३० वर्षअघि ६ वर्षको उमेरमा 'बेपत्ता भएका' तिब्बती धार्मिक नेताबारेका रहस्य

तस्बिर स्रोत, The Tibet Museum
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
विश्वभरी छरिएर रहेका तिब्बतीहरूले धर्मगुरु मान्ने पञ्चेन लामा बेपत्ता भएको शनिवार ३०औँ वर्ष पुगेको छ।
सन् १९९५को मे १४ मा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले एक जना छ वर्षका बालक गेधुन चोकी निमा लाई पञ्चेन लामाको पुनर्वतार तोकेका थिए।
तिब्बती बौद्धधर्ममा पञ्चेन लामा दलाई लामा पछिका दोस्रो प्रमुख व्यक्ति हुन्।
दलाई लामाको छनौटमा परेका ११औँ पञ्चेन लामा त्यसको तीन दिनपछि बेपत्ता भए र कहाँ हराए अहिलेसम्म थाहा हुन सकेको छैन।
चिनियाँ अधिकारीहरूले निमा कहाँ छन् भन्नेबारे आफूहरूलाई थाहा भएको बताएका छन्। तर हाल ३६ वर्ष पुगेका ती तिब्बती धर्मगुरुबारे उनीहरूले खासै जानकारी सार्वजनिक गरेका छैनन्।
बीबीसीले बेपत्ता पञ्चेन लामाको अवस्थाबारे चिनियाँ सरकारको प्रतिक्रिया माग्दै लण्डनस्थित चिनियाँ दूतावासमा सम्पर्क गरेको थियो। जबाफमा दूतावासले भनेको छ, "प्रश्न उठाइएका व्यक्तिले साधारण चिनियाँ नागरिकको रूपमा जीवन बिताइरहेका छन्। उनी र उनको परिवार आफूहरूमाथि अनावश्यक सार्वजनिक चासो रुचाउँदैनन्।"
सन् २०२० मा भने अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै निमा विश्वविद्यालयबाट दीक्षित भएको र जागिर सुरु गरेको बताएका थिए। आफ्नो 'वर्तमान साधारण जीवनमा' कसैले पनि चासो नदेओस् भन्ने उनले चाहेको उनीहरूले बताएका थिए।
बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको चीनको दुर्गम स्वशासित क्षेत्र तिब्बतको सांस्कृतिक र धार्मिक स्वतन्त्रता दबाएको आरोप चीनमाथि लाग्दै आएको छ।
मानवअधिकारवादी समूहहरूले निमालाई "विश्वकै सबैभन्दा कान्छा राजनीतिक बन्दी" भनेका छन् र उनको रिहाइका लागि तिब्बतीहरूले गरिरहेको मागमा समर्थन जनाएका छन्।
पञ्चेन लामा कहिले बेपत्ता भए?

तस्बिर स्रोत, Getty Images
तिब्बती बौद्ध धर्मावलम्बीहरू मानिसको पुनर्वतारमा विश्वास गर्छन् र उच्च आध्यात्मिक दक्षता भएका मानिसहरूले कहिले र कहाँ आफ्नो पुनर्जन्म हुने तय गर्न सक्ने ठान्छन्।
दशौँ पञ्चेन लामाको सन् १९८९ ज्यानुअरी २८ मा शङ्कास्पद मृत्यु भएपछि उनको पुनर्वतारको खोजी सुरु भयो।
उच्च धर्मगुरुहरूले नेतृत्व गरेको एउटा समूहले तिब्बतको नाग्चु प्रान्तमा १९८९ अप्रिल २५ मा जन्मिएका बालकले पञ्चेन लामाको पुनर्वतार लिएको पहिचान गर्यो।
संयुक्त राष्ट्रसङ्घका महासचिवलाई परामर्श दिने विशिष्ट हैसियतको एक गैर सरकारी संस्था 'सोसाइटी फर थ्रेटन्ड पिपल्स'ले चिनियाँ सरकारलाई उनी सहित उनको पूरै परिवारको अपहरण गरेको आरोप लगाएको छ।
दशक अघिसम्म दलाई लामाको नेतृत्वमा रहेको तिब्बतको निर्वासित सरकारले निमा बेपत्ता भएको घटनालाई "चीनमा मानव अधिकार उल्लङ्घनको भयावह अवस्थाको सबैभन्दा ठूलो उदाहरण" मान्ने गरेको छ।
"त्यसपछि उनी कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुरा अज्ञात छ। यसलाई राज्यको गोपनीयताको घुम्टोमा छोपिएको छ। चीन सरकारसँग हामी पञ्चेन लामाको अवस्था सार्वजनिक गर्न र सुस्वास्थ्य र हित सुनिश्चित गर्न माग गर्दछौँ," मध्य तिब्बती प्रशासनका प्रवक्ता तेन्जिङ लेक्क्षेले बीबीसीसँग भने।
निर्वासित तिब्बती सरकारलाई कुनै पनि देशले मान्यता दिएका छैनन्।
'नक्कली पञ्चेन'

