीय दलको नेताको चुनाव लड्न चाहेपछि संस्थापन बाहिरको समूहभित्रै मुख्यत: दुईजना आकांक्षी देखापरेका थिए।

सोही समूहका महामन्त्री गगन थापाले आम निर्वाचनमा भोट माग्दा नै मतदातासमक्ष आफू “प्रधानमन्त्री बन्न कांग्रेस संसदीय दलको नेताका लागि पार्टीभित्रै लड्ने” प्रतिबद्धता जनाएका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनावपछि उनलाई संसदीय दलको नेताका रूपमा समर्थन गर्ने बताएका थिए।

यस्तो अवस्थामा कोइराला र थापा दुवैसँग कुराकानी र छलफल गरेर एकजना उम्मेदवार तय गर्न कांग्रेसको उक्त समूहका नेताहरूले सोमवार दिनभरि छलफल गरेका थिए।

उनीहरूले दुवै आकांक्षीसँग छुट्छाछुट्टै र संयुक्त रूपमा छलफल गर्दा पनि कुरा मिलेको थिएन।

यद्यपि सोमवारको बैठकमा दुवै नेताहरूले आफू पछि नहट्ने बताएपछि मङ्गलवार बिहान पुन: बैठक बसेको थियो।

त्यसपछि कोइरालाले थापालाई समर्थन गर्न सहमत भएका थिए।

देउवा पक्षले चाहेको थियो सर्वसम्मति

देउवा समूहले भने पाँच वर्षअघिको संसदीय दलको नेता चयन गर्ने चुनावअघि जस्तै यस पटक पनि 'सर्वसम्मत' रूपमा पार्टीको नेता छानिनुपर्ने बताइरहेको थियो।

उक्त समूहका नेताहरूले त्यसका लागि देउवा स्वयंले पनि पहल गरेको दाबी गरेका थिए।

यद्यपि उनीहरू संसदीय दलको नेता देउवा नै बन्नुपर्ने अडानमा कायम रहे।

संस्थापन पक्षका नेता एवं कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सोमवार भनेका थिए, “सकेसम्म हामी सर्वसम्मत नै निर्णय गरौँ भन्नेमा छौँ।”

“कुरा मिलेन भने सभापतिज्यू संसदीय दलका लागि चुनाव लड्नुहुन्छ।”

देउवाले जित्ने ग्यारेन्टी छ त भन्ने प्रश्नमा उनले भने, “त्यो त नतिजा आएपछि थाहा पाइहाल्नुहुन्छ नि!”

पाँच वर्षअघि पनि देउवा पक्षले संसदीय दलको नेता सर्वसम्मत रूपमा छान्ने बताएको थियो।

तर त्यस बेला पनि उक्त दलमा संसदीय दलको नेताका लागि चुनाव भयो र देउवाले चुनाव जिते।

त्यो बेला कुल ६३ सांसद रहेको कांग्रेसमा देउवाका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याउँदा देउवाले ४४ मत ल्याएका थिए।

देउवा पक्षले यसपालि पुनः सर्वसम्मततिमा नेता चयनको कुरा गरे पनि त्यसका लागि पहल नगरेको अर्को पक्षका नेताहरू बताएका थिए।

संस्थापनइतर समूहका नेताहरूका अनुसार देउवाले सर्वसम्मत चयन हुनका लागि कुनै विकल्पसहितको योजना सुनाउने वा प्रस्ताव गर्ने काम गरेका थिएनन्।

संसदीय दलमा को बलियो

प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्।

संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले मत दिन पाउनेछन्।

तीमध्ये ५० जनाभन्दा बढी सांसदहरू देउवा पक्षका रहेको जानकारहरूको भनाइ छ।

त्यस हिसाबले संसदीय दलमा देउवाले नै जित्ने सम्भावना बढी देखिएको दुवै समूहका नेताहरूले बीबीसीलाई बताए।

देउवा पक्षका एक सांसदका भनाइमा हालसम्म उनको पक्षमा कुल ५४ सांसद खुलिसकेका छन्।

त्यस्तो अवस्थामा देउवाइतर समूहमा रहेका सांसदको सङ्ख्या ३५ हुने देखिन्छ।

तर कोइराला पक्षका नेताहरूका दाबीमा देउवाको विपक्षमा रहेका सांसदको सङ्ख्या ४०/४१ छ।

उम्मेदवारी दर्ता गरेपछि कसले के भने

उम्मेदवारी दर्ता गरेपछि नेताहरूले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दैँ यस्तो चुनावले पार्टीभित्रको “आन्तरिक लोकतन्त्र बलियो हुने” दाबी गरेका छन्।

देउवापक्षीय नेताद्वय उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतले अहिले मुलुकको आवश्यकता पूरा गर्नका लागि देउवा नै उक्त दलको नेता बन्नुपर्ने बताए।

गगन थापाले “नेपाली कांग्रेसप्रति आमजनताले राखेको अपेक्षा पूरा गर्न र पार्टीकै भविष्यका लागि” पनि आफूले दलको नेताका लागि उम्मेदवारी दिएको बताए।

उनले देउवालाई “उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक कार्य गर्न” आग्रह समेत गरे।

उनले भने, “म उहाँलाई असीम श्रद्धाका साथ परिवर्तनको सन्देशलाई मनन गर्न आग्रह गर्छु।” देउवा पक्षका उपसभापति पूर्णबहादुर खड्काले “मुलुकलाई एकाकार गरेर संविधानको रक्षा तथा मुलुकको स्थिरता र उन्नतिका लागि देउवामा अनुभव र सबैलाई मिलाएर लाने क्षमता” भएको दाबी गरे। उनले त्यसका लागि पनि उनलाई संसदीय दलको नेता बनाउनुपर्ने आवश्यकता रहेको र उनी विजयी हुने बताए।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन तालिका

नेपाली कांग्रेसले संसदीय दलको नेताको निर्वाचनका लागि ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ गठन गरेको छ।

उक्त समितिले सूचना जारी गर्दै संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

त्यसअनुसार सोमवार समितिले मतदाता नामावली प्रकाशित गरेको थियो।

कार्यतालिकाअनुसार मङ्गलवार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको थियो।

मङ्गलवार नै उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ भने मङ्गलवार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भने बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।