तस्बिर स्रोत, Getty Images
दलाई लामाले छानेका पञ्चेन लामालाई चीनले अस्वीकार गर्दै सन् १९९५ मा ग्याल्त्सेन नोर्बुलाई पञ्चेन लामाको ११औँ पुनर्वतार नियुक्त गर्यो।
कम्युनिस्ट पार्टीको सम्मेलन र सरकारी कार्यक्रमहरूमा उनी उपस्थित हुने गरे पनि उनलाई निर्वासित तिब्बतीहरूले आम रूपमा स्वीकार गरेका छैनन् र 'नक्कली पञ्चेन'को संज्ञा दिने गरेका छन्।
निमाले तिब्बतमा धेरै मान्यता पाउन सक्ने भए पनि दलाई लामा र पञ्चेन लामाको तस्बिर त्यहाँ प्रतिबन्धित छ।
केही गरी नाबालक अवस्थामै खिचिएको पञ्चेन लामाको तस्बिर कसैले वितरण गर्यो भने पनि त्यो "प्रशासनले खोसेर राख्छ।"
दलाई लामाबारे तिब्बतले किन सरोकार राख्छ?

तस्बिर स्रोत, Getty Images
दलाई लामा तिब्बतका आध्यात्मिक नेता र तिब्बती बौद्ध धर्मको सबैभन्दा परिचित अनुहार हुन्। पञ्चेन लामाको पुनर्वतार छनौटको अधिकार उनीसँग छ।
तर आगामी जुलाई ६मा ९० औँ जन्मोत्सव मनाउन लागेका दलाई लामा सन् १९५९ मा तिब्बतबाट भागेर भारत पुगेका थिए र उनले त्यहाँको धरमशालामा निर्वासित सरकार स्थापना गरेका छन्। तिब्बतमा चिनियाँ नियन्त्रणको प्रतिरोधको प्रतिकका रूपमा समेत उनलाई हेर्ने गरिएको छ।
दलाई लामाको पुनर्वतार घोषणा गर्ने समय नजिकिँदै जाँदा बेपत्ता रहेका पञ्चेन लामाको आवश्यकता धेरै खड्किएको बताइन्छ। किनभने दलाई लामाको पुनर्वतार लिएका नयाँ व्यक्तिको अन्तिम घोषणा गर्ने पञ्चेन लामाले हो।
"चिनियाँ सरकारले ६ वर्ष उमेरका पञ्चेन लामा र उनको परिवारलाई ३० वर्षदेखि बेपत्ता बनाएर नयाँ दलाई लामाको छनौट र तिब्बती बौद्धधर्ममा आफ्नो नियन्त्रण कायम गर्न खोजिरहेको छ," ह्युमन राइट्स वाचका चीन अनुसन्धाता यल्कन उल्योल भन्छन्।
"सरोकारवाला पक्षहरूले यस्तो निर्दयी व्यवहार अन्त्य गर्न र निमा र उनको परिवारको स्वतन्त्रताका लागि चीन सरकारलाई दबाव दिनुपर्छ।"

तस्बिर स्रोत, Tenzin Tsundue
पञ्चेन लामाबारे चीन के भन्छ?
निमा गुमनाम भए लगत्तै चीनले संयुक्त राष्ट्रसङ्घका लागि काम गरिरहेको समूहलाई "पुनर्वतार लिएका बालकलाई अपहरण गरिएको वा बेपत्ता बनाइएको कुनै पनि घटना नभएको" बताएको थियो।
त्यसको अर्को वर्ष चीनले "केही बेइमान आत्माहरूले" ती बालकलाई तस्करी गरेर देश बाहिर लैजान खोजेको बताएको थियो। उनका आमाबुवाले माग गरेपछि सरकारले संरक्षण दिइरहेको अधिकारीहरूले बताएका थिए।
सुरक्षाका बावजुद पनि ती बालक र उनको परिवारले साधारण जीवनशैली बिताइरहेको र अरू कसैले उनीहरूलाई दिक्क नबनाउन् भन्ने चाहेको बताउँदै आएको छ।
सन् १९९८मा राष्ट्रसङ्का लागि काम गरिरहेको समूहले पञ्चेन लामाकी आमाले कारावास सजाय भोगिरहेको बताएको थियो। तर उनलाई कति समय कैद गरियो भन्ने प्रस्ट थिएन।
सन् २००० मा तत्कालीन ब्रिटिश विदेशमन्त्री रोबिन कुकले चीनले यूकेलाई बेपत्ता बनाइएका भनिएका पञ्चेन लामाका दुई वटा तस्बिर देखाएको बताएका थिए। उनका अनुसार ब्रिटिशहरूलाई उक्त तस्बिर लैजान दिइएन।

तस्बिर स्रोत, INTERNATIONAL TIBET NETWORK
'गुमनाम' पञ्चेन लामा भेट्टिने कुनै आशा छ?
बेपत्ता बनाइएका पञ्चेन लामा ३० वर्षको हुँदा कस्तो देखिन सक्छन् भन्ने तस्बिर तिब्बती अभियानकर्मीहरूले यूकेका एक जना फरेन्सिक विज्ञको सहयोगमा तयार गरेका छन्।
उक्त तस्बिरमा भुक्क परेका राता गाला देखिएका व्यक्तिको पहिचान गर्ने प्रयासमा कुनै प्रगति भएको छैन।
धेरै तिब्बतीहरूका लागि पञ्चेन लामाको अवस्थाबारेको अनिश्चय पीडादायक विषय भएको छ। भारत र युरोपमा तिब्बती समुदायले उनको रिहाइको माग गर्दै प्रदर्शनहरू गरिरहेका छन्।
"उनको पुनर्वतार भएको ३० वर्ष भयो भन्ने कल्पना गर्दा पनि पीडा हुन्छ। हामी उनको तत्काल रिहाइको याचना गर्दै हरेक दिन प्रार्थना गर्छौँ। तिब्बतीहरूका लागि उनी आध्यात्मिक नेता मात्रै नभएर भविष्यको तिब्बतका आशा पनि हुन्," भारतमा बस्दै आएका तिब्बती लेखक तेन्जिङ सुन्डेले बीबीसीसँग भने।
"मलाई उनी जीवितै रहेको आशा छ र उनलाई देख्ने इच्छा छ," उनी भन्छन्। नयाँ दलाई लामा छनौटको आफ्नो निर्णय स्थापित गराउन चीनले उनलाई प्रयोग गर्न सक्ने उनी बताउँछन्।
निर्वासित तिब्बती सरकारले पञ्चेन लामाको अनुपस्थिति खड्किएको बताएको छ।
"दशौँ पञ्चेन लामाले चिनियाँ शासनमा तिब्बती भाषा, धर्म र सांस्कृतिक सम्पदाको रक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए," तेन्जिङ लेक्क्षे भन्छन्।
"उनको आवाज र दृष्टिकोणको अभाव अहिलेको तिब्बतमा गहिरो रूपमा खड्किएको छ।"
यो समाचारमा सन् २०२०मा बीबीसी न्यूजमा प्रकाशित माइकल ब्रिस्टोको आलेखबाट केही सामग्रीहरू लिइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